site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाइनँ खबर ....
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
– पुनम डीसी
 
सँगै बाँच्ने–मर्ने कसम खाएका श्रीमान् बिदेसिएर महिनौंसम्म खबर नआउँदा कसको मन आत्तिँदैन र ? गाउँमा मेलापात गरिरहेकी कुन श्रीमतीको मनमा छटपटी नहोला ? यस्तै छटपटी हरिदेवी कोइरालाले गीतमार्फत पोखिन्: 
 
घरको मालिक परदेशमा गएको, धेरै भयो केही खबर नपाको
पाइनँ खबर, घर फर्की आउनुहोस् मेरो हजुर  
घरको हालत थाहा छँदै थियो नि, लियो साहुले त्यही खेती नि 
पाइनँ खबर घर फर्की आउनुहोस् मेरो हजुर
 
त्यतिबेलाको समय त्यस्तै थियो । अहिलेजस्तो मोबाइल, इन्टरनेट थिएनन् ? चिठीकै भर हुन्थ्यो । त्यही चिठी पाउन पनि महिनौं कुर्नुपथ्र्यो । घरपरिवारको राम्रो भविष्यका लागि रंगीन सपना बोकेर बिदेसिएका श्रीमान्ले घरमा खबर नपठाउँदा उनीहरूका श्रीमती चिठी आउने आशमा बसिरहन्थे । र, गीतबाट हरिदेवीले झैं आफ्नो श्रीमान्लाई खबर पठाउँथे । खबर लगिदिने कोही नहुँदा मनमा पीडाको सागर जमिरहन्थ्यो ।
यिनै पीडालाई हरिदेवीले शब्दमा उतारिन् र लयमा बाँधिन् ।
यो गीतले हरेकलाई छोयो । हरेकको जिब्रोमा वर्षौंसम्म झुन्डियो ।
 
त्यतिबेला त्यत्ति बिदेसिने चलन त थिएन । तर, जो बिदेसिन्थे, उनीहरूको खबर पाउन निकै समय कुर्नुपथ्र्यो । त्यसैले पनि उनलाई यो गीत फुरेको होला । हरिदेवीका अनुसार यो गीत ०४० सालमा रेकर्ड भएको भएको हो । यद्यपि, अहिले पनि उत्तिकै जीवन्त छ ।
७ वटा गीत समेटिएको ‘पाइनँ खबर’ एल्बम रिलिज भएपछि उनका बारेमा धेरै अड्कलबाजी भए । केहीले निकै प्रशंसा गरे भने केहीले उनकै कथा मानेर दुःख व्यक्त गरे । जेहोस्, उनलाई यो गीतले चर्चाको शिखरमा पु¥याइदियो । उनको पहिलो एल्बम नै धेरै हिट भयो । यो गीतले उनलाई ऊर्जा मिल्यो । सांगीतिक यात्रामा उनको यो पहिलो खुड्किलो थियो । 
चाखलाग्दो कुरा त हरिदेवीले यो गीत आफैंले सुन्नका लागिमात्रै रेकर्ड गराएकी थिइन् । गीत क्यासेटमा आएको २ महिनापछिमात्रै थाहा पाइन् । उनले त्यही साल ‘आँखाभरि आँसुको धारा, यो जीवनमा कोही छैन सहारा, घर त बैरम ताल’ बोलको गीत रेडियो नेपालमा रेकर्ड गराइन् । 
पहिलो एल्बमको सफलतापछि उनले ‘के सिन्दूर पहिरेछु धर्म छाडाको’ बोलको दोस्रो एल्बम ल्याइन् । गीतको ‘टाइटल’का कारण यसलाई मानिसले अलि गलत किसिमले पनि व्याख्या गरेको हरिदेवी सम्झिन्छिन् । 
उनका बारेमा विभिन्न किसिमका टीकाटिप्णी पनि हुन थाले । केहीले त ‘लोग्नेले हेला गरेर दोस्रो विवाह गरेछन्, त्यसैले यस्तो गीत गाएकी हुन्’ पनि भने । 
सयौं लोकगीत गाइसकेकी हरिदेवीको गीतले कुनै न कुनै सन्देश बोकेका हुन्छन् । उनी समाजमा घटेका घटनालाई गीत बनाएर गाउँछिन् । उनले गाएका सबै गीतमा उनकै लय तथा शब्द छन् ।
हरिदेवीले अहिलेसम्म गीत–संगीतको कुनै औपचारिक शिक्षा लिएकी छैनन् । तर पनि उनलाई गीत–संगीतको राम्रो ज्ञान छ । उनका गीत जीवन्त हुन्छन् । 
बिस्तारै हरिदेवीका ‘फ्यान’ पनि बढ्दै गए । उनका गीत सुनेर कोही त घर नै हेर्न आइपुग्थे । कोही त गाली पनि गर्थे । सबैलाई हाँसीहाँसी जवाफ दिन्थिन् र भन्थिन्, “मलाई केही दुःख छैन । श्रीमान्ले सहयोग गर्नुहुन्छ र हाम्रो सम्बन्ध राम्रो छ ।”
कोहीकोही त भन्थे, “हरिदेवीलाई जस्तो दुःख त हामीलाई के छ र ?”
गीतकै कारणले उनले धेरैलाई प्रष्टीकरण दिनुपथ्र्यो । कहिलेकाहीँ त दिक्क पनि लाग्थ्यो । श्रीमान्ले सम्झाउँथे अनि फेरि गीत गाउन सुरु गर्थिन् । स्रोताले गरेको टीकाटिप्पणीलाई उनले सधैं माया र आशीर्वादको रूपमा ग्रहण गरिन् । 
हरिदेवी कोइरालाको जन्म सुन्दर नगरी पोखरामा भयो । पोखराजत्तिकै सुन्दर र मन्त्रमुग्ध छ उनको स्वर पनि । फेवाताल किनारैमा उनको घर थियो । त्यतिबेला फेवाताल निकै सुन्दर र सफा थियो । सबैले तालकै पानी पिउँथे । उनी पनि फेवातालको चिसो पानी पिएर हुर्किइन् । ठूलो परिवारमा हुर्किएकी हरिदेवी आमा र फुपूसँग पानी लिन फेवाताल जान्थिन् । माछापुच्छ«े हिमाल अनि फेवाताल र रानी वनको काखमा खेलेर उनको बालापन बित्यो । 
हरिदेवी सानैदेखि गीत–संगीतमा रुची राख्थिन् । लेकसाइडमा खेतीपाती हुन्थ्यो । खेतालाले गीत गाउँथे । उनी खेतालका पश्चिमी भाका सुनेर बस्थिन् । घरमा हजुरआमाले सुनाउने श्लोकबाट पनि उनी प्रभावित थिइन् । 
गन्धर्वहरू सारंगी लिएर घरमै आउँथे । उनी गन्धर्वका गीत सुन्दै आफू पनि गाउने प्रयास गर्थिन् । विद्यालयमा हुने कार्यक्रमहरूमा पनि भाग लिन्थिन् । 
कोइराला यस्ती प्रतिभा हुन्, जो आफू पीडा नभोगेरै पनि अरुको पीडा महसुस गर्न सक्छिन् । अन्तर्मुखी स्वभावकी उनी कम बोल्छिन् तर पनि महिलाका पीडा सहजै महसुस गर्न सक्छिन् । 
स्कुल पढ्दै हरिदेवीले ‘विदेशीले भन्लान् नि को हो, ढोका कुर्ने नेपालीको धोको’ बोलको गीत गाएकी थिइन् । उनले गाएको पहिलो गीत थियो यो ।
 
श्रीमान्को साथ
बाहिरी संसारको स्वाद चाख्न नपाउँदै उनको बिहे गरिदिने निधो गरे बुबाआमाले । त्यतिबेला उनले भर्खर एसएलसी सकेकी थिइन् । पढौंला र केही गरौंला भन्ने उमेरमै बिहे हुने भएपछि उनको मन आत्तिएको पनि थियो । तर, उनले गर्न सक्ने केही थिएन । छोरी मान्छे अर्काको घर जाने त हो नि भनेर बीचमै पढाइ छुटाउने चलन थियो ।
बिहेको कुरा चलेदेखि नै गाउँमा विवाह नहोस् भनेर भगवान्सँग पुकार्थिन् । श्रीमान् जस्तो भए पनि सहरको होस् भन्ने उनको चाहना थियो । सहरमा भए आफूमा भएको प्रतिभा देखाउन पाउँछु कि भन्ने उनको आशा थियो । नभन्दै उनले चाहेकै जस्तो भयो ।
त्यतिबेला अहिलेजस्तो केटा–केटी हेर्ने, भेट्ने चलन थिएन । उनले पनि बिहेको जग्गेमै केटाको अनुहार देख्न पाइन् । बिहेमै उनीहरू दुवैको देखाभेट भयो ।
हरिदेवीका श्रीमान् बैंकका जागिरे थिए । श्रीमान् पढेलेखेका भएकाले उनलाई आफ्नो सांगीतिक करिअर अगाडि बढाउन सजिलो भयो । पढाइलाई पनि निरन्तरता दिन पाइन् । 
साथीहरूले पनि हरिदेवीलाई गीत गाउन हौस्याउँथे । श्रीमान्को हौसला पनि कायम रह्यो । “बिहे भइसकेपछि श्रीमान्को साथ र सहयोगले ठूलो भूमिका खेल्दोरहेछ,” उनले सुनाइन्, “उहाँले साथ नदिनुभएको भए आज हरिदेवी कोइरालालाई कसैले पनि चिन्ने थिएन होला ।”
गीत रेकर्ड गराउन काठमाडौं नै आउनुपर्ने बाध्यता थियो । 
 
तीज गीतकी जन्मदाता
सबैखालै लोक भाका गाउन खपिप्स हरिदेवीले ०४४ सालदेखि तीजका गीत पनि गाउन थालिन् । बिस्तारै हरिदेवी कोइराला र तीज पर्यायवाची नै बने । कुनै जमानामा रेडियो नेपालमा एकछत्र राज गरेकी हरिदेवीका तीज गीत भनेपछि मान्छे हुरुक्कै हुन्थे । कतिपय त उनका मर्मस्पर्शी गीत सुनेर रुन्थे पनि ।
उनका गीत सान्दर्भिक हुन्थे । त्यतिबेलाको समयमा महिलालाई अलि हेपाहा दृष्टिले हेरिन्थ्यो । मनभरि पीडा बोकेर बाहिर हाँस्नुपथ्र्यो । गुम्सिएका पीडा पोख्ने माध्यम थियो तीज । छोरीचेलीका वेदना पोख्ने पर्वको रूपमा हेरिन्थ्यो तीजलाई । तीज गीतमा पनि माइतीघर तथा छोलीचेलीका वेदना समेटिएका हुन्थे ।
‘भृकुटी र सीताजस्ती नारीको यो देशमा, यही देशका चेलीहरू लगेर बेच्यो विदेशमा’ बोलको गीत उनको पहिलो तीज गीत थियो । वर्षभरि देशमा भएका घटनालाई पनि उनी गीत बनाउँथिन् । उनले क्रमशः ‘चेलीको आवाज’, ‘माइतै रमाइलो’, ‘आमाको चिठी’, ‘भेटौंला तीजमा’, ‘लिन आएनन्’, ‘हाम्रा उनै सभासद’, ‘गणतन्त्र आयो बरिलै,’ लगायत तीज गीत गाएकी छन् ।
उनले गत वर्ष भूकम्पसम्बन्धी गीत पनि बजारमा ल्याएकी थिइन् । यसपालिको तीजमा पनि दुइटा एल्बम ल्याउँदैछिन् । हरिदेवीको ‘महँगी र ‘तीजको उमंग आयो बरिलै’ बोलको गीत चाँडै बजारमा आउँदैछन् । तीज महँगो र भड्किलो भइरहेकोमा उनलाई चिन्ता लाग्छ । त्यसैले उनले यसपालि तीजलाई भड्किलो नबनाउन सन्देश दिने गीत गाएकी छन् ।
पुराना गीतलाई नयाँ पुस्तासँग जोड्ने उनको ध्येय छ । त्यसैले खोजी–खोजी पुराना गीत पनि गाउने गरेकी छन् ।
 
कस्तो हुनपर्छ तीज गीत ? 
हरिदेवीको विचारमा तीज गीत लोक गीतको एउटा पाटो हो । गीत घटनाप्रधान हुनुपर्छ भन्ने उनको भनाइ छ । तीजको सांस्कृतिक महत्व, मौलिकता र विशेषता छुट्टै भएकाले त्यसको मर्मअनुसार गीत गाउनुपर्नेमा उनी जोड दिन्छिन् । तीजसँग माइती, चेली, माइतीघरसँगको प्रेम, दाजुभाइ–दिदीबहिनी जमघट र पारिवारिक सम्बन्ध जोडिने हरिदेवी बताउँछिन् । पछिल्लो समय तीज गीतको मर्म नै मरिसकेको उनको ठहर छ ।
भन्छिन्, “परिवर्तनको नाममा भड्किला र उच्छृंखल गीत आएका छन् । यस्ता गीतले तीज पर्वको महत्व नै हराउने हो कि भन्ने खतरा देखिएको छ ।”
समय धेरै परिवर्तन भइसकेको छ । हरिदेवीको पालाको जस्तो सामाजिक परिवेश अहिले छैन । महिला पनि सशक्त भइसकेका छन् । आफ्ना पीर वेदना पोख्न पनि तीज कुरिरहनु पर्दैन । तर, पनि हरिदेवीका गीतको सान्दर्भिकता भने कम भएको छैन । उनका गीत अझै पनि सुनिन्छ र गाइन्छ । उनले आफूलाई पनि समयअनुसार ढालिरहेकी छन् । त्यसैले त आज पनि उनका गीत उत्तिकै गुन्जिन्छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC