कोविड -१९ एक नयाँ संक्रामक रोग हो जसलाई ‘सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस २ अर्थात् सार्स-कोव-२' पनि भनिन्छ । यो भाइरस चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरबाट सरु भएको हो । यो मानवताको संकटमा रूपमा दिखएको छ । यसले विश्वको अर्थतन्त्र र धेरै मानवीय जीवनको क्षति गरेको छ । विश्वका लगभग सबै देशहरू यस भाइरसको कारण प्रभावित छन् । यो भाइरस चीनबाट उत्पत्ति भए पनि यसले अहिले अमेरिका र युरोपलाई नराम्ररी असर गरेको छ । बिस्तारै यसले नेपाल र भारतजस्ता एसियाली देशहरूलाई पनि असर गरिरहेको छ ।
कोविड-१९ ले हाम्रो दैनिक तालिकालाई बदलिदिएको छ । धेरै मानिस अल्छी हुँदै गएका छन् । हामीले गरिरहेका नियमित कार्य गर्न पाएका छैनौँ । किनभने, कोरोनाभाइरसले सबैलाई घरमा बन्द हुनुपर्ने बनाएको छ । यसले रोजगारीको हरेक क्षेत्रलाई असर गरेको छ । यसले विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, मजदुरहरु र अधिकांश व्यापारीलाई प्रभावित गरेको छ । पर्यटन, धार्मिक स्थान, फिल्म उद्योग, होटल सेवा र खेलकुदहरू यस भाइरसको कारण नराम्ररी प्रभावित भएका छन् ।
कुनत, महामारीको संकटमा पनि रोजगारका केही क्षेत्र भने सक्रिय नै छन् । किसानहरूले पर्याप्त तरकारी, फलफूल र बाली उब्जाएनन् भने हामीले पौष्टिक खाना खान पाउँदैनौ । तसर्थ, कृषकहरु उत्पादनमा सक्रिय छन् । डाक्टरहरू र अन्य स्वास्थ्यकर्मीहरू यस्तो महामारीका जीवित देवता भएका छन् । तिनीहरू नभए कोविड-१९ का धेरै बिरामीले ज्यान गुमाउने थए । प्रहरीले बन्दाबन्दीलाई कडाइका साथ लागू गरेर कोविड-१९ को संक्रमण बढ्न नदिने कोसिस गर्दैछन् । पत्रकारहरू कोविड-१९ का बारेमा सम्बन्धित समाचारहरू दिन कडा मेहनत गरिरहेका छन् ।
कोविड-१९ ले हालको समयमा विद्यार्थीको जीवनलाई सबैभन्दा बढी असर गरेको छ । कोविड-१९ का कारण बन्दाबन्दी हुनुअघि विद्यार्थीहरू बिहान सबेरै उठ्थे, गृहकार्य गर्थे, तयार हुन्थे र स्कुल जान्थे, । अब उनीहरूले आफ्नो दिनचर्या नै बिर्सिसकेका छन् । स्कुलमा पढ्नुको सट्टा अब उनीहरू घरमा बसेर बोर भइरहेका छन् र कुनै कामविनाका जस्ता भएका छन् । अब विद्यार्थीहरू गीत सुन्न, चलचित्र हेर्न र भिडियो गेम खेल्नमा समय बिताउँदै छन् । उनीहरूको धेरैजसो समय टेलिभिजन र मोबाइल हेरेर बित्दैछ जुन स्वास्थ्यको लागि विशेष गरी आँखाको लागि हानिकारक छ । केही विद्यार्थी आमाबुबालाई घरको काममा सहयोग पनि गर्छन् ।
मेरो दैनिक तालिका पनि कोविड–१९ को कारणले प्रभावित भएको छ । मेरो पनि दिनदिनै आलस्य बढ्दैछ । अहिले मेरो अध्ययन सम्बन्धी केही कार्य छैन । कक्षा सातको पुस्तकहरूको पूरा सेट मैले प्राप्त गर्न सकेकी छैन । मेरो समय सुत्न, मोबाइल हेर्न, भाइसँग खेल्न र कहिलेकाँही पुस्तकहरू पढ्न उपयोग गरेर बिताउँदैछु । म मेरा आमाबुबालाई मद्दत गर्न घरका सानातिना काम पनि गर्दछु । मलाई बगैंचामा काम गर्न, खाना पकाउन र घर सजाउन मन पर्छ । लकडाउन बढ्दै गर्दा मेरी आमाले घरमा केही नयाँ परिकार बनाउने कोसिस गरिरहनु भएको छ । यस अवधिमा आमाले जेरी, रसबरी, बन्दाकोबी रोल र मम आदि परिकार बनाउनु भयो । मलाई यी खाना मीठो लाग्यो । म अहिले घरमा बस्दा मनतातो पानी धेरै पिउँदैछु । म लकडाउनको समयमा घरमा बस्नुपर्दा एक किसिमले खुसी नै छु । किनभने म आफ्नो बुबाआमाको साथ रमाउँदै घरमा बसेकी छु ।
मलाई थाहा छैन हाम्रो स्कुल कहिले खुल्ने हो ? मैले कहिले साथीहरूलाई भेट्छु र उनीहरूसँग खेल्नेछु । अनलाइन कक्षा सुरू हुन्छ भन्ने हल्ला सुनेकी छु तर यो पक्का छैन । म कक्षा ६ को परीक्षा दिएर बसेको पनि करिब डेढ महिना भयो । मैले फोनबाट पास भएको सुने पनि लब्धाङ्क पत्र (मार्कसिट) हेरेको छैन । मेरो मार्कसिट कहिले पाउँछु ? हामी कहिले नयाँ ब्याग र नयाँ पुस्तक लिएर स्कुल जाने हो ? हामीले फेरि कहिले शिक्षकहरूबाट सिक्ने हो ? हामी कहिले कोभिड-१९ को डरबाट मुक्त हुने हो ? हाम्रो नियमित तालिका कहिले सुरु हुने हो ? सबै प्रश्न अनुत्तरित छन् । त्यसैले यो महामारी छिट्टै सकियोस् भन्ने कामना गर्दछु ।
म सबै साथीलाई घरमा बस्न अनुरोध गर्छु । समय समयमा आफ्ना हात धुनुहोस् । घर सरसफाइ गर्नुहोस् । स्वस्थ हुनुहोस् । तपाईँको परिवारलाई सुरक्षित राख्नुहोस् । लकडाउन पालना गर्नुहोस् । सामाजिक दूरी कायम गर्नुहोस् । सम्भव भएमा आपतकालमा बाहिर जाँदा एन-९५ मास्क प्रयोग गर्नुहोस् । स्वच्छ खाना खानुहोस् । पानी उमालेर मनतातो बनाएर पिउनुहोस् । भिटामिन सी युक्त खाना र हरियो सागसब्जीहरू आदि खानुहोस् ।
यो लामो लकडाउनमा आफूलाई व्यस्त राख्न मैले यो छोटो लेख लेख्ने प्रयास गरेकी छु । तपाईंहरू पनि घरमा बसेर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुहुन्छ भन्ने म आशा गर्छु ।
(कक्षा ६, सेन्ट मेरीज स्कूल, विराटनगर)