site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा अनलाइन शिक्षा, अहिले नगरे कहिले गर्ने ?

कोभिड – १९ महामारीसँगै विश्वका सबैजसो देशमा पठन पाठन बन्द गरियो । नेपालमा मात्रै ७ लाख ५० हजारभन्दा बढी विद्यार्थी बन्दाबन्दीको मारमा परे । बालबालिका लामो समय स्कुल जानबाट वञ्चित हुने भएपछि विकसित राष्ट्रहरुले सूचना तथा संचार प्रविधिमार्फत अनलाइन कक्षा संचालन गरिरहेका छन् । 

दक्षिण एसियामै भारतले कोभिड–१९ महामारीलगत्तै दीक्षा, ईपाठशाला, स्वयम्जस्ता ‘इलर्निङ‘ प्रणाली प्रयोगमा ल्यायो । भारत सरकारले यी प्रणालीहरुमार्फत विभिन्न भाषामा एक कक्षादेखि विश्वविद्यालय तहसम्मको कक्षा सञ्चालन तथा शिक्षक, विद्यार्थी र बालबालिकाका अभिभावकलाई आवश्यक पर्ने पुस्तक, पाठ्यक्रम, भिडियो, अडियो, प्रश्नपत्रहरु, सूचनाजस्ता स्रोत उपलब्ध गराउँदै आएको छ । कोभिड–१९ महामारीलगत्रै भुटानको शिक्षा मन्त्रालयले एकदेखि बाह्र कक्षाका विद्यार्थीका लागि टेलिभिजन तथा युट्युबमार्फत ‘इलर्निङ’ कार्यक्रम सञ्चालन ल्यायो । साथै भुटान टेलिकम र टासीसेल दूरसंचार कम्पनीले विद्यार्थीहरुका लागि थप डाटा पनि उपलब्ध गराउँदै आएका छन् । 

वल्र्ड इकोनोमिक फोरमको नेटवर्क रेडिनेस इन्डेक्समा नेपालको समकक्षी पाकिस्तानले हालैमात्र शैक्षिक संस्थानहरुलाई शैक्षिक व्यवस्थापन प्रणाली प्रयोग गरी अनलाइन कक्षा सञ्चालन गर्न छ बुँदे निर्देशन दिँदै एकदेखि बाह्र कक्षासम्मका विद्यार्थीका लागि टेलिभिजनमार्फत कक्षा संचालनमा ल्याएको छ । नेटवर्क रेडिनेस इन्डेक्समा नेपालभन्दा तल रहेको अतिकम विकसित राष्ट्र युगान्डाले समेत दूरशिक्षा प्रणालीमार्फत पठनपाठन व्यवस्था गर्न निर्देशिका जारी गरी ३८ रेडियो स्टेसन र टेलिभिजनहरुमार्फत कक्षा संचालन गर्न समय तालिका प्रकाशित गरिसकेको छ । आन्तरिक द्वन्द्वबाट मुक्त भएर नया दिशा लिँदै गरेको अतिकम विकसित तथा भूपरिवेस्थित रास्ट्र रुआन्डाले समेत ‘इलर्निङ’ प्लेटफर्म र रेडियोमार्फत प्राथमिकदेखि माध्यमिक विद्यालयका विद्यार्थीलाई कक्षा संचालन गर्न आवश्यक व्यवस्था गरिसकेको छ । ‘इलर्निङ’ तथा अनलाइन प्रणाली प्रयोग गरी पठनपाठन संचालन गरिरहेका विभिन्न राष्ट्रहरुको रणनीतिमा अभिभावकहरुको समेत महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ  ।     

Prabhu Bank
Agni Group
NIC Asia

भर्खरैमात्र नेपालमा पनि विदेशी विश्वविद्यालयमा आबद्ध कलेजहरु र गैरसरकारी स्कुलहरुले सूचना तथा संचार प्रविधिमार्फत अनलाइन कक्षा संचालन गरे । ढिलै भए पनि अनलाइन कक्षाहरु संचालन गर्ने वैशाख १० गतेको त्रिभुवन विश्वविद्यालयको निर्णय स्वागत योग्य छ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वातावरण विभागले पहिलो पटक संचालनमा ल्याएको स्नातकोतर तहको ‘इन्भाइरनमेन्टल हेल्थ इन डिजास्टर’ विषयको पाठ्यक्रम अनलाइन प्रविधिमार्फत संचालनमा समेत आइसकेको छ । 

यससँगै नेपालमा अनलाइन कक्षाहरु संचालन गर्न सकिँदैन र अनलाइन कक्षा संचालन गर्दा धेरै विद्यार्थी पठनपाठनबाट वञ्चित रहनसक्ने देखिन्छ भन्ने पनि सुनिन थालेको छ । नेपालजस्तो भौगोलिक र आर्थिक विविधता भएको देशमा सूचना तथा संचार प्रविधिमार्फत इलर्निङ र अनलाइन कक्षाहरु सफलतापूर्वक संचालन गर्न पक्कै पनि चुनौतीपूर्ण छ तर असम्भव भने छैन ।

Global Ime bank

विसं २०६८ मा केन्द्रीय तथ्यांक विभागले गरेको जनगणनाअनुसार नेपालमा ७.३ प्रतिशत घरपरिवारसँग कम्प्युटर छ भने ५१ प्रतिशतले रेडियो, ३७ प्रतिशतले टेलिभिजन र ६५ प्रतिशतले मोबाइल फोन प्रयोग गर्छन् ।  नेपाल दूरसंचार प्राधिकरणको २०७६ पुस महिनाको एमआईएस रिपोर्टअनुसार नेपालमा जनसंख्याको अनुपातमा मोबाइल फोन १४३ प्रतिशत छ भने ब्रोडब्यान्ड इन्टरनेट ७२ प्रतिशत छ । हालैमात्र सेयरकास्ट इनिसियटिभ नेपालले गरेको नेपाल मिडिया सर्वेक्षण, २०१९ का अनुसार ९६ प्रतिशत घरपरिवारसँग मोबाइल फोन सुविधा छ र तीमध्य ६१ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्छन् । यस्तै ५९ प्रतिशतले मोबाइल फोनबाट इन्टरनेट चलाउँछन् र ३४ प्रतिशतले ब्रोडब्यान्ड र वाईफाई प्रयोग गर्छन् ।

मोबाइल डाटाको प्रयोग सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश (८० प्रतिशत) र प्रदेश २ मा (७६ प्रतिशत) हुनेगरेको देखिन्छ । युट्युब प्रयोगकर्ता गत वर्षभन्दा दोब्बर हुन पुगेको छ भने रेडियो र टेलिभिजनबाट सूचना लिने करिब ५० प्रतिशत छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा युट्युब कम प्रयोग भए पनि रेडियोमार्फत क्रमशः ७५ र ६२ प्रतिशतले सूचना लिन्छन् । सूचनाका लागि रेडियो सुन्ने श्रोता २९ प्रतिशत छन् भने ग्रामीण भेगका बासिन्दाले सहरमा बसोबास गर्नेलाई फेसबुक प्रयोगमा १.१ प्रतिशतले उछिनेको देखिन्छ । 

नेपालमा कम्प्युटरको एकिन संख्यासम्बन्धी तथ्यांक प्राप्त नभए पनि विश्व बैंकका अनुसार २०१७ मा समग्र आयातको ५.२ प्रतिशत अर्थात् ६६ अर्ब रुपैयाँको सूचना तथा संचार साधन नेपाल भित्रिएको देखिन्छ ।  हाल लोडसेडिङ हटेको नेपालमा इनर्जी प्रोग्रेस रिपोर्ट, २०१७ का अनुसार ९५.५ प्रतिशत नेपालीहरुको विद्युत्मा पहुँच पुगेको छ । समग्रमा नेपालीहरुको इन्टरनेटसहितको विद्युतीय एवं डिजिटल साधन प्रयोगमा व्यापकता आइसकेको छ ।

अब छिटोभन्दा छिटो शैक्षिक संस्थाहरुले अनलाइनमा पठनपाठन गर्ने व्यवथा गर्नुपर्छ । भौतिक शिक्षण प्रणालीबाट अनलाइन शिक्षण प्रणालीमा परिवर्तन हुँदा जटिलता बढी हुने सम्भावना रहन्छ । यस सन्दर्भमा बबरमहलस्थित किंग्स कलेजको प्रयोग अनुकरणीय हुनसक्छ जसले आफ्नो अन्तरिक तयारी गर्न पेडागोजी, एकेडेमिक, प्राविधिक सहयोग, प्रशिक्षण, संचार, साइकोसोसिअलजस्ता विभिन्न कमिटी गठन गरेको थियो । कमिटीहरुले आआफ्नो कार्यक्षेत्रमा सहयोग गर्ने, उदाहरणको लागि एकेडेमिक कमिटीले विद्यार्थी, शिक्षक, व्यवस्थापन तथा अभिभावकहरुबीच आवश्यक बैठक, छलफल आयोजना गर्ने र संचार कमिटीले उनीहरुबीच आवश्यक संचार व्यवस्थापन मिलाउने । त्यस्तै पेडागोजी कमिटीले अनलाइनमा प्राध्यापकहरुलाई कक्षा संचालनका लागि आवश्यक पर्ने शैक्षिक परामर्श दिने, प्रशिक्षण कमिटीले प्रविधि संचालन सम्बन्धी प्रशिक्षण दिने तथा प्राविधिक कमिटीले कक्षा संचालन निर्बाधरुपमा गराउन प्राविधिक सहयोग गर्ने ।

 नेपालको उच्च शिक्षाको सन्दर्भमा विद्यार्थीभन्दा प्राध्यापकहरुलाई अनलाइन प्रणालीको प्रभावकारी प्रयोगसम्बन्धी प्रशिक्षण आवश्यक रहेको छ । भर्चुअल वातावरणमा कार्य गर्दा संक्रमणकालीन मनोविमर्श उपलब्ध गराउनुपर्ने हुन सक्छ । तसर्थ साइकोसोसिअल कमिटीको आवस्यकता रहन्छ । यसका साथै प्रविधिमैत्री विद्यार्थीहरुलाई पनि परिचालन गरेर विद्यार्थीहरु माझ  परिवर्तन सहज बनाउन उपयुक्त हुन्छ । 

बजारमा विभिन्न प्रविधिहरु उपलब्ध रहेको अवस्थामा कुन प्रयोग गर्ने भन्ने अन्योल हुनसक्छ । विद्यार्थीहरुको कक्षास्तर अनुरुप प्रविधि प्रयोग गर्दा उपयुक्त हुन्छ । यसकालागी गुगल मिट, गुगल ह्यांगआउट, गुगल क्लासरुम, जुम, र फेसबुकजस्ता सामाजिक संजाललगायत विभिन्न प्रविधि प्रयोग गर्न सकिन्छ । तल्लो तहका विद्यार्थीलाई एकतर्फी शिक्षण प्रदान गर्दा गुगल ह्यांगआउट वा नेपालमा नै उत्पादित र संचालनमा रहेको मिडास सफ्टवेरजस्ता प्रणाली प्रयोग गर्न सकिन्छ भने उपल्लो स्तरका विद्यार्थीलाई वेब र इन्टरनेटमा आधारित प्रणाली जुममार्फत कक्षा संचालन गर्न सकिन्छ । दुर्गमस्थानका लागि फेसबुक मेसेन्जर, व्हाट्सएप, इमो, भाइबर, इस्काइपजस्ता कम ब्याण्डविथमा पनि सजिलै संचालन हुने प्रविधि प्रभावकारी हुन्छ । साधारणतया यी प्रविधिहरु सजिलै प्रयोग गर्न सकिने र विनाशुल्क उपलब्ध हुने हुनाले आर्थिक व्ययभार पनि पर्दैन ।

माथि उल्लेखित प्रणालीहरुको प्रयोग गर्न कम्प्युटर वा ल्यापटप  र इन्टरनेटको आवस्यकता पर्छ । साथै विद्यार्थीहरुले मोबाइल फोन र फोनको डाटा इन्टरनेटका लागि प्रयोग गर्न सक्छन् ।  

इन्टरनेट ढिलो भएर अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीहरुलाई कक्षाको अडियो वा भिडियो रिकर्ड सुन्ने हेर्ने व्यवस्था मिलाउनु पर्छ । यसका युट्युब तथा पोडकास्टजस्ता सेवाहरु प्रयोग गर्न सकिन्छ । साथै विद्यार्थीहरुलाई आवश्यक पर्ने किताबलगायत स्रोतहरु शैक्षिक सूचना प्रणाली वा इमेल मार्फत वितरण गर्न सकिन्छ । यी प्रविधिमार्फत पठनपाठनमा सहभागी हुननसक्ने विद्यार्थीका लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ । 

नेपालका माध्यमिक स्तरका सरकारी विद्यालयको पाठ्यक्रम र पुस्तकहरुमा एकरुपता हुने हुनाले रेडियो तथा टेलिभिजन प्रणालीमार्फत पठनपाठन सहज हुनुका साथै दुर्गमका विद्यार्थीहरुको पहुँचसमेत हुन्छ । यसका लागि ३ सयभन्दा बढी रेडियो स्टेसन र ८ सयभन्दा बढी केबल संचालकहरुसँग सहकार्य गरी कक्षा संचालन गर्न सकिन्छ । यी सेवाहरुमार्फत पठनपाठन अनलाइन कक्षामा सञ्चालन गरिएको अडियोसमेत प्रसारण गर्न सकिन्छ जसलाई विद्यार्थीहरुले आफ्नो सुविधाको समयमा सदुपयोग गर्न सक्छन् । माथि उल्लेखित प्रणालीहरुमा पहुँच हुन नसक्ने विद्यार्थीहरुका लागि नेपाल हुलाक सेवामार्फत आवश्यक पुस्तक र स्रोत सामग्रीहरु वितरण गर्ने व्यवस्था मिलाउनुपर्छ । 

परीक्षा कसरी संचालन गर्ने भन्ने जिज्ञासा हुन सक्छ । भौतिक प्रणालीबाट अनलाइन प्रणालीमा परिवर्तन हुँदा मूल्यांकन प्रणालीमा पनि परिवर्तन हुनुपर्छ ।  जस्तै तल्लो स्तरका कक्षाहरुमा लिखित परीक्षा नलिने तर यीलगायत उपल्लोस्तरका विद्यार्थीको मूल्यांकन समय समयमा विद्यालयका शिक्षक शिक्षिकाले फोन तथा इमेलमार्फत लिने व्यवस्था मिलाउन सकिन्छ । 

नेपाल दूरसंचार प्राधिकरणमार्फत दूरसंचार सेवा प्रदायकहरु (नेपाल टेलिकम, एनसेल आदि) तथा इन्टरनेट सेवा प्रदायकहरुको सहकार्यमा विद्यार्थीहरुलाई सहुलियत मूल्यमा इन्टरनेट सेवा प्रदान गर्न सकिन्छ । विद्यार्थीहरुले आफ्नो परिचय पत्रको आधारमा सार्वजनिक सवारी साधनमा सहुलियत पाएको जस्तै इन्टरनेट सेवा पनि सहुलियत मूल्यमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउन उपयुक्त हुन्छ । विद्यार्थीहरुलाई कम्प्युटर, ल्यापटप, मोबाइल  खरिदमा सहुलियत सुविधा दिने र विक्रीकर्ता तथा डिजिटल साधन वितरकहरुलाई करमा छुट दिने व्यवस्था गर्न उपयुक्त हुन्छ ।  

नेपालको सूचना तथा संचार प्रविधि क्षेत्र, यसको छाता संगठन फेडेरेसन अफ कम्प्युटर एसोसिएसन अफ नेपाल र ५० भन्दा बढी जिल्लामा रहेका यसका शाखाहरु र प्याब्सन जस्ता शैक्षिक व्यावसायिक संस्थाहरुको सहयोगमा यो अनुष्ठान सफल पार्न सकिन्छ । बन्दाबन्दीको समयमा पठनपाठनका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ । विभिन्न राष्ट्रहरुलाई ‘इलर्निङ’मा हातेमालो गरिरहेको संयुक्त राष्ट्र बालकोष (युनिसेफ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा नेपालमा पनि ‘इलर्निङ’ र अनलाइन शिक्षा प्रणाली लागू गर्न सकिन्छ । यी सम्पूर्ण इकाइहरुको समन्वयमा नेपालले सफलतापूर्वक अनलाइन कक्षा संचालनका साथै डिजिटल प्रणालीमा पनि फड्को मार्न सक्छ । हालको अवस्थामा नगरे कहिले गर्ने ?  
        

            
     
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC