site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मैले चिनेका आइन्स्टाइन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
जेरोम विडम्यान
म त्यो बेला किशोर नै थिएँ । मैले आफ्नो जीवनको बाटो खोज्नै बाँकी थियो । एक साँझ मलाई न्युयोर्कका एकदमै दानी र धनी व्यक्तिको घरमा रातिको खाना खाने निमन्त्रणा आयो । खाना खाएपछि हामीलाई निमन्त्रणा गर्ने महिलाले आफ्नो घरको विशाल ड्रइङ रुममा लगिन् । कैयौँ अतिथिहरू अझै पनि आइरहेका थिए । त्यहाँको भव्य वातावरण देखेर मलाई त पसिना नै आयो ।
कार्यक्रम हुनै लाग्दा एक जना नोकरले एउटा ठूलो कोठामा एकपछि अर्का कुर्सीहरू मिलाइरहेको देखेँ । भित्ता छेउमा अड्याएर वाद्ययन्त्रहरु राखिएका थिए । अब मलाई बल्ल थाहा भयो, म एउटा सांगीतिक कार्यक्रमको निम्तालु पो रहेछु ! मलाई दिक्क लाग्यो किनभने अब मैले कति लामो अवधिसम्म संगीत कार्यक्रममा काढिने ‘हाई’लाई नियन्त्रण गर्दै सहभागी हुनु पर्ने भो !
‘हुनु पर्ने भो’ भन्नुले बाध्यात्मक अवस्था जनाउँछ । किनभने संगीतमा मलाई कुनै रुचि थिएन । संगीतको बारेमा मलाई सानो धागो जत्तिको ज्ञान पनि थिएन । साँचो भन्ने हो भने, म त संगीतका विषयमा बहिरो नै थिएँ । सहज किसिमको धून पनि म गुन्गुनाउन सक्दिनथें । गम्भीर किसिमको संगीत त मेरा लागि हल्लाशिवाय केही थिएन । यस्तो अवस्थामा अरुले के गर्छन्, मलाई थाहा छैन तर म चूपचाप बसेँ । 
संगीत सुरु भएपछि भने यो संगीतको बारेमा मलाई पनि गम्भीर जानकारी छ भन्ने भान पार्न अनुहारलाई अझ बढी गम्भीर बनाएँ । भित्रबाट चाहिँ कान बन्द गरेँ र संगीत सुन्नुको साटो अरु नै कुरामा मन डुलाउन थालेँ ।
केही समयपछि वरिपरिका मानिसले संगीतलाई ‘वाह, वाह’ भन्दै कराएको देखेपछि मलाई लाग्यो¬– अब म पनि कान खोल्न सक्छु ।
यही बेला दायाँतर्फ नरम तर भित्रै छुने आवाज सुनेँ¬, “तिमीलाई बाखको संगीत मन पर्छ ?”
“मन पर्छ,” अहसजता र हिच्किचाहट मिश्रित मेरो आवाज मुस्किलले निस्कियो ।
मलाई आइन्स्टाइनले निकै सरल प्रश्न सोधेका थिए । त्यो सरल प्रश्नको उत्तर पनि सहज तरिकाले दिनु थियो तर मेरो छेउको यो छिमेकीको असाधारण आँखामा जुन भाव थियो, त्यसबाट मैले बुझेँ– उनी कुनै औपचारिक शिष्टताका कारण यसो भनिरहेका छैनन् । यो मौखिक आदान–प्रदान मेरा लागि चाहे जस्तो महत्व राखेको होस्, म के जान्दथेँ भने यी व्यक्तिका लागि यो कुरा ज्यादै महत्वपूर्ण छ । सबैभन्दा महत्वपूर्ण कुरा त यति प्रख्यात व्यक्तिसँग कोही कसरी झूटो बोल्न सक्ला ! चाहे त्यो झूट बोल्न खोज्ने व्यक्ति कति नै सानो किन नहोस् !
“म बाखको बारेमा केही पनि जान्दिनँ,” मैले बडो संकोच मान्दै भनें, “मैले अहिलेसम्म बाखको कुनै संगीत सुनेको छैन ।”
आइन्स्टाइनको संवेदनशील अनुहारमा असमञ्जस भरिएको आश्चर्यको भाव देखियो । उनले भने, “तिमीले बाखलाई अहिलेसम्म सुनेका छैनौ ?”
उनले दिएको प्रतिक्रिया यस्तो थियो कि मानौँ मैले उनलाई भनेको थिएँ– मैले आजसम्म नुहाएको छैन !
मैले प्रष्टीकरण दिन थालेँ, “म बाखलाई नरुचाउने होइन अथवा म उनलाई मन पराउन नचाहने पनि होइन । खासमा भन्ने हो भने सुरतालको हिसाबले म एकदमै बहिरोजस्तो छु । सत्य त के हो भने मैले आजसम्म कसैको पनि संगीत सुनेको छैन ।”
मेरो कुरा सुन्नेबित्तिकै ती बूढाको अनुहारमा चिन्ताको बादल देखियो । तत्कालै उनले भने, “तिमी मसँग हिँड । अहिल्यै हिँड ।”
उनी उभिए र मेरो हात समातेर तान्दै अगाडि बढ्न थाले । भीडले भरिएको त्यो विशाल कोठामा जब उनले मलाई तान्दै कहीँ लैजाँदै थिए, लाजले मेरा आँखा जमिनतिर गाढिए । भव्य सांगीतिक कार्यक्रमको बीचैमा हामी उठेर हिँडेको देखेर केही मानिसहरु चकित भएर गाइँगुइँ गर्न थालेको । आइन्स्टाइनले पनि सुनिरहेका थिए । तर, उनलाई कुनै मतलब थिएन । उनी खुइँखुइँती मलाई तान्दै हिँड्दै थिए ।
लामा–लामा पाइला चाल्दै उनले मलाई सिँढी चढाएर एउटा कोठामा छिराए । आइन्स्टाइनलाई यो घरको कुना–कुनाका बारेमा थाहा हुनुपर्छ । सबैभन्दा माथिको कोठामा गएर उनले एउटा ढोका खोले । त्यहाँ मिलाएर किताबहरू राखिएका थिए । उनले मलाई कोठाभित्र लगे र ढोका बन्द गरे ।
“लु,” उनले हल्का चिन्ताजनक मुस्कान फ्याँक्दै मलाई भने, “अब भन त, संगीतका बारेमा तिम्रो यस्तो सोचाइ कहिलेदेखि जन्मिएको हो ?”
“थाहा पाएदेखि नै,” मैले डराउँदै उनलाई भनेँ, “डा. आइन्स्टाइन, मेरो विचारमा हामी तल जानु नै राम्रो हुन्छ किनभने मलाई संगीत मन पर्नु र मन नपर्नुले खासै फरक पार्दैन ।”
उनलाई मेरो भनाइ बिल्कुलै मन परेन, त्यो उनको टाउको हल्लाइले बताइरहेको थियो । उनले आँखीभौं पनि तन्काए मानौं मैले कुनै वाहियात कुरा भन्दिएँ ।
“तिमीलाई मन पर्ने कुनै संगीत ?”
“मलाई त शब्द भएका गीत मन पर्छन् । त्यस्ता संगीत मन पर्छन्, जसका धून मैले पकड्न सकूँ,” मैले डा. आइन्स्टाइनलाई भनेँ ।
उनी मुस्कुराए र खुसी हुँदै गर्धन हल्लाए, “कुनै उदाहरण दिन सक्छौ ?”
“सक्छु,” मेरो साहस फर्किन थालेको थियो, “बिङ क्रस्बीका जुनै पनि गीत मलाई मन पर्छन् !”
अनि उनले पुनः जोडले गर्धन हल्लाए, “गज्जप !”
उनी कोठाको एउटा कुनामा गए । फोनोग्राम खोले र छेउमा राखिएको रेकर्ड निकाल्न थाले । मैले अहसज हुँदै उनको क्रियाकलाप हेरिरहेँ । अन्ततः उनी खुसीले उफ्रँदै भने, “अँ, भेट्टाएँ ।”
उनले रेकर्ड लगाए र केही क्षणमै कोठामा बिङ क्रस्बीको एउटा मन्द, मधुर गीत ‘ह्वेन द ब्लु अफ द नाइट मिट्स द गड अफ द डे’को स्वरलहरी गुञ्जिन थाल्यो । आइन्स्टाइनले मतिर हेरे र मुस्कुराए । उनले आफ्नो पाइपको नली ट्याकटुक मिलाए । रेकर्ड बजेको तीन–चार वाक्यांशपछि उनले ग्रामोफोन बन्द गरिदिए ।
“अब मलाई भन त, तिमीले भर्खरै के सुन्यौ ?”
यो प्रश्नको सरल उत्तर दिनका लागि मैले तिनै पंक्तिहरू सुनाइदिएँ, गुन्गुनाउँदै । मैले गुन्गुनाउँदा भरसक धूनमै रहेर आवाज टुक्रिन दिइनँ । मैले गाएको सुनेर आइन्स्टाइनको अनुहार सूर्यझैँ तेजिलो देखियो ।
“तिमीले देख्यौ त ?” यसो भन्दै उनले खुसीले उफ्रिए, “तिमी संगीतमा बहिरो हुनै सक्दैनौ र छैनौ पनि । तिमीले यहीँका यहीँ प्रमाण दिइसक्यौ ।”
उनलाई मैले मधुरो स्वरमा भनेँ, “यो मेरो सबैभन्दा प्रिय गीत हो र मैले कम्तिमा सय पटकभन्दा बढी सुनिसकेको छु । त्यसैले यसले म संगीतमा बहिरो छु कि छैन भन्ने कुरा सावित हुँदैन ।”
“वाहियात !” उनी अलि कडा रुपमा प्रस्तुत भए, “तिमीलाई स्कुलमा पढाइएको गणितको पहिलो पाठ याद छ ? मानिलेऊ, संख्याहरुका बारेमा थाहा हुनेबित्तिकै पहिलो पटकमै तिम्रा शिक्षकले तिमीलाई जटिल भागा वा घटाउने वा गुणनको समस्या हल गर्न दिएको भए तिमीले गर्न सक्थ्यौ त ?”
उनले खाइरहेको तम्बाकूको पाइप मुखबाट निकालेर पुनः मुखमै राखे र मलाई तिखो नजरले हेरे । म पनि उनको कुरामा उत्सुक भएँ । 
“स्कुलको पहिलो दिन कुनै पनि शिक्षकले कठिन किसिमको हिसाब दिने मूर्खता गर्नै सक्दैन । हरेक विद्यार्थीलाई सुरुमा छोटा र सजिला हिसाब समाधान गर्न दिइन्छ । अनि, सरल गणितमा दक्षता हासिल गरिसकेपछि मात्रै ठूला¬ र अप्ठ्यारा समस्या समाधान गर्नका लागि अह्राइन्छ,” उनले भने ।
“संगीत पनि पनि त्यस्तै हो,” आइन्स्टाइनले बिङ क्रस्बीको रेकर्ड उठाए र भने, “यो सहज र सुललित गीत साधारण जोड–घटाउजस्तै हो । तिमीले यसमा दक्षता पाइसकेका छौ । अब हामी थोरै जटिल संगीततिर अघि बढौँ ।”
उनले एउटा अर्को रेकर्ड उठाए र बजाउन थाले । जोन म्याककरमेकको मखमली आवाज अब पूरै कोठामा गुञ्जन थाल्यो । केही क्षणपछि आइन्स्टाइनले रेकर्ड बन्द गरे ।
“अब फेरि तिमी यो गीत मेरा लागि गाइदेऊ न !” बूढाले अनुरोध गरे ।
मैले बडो संकोच मान्दै गीत गुन्गुनाउन थालें । मैले निकै राम्रोसँग गाउन सकेँ र यसमा म आफैँलाई आश्चर्य लागिरहेको थियो । यतिबेला आइन्स्टाइनको अनुहारको भाव यस्तो थियो, त्यो देखेर मलाई मेरो बुवाको याद आयो । स्कुलको ग्राजुएसन पार्टीमा भाषण गर्दा मेरा बुवा खुसीले यस्तै रातोपिरो हुनुभएको थियो ।
जब मैले गीत पूरा गरेँ, आइन्स्टाइनले भने, “आहा ! कति राम्रो !... अब यो है त !”
बूढाले अर्को गीत लाइदिए तर यो गीत मेरा लागि एकदमै नजानेको थियो । थाहै नपाएको यो गीतलाई पनि मैले गुन्गुनाएर सुनाएँ । आइन्स्टाइनले मेरो गुन्गुनाहटलाई मुस्कुराउँदै सहमति दिए ।
‘करुसो’को यो गीतपछि आइन्स्टाइनले मलाई कम्तिमा एक दर्जन गीत सुनाए । यो बूढोको यो महान् व्यक्तित्वप्रति मलाई अति श्रद्धा जागेर आयो । म यी बूढासित अचानकै भेटेको थिएँ तर उनी मलाई संगीतको गुह्य कुरा सिकाउन यति मग्न थिए कि मानौँ उनको एकमात्र चिन्ता नै यही थियो !
यसपछि उनले मलाई गीतबिनाका संगीत सुनाए । तल अघि मैले सुनेको संगीत पनि रेकर्डमा सुनाए । त्यसमा शब्द थिएनन् । संगीतलाई बिस्तारै गुन्गुनाउन अह्राए । मैले पनि धूनअनुसार आवाज निकालेँ । जब उच्च स्वरमा पुगेँ, आइन्स्टाइनले पनि मुख खोलेर आफ्नो टाउकोलाई एकदमै पछाडि लगे ताकि म त्यो स्वरको उचाइसम्म पुग्न सकूँ । मलाई यो काम एकदमै कठिन लागिरहेको थियो तर उनको सहयोगले निकै हदसम्म पूरा गरेँ । त्यसपछि आइन्स्टाइनले ग्रामोफोन बन्द गरे ।
अनि, मलाई अँगालोले बेर्दै स्नेहपूर्वक भने, “डियर, अब हामी बाख सुन्न तयार भयौँ ।”
ड्रइङ रुममा जब हामी आफ्नो कुर्सीमा फर्कियौँ, संगीतकारले नयाँ धून सुरु गरिरहेका थिए । आइन्स्टाइनले मतिर हेरेर मुस्कुराए र मेरो घुँडामा हातले थप्थपाए । उनले मेरो कान छेउमा साउती मार्दै भने, “चिन्ता नगर, संगीतमा आफूलाई बग्न देऊ !”
म एउटा अञ्जान केटो, उनी एउटा प्रख्यात वैज्ञानिक ! मैले यहाँ लेखेजस्तो सजिलो काम थिएन । एउटा बिल्कुलै नचिनेको केटाका लागि विख्यात वैज्ञानिकले जुन मेहनत गरिरहेका थिए, त्यो बयान गर्न कठिन छ । त्यो रात मैले बाखको ‘सीप मे सेफली ग्रेज’ संगीत सुनेँ । त्यति गहिराइका साथ मैले कहिल्यै पनि सुन्न सक्ने थिइनँ होला ! त्यो रातपछि नजाने कतिपटक मैले त्यो संगीत सुनेँ । मलाई कहिल्यै यो संगीत सुनेर थाकूँला भन्ने लाग्दैन ।
किन थाहा छ ?
त्यो गीत सुन्दा म कहिल्यै एक्लो हुन्न । नमिलाएको सेतो कपाल भएको, दाँतको बीचमा निभेको पाइप च्यापेको, होचोहोचो¬–मोटो व्यक्ति पनि मसँगै त्यो संगीत सुनिरहेको हुन्छ, उसको असाधारण स्नेहले भरिएको आँखामा संसारको विस्मय झल्केको हुन्छ ।
जब संगीत कार्यक्रम सकियो, अन्य व्यक्तिले झैँ मैले पनि यो अपूर्व संगीतका लागि कृतज्ञतापूर्वक ताली बजाएँ ।
अचानक हामीलाई यो कार्यक्रममा डाक्ने महिला डा. अल्बर्ट आइन्स्टाइन छेउमा आइन् । मतिर उनले चिसो नजरले हेरिन् र आइन्स्टाइनलाई भनिन्, “डा. आइन्स्टाइन, तपाईंले संगीतको एउटा ठूलो भाग सुन्न पाउनु भएन, मलाई बडो दुःख लाग्यो ।”
आइन्स्टाइन जुरुक्क उठे । उनीसँगै म पनि उठेँ । उनले भने, “अँ, सुन्न नपाएकोमा मलाई पनि दुःख छ तर मेरो यो तन्नेरी साथी र म यस्तो काममा लागिपरेका थियौँ, जसले ईश्वरले हरेक मानिसमा दिएको हुन्छ तर त्यसो गर्न क्षमता उजागर गर्नु पर्ने हुन्छ !”
“हो र ?” ती महिलाको अनुहारमा असमञ्जसको भाव थियो, “त्यो कस्तो काम थियो र ?”
आइन्स्टाइनको अनुहारमा मुस्कान छचल्कियो र स्नेहपूर्वक उनले मेरो काँधमा हात राख्दै सात शब्द भने, ती शब्द मेरो हृदयमा सधैँका लागि कुँदिन पुग्यो¬–
“सौन्दर्यको सीमाको अर्को एउटा ढोका खोल्ने काम ।”
 
(विडम्यान सन् १९६० मा पुलित्जर पुरस्कार विजेता अमेरिकी साहित्यकार हुन् । विडम्यानको यो संस्मरण अच्युत कोइरालाद्वारा अनुदित पुस्तक ‘अल्बर्ट आइन्स्टाइन ः विज्ञान र मानवतामा समर्पित जीवन’मा संगृहीत छ ।)
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC