site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
प्रहरीको ज्यादती, गिरफ्तारी र मानसिक यातनाको एक दिन 

अहिले विश्वभर स्वास्थ्य संकटकाल छ । अर्बौं मान्छे बन्दाबन्दीमा (लकडाउन)मा छन् । घरभित्रै छन् । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध सबै लड्नु परेको छ र लडिरहेका छौँ । कोरोनाविरुद्धको अचुक अस्त्र नै बन्दाबन्दी हो भन्ने स्वीकार गरेरै हामी घरभित्रै बसेका हौँ । अझै कति दिन बस्नुपर्ने हो थाहा छैन । 

म पत्रकार हुँ । पन्ध्र वर्षदेखि यही पेसामा छु । चितवनबाट नियमितरुपमा प्रकाशन हुँदैआएको ‘कायाकैरन’ दैनिक स्थापना भएको चौध वर्ष भयो । म यो पत्रिकामा पहिलो दिनबाटै कार्यरत छु । अहिले यो पत्रिकाको सम्पादक छु । सम्पादकीय नेतृत्वमा काम गरेकै करिब एक दशक पुग्यो होला ।
लकडाउनको बेला सर्वसाधारणलाई सचेत गराउन, रोगको संक्रमण फैलन नदिन तीन पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी । यसैलाई मानेर हामीले दरिलो भूमिका निर्वाह गरिरहेका छौँ । 

पत्रपत्रिकाबाट पनि रोगको संक्रमण सर्नसक्छ भनेर हामीले कायाकैरनको प्रिन्ट संस्करण ‘लकडाउन’ सुरु भएदेखि नै बन्द गरेका छौँ । चितवनका अरु पत्रिका पनि निस्केका छैनन् । तर, अहिलेको झन् सशक्त माध्यम अनलाइन अझै धेरै अद्यावधिक गरिरहेका छौँ । सकेसम्म घरमै बसी ‘अपडेट’ गरिरहेका हुन्छौँ । त्यसका लागि समाचार सामग्री लिन कहिलेकाहीँ घरबाहिर निस्किनै पर्छ । 

Agni Group

हिजो सोमबार पनि फोटोका लागि फिल्डमा गएको थिएँ । तर, सुरक्षाकर्मीबाट साह्रै नै नमीठो र दुःखद धरपकड, गिरफ्तारी र मानसिक तनाव बेहोर्नुपर्‍यो । 

लकडाउन मान्नुपर्छ भनेरै ३५ दिनको बन्दाबन्दीमा समाचारका लागि म जम्मा तीन दिन बाहिर निस्किएको छु । उपचारका लागि अस्पताल गएको बेला मैले कहिल्यै पत्रकारको कार्ड देखाएको छैन । र, घरबाट अस्पताल र अस्पतालबाट घरभन्दा दायाँबायाँ गरेको पनि छैन । तै पनि यस्तो दुव्र्यवहार, गिरफ्तारी र मानसिक तनाव बेहोर्नुपर्‍यो ।

Global Ime bank

म हिजो सोमबार बिहान के भएको थियो भन्ने विषय प्रस्तुत गर्दैछु ।

लकडाउनको ३५ औं दिन थियो सोमबार । बिहान करिब १० बजेतिर भरतपुर – १० स्थित घरबाट निस्किएँ । भरतपुरको चौबीसकोठीमा प्रहरीले निकै कडाइ गरिरहेको र धेरै सर्वसाधारणलाई रोकिरहेको  सूचना पाएर त्यता गएको थिएँ । म ना. ६४ प ३९८९ नम्बरको स्कुटरमा थिएँ । म पुग्दा प्रहरीले चौबीसकोठी चोकमा ५०–६० वटा मोटरसाइकल रोकेर सबैलाई केरकार गरिरहेका थिए । मलाई पनि एक प्रहरी जवानले रोके । मैले घाँटीमा झुण्ड्याएको प्रेस परिचयपत्र देखाएँ र रिपोर्टिङका लागि आएको जानकारी गराएँ । तर, उनले ‘मिडिया थाहा छैन, साइड लगाउनुस्’ भने । मैले ‘३५ दिनको लकडाउनमा कोही पनि पत्रकारलाई रोकिएको छैन, म पनि कहिलेकाहीं निस्किँदा रोकिएको छैन, जान दिनुहोस्’ भने । तर, उनले मानेनन् ।

सयौं सर्वसाधारण रोकिएका थिए । बैंकर, विद्यालय शिक्षक, अस्पताल हिँडेका, औषधि किन्न हिँडेका, इन्टरनेट सेवा प्रदायक, अक्सिजन आपूर्तिकर्ता रोकिएका थिए । यति धेरै मान्छे रोकिन हुँदा म पनि एकछिन रोकिन के हुन्छ र भन्ने ठानेर मैले मेरो स्कुटर साइड लगाएँ । चाबी झिकेँ र एकछिन यताउति गतिविधि हेरेँ । केही फोटो पनि खिचेँ ।

अलि पर एकजना सई (प्रहरी नायब निरीक्षक) रहेछन् । उनी आफ्नो सञ्चारसेटबाट केही बोलिरहेका थिए । फिल्डको कमान्डर उनी रहेको ठानी म नजिक गएँ । ‘सई सा’ब म पत्रकार हुँ, मलाई अगाडि जान दिएनन्, तपाईँले जान दिनुपर्‍यो’, उही घाँटीमा झुन्डिएको कार्ड देखाउँदै भने । उनले पनि आफूले छोड्न नसक्ने बरु डीएसपीलाई फोन गर्नुस् भने ।

मैले चितवनका एसपी (प्रहरी उपरीक्षक) नान्तिराज गुरुङको मोबाइलमा फोन गरेँ । तर, उठेन । यतिबेरसम्म प्रहरीका दुई ट्रक आए । दुवै गाडीमा प्रहरी रहेछन् ।

म फेरि मेरो बाइक भएको ठाउँमा नै फर्किएँ । त्यहाँ भिडको नेतृत्व धिताल थर गरेका एकजना हवल्दारले गरेका रहेछन् । पछि बुझ्दा उनको पूरा नाम लुमदी धिताल रहेछ । त्यहाँ बैंकका कर्मचारी, सहकारीका कर्मचारी, विद्यालय शिक्षक अनेकौं अनुरोध गरिरहेका थिए ।

एउटा बाइकमा आएका दुईजनालाई प्रहरीले रोक्यो । उनीहरुमध्ये एक जना बिरामी भएको र अस्पताल जान लागेको भन्दै अस्पतालको कागज देखाए । तर, हवल्दारमा कुनै संवेदना देखिएन । ‘यस्ता जाबो कागज सबैले बनाउँछन्’ भनेर बाइकको चाबी नियन्त्रणमा लिए ।

महानगरले रिजल्ट सार्वजनिक गर भनेको छ, त्यही भएर विद्यालय जान लागेको भन्दै विद्यालय पोसाकमै भएका एक शिक्षकले अनुरोध गरे । ‘कसैलाई छोडिन्न’ भन्दै उनको पनि चाबी खोसे ।

अक्सिजन सप्लायर्स बताउँदै प्रशासनले जारी गरेको पूर्जी देखाउनेलाई पनि ‘यसले केही हुन्न’ भन्दै चाबी खोसे ।

अब पालो आयो मेरो ।

‘यो कसको ?’ मेरो स्कुटरको भाइजरमा झ्याम्म हानेर उनले आफ्नो गुण्डाशैली देखाए । मैले फेरि उसैगरी ‘स्कुटर मेरो हो र मेरो परिचय यो हो’ भनेर कार्ड देखाएँ । उनले मेरो कार्ड झट्कारेर ‘यस्ता जाबो कार्ड सबैले बनाउँछ, मिडिया भनेर हुँदैन, यो गाडीको पास खै ?’ भनेर फेरि स्कुटरको भाइजरमा हात बजारे । ‘आजसम्म पत्रकारको आईडी कार्डले रोडमा चल्न दिइएको छ त, गाडीको पास हामीलाई कहाँ दिएको छ त नि’ भने ।

उनको अनुहार र बोलीमा भिन्दै पारा थियो । भिन्दै शैली थियो । खै उनी के खाएर आएका थिए वा कस्तो निर्देशन लिएर आएका थिए म जान्दिनँ । तर, उनको प्रस्तुति साँच्चै अजीवको थियो । मैले आफ्नो कार्ड देखाएको र पत्रकार भएकोले पास हुन पाउँछु भनेको कुराले उनलाई झनै दिमाग तातेछ क्यारे । ‘ओइ, यसको चाबी खोस्’, उनकै सहकर्मीलाई निर्देशन दिँदै उनी फतफताए, – ‘‘पत्रकार भन्या’छ, जाबो कार्ड भिरेको छ, फोटो खिच्या’छ ।’’

त्यसपछि दुई/तीन जना प्रहरी जवान मलाई झ्याप्पै छोप्न आए । ‘‘खै चाबी दे’’ तिनीहरुले भने । मैले दिइन । ‘‘तपाईंहरुले किन यस्तो गर्नुभएको, ३५ दिनसम्म लकडाउन हुँदा पत्रकारलाई यस्तो कहीँ गरिएन, आज एक्कासि के भयो ?’’, मैले अझै जान्न खोजेँ – ‘‘प्लीज मिडियालाई यसो नगर्नुस् ।’’ हवल्दारले सुनिरहेका रहेछन् पिटुँला झैँं गर्दै आए । चाबी खोस्न खोजे । मैले अझै दिइनँ । ‘‘म समाचार संकलनका लागि आएको हुँ, मलाई जान दिनुहोस्, मेरो स्कुटर नलैजानुहोस्’’, भने । ‘‘ओइ यो स्कुटर गाडीमा हाल’’, उनले फेरि निर्देशन दिए ।

यति भनेपछि ५/७ जना आएर मलाई धकेलेर स्कुटरबाट झारे र स्कुटर उचालेर गाडीमा हाले । उनीहरुले मेरो स्कुटर उचालेको र गाडीमा हालेको फोटो खिचेँ । अरु व्यक्तिहरु सबैको चाबी खोसियो, सबै बाइक चलाएरै जिल्ला प्रहरी कार्यालय लगे ।

मेरो सवारीसाधन नै नियन्त्रणमा लिएपछि पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई फोन गरेर जानकारी गराइहालेँ ।

अलि पर रेडियो त्रिवेणीका निर्देशक अर्जुन अधिकारीलाई देखेँ । उनलाई पनि त्यस्तै गरेका होलान् भनेर नजिकै गएँ । उनले ममाथि गरेको सबै दुव्र्यवहार देखेका रहेछन् । तर, मास्क र हेल्मेट नखोलेकोले मलाई चिनेका रहेनछन् । मास्क खोलेपछि उनले चिने । त्यतिखेरसम्म उनको बाइक प्रहरीले लगिसकेको रहेछ । उनले सजिलै प्रहरीलाई चाबी बुझाएछन् । गाडीमा हालेको मेरो स्कुटर भएको थाहा पाएपछि उनले फोटो खिचे । यो देखिरहेका हवल्दार फेरि झम्टिँदै आए । ‘‘किन फोटो खिचिस् ?’’, उनले रुखो वचन फाले । अर्जुनजीले आफू मिडियाकर्मी भएको र समाचारका लागि फोटो खिचेको बताए । ‘‘ओइ, यो पनि बढी भयो, यसलाई गाडीमा हाल अनि मोबाइल खोसेर फोटो र भिडियो सबै डिलिट गर्दे ।’’

यति भनेपछि अर्जुनजीलाई तीन जना प्रहरीले कठालो समातेर ट्रक चढाए । मेरै आडमा सञ्चारकर्मी साथीलाई गाडीमा हालेपछि मैले मिडियाकर्मीलाई नलैजानुस् भने । हवल्दार फेरि उम्लिए – ‘‘ओइ यसलाई पनि हाल ।’’

उसैगरी मलाई पनि हाले ।

मेरो मोबाइल खोस्न लागे । त्यहीबेला पत्रकार महासंघका अध्यक्ष खतिवडाको फोन आयो । हतारमा रिसिभ गरेर ५ सेकेन्डमै भनिहालेँ – ‘‘मलाई प्रहरीले गिरफ्तार गर्‍यो, मलाई गाडीमा राखेको छ, मेरो मोबाइल खोस्दैछ ।’’ यति भन्न भ्याउँदालगत्तै प्रहरीले मेरो हातबाट मोबाइल खोस्यो । ‘‘ओइ फोटो भिडियो डिलिट गर्नुपर्‍यो, लक खोल’’ – उस्तै रुखो स्वरमा एक जवानले भने । ‘‘पत्रकारले सार्वजनिक ठाउँमा खिचेको फोटो डिलिट गर्दिन’’, मैले भने । गर्नैपर्छ भनेर दबाब दिए । धेरै दबाब दिएपछि अर्जुनजीले डिलिट गर्न मोबाइल अनलक गरिसकेका थिए । तर, मैले डिलिट नगर्न भने । उनले फेरि प्रहरीलाई नै मोबाइल दिए । मोबाइल अफ गरेर राख्न हवल्दारले अह्राए । अर्जुनजीको अफ गरे । मेरो मेसो पाएनन् ।

सडकमा अर्को एउटा बाइक बाँकी थियो । त्यो पनि हाल्न हवल्दारले अह्राए । बोकेर हाले । अगाडि नै मेरो स्कुटर हालेकोले गाडीमा अटेन । ‘त्यो स्कुटर उता पछार्दे’, हवल्दार अझै उम्लिए । माथि भएको प्रहरीले स्कुटर धकेल्दिए । अनि पछाडिबाट अघि हालेको बाइक ठेल्दिए । त्यो धक्काले मेरो स्कुटरको पछाडिको भाइजर पक्लक्कै उप्कियो । स्कुटर लड्यो । पछाडिबाट ठेलिएको बाइकले मेरो खुट्टा बीचमा च्यापियो । बिस्तारै मिलाएर खुट्टा बाहिर निकालेँ ।

हामीलाई जिल्ला प्रहरी कार्यालय लगियो । यति गर्दासम्म पनि जिल्लामा लगेपछि त डीएसपी वा एसपीसम्मले पक्कै कुरा बुझ्लान्, हामीलाई छाडिदेलान् भन्ने लागिरहेको थियो ।

गाडी जिल्ला प्रहरी कार्यालयभित्र छिराइयो । पछाडि हामीसँग दुई प्रहरी थिए । अगाडि क्याबिनमा उनै हवल्दार रहेछन् । झरे । ‘बाइक झार’, तिनले निर्देशन दिए । प्रहरीहरुले झारे । ‘यिनीहरुलाई के गर्ने सर ?’, माथिबाट सोधियो । हवल्दारको हुकुम आयो, ‘यिनीहरुलाई क्वारेन्टिनमा लगेर हुल्दे ।’’

गाडी घुमाएर हामीलाई भरतपुर कभर्डहल लगियो । क्वारेन्टिनको नाममा हामीजस्तै गरी उठाएर ल्याइएकालाई त्यहाँ दिनभर उभ्याइने रहेछ ।

त्यहाँ यमलाल मुक्तान नाम गरेका हवल्दार रहेछन् । गाडीमा लगेका प्रहरीले हामीलाई उनको नियन्त्रणमा हस्तान्तरण गरे । हामीबाट कब्जामा लिइएको दुई मोबाइल पनि मुक्तानलाई दिए । उनी टेबलमा एउटा ढड्डा लिएर बसेका थिए । त्यहाँ लामै सूची थियो । हामीलाई अगाडि उभिन भने ।

क्रमैसँग हाम्रो नाम, ठेगाना, उमेर, पक्राउ परेका ठाउँ, मोबाइल नम्बर सोधे । र, उभिइरहन अह्राए । जे जे भने त्यही गरियो । उनले किन चौबीसकोठी गएको ? के गर्दा समातेको ? अनेक प्रश्न गर्न लागे । मेरो परिचयपत्र घाँटीमै झुन्डिरहेको थियो । त्यही देखाएर भने – ‘‘रिपोर्टिङ गर्न गएको, कार्ड देखाउँदा देखाउँदै उठाएर ल्याए ।’’

मेरो मोबाइल ती हवल्दारले टेबलमा राखेका थिए । स्वीच अन नै थियो । त्यहीबेला पत्रकार महासंघ अध्यक्षको फोन आयो । मैले फोन मागेँ । पत्रकार भएको जानकारी पाएर हो वा खै के भएर हो उनले चाहिँ फोन उठाउन अनुमति दिए । मैले एकै सासमा प्रहरीले जिल्ला कार्यालयमा नझारी क्वारेन्टाइनमा ल्याएर थुनेको जानकारी अध्यक्षलाई गराएँ र तुरुन्त हामीलाई निकाल्न आउनुस् भने । हामीलाई अझै केरकार गरे । उनी बेलाबेलामा कतै फोन पनि गर्दै थिए, हाम्रो बारेमा रिपोर्टिङ गर्दै थिए । ‘जय नेपाल सर’ भन्दै फोनमा बोलेकाले आफूभन्दा माथिल्लो अफिसरलाई गरेको प्रष्ट हुन्थ्यो । उनले ‘‘खै सर घाँटीमा कार्ड झुन्ड्याएको छ, पत्रकार हुँ भन्छ’ भन्दै थिए ।

केहीबेरमा एकजना सई आए । उनको छातीमा केबी अधिकारी लेखिएको नेमप्लेट थियो । हवल्दारले तन्किएर सलाम गरे । आफू बसेको कुर्सी छोडिदिए । अधिकारी बसे । फेरि सुरुदेखि नै सबै सोध्न थाले हामीलाई । उनले पनि उसैगरी ‘जय नेपाल सर’ भन्दै कता कता के के सुनाए । कार्ड झुन्ड्याएका पत्रकार ल्याएर राखेको रिपोर्टिङ गरे ।

हामीलाई ल्याएको गाडी फेरि आइपुग्यो । यसपटक एकजना बैंकका कर्मचारी ल्याइएको रहेछ । उनी देवघाट जानुपर्ने रहेछ पटिहानीबाट । हाकिमचोकमा समातिएछन् । बैंकबाट ‘जसरी पनिआउनूू’ भन्ने प्रहरीले जान नदिने गरेकाले बिलखबन्दमा परेपछि उनले बैंकमा फोन गरेछन् । आफ्नो बाइक नियन्त्रणमा लिएको जानकारी गराएछन् । बैंकबाट ‘हिँडेर भए पनि आइज’ भनेपछि उनले हाकिमलाई पठाउन प्रहरीले नियन्त्रणमा लिएको बाइकको फोटो खिचेछन् । ‘फोटो किन खिचिस् ?’ भनेर उसनैलाई उठाएर सिधै क्वारेन्टिन पुर्‍याइएछ ।

ती बैंक कर्मचारीलाई पनि क्वारेन्टिनमा हालियो । हामी उभिइरहेकै थियौँ ।

पत्रकार महासंघका अध्यक्ष आइपुगे । अध्यक्ष खतिवडाले आफ्नो परिचय दिएर दुईजना पत्रकारलाई लिन आएको भने । सई अधिकारीले एकछिन बस्नुस् भने । फेरि कता कता फोन गरे । ‘‘तपाईँहरुले फोटो र भिडियो खिच्नुभएको छ रे, डिलिट गर्नुपर्ने भयो,’’उनले गफगाफको निचोड सुनाए ।

हामी छक्क पर्‍यौँ । सबै प्रहरी प्रशासन हाम्रै फोटो र भिडियोको पछि लागिरहेका छन् । त्यसमा त्यस्तो ठूलो कुरा पनि केही छैन । मात्रै प्रहरीले चौबीसकोठीजस्तो सार्वजनिक ठाउँमा चेकजाँच गरिरहेको दृश्य छन् ।

‘‘डिलिट गरिन्न’’, महासंघ अध्यक्ष खतिवडाले अडान लिए । ‘‘गर्नू भन्ने निर्देशन आ’को छ’’, सई पनि आफ्नै अडानमा उभिए ।

‘‘हामी गर्दैनौ’’, खतिवडा झन् कडा देखिए ।

सई के गर्ने, के नगर्ने अवस्थामा पुगे । उनले अध्यक्ष खतिवडाको सबै विवरण टिपे हाम्रो नाम लेखिएको ढड्डामै । नाम, ठेगाना, उमेर, मोबाइल नम्बर सबै । अनि सही गर्न भने । हामी दुईलाई पनि सही गराए । अनि ‘जानुस्’ भने । तर, मोबाइल उनकै नियन्त्रणमा थियो । मैले मागेँ । ‘‘फोटो र भिडियो त फाल्नै पर्‍यो सर’’, उनी अझै उही मागमा अडिग रहे । ‘‘तपाईँ अझै त्यसैमा अल्झिनुभएको छ, म गर्दिनँ, के गर्नुहुन्छ गर्नुहोस्’’, मैले सुनाएँ । ‘‘त्यसो भए के–के रहेछ एकचोटि मलाई देखाइदिनुहोस्’’, उनी यो हदमा आइपुगे । उनी माथिको निर्देशन र हाम्रो एकोहोरो अडानको बीचमा बिलखबन्दमा परेको मैले बुझेँ । अनि लक खोलेर सबै फोटो देखाइदिएँ । उनले अमिलो मुख लगाएको प्रष्टै देखिन्थ्यो । हामी निस्कियौँ, उनी गेटसम्मै छोड्न आए ।

यति गर्दा प्रहरीले हामीलाई धरपकड गरेर नियन्त्रणमा लिएको डेढघन्टा बितेको रहेछ । पत्रकार महासंघ अध्यक्षले आफू जमानी बसेर हामीलाई निकाली सिधै महासंघ कार्यालय ल्याए ।

महासंघबाट पत्रकार महासंघका सबै पदाधिकारी, पत्रकारका विभिन्न पेसागत संघसंगठनलाई जानकारी गराइयो । सबै संगठन प्रमुख तथा प्रतिनिधि आए । छलफल गरियो । छलफलबाट पत्ररकारमाथिको ज्यादती सिंगो प्रेस स्वतन्त्रतामाथिकै आक्रमण भएको निचोड निकाल्दै संलग्न प्रहरीलाई कारबाही माग गर्ने निर्णय भयो । नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियनले संयुक्त विज्ञप्ति निकाले । पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति निकाल्यो । चितवन जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि विज्ञप्ति निकालेर भत्र्सना गर्‍यो ।

प्रमुख जिल्ला अधिकारीलाई भेट्न गयौँ । घटना विवरण सुनायौँ । उनले पत्रकारलाई रोक्ने, छोक्ने र गिरफ्तार गर्ने प्रशासनको नीति र निर्देशन नभएको जिकिर गर्दै गल्ती भएकोमा दुःख व्यक्त गरे । आगामी दिनमा यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।

हामी एसपीसँग छुट्टै बस्न चाहन्थ्यौँ । उनी पनि प्रमुख जिल्ला अधिकारीसँगै थिए । कार्यालय प्रमुखको बैठकका लागि उनी गएका रहेछन् । साढे ४ बजे प्रहरी कार्यालयमै भेट्ने भने । त्यतिखेर साढे ३ भएको थियो ।

दुःखलाग्दो र अनौठो घटना त फेरि भयो ।

प्रमुख जिल्ला अधिकारीलाई भेटी फर्किएर पत्रकार महासंघ आइपुग्यौँ । बिहान सवारीसाधन नियन्त्रणमा लिइएका दर्जनौ मान्छेहरु प्रहरी कार्यालय अगाडि उभिइरहेका रहेछन् । उनीहरु सवारीसाधन फिर्ता दिन याचना गरिरहेका थिए । त्यो देखेर पत्रकार प्रमिता ढकाल फोटो खिच्न थालिन् । तर, उनलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लियो । मोबाइल खोसियो र उनलाई भित्र लगियो ।

पत्रकार राजु चौधरी पनि भिडियो खिच्न लागे । उनलाई पनि उसैगरी नियन्त्रणमा लिने प्रयास भयो । तर, उनी जान मानेनन् । पत्रकार रामकान्त पौडेलले कसैगरी मोबाइल खोस्न दिएनन् । प्रहरी फर्कियो ।

अब त अति भयो भनेर महासंघको नेतृत्वबाट गृह मन्त्रालयसम्म सम्पर्क गरियो । पत्रकारमाथिको ज्यादती सुनाइयो । यसपछि एसपी कार्यालय प्रमुखको बैठक छोडेर ५ मिनेटमै जिल्ला प्रहरी कार्यालय आइपुगे । प्रमितालाई बाहिर निकालियो ।

फेरि पत्रकार महासंघको नेतृत्वमा एसपीकहाँ गइयो । सबै घटना विवरण जानकारी गराएर आपत्ति जनायौँ । एसपीले आफूहरुको नियत पत्रकारलाई दुःख दिने नभएको तर कमजोरीवश पत्रकारमाथि ज्यादती भएकोमा क्षमा याचना गरे । उनले घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । हामी फर्कियौँ । फर्किँदा साँझको ६ बजिसकेको थियो ।

घर फर्किएपछि पनि मेरो दिमागमा दिनभरका घटनाक्रम घुमिरहे । प्रहरीले पत्रकारमाथि एक्कासि किन यस्तो व्यवहार गर्‍यो होला भनेर अचम्मित पनि भएँ ।

जस्तोसुकै महामारी, युद्ध, प्रकोपका घटनामा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी अग्रपंक्तिमै हुन्छन् । समाचार संकलनका लागि निर्बाध आवतजावत गर्न पाउने कुरालाई संविधानले नै सुनिश्चित गरेको छ । यसलाई सबैले स्वीकार गरेका पनि छन् । तर, कानूनको कार्यान्वयनकर्ता प्रहरी बेलाबेलामा दानव बनेर किन प्रस्तुत हुन्छन् होला ?

पैँतीस दिनसम्मको लकडाउनमा पत्रकारहरु सकेसम्म घरै बसेर रिपोर्टिङ गरिरहेका छन् । निक्लनै पर्ने अवस्थामा मात्रै बाहिर आएका छन् । अरु कार्यालय कर्मचारी, अस्पताल जानुपर्नेहरु पनि साह्रै नै बाध्यता नपरी सडकमा आएका छैनन् । प्रहरीको चेकिङ देखी देखी त्यहीँ गएर झोसिनु भनेको बाध्यताकै कारण हो । उनीहरु निस्कनै परेरमात्रै निस्किएका हुन् । त्यसैले बाध्यताको हद बुझेर छोडिदिनु पनि पर्छ । 

फिल्डमा खटिएका प्रहरीहरुको बोली यस्तो हुन्छ कि सुन्न सकिन्न । व्यवहार यस्तो हुन्छ कि सहन सकिन्न । सञ्चारकर्मीले आफू सञ्चारकर्मी भएको जानकारी गराउँदा गराउँदै उसलाई गिरफ्तार गरी गाडीमा हाल्ने, उसको सवारीसाधन नियन्त्रणमा लिने, सञ्चारसामग्री खोस्ने, फोटो भिडियो डिलिट गर्ने यो लोकतान्त्रिक प्रशासनले गर्ने व्यवहार होइन । पञ्चायती शासनको बेला, जनआन्दोलनको बेला पनि यस्तो भोगेका थिएनन् पत्रकारले ।

भन्नलाई प्रमुख जिल्ला अधिकारी र एसपी दुवैले पत्रकारलाई ज्यादती गर्ने र बन्धक बनाउने नीति निर्देशन आफूहरूको नभएको भने । तर, मलाई त्यस्तो लाग्दैन । ‘चेन अफ कमान्ड’मा काम गर्ने प्रहरी संगठनको एकजना हवल्दारले विनानिर्देशन व्यक्तिगत सनकको भरमै यतिसम्मको हर्कत गर्न सक्दैन । नियन्त्रण गर्ने, प्रहरी कार्यालय ल्याउने, क्वारेन्टिन पठाउने, फेरि पटकपटक अरू साथीहरूलाई नियन्त्रणमा लिने, क्वारेन्टाइनबाट पटकपटक रिपोर्टिङ हुँदा नसुनिनुले प्रमाणित गर्छ – प्रहरी संगठनको स्पष्ट निर्देशन पत्रकारसमेतलाई ‘दुःख दिनू’ भन्ने नै छ ।

हामीमाथि जे भए, त्यो अब अरु पत्रकारले भोग्नु नपरोस् भन्ने हाम्रो भनाइ हो । पत्रकार महासंघ, विभिन्न पेसागत पत्रकार संगठनहरुले हामीमाथि भएको ज्यादतीको डटेर विरोध गरे । उनीहरुले आवाज बुलन्द गरिदिए । ती संगठनप्रति हार्दिक कृतज्ञ छु । पत्रकारले मात्रै होइन बाध्यतावश सडकसम्म आएका कसैले पनि यस्तो अवस्थाको सामना गर्नु हुँदैन । 

हामी त बोल्न सक्ने थियौँ तर दिनभर सवारीसाधन नियन्त्रणमा लिएर प्रहरी कार्यालयअघि उभ्याइएकाहरुको आवाज कसले उठाइदिने ? उनीहरुमाथि दुव्र्यवहार गरिएकामा कसले माफी मागिदिने ? उनीहरुलाई न्यायको महसुस कसले गराइदिने ?

लकडाउन उल्लंघन गरेको आरोपका आधारमा सर्वसाधारणको मर्का र बाध्यतै नबुझी गिरफ्तार गर्ने र दिनभर क्वारेन्टाइनको नाममा कभर्डहलमा तनावपूर्णरूपले थन्क्याउने गरिएको छ । तिनको आवाज सुनिदिने कोही छैनन् । हाम्रै केसमा पनि बेलैमा पत्रकार महासंघलाई जानकारी गराउन नपाएको भए दिनभर कभर्डहलमा राखिने रहेछ । कति तनाव दिन्थे होलान् ? कसैसँग सम्पर्कसम्म गर्न पाउने अवस्था थिएन । मोबाइल उनीहरूकै नियन्त्रणमा थियो । हामी लाचार थियौँ । पहिले नै जानकारी गराएका थियौँ र पत्रकार महासंघले खोज्दै गयो ।

यो गम्भीर विषयलाई अरू पत्रकार र मानव अधिकारकर्मीले पनि ध्यान दिऊन् भन्ने चाहन्छु ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC