site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खुलेरै अधिनायकवाद तर्फ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी ओलीको लोकतन्त्रका लागि चौध वर्ष जेल बसेकोे दाबीको अन्तर्य पुनः एकपटक बुझिने गरी स्पष्ट भएको छ । संसद्को प्रचण्ड बहुमतका  बलमा प्रधानमन्त्री बनेपश्चात् उनको अधिनायकवादी मनसुवामाथिको पर्दा क्रमशः उघ्रिँदै गएको हो । उनी रचित घटनाक्रममा देखिने लोकतन्त्र विरोधी चिन्तनका ती चौध वर्षको प्रतिविम्बको चित्र अहिले ल्याइएका संविधानविपरीतका दुई विधेयक समेत हुन् । 

आलोचनात्मक सुझावप्रति असहिष्णु, अनुदार र सबै भिन्न धारणालाई धम्काउने उनको शैली प्रधानमन्त्री भएकै दिनदेखि स्पष्टतः राष्ट्रिय जानकारीमा आएको हो । यसअघि नेकपा (एमाले)भित्र उनको हैकम कस्तो थियो त्यहीँका भुक्तभोगीले जान्ने कुरा भयो । जनताको बहुदलीय जनवाद फालेर अनाम सिद्धान्तको नेकपाबाट प्राप्त सत्ता सुखमा जकट बनाएका नेकपा अध्यक्ष ओलीको महत्वाकांक्षा अरुलाई दमित गर्ने हदसम्म जानु उनको कार्यशैलीमा अनौठो लाग्दैन । 

सुरुको केही महिना दुई तिहाइको शक्ति कसैसँग नझुक्ने र अरुलाई नटेर्ने दम्भी घोषणामा बिताएका प्रधानमन्त्री ओलीले अनि बढ्दै गएको आलोचनालाई दुत्कार्न थाले । आफ्नो कार्यशैलीमा कतै कमजोरी रह्यो कि भन्ने समीक्षासूत्र आलोचनालाई बनाएनन् । उल्टै अनुचरहरु (पार्टीका कार्यकर्ता, व्यक्तिका अनुचर ) लाई अरिंगाल बनेर आलोचकहरुलाई डस्न आह्वान गरे । आफूले मुख खोले विद्वान भनिने थुप्रै थला पर्ने बताए । स्वतन्त्र समीक्षक, आलोचक र प्रेसलाई उनले निरन्तर तिरस्कार रहेकै छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आफ्ना समर्थकका लागि राज्य स्रोतको मनपरी दोहन, भ्रष्टाचारको आरोप लागेका नेकपाका नेता कार्यकर्तालाई जोगाउन संवैधानिक निकायको दुरुपयोग, नीति, विधि र लोकतान्त्रिक मूल्यहरुको ठाडो उपेक्षा, समग्रमा स्वेच्छाचारी कार्यशैली अपनाएका प्रधानमन्त्री ओलीले अन्ततः लोकतन्त्रमाथि प्रहार गर्ने नागरिक अनुमान अलि अघि नै घनिभूत भएको हो । त्यो अनुमान यतिबेला आइपुग्दा सत्यको धेरै जनिक भएको छ । 

शक्ति केन्द्रित गर्ने तथा पारदर्शी सुशासनको अभावमा खस्कदो नीति, विधिसँगै वित्तीय अनियमितता बढेको सार्वजनिक जानकारीमा छ । नेकपा सरकारको अहिलेको विकृत चरित्र पूर्णतः लोकतन्त्र विरोधी रहेको यिनै विषय वस्तुले पनि पुष्टि गर्छन् । थप, कम्युनिस्ट विचार र व्यवहार लोकतन्त्रको खातिर हुँदैन पनि । यहाँको सरकारी कम्युनिस्टले लोकतन्त्र भनिरहनु चाहिँ ‘खसीको टाउको राखेर अर्कै मासु बेच्ने’ उनीहरुको उपाय हो । सैद्धान्तिक कम्युनिस्ट धारले बुझाउने पनि यही हो ।

Global Ime bank

सरकारमा सधैँ जकड र पकड राख्ने अपेक्षाका अध्यादेश राष्ट्रपतिबाट स्वीकृत गराउनु दुई दिनपूर्व प्रधानमन्त्री ओलीले सरकारी माध्यमसँग केही अस्वाभाविक लाग्ने कुरा भनेका थिए । कोरोना रोग नियन्त्रण गर्नुपर्ने बेला न्यायमूर्ति र नागरिक समाज संविधानको कुरा गर्छन् भन्ने टिप्पणी असहज शब्दमा गरेका थिए । दुई दिनपछि उनैले कोरोना महामारीलाई बेवास्ता गर्दै संविधान वा लोकतन्त्र विरोधी अध्यादेश ल्याए । कोरोना नियन्त्रणका लागि स्वःस्फूर्त एकीकृत राष्ट्रिय सहयोगलाई बिथोल्ने काम गरे । 

पत्रकारहरु खासगरी स्वतन्त्र पत्रकारिता गर्नेहरुप्रति उनमा असह्य क्रोध बोलेको थियो । जनता, विशेष गरी निम्न आय भएका वा दैनिक श्रमले बाँच्नेहरु निरुपाय पैदलै गाउँघर फर्कन हिंडेका ‘दुःखिया’हरुको लस्करको तस्बिर र समाचारहरुले नेकपा अध्यक्ष ओलीलाई क्षुब्ध बनाएको सुनिन्थ्यो । सिडियो, पुलिसले थाहा नपाएको, हामीलाई नभनेको कुरा कसरी थाहा पाए पत्रकारले ? त्यहाँ क्यामेरा बोकेर किन पुगे ? समाचार छाप्ने कि ? हामीलाई जानकारी दिने ? हामीलाई जानकारी दिनुपर्छ । यस्ता प्रश्न र वक्रोक्ति थिए उनका । 

पत्रकारले सरकार र जनतालाई जानकारी दिने भनेकै समाचार, विचार छापेर वा प्रवाह गरेर हो । समाचार, तस्वीर छाप्न छोडेर सरकारका प्रतिनिधिको कानमा पुर्याउने सुराकीको काम पत्रकारिताको होइन । ऊ आफ्ना माध्यमबाट सार्वजनिक हुने हो । सबै पत्रकारहरु नेकपाको शपथ खाए, ख्वाइएका हुँदैनन् । पत्रकारिताको स्रोतबारे पनि प्रधानमन्त्रीको भनाइ अनभिज्ञ सुनिन्थ्यो । 

छापा वा विद्युतीय मूलधारको ठूला माध्यमका प्रतिनिधि सबै जिल्लामा छन् । अहिले त नागरिक पत्रकारिता पनि समाचार स्रोतको माध्यम हुन् । प्रधानमन्त्रीलाई यस्तो सामान्य जानकारी पनि नभए जस्तो सुनियो, पढियो अन्तर्वातामा । जे हो त्यही समाचार विचार प्रवाह गरिरहेका अन्य सञ्चारमाध्यमलाई बेक्त्याएर सरकारी भनिने माध्यमका प्रतिनिधिसँग मात्रै गरिएको कार्यक्रम स्वतन्त्र प्रेसप्रतिको वक्रदृष्टि बोधक त थियो नै । 

संविधान वेत्ताहरु प्रधानमन्त्री ओलीले ल्याएको दुवै अध्यादेश  संविधान र समय विरोधी भएको बताइरहेका छन् । उनकै पार्टी नेकपाका शीर्षदेखि कनिष्ट नेतासम्मले अध्यादेशप्रति असन्तुष्टि सार्वजनिक गरेका छन् र  फिर्ता लिन भनेका छन् । संसद्मा रहेका प्रतिपक्ष सबै दलले लोकतन्त्र र संवैधानिक व्यवस्थालाई प्रहार गर्ने अध्यादेश फिर्ता लिनुपर्ने माग चुनौतीको भाषामा दिएका छन् । लोकतान्त्रिक नेपाली समाज पूरै अध्यादेशको विरुद्ध छ । 

राजनीतिक अस्थिरता भित्र्याउने र संवैधानिक निकायहरु आफ्ना समर्थकले भर्ने प्रधानमन्त्रीको अधिनायकवादी इच्छाको विम्ब अध्यादेश हो भन्ने सबैको निष्कर्ष छ । आफ्नो इच्छालाई पार्टीको सर्वेसर्वा निर्णय बनाउने र अरुको अस्तित्वलाई अलिकति पनि ठाउँ दिन नचाहने प्रधानमन्त्री तथा अध्यक्ष ओलीको ‘कोटेरी’शैलीले नेकपाभित्र चर्किएको अन्तद्वन्द्वको परिणाम अध्यादेश हो । 

केपी ओलीको सरकारी सत्तालाई अजरामर बनाउने नाटक मञ्चनमा विदूषक शिलतनिवास भएको छ । रमाइलो नाटक अध्यादेश राष्ट्रपतिकोमा पुर्याइन्छ, अनि डाकिन्छ नेकपा सचिवालयको बैठक । छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश स्वीकृत हुन्छ । स्वीकृत भइसकेपछि अब छलफलको के काम भनिन्छ र सचिवालय बैठक डाक्नुअघिको छलकपट टुंग्याइन्छ । 

विषयान्तर गर्न त्यही बैठकमा प्रधानमन्त्रीले सचिवालय सदस्यहरुलाई नेकपा विभाजनका लागि अध्यादेश ल्याएको होइन, अरु दललाई विभाजित गर्न ल्याएको भन्ने जानकारी दिएछन् । आन्तरिक मर्म लुकाउन वा आफ्ना सदस्यलाई आश्वस्त पार्न भने पनि अध्यादेश अरु दल फुटाउन ल्याएको प्रधानमन्त्रीको भनाइ अराजनीतिक र असंस्कृत हो । यस्तो उद्देश्यलाई राष्ट्रपतिले क्षणभरमै सघाउनु नेपालका लागि दुर्भाग्य हो । 

पार्टीभित्र बढेको द्वन्द्वले ओली सरकार ढालिने जनाउकै कारण प्रधानमन्त्री र राष्ट्रपतिले हतारहतार अध्यादेश पार लगाएका हुनसक्छ । पुरानो माओवादीले कतै पनि चालीस प्रतिशत पुर्याएर नयाँ पार्टी बनाउने हैसियत राख्तैन । नेकपाको १७४ सांसद् संख्यामा ५३ मात्र पुरानो माओवादीका छन् । चालीस प्रतिशतका लागि ७१ सांसद् आवश्यक छ । केन्द्रीय कमिटीमा पहिले नै ६० र ४० प्रतिशतको भागबण्डा हो । आठदश जनामा सरकारले साम, दाम, दण्ड, भेद अपनाएर यताउता गर्दिन्छ, यहाँ पनि माओवादीले चालीस प्रतिशत पुर्याउन सम्भव छैन । 

प्रतिपक्षीहरुसँग मिलेर अविश्वासको प्रस्तावमा नेकपाको एउटा हिस्सा सहयोगी बन्न जाँदामात्र ओली सरकार ढल्ने हो । निकट संसद् बैठकमा यो सम्भावना थियो । जसरी यसअघिको ओली नेतृत्वको सरकार ढालिएको थियो । उनी प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य हुने थिए । सम्भव थियो नेकपाको माधव नेपाल वा अर्को कोही प्रधानमन्त्री बन्ने थिए । यस्तो प्रयत्न थाहा पाएर प्रधानमन्त्रीले दुई अध्यादेश ल्याएका हुन् । 

अविश्वास प्रस्ताव आयो र आफ्नै दलका नेताले पद छोड्न दबाब दिए भने संसद् वा केन्द्रिय कमिटी दुवैतिर चालीस प्रतिशत पुर्याउने हैसियत कायम अध्यक्ष ओलीले नेकपा विभाजित गर्ने र अरु दलसँग मिलेर पुनः प्रधानमन्त्री बन्ने सत्ता सुरक्षाकवच हो अध्यादेश । आफ्नै पार्टी नेता र कार्यकर्तालाई मिलाउन नसक्नुको परिणाम हुने नै यस्तो हो । आवश्यक परे सरकारी पक्षले अरु दललाई फुटाउने उपायका लागि पनि दल विभाजनसम्बन्धी अध्यादेश  प्रयोग गर्ने छ । प्रधानमन्त्रीले भनी नै सके । 

दोस्रो अध्यादेशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा नियुक्त आफ्ना समर्थक आयुक्त देखाएर विरोधी, आलोचकलाई तर्साउने र  आफ्नोविरुद्ध गए ठेगान लगाई दिने धम्की दिन यो अस्त्र तयार पारिएको हो । संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश ओली सरकारले संसद्बाट पारित गर्न खोज्ने छैन । संसद्बाट पारित गर्नुपर्ने अवधि अगावै प्रायः सबै रिक्त हुने संवैधानिक अंगमा नियुक्ति सक्ने । पूर्ण पदावधि नियुक्ति दिइएपछि काम भइसक्छ, त्यो पारित गर्ने खाँचो रहँदैन । आवधिक निर्वाचन पछिसम्म अहिलेका नियुक्तिको पदावधि रहनेछ । तिनकै शक्ति पनि आफू र आफ्नालाई चुनाव जिताउन प्रयोग गर्ने । 

नीति वा नैतिकताहीन बनाउन राजनीतिलाई सम्भावनाको खेल भन्ने गरिन्छ । यस्तै सम्भावनाभित्र नेकपाका अरु नेताले जोरी खोजे प्रधानमन्त्री ओलीले पार्टी फुटाउने, संसद् विघटन गर्ने, एकपटक चुनाव घोषणा गर्ने, सार्ने, फेरि घोषणा गर्ने । मौका परे संकटकाल लगाउने, सत्ता  लम्याउने । राष्ट्रपति दाहिना छँदैछन् । जारी अध्यादेश देखेर सबैभन्दा खुसी लोकतन्त्र र संघीयताविरोधी भएका छन् । संवैधानिक राजनीतिको ‘कोर्स’फेरिने आशामा रहेका पनि खुसी छन् । विदेशी शक्तिको चलखेल त थपिने नै छ । अध्यादेश त्यही लक्षण हो । 

प्रधानमन्त्री ओलीलाई सरकारी सत्ता सुरक्षित हुने अध्यादेशको न्यानो मिलेको होला । निरंकुश हुने न्यानो राणाशाहीले पनि र राजशाहीले पनि खोज्यो । हतारमा जारी अध्यादेशको प्रक्रियाले संविधान रक्षाका लागि प्रधानमन्त्री र राष्ट्र पनि दुवै समर्थ देखिएनन् । लोकतन्त्र, देश र जनताको हित प्रतिविम्बित नहुने अध्यादेश प्रधानमन्त्री केपी ओलीको सत्तास्वार्थ वा अधिनायकवादी तुष्टिका लागि आएको छ । पश्च वा प्रतिगमनको आधार बनाइएको छ । यस्तो गम्भीर विषयमा संविधानका रक्षक राष्ट्रपतिले लिएको हतार निर्णयले संवैधानिक मर्यादाको चीरहरणसमेत गरिदियो ।       
  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC