site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘स्वास्थ्यभन्दा ठूलो केही छैन, बाँचिएन भने व्यवसाय कसरी गर्ने ?’

कोरोना भाइरस अर्थात् कोभिड १९ नेपालको निजी क्षेत्रका लागि सबैभन्दा ठूलो चूनौती हो । यसअघि नेपालको निजी क्षेत्रले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरता भोगेका थियौं । यसअघिका सबै परिवेशमा बजारले पुरानै रूप लिएको थियो, पुरानै अवस्थामा फर्किएको थियो ।

कोभिड–१९ विश्वव्यापी महामारी भएकाले यसको दूरगामी असर हाम्रो अर्थतन्त्रमा हुन्छ । यसले विश्वभरको अर्थतन्त्र तहसनहस पारेको छ । यसकारण नेपालको हकमा यसबाट ९० प्रतिशत क्षेत्र छिट्टै रिकभर हुने देखिँदैन । त्यसैले हामीले ठूलो चुनौती सामना गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय निकायमध्ये केहीले सकारात्मक प्रक्ष्येपण पनि गरेका छन् । एसियाली विकास बैंकले ४–५ प्रतिशतले आर्थिक वृद्धि हुने बताए पनि हामीलाई त्यो विश्वास लागेको छैन । हामी आर्थिक वृद्धि शून्यमै भए आफूलाई भाग्यमानी मान्नुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो महामारीबाट निजी क्षेत्रलाई मात्र नभई सरकारलाई पनि ठूलो क्षति भएको छ । सरकारलाई ४ खर्बको नोक्सानी भइसकेको आकलन गरिएको छ । राजस्वमात्रै १ खर्ब २० अर्ब रुपैयाँबराबरको गुमिसक्यो ।

यसका साथै, वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली युवा स्वदेश फर्किन लागेका छन् । विदेशमा रहेका ५० लाख मानिस स्वदेश फर्कने सम्भावना छ । तिनलाई नेपालमा कसरी रोजगारी दिने भन्ने पनि चुनौती बनेको छ । अर्कोतिर कतिवटा उद्योग बाँच्न सक्छन् भन्ने आकलन गर्नै गाह्रो भएको छ ।

Global Ime bank

विकसित राष्ट्रले निजी क्षेत्रलाई जीवित राख्न के गर्ने भनेर सोचिसकेका छन् । उनीहरूले आर्थिक गतिविधि, रोजगारी सिर्जना आदिमा निजी क्षेत्रको भूमिकालाई अहम् मानेका छन् । नेपालले पनि निजी क्षेत्रलाई बचाउन जरुरी छ, चलायमान बनाउन जरुरी छ । त्यसैले सरकारलाई हामीले प्याकेज ल्याउने गरी सुझाव दिएका छौं ।

यो कठिन समयलाई कसैले नाफा गर्ने अवसरका रूपमा हेरेको छैनौं, चुनौती मात्र हो जसबाट हामी बाहिर निस्किनु छ । जतिचाँडो निस्कन सक्यौं, बाँच्न त्यति सजिलो हुन्छ । यो कठिन समय भएकाले नेपालको सबै छाता संगठन मिलेर सुझाव प्याकेज तयार पारेका छौं । प्याकेज तयार पर्दा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत अन्य संघ–संस्थाको सहभागिता थियो । सरकारलाई बुझाएको सुझावसहितको प्याकेजमा आगामी दिनमा कसरी अगाडि बढ्दा देशको निजी क्षेत्रलाई बचाउन सकिन्छ भनेर चारवटा सुझाव दिएका छौं ।

पहिलो नम्बरमा नगद प्रवाह कायम राख्न के गर्नुपर्छ भन्ने समेटिएको छ । दोस्रोमा, श्रमिकको व्यवस्थापनको विषयबारे सुझाएका छौं । तेस्रो, ऊर्जासम्बन्धी छ । उद्योगी÷व्यवसायीले बिजुली नचलाए पनि महसुल तिर्न पर्ने अवस्था सम्बोधन गर्न भनेका छौं । चौथोमा नीतिगत विषय समेटिएको छ ।

हाम्रो बुझाइ र माग बैंकको ब्याजदर घट्नुपर्छ भन्ने हो । राष्ट्र बैंकसँग यसका लागि धेरै औजार छन् । सीमित तरलताका माझ हामीलाई ब्याजदर नियन्त्रण गर्नु पनि छ, तीन वर्षमा ५ प्रतिशत कायम गर्नु छ । हामीले यस विषयमा विज्ञ राखेर अध्ययन गरेका छौं । अर्थमन्त्री र गभर्नर दुवैलाई यसो गर्ने उपाए सुझाउने छौं ।

हाम्रो बुझाइ राष्ट्र बैंकले वाणिज्य बैंकलाई ३ प्रतिशतमा पुनर्कर्जा दिएर निजी क्षेत्रलाई ५ प्रतिशतमा उपलब्ध गराउनुपर्छ । त्यसका लागि पुनर्कर्जाको मात्रा बढाउनुपर्छ । अहिलेसम्म ठूला व्यवसायले मात्र पुनर्कर्जाको सुविधा प्रयोग गर्न पाएका छन् । पुनर्कर्जाको सबै जोखिम वाणिज्य बैंकले नै लिएका हुन्छन् । अब, यसको आकार १ खर्ब बनाउनैपर्छ ।

अर्को विषय हो, डेट–इक्विटी रेसियो । अहिलको जस्तो कठिन स्थितिमा वाणिज्य बैंकलाई आफ्नो जोखिम मोल्न छाडिदिनुपर्छ । वाणिज्य बैंक जोखिम मोलेर कर्जा दिन चाहन्छ भने राष्ट्र बैंकले रोक्नुहुँदैन । धेरै आवधिक कर्जा रिस्ट्रक्चर हुन जरुरी छ । राष्ट्र बैंकले केही समयका लागि नियमहरू खुकुलो बनाउनुपर्छ ।

अब लकडाउनका विषयमा पनि केही सोच्नुपर्छ । वैशाखभरी मात्र लकडाउन कायम गरे हामी कर्मचारीलाई ५० प्रतिशतमात्र तलब दिन सक्छौं । किनभने धेरै होटल व्यवसायी, उद्योगको यो समस्यामा परेका छौं । अर्को सुझाव सामूहिक सौदाबाजी एक वर्ष हुनुहुँदैन भन्ने हो ।

अर्कातर्फ उद्योगहरू बन्द वा डाउनसाइज गर्न चाहन्छन् भने अहिलेको श्रम ऐनले रोक्नु हुँदैन । विशेष परिस्थितिमा बन्द गर्न चाहनेलाई सहुलियत दिनुपर्छ । त्यसै गरेर बिजुलीको सम्बन्धमा चार महिनासम्म माग शुल्क लिन नहुने माग गरेका छौं । अलिकति एक्स्टेन्डेड क्रेडिट दिने नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका पनि छौं । यो बेलामा उद्योगहरूलाई अलि बढी प्रोत्साहन दिनुपर्छ, धेरै बिजुली प्रयोग गर्न । केही समयका लागि २० प्रतिशत छुट दिए हुन्छ ।

नीतिगत सुधारमा फिस्कल स्टिमुलस (राहत) आउनुपर्छ, जुन कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतको हुनुपर्छ । सरकारसँग निजी क्षेत्रको अड्किरहेको रकम, उदाहरणका लागि भ्याट । अदालती प्रक्रियामा निजी क्षेत्रले जितेको भ्याट फिर्ता पाउनुपर्छ ।

चैतको कुरा गर्ने हो भने उद्योग व्यवसाय १० दिनमात्र चले । तर, सरकारले कर्मचारीको तलब चैतको पुरै दिनुपर्छ भन्ने निर्देश गरेको छ । हाम्रो धेरैजसो साथीहरूले त्यो दिनुभयो । अरूले दिने निर्णय गरिसकेका छौं । तर, अरू जे जसरी हेरे पनि हामी श्रमिकका अभिभावक हौं । उहाँहरूलाई कुनै समस्या परोस् भन्ने हामी चाहँदैनौं ।

तर, वैशाखमा नगर प्रवाह शून्य भएको छ, अर्कातर्फ बैंकको ब्याज बढिरहेको छ । मौज्दात रकम छँदै छैन । धेरै क्षेत्रको ब्याज खर्च धेरै छ । तरलता व्यवस्थापन गर्न उहाँहरूलाई सजिलो हुँदैन । कृषिमा आधारित उद्योगहरूको नगद प्रवाह शून्य छ । लकडाउन सबैका लागि निकै असहज स्थिति हो । हामी पुरै तलब दिन असहज छौं । साना तथा घरेलु उद्योगहरूमा ठूलाभन्दा बढी असहजता छ ।

त्यसैले वैशाखमा हामीलाई तलबदेखि अन्य दायित्व तिर्न अहसज छ । तर, हामी कसैलाई मारमा पर्न दिँदैनौं । त्यसैले ‘शून्य नगद प्रवाह’ भएका बेला पनि आधा तलब त दिनैपर्छ । किनकि हामीले दिएको रकमका आधारमा श्रमिकको परिवार चल्ने हो । यता, सरकारबाट लाभ हामीले लिँदा त्यसको लाभ उपभोक्तालाई पनि हुन्छ भन्ने प्रश्न पनि छ । तर, हाम्रो खर्च तलब मात्र हुँदैन । हाम्रो लगानी उठिरहेको पनि छैन । यस्ता कारणले सहुलियत मागेका हौं । यो हुँदैमा मूल्य घट्छ, उपभोक्ताले लाभ पाइहाल्छन् भन्ने म सुनिश्चित गराउन सक्दिनँ ।

तर, मेरो व्यक्तिगत धारणअनुसार स्वास्थ्यभन्दा ठूलो केही छैन । बाँचिएन भने व्यवसाय कसरी गर्ने । सरोकारवालाले जनस्वास्थ्यमा सम्झौता गर्नै हुँदैन । यो भनिरहँदा अत्यावश्यक उद्योगहरू सञ्चालन गर्ने प्रयास हामीले गरेका छौं । तर, अब पनि उद्योगहरूलाई खोलेनौं भने हामी ठूलो आर्थिक संकटमा पर्छौं । केही जोखिम लिएर हामीले उद्योग खोल्न थाल्नुपर्छ ।

चुनौतीहरू धेरै छन् । श्रम ऐन नै चुनौती छ । किनकि श्रमिकको मृत्य भएको खण्डमा त्यसको जिम्मेवारी रोजगारदाता हुनेछ । यो जोखिम लिन सकिन्छ सकिँदैन ? अर्कातर्फ उद्योग सञ्चालन गर्दा स्थानीयले संक्रमणको जोखिमले बन्द गर्न दबाब दिइरहेका पनिछन् । सरकारले यस विषयमा हामीलाई बाटो देखाइदिनुपर्छ । रोजगारदाता, श्रमिक, उद्योगी, उपभोक्ता, व्यापारी सबैलाई जोगाउने जिम्मेवारी सरकारको नै हो । अहिलेको स्थिति हेर्दा केही दिनमा थप जोखिम सिर्जना हुनेछ । यस अर्थमा हामी सबैले ‘क्याल्कुलेटेड रिस्क’ लिनुपर्ने हुन सक्छ ।

– (नेपाल आर्थिक पत्रकार संघ  (नाफिज) ले आयोजना गरेको अनलाइन अन्तर्क्रियामा गोल्छाले व्यक्त गरेको विचारको सम्पादित अंश)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC