site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
केपीलाई कर्ण बनाउने प्रयास

महाभारतका कर्णलाई नाट्य शास्त्रअनुसार पनि धीरोद्धत नायक भन्न सकिन्छ । उनी प्रतिनायकका समूहमा भएर पनि खल पात्र देखिँदैनन् । महाभारत युद्धमा द्रोणाचार्य पछि कर्ण सेनापति भए । अर्जुनलाई मार्न राखेको अमोघ वाण घटोत्कचमाथि प्रयोग गरेपछि कवचकुण्डल रहित कर्ण हार्ने लगभग निश्चित हुन्छ । तैपनि, कर्णले युद्ध छाड्दैनन् । उनको अन्तिम युद्धमा एकैपटक विपत्तिहरू आइलाग्छन् । 

परशुरामको श्रापले भार्गवास्त्रको मन्त्रै बिर्सन्छन् । ब्राह्मणको श्रापले उनको रथको पाँग्रा जमिनमा गड्छ । रथको पांग्रो जमिनबाहिर नस्किँदासम्म आफूमाथि प्रहार नगर्न अर्जुनलाई धर्मयुद्धको नियम सम्झाउँछन् । अर्जुनले कर्णमाथि प्रहार गर्न रोकेको देखेपछि कृष्णले भन्छन् – कर्ण ! तिम्रो विवेक र धर्म दुर्योधनका यावत् कुकर्ममा संलग्न हुँदादेखि बालक अभिमन्युलाई सात सात महारथी मिलेर घेरामा पारेर निशस्त्र बनाएर हत्या गर्दासम्म कहाँ थियो ? अर्जुन ! मूर्खता नगर । शत्रु कमजोर भएकै बेला प्रहार गर्नु युद्धनीति हो । अर्जुनले कृष्णको आदेश पालन गरे । कर्ण मारिए ।

यो पौराणिक कथा सायद संसारको इतिहासमा धेरैपटक दोहोरिएको छ । अहिले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कर्ण बनाउने कसरत गरिरहेका छन् । प्रधानमन्त्री ओली उनकै कर्मका कारण कमजोर भएका हुन् । कोरोनाभाइरसको महामारीको सम्बोधनमा त झन् आफ्नो अज्ञान र अहंकार प्रदर्शन गरेर उनी विदूषक साबित भए । यस्तै, बन्दाबन्दीका बेला गरिबहरूका लागि गर्नुपर्ने सुविधाको कुनै प्रबन्ध नगरेर उनको सरकार नालायक पनि सिद्ध भयो । 

Agni Group

त्यसमाथि महामारीका बेला पनि कमिसनको चक्करमा सिंगो सरकार नै एउटा कम्पनीका लागि बदनाम हुन तयार भएको र प्रधानमन्त्री ओलीले नै भ्रष्ट गिरोहको पालनपोषण र संरक्षण गरेको देखियो । यसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शासन नेपालको इतिहासको सायद सबैभन्दा नालायक र भ्रष्ट देखिनपुग्यो । धन्न संकटको बेला भएकाले जनताले सडकबाट प्रधानमन्त्री ओलीको राजीनामा मागेका छैनन् । विपक्षी राजनीतिक दलहरूले पनि सरकारको विरोध गर्दा संयम देखाएका छन् । कारण, अहिलेको प्राथमिकता सरकार परिवर्तन हैन कार्यशैलीमा सुधार र भ्रष्टाचार नियन्त्रण हो ।

यही नै बेला प्रधानमन्त्री ओलीकै पार्टीका नेताहरू भने उनलाई सत्ताबाट हटाउन निकै सक्रिय देखिएका छन् । महामारीको व्यवस्थापनमा सरकारले देखाएको नालायकी र भ्रष्टाचारका उनीहरूले प्रधानमन्त्री ओलीलाई हटाउनुपर्छ भनेका भने हैनन् । अहिलेसम्म नेकपाका शीर्ष नेताहरूले ओम्नी र यती प्रकरणमा सरकारले गरेको भ्रष्टाचारको विरोध गरेको सुनिएको छैन । 

Global Ime bank

सरकारको कुप्रबन्धका कारण काम गरेको ठाउँ सोलुखुम्बुबाट घर भएको कैलालीसम्म कोखमा र काखमा बच्चा लिएर पैदल हिँड्न विवश आमाको पीडाले नेकपाका नेताहरूलाई छोएको पनि होइन । सयौं किलोमिटरको कष्टप्रद यात्रा गरेर आफ्नै मुलुक आएका नागरिकलाई महाकाली तर्न नदिएर दिइएको अमानवीय यातनाले पनि सत्तारुढ कम्युनिस्ट नेतागणलाई प्रधानमन्त्री ओलीसँग रिस उठेको हैन । उनीहरू त केही दिन पहिले दोस्रोपटक मिर्गौला फेरेर तंग्रिन लागेका प्रधानमन्त्री ओलीलाई महामारीको कुप्रबन्ध र भ्रष्टाचारका कारण कमजोर भएको मौकामा ढाल्न सजिलो हुने ठानेर सत्ताका लोभमा एकत्रित भएका हुन् । 

प्रधानमन्त्री ओलीलाई हटाउनै नहुने भने होइन । खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री नहुँदैमा न आकाश खस्छ न धर्ती फाट्छ । सरकार बदलिँदैमा देशमा अस्थिरता हुन्छ भन्नेहरू या त अस्थिरताको अर्थ नै बुझेका छैनन् नभए तिनको नियत ठीक छैन । ओली स्थिरताका पर्याय हैनन् । र, सरकार बदलिँदैमा देशको शान्ति, स्थिरता र विकास खलबलिने पनि हैन । 

परन्तु, प्रधानमन्त्री ओलीलाई हटाउन खोज्नेहरूले अपनाएको विधि र प्रक्रिया भने ओलीको सत्ताभन्दा पनि खराब र खतरनाक छ । ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलले आफ्नो नेता चुनेपछि प्रधानमन्त्री नियुक्त भएका हुन् । पछि दुई कम्युनिस्ट घटकहरू एमाले र माओवादीले एकता गरे । ओली पार्टीको अध्यक्ष र संसदीय दलका नेता भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि नेकपाका अध्यक्ष भए । 

नेकपाभित्रको राजनीति नेपाली जनताका लागि धेरै टाउको दुखाइको विषय होइन । त्यही पार्टीका नेता र कार्यकर्ताको चासो र चिन्ताको विषय हो । तर, प्रधानमन्त्री भने सबै नेपालीको साझा हो । यसैले प्रधानमन्त्री ओलीलाई हटाउन गरिएको चलखेलमा सबैले चासो राखेका छन् । राख्नु पनि पर्छ । नेपालको संविधान, २०७२ मा प्रधानमन्त्री नियुक्त हुनेमात्र हैन पद मुक्त हुने व्यवस्था पनि छ । प्रधानमन्त्री ओलीलाई हटाउन धेरै कसरत गर्नैपर्दैन । नेकपाको संसदीय दलको बहुमतले निर्णय गरे प्रधानमन्त्री ओलीले पद त्याग गर्नैपर्छ । तर, अहिले प्रधानमन्त्री ओलीलाई हटाउन संसदीय प्रक्रिया अवलम्बन गरिएको छैन । बरु ‘पाटनका छ प्रधान’हरूको जमातजस्तोे नेकपाको सचिवालयले निर्णय गरेर प्रधानमन्त्री हटाउन खोजिँदैछ । 

केपी ओली नेकपा (एमाले)को हैसियतमा नेकपामा अध्यक्ष भएका हुन् । यसैले पार्टीको अध्यक्षबाट उनलाई हटाउन पनि पार्टीको वैध मञ्चकै प्रयोग हुनुपर्छ । नेकपाको एकतापछि महाधिवेसन भएको छैन । सचिवालय वा स्थायी समिति ओली र दाहालको सहमतिमा बनाइएका अन्तरिम समितिहरू हुन् । यस्ता अनिर्वाचित निकायको हैसियत सल्लाहकार सरहको हुन्छ । पार्टी एकतापछिको काम चलाउनका लागि तयार गरिएका संरचनाका सदस्यहरूले नैतिक आधारमा पनि आफूलाई नियुक्त गर्ने अध्यक्ष हटाउन मिल्ने देखिँदैन ।  

कोरोनाको महामारीबाट देशको आर्थिक सामाजिक व्यवस्थालाई जोगाउन र महामारीका बेला पनि भ्रष्टाचार गर्ने दाउ छोप्ने नराधमहरूलाई सजाय दिलाउन हटाउन खोजिएको हो भने प्रधानमन्त्री ओलीलाई हटाए हुन्छ । ओली कमजोर भएको मौकामात्र छोप्न खोजिएको हो र अहिलेको शासन शैलीसँग नेकपाको विमति हैन भने (अहिलेसम्म त देखिएको पनि छैन ) ओलीविरुद्धको प्रहार शत्रु कमजोर भएका बेला ढाल्ने रणनीतिकै अनुसरणमात्र हो । लोकतान्त्रिक शासन प्रणालीमा युद्धको नियम लागू हुँदैन । प्रधानमन्त्री ओलीलाई संविधानले चिनेको संस्था संसद्बाट लोकतान्त्रिक विधि पूरा गरेरमात्र हटाइओस् । यसरी दबाब दिएर संसद्मा बहुमत भएको प्रधानमन्त्री हटाउनु बन्दुकका बलामा हटाएजस्तै हो । सचिवालय वा स्थायी समितिले निर्णय गरेर प्रधानमन्त्री हटाउन थाल्ने हो भने संविधान खारेज गरिदिए हुन्छ । एक्काइसौं शताब्दीको नेपालमा पौराणिक कथा वा अठारौं शताब्दीको षड्यन्त्र दोहोर्‍याउने खेल बन्द होस् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC