site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
‘आत्मबलले जितिन्छ कोरोनासंगको युद्ध’

मनिसको सबैभन्दा प्यारो आफ्नै प्राण हो । जतिसुकै कष्टमा पनि मानिस मर्न डराउँछ । पृथ्वीभरका मानिस अहिले ओइलाएका छन् । कारण पुस्ताकै ठूलो संकटा हामीले भोगिरहेका छौँ । यो संकट कोरोनाको हो भने त्रास कोरानाले लान्छ कि भन्ने हो ।  

सन् २०१९को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाभाइरस अहिले विश्वको सबैजसोे भागमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भाइरस अत्यन्त द्रूतगतिमा फैलँदै गएका कारण विश्वभर फैलन सक्ने चेतावनी दिएर २०२० को मार्चमा अन्तर्राष्ट्रिय आपत घोषणा ग¥यो ।

सामान्य आँखाले नदेखिने यो अदृश्य शक्तिले करिब १ लाख ६५ हजार मानिसलाई ढालिसक्यो । करिब २५ लाखलाई युद्ध भूमीमा लछारपछार गरिरहेको छ । बाँकी रहेकालाई पनि एकन्तवासमा थेचारेकोे छ । 

Agni Group

कोरोनाको प्राकृतिक स्वभाव कस्तो हुन्छ भन्ने हालसम्म कसैलाई थाहा छैन । यसको रवैयाले मानव जातिको भविष्य कस्तो संकटमा पर्ने हो त्यो पनि थाहा छैन । यसको न खोप छ न औषधि नै ।  त्यसैले यसको प्रहारले भविष्य कस्तो दशामा पुर्‍याउने हो भन्ने त्रासले हरेक क्षेत्रका मानिस बेचैन भएका छन् । कोरोना अत्यन्त छिटो सर्ने कारण अग्रस्थानमा रहेर काम गर्नेहरू संक्रमितको हेरचाह गर्नुपर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइमा संलग्न कामदार अहिलेको बढी चिन्तित छन् । यिनका समस्या कस्ता होलान् ? मनःस्थिति कस्तो होला? यही बुझन हामीले केही प्रतिनिधि पात्रहरूसँग कुरा गरेका थियौँ ।  

हाम्रो पहिलो कल दुर्गालक्ष्मी श्रेष्ठको मोबाइलमा लाग्यो । उनी भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रसाशक हुन् । हाम्रा जिज्ञासाको जवाफ दिँदै उनले बताइन् – ‘‘मेरो दैनिकी अहिले दौडादौडको छ । मैले भेरी अस्पताल र कोभिड – १९ आइसोलेसन प्रेभेन्सन एन्ड मेनेजमेन्ट उपचार केन्द्र’ दुवै ठाउँको काम हेर्नुपर्ने हुन्छ । यसो हुँदा दौडधुप निक्कै छ । भेरीमा कोरोना संक्रमितका लागि भेरी अस्पतालबाट केही माइल पर ‘कोभिड आइसोलेसन प्रेभेन्सन एन्ड मेनेजमेन्ट केन्द्र’को स्थापना भएको छ । यस उपचार केन्द्रमा ‘थ्रोट स्वाव’ परीक्षण गर्दा पोजेटिभ देखिएका शंकास्पद व्यक्तिलाई आइसोलेसनमा राख्ने गरिन्छ । आइसोलेसनमा बसेकै अवधिमा पीसीआर माध्यमबाट पुनः टेस्ट गर्दा नेगेटिभ देखिएमा उनीहरुलाई घर फर्काइन्छ भने पोजेटिभ देखिएमा थप उपचारका लागि राखिन्छ । हाल ४ जना आइसोलेसनमा छन् ।’’

Global Ime bank

चीनमा सुरुको दिनमा कोरोना भइरस देखियो भन्ने सुन्दा मनःस्थिति कस्तो भयो ? भनी सोध्दा उनी भन्छिन् – ‘‘सुरुमा सुन्दा त केही लागेको थिएन । वर्ड फ्लु, स्वाइन फ्लु, एच वन, इबोलाजस्ता भाइरसको नाम सुन्दै आएको र ती भाइरसले खासै ठूलो मानवीय क्षति गरेको पनि थाह भएन् । त्यसैले कोभिड–१९ भइरस पनि त्यस्तै होला भन्ने सामान्य अनुमान भयो । जनवरीतिर एउटा शंकास्पद केस भेरी अस्पतालमा आएको थियो । त्यसबेला सम्म पनि हाम्रो मनःस्थिति सामान्य थियो । सन् २०२० को जनवरीमा विश्वस्वास्थ्य संगठनले कोभिड–१९ विश्वव्यपी माहामारी भएको जानकारी दिँदै आपतकालन घोषणा गरेपछि भने मेरो मुटु नराम्रोसँग हल्लन थाल्यो । त्यसबेला चीनको वुहानमा संक्रमणबाट उपचारमा संलग्न स्वास्थकर्मी पनि धमाधम मरेका खबर मिडियामा आउन थाल्यो । अनि त म आप्mनो, परिवारको र सर्वसाधारणको स्वास्थ्य बारे अझ बढी चिन्तित भएँ । उपचारको क्रममा करीब २५ –२६ वर्षको लामो समय बिताइसकेकी भए पनि जीवनमा पहिलो पटक चिन्ताले रात अनिदो हुुने स्थिति बनायो । आफू वा परिवारका कसैले खोक्दा वा हाछयुँ गर्दा पनि कोभिडका लक्षण मिलेमिलेजस्तै लाग्न थाल्यो । व्यक्तिगत सुरक्षाका विशेष सामग्री पनि त्यतिबेलासम्म पाएका थिएनौ । जीवन अब सकिने भयो यसैपाला जस्तो लाग्यो ।’’ 

’’स्वास्थ्यकर्मीहरु बीच एकआपसमा कुराकानी हुन्थ्यो, साराको मन चीसो भएको बुझिन्थ्यो । जरो आएका बिरामीको नजिक जान पनि सबैजना डराउने, हिचकिचाउने गर्न थाले । तर जस्तो सुकै अवस्थाका बिरामीलाई स्वास्थ्य सेवा दिन कसम खाएका हामी स्वास्थ्यकर्मी यो मनःस्थितिमा रहेर काम गर्न सम्भव थिएन । त्यसपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, विभागका प्रमुख डाक्टरहरु तथा नर्स सम्मिलित एउटा आपतकालीन मिटिङ बस्यौँ । मिटिङमा आफू सुरक्षित रही कसरी कोरोना संक्रमितको उपचार गर्ने भन्ने विषयमा गहन छलफल गर्‍यौँ । र निष्कर्षमा एउटा ‘इन्फेक्सन प्रेभन्सन प्याकेज’ तयार गर्ने सोच बनायौँ । त्यो प्याकेजमा संक्रमित व्यक्तिको सकेसम्म कम सम्पर्कमा रही स्तरीय उपचार कसरी गर्ने ?, व्यक्तिगत सुरक्षा सामग्रीको उपयोग कसरी गर्ने, स्वास्थ्यकर्मीको मनोबल कसरी उच्च राख्ने? तथा कोभिड–१९ को विषयमा जानकारी दिनेजस्ता विषयहरु समावेश गर्ने तय गरियो । साथै मनोविश्लेषक डाक्टरले बरोबर स्वास्थ्य सेवा प्रदायकलाई आवश्यक परामर्श दिने पनि निर्णय भयो । यो मिश्रित प्याकेजको तालिम अस्पतालका सम्पूर्ण टिमलाई दिइयो । यसैबेला स्थानीय स्तरमा समेत प्लास्टिकका पीपीई तथा भाइजरजस्ता सामग्री बनायौँ ।  बिस्तारै एक्पोजर पनि वाइडर हुँदै गयो । मनका शंका उपशंका कम हुन थाले र काममा पनि निडर भएर जान थाल्यौँ ।’’

भनिन्छ संकट सूचना दिएर आउँदैन र यसको आयु लामो पनि हुँदैन । तर, उपद्रो डरलाग्दो हुन्छ । हाम्रो छिमेकी भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । त्यसको त्रासले भारतमा कामगरिरहेका लाखौं नेपाली (खासगरी सुदूरपश्चिमको पाहाडी जिल्लाका ) कैलालीको प्रमुख नाका गौरीफन्टा हुँदै स्वदेश फर्किए । तीमध्ये कतिले कोराना पनि साथै बोकेर ल्याए होलान् । तीमध्ये साह्रै कम मात्र क्वारन्टिनमा बसे । र ज्यादै थोरैको मात्र ‘थ्रोट स्वाव’ जाँच भएको छ । 

यो संकटको घडीमा समुदायमा कोरोना फैलन नदिन तथा संक्रमितको उपचार स्थानिय सरकारले कसरी गरिरहेको होला? जिज्ञासा मेटाउन हामीले कैलाली नगरपालिकाका मेयर नृप ओडसँग सम्पर्क गर्‍यौँ । उनले भने : 

‘‘भारत तथा नेपालमा लकडाउनको घोषणा भएसँगै अप्रत्याशितरुपमा मुलुक बाहिरबाट ठूलो संख्यामा नागरिकहरु आफ्नो गृह जिल्ला फर्कन थालेका छन् । तीमध्ये कतिपयलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको भए पनि धेरै आफूखुसी घर पुगेका छन् । एकसाता यता भने लकडाउनमा कडाइ गरिएको छ । क्वारेन्टिनमा नबसेकाहरु तथा तिनको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ, थ्रोट स्वाव परीक्षण तथा बिरामीको उपचारका लागि स्थानीय सरकारले ध्यान पुर्‍याएको छ । यी कार्यमा केही ढिलासुस्ती भइरहेपनि यसलाई निरन्तरता दिने तथा द्रूत गतिमा अघि बढाउन समाज विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयलगायत सरोकारवाला निकायसँग समन्वय गरी काम गरीरहेका छौँ ।’’ 
यसैबेला मेरो मोबाइलमा बर्दियाकी जुगमती थारुको कल आयो । उनी २० दिनकी सुत्केरी हुन् । फोनमा भन्दै थिइन् –  ‘‘मर्ने भएँ दिदी मत । नेपाल बन्द छ । नाकबाट, शरीरबाट खुन बगेको बगेकै छ । जीउ कामेर उभिन नसक्ने भा’छु । काँ जाने होला देखाउन ? ....एम्बुलेन्सले ३ हजार माग्यो ।’’ 
जुगमती जस्ता ज्याला मजदुरी गरेर पेट पाल्ने परिवारका धेरै महिला अहिले प्रसूतिसंग सम्बन्धित समस्याले पिरोलिएका छन् । काम पनि छैन दाम पनि छैन । कोरानाले ल्याएको कहर मात्र छ । कोराना कहर माझ उब्जिएको यो समस्या । कस्तो होला त यति बेला प्रसूतिसँग सम्बन्धित समस्या साधानका उपाय बाहिर जिल्लातिर ? हामीले कैलाली नगरपालिकाकी उपमेयर सुशीला भट्टसँग कुरा गर्‍यौँ । 

उपप्रमुख भट्टले भनिन् – ‘‘ग्रामीण महिलाहरुले सधैँ अनेक समस्या सहिरहेकै छन् र अहिलेको यो विपतमा तिनका सामु झन् धेरै संकट थपिएको छ । सार्वजनिक सवारी साधन नचलेका कारण स्वास्थ्य संस्थासम्म आवतजावत गर्न अप्ठेरो छ । हाल सेती प्रदेश अस्पतालमा सुत्केरी वार्डसँगै कोरोना संक्रमण रोकथाम तथा उपचार कक्ष रहेको थियो । यो सुत्केरी, नवजात शिशु तथा कुरुवा सबैका लागि जोखिमपूर्ण रहेको भन्ने आवाज आएपछि  हिजोबाट नजिकै रहेको एउटा निजी अस्पतालमा पठाउने व्यवस्था गरिएको छ । अर्कोतर्फ कतिपय नवजात शिशुलाई आईसीयु सेवा चाहिने हुँदा प्रसूति सेवा प्रदेश अस्पतालमै हुनुपर्छ । पचास बेडको कोरोना संक्रमण केन्द्र तयार हुनासाथ  प्रसूतिसम्बन्धी सबै सेवा सेती प्रदेश अस्पतालबाटै प्रदान हुने व्यवस्था गरिएको छ । यो सेवा बापतको सम्पूर्ण खर्च आमा सुरक्षा कार्यक्रमबाट बेहोरिने निर्णय भएकोछ । आमालाई अस्पताल ल्याउने र घर पुर्‍याउने व्यवस्था अस्पतालको एम्बुलेन्सले गर्छ ।  आपतकालीन खर्चको सहयोग नगरपालिकाले बेहोर्ने पनि उनले बताइन् । 

समाचार सम्प्रेषण गर्नु संचार माध्यमको कर्तव्य हो । तर संक्रमण तथा मृत्युको खबर पटकपटक संचार माध्यममा सुन्दा हामीमाझ नैराश्यको भावना आउन सक्छ । अझ उपचारमा संलग्न स्वास्थ्यकर्मीको निधन भएको समाचार मिडियामा आइरहँदा स्वास्थ्यकर्मीको मनोबल गिर्न जान्छ ।  
आफ्नो समुदाय तथा सुरक्षा कार्यमा संलग्नहरुका बारेमा पत्रकारहरु कस्तो किसिमको समाचार दिँदै छन् ? यो पनि हाम्रो उत्सुकताको विषय रह्यो । मैले सुदुरपश्चिम कैलालीमा कार्यरत पत्रकार कर्ण शाहसंग संम्पर्क गरेँ । उनी धनीगढी पोस्ट दैनिकका सम्पादक हुन् । हाम्रो चासोका बारे उनले भने :
‘‘जोखिमको त्रास समुदायमा अत्यधिक छ । दोस्रो चरणको संक्रमण पनि यहाँ देखिइसकेपछि अझ ज्यादा त्रास बढ्नु स्वाभाविकै हो । सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार १ लाख ४५ हजार मानिस मूल तथा साना नाका हुँदै कैलाली भित्रिएका छन् । तर, हालसम्म पालिकाबाट २१ हजारको मात्र नामावली तयार भएको पाइएको छ । महामारीको बेलामा यो काम प्राथमिकतामा पर्नुपर्छ । स्थानीय सरकारले क्वारेन्टिन तथा थ्रोट स्वाव जाँचको गति अघि बढाए पनि यो अति सुस्त छ र पर्याप्त पनि छैन । महामारी गुणात्मक हिसाबमा लम्केकाले जाँच पनि त्यही हिसाबमा हुनुपर्छ ।’’ 

‘विपतका बेला पत्रकारको कर्तव्य राज्यलाई सहयोग गर्नु हो । सरकारका सूचना जन समुदायमा पुर्‍याउने काम पनि हामीले गर्दै आएका छौँ । सरकारलाई सही सल्लाह सुझाव पनि दिन्छौँ । महामारीको बेला अग्रस्थानमा रही काम गर्नुपर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्र्र्मी र सफाइ कामदारको मनोबल बढाउन उनीहरुलाई प्रोत्साहित गर्ने समाचार पनि संप्रेषण गर्दैआएका छौँ । 

रिपोर्टिङका सन्दर्भमा हामी पत्रकार पनि थाहा पाई नपाई संक्रमितको नजिक पुग्नुपर्ने अवस्था हुन्छ । तर, हाम्रो सुरक्षा र मनोबल बढाउन कसैले सोचेको छैन । कैलालीका पत्रकारका लागि कुल ३० जोर सर्जिकल मास्क तथा पन्जा वितरण भएको छ । यो संख्या अत्यन्त कम हो । अरु कुनै किसिमको सहयोग पत्रकारका लागि भएको जानकारी मलाई छैन । 

सेती प्रदेश अस्पतालमा अहिले ५ जना संक्रमिततको उपचार हुँदैछ । भारतबाट करिब डेडलाख मानिस भित्रिएका र तिनीहरुमध्ये थोरैमात्र क्वारेन्टिनमा बसेका कारण संक्रमितको संख्या बढ्ने जोखिम उच्च छ । यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल बढाउने तथा भयमुक्त वातावरण आवश्यक हुन्छ । यसका लागि सेती प्रदेश स्वास्थ्य निर्देशनालयले के पहल गरेको छ हामीले जान्न चाहेका थियौँ । हामीसँगको कुराकानीमा सेती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले भने – 

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रोत्साहन भत्ता थप्ने, व्यक्तिगत सुरक्षा सामग्री पीपीइको वितरण सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीहरुको जीवन बीमाको व्यवस्था गर्नेजस्ता प्रोत्साहन मुखी कार्यक्रम हामीले ल्याएका छौँ । आमा सुरक्षा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ सेवामा कुनै कमी कमजोरी हुन नदिन हामी पूर्ण सतर्क छौँ । संम्भावित थपिन सक्ने संक्रमितको उपचारका लागि केन्द्रबाट ३३ जना विशेषज्ञ डाक्टरहरुको टोली पनि हाम्रो अनुरोधमा आइसकेका छन् ।  

संक्रमितहरु आउने संम्भावना धेरै रहेको डडेलधुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदिशचन्द्र विष्ट पनि हामीसँग कुराकानीमा जोडिए । उनी भन्छन् – 

‘‘पूर्वतयारी पर्याप्त छैन । क्वारेन्टिनमा बस्नुपर्ने मानिसले नियम पालन नगरीदिँदा जनसाधारणका साथै स्वास्थ्यकर्मीहरु भयभीत छन् । सामान्य बिरामी तथा कोरोनाका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गराउँदा जोखिम उच्च छ । कोराना संक्रमितको उपचार छुट्टै ठाउँबाट गर्ने व्यवस्था हुन जरुरी छ ।  केही स्वास्थ्यकर्मीले घरबेटीले कोठामा पकाएर खान नदिएको, व्यवहार राम्रो नगरेको गुनासो पनि सुनाउन थालेका छन् । संक्रमण फैलँदै गयो भने यस्ता कुरा झन् बढ्ने छन् । यसमा प्रशासनले निगरानी राख्न जरुरी छ । कोरोनाको त्रासका कारण नयाँ आउने कर्मचारीले कोठा पाउन पनि गाह्रो हुँदै जाने सम्भावना देखिएकाले उनीहरुका लागि बासको उचित व्यवस्था पनि मिलाउन जरुरी भएको कुरा डा. जगदीशले बताए । 

स्वास्थ्यसेवा प्रदायकको मनोबल बढाउने प्रयासका सन्दर्भमा डा. विष्टले भने – ‘‘हामी स्वास्थ्य सेवा प्रदायकहरु अस्पतालमा दैनिकरुपमा समीक्षा बैठक बस्ने गरेका छौँ । यसमा व्यक्तिगत सुरक्षा, सुरक्षा सामग्रीको उपलब्धता तथा उपचार गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा छलफल हुन्छ ।’’
कोरोना बाहिरबाट भित्रिएको भाइरस हुँदा बाहिरबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राख्ने तथा थ्रोट स्वाव परीक्षण तीव्र गतिमा हुनु जरुरी छ । यसलाई प्राथमिकतामा राखी जति चाँडो संक्रमितको पहिचान हुन सक्यो उति सहजरुपमा व्यवस्थापन गर्न सकिनेछ र संक्रमण फैलन पाउनेछैन । संक्रमितको संख्या फैलन नदिनु नै अहिलेको अवस्थामा स्वास्थ्य सेवा प्रदायकका लागि सबैभन्दा ठूलो सफलता हो । संक्रमितको संख्या बढ्न सक्ने कुरालाई पूर्वानुमान गर्दै संक्रमित नभएका जिल्लाका ओपीडीमा कार्यरत डाक्टरहरुलाई संक्रमण बढी भएका जिल्लामा परिचालन गरी ‘सिफ्टवाइज’ उपचारमा संलग्न हुने व्यवस्था मिलाउन डा. विष्टले सुझाए । 

डा. विष्टले भने – ‘‘स्वास्थ्य सेवा प्रदायकहरुले कस्तै अवस्थामा पनि पेसागत दायित्व पूरा गर्ने मनःस्थिस्ति तयार पारेकै हुन्छन् । आफ्नो कर्तव्यमा हामी पछि हटदैनौ । हाम्रो मनोबल उच्च राख्न सबैतिरबाट सहयोग हुनेनै छ भन्ने विश्वास राख्छु ।’’ 
रचना लम्लास गोल्डेन कम्युनिटीकी स्टाप हुन । उनी चितवन अस्पतालमा डाटा सर्विलेन्सको काम गर्छिन् । उनलाई आजकल अस्पतालमा पस्दा धेरै डर लाग्छ । उनीसँग व्यक्तिगत सुरक्षा सामग्री ग्लोब्स र मास्क त छ तर मोयो (भु्रणको मुटुको धडकन जाँच्ने मसिन) राखिदिन गर्भवतीलाई छुनु पर्ने हुँदा ‘गाउन’ पनि भए हुनुपथ्र्योे भन्ने ठान्छिन् । उनी पटकपटक स्यानिटाइजर हातमा लगाउँछिन् र घर पुग्नासाथ लगाएका सबै कपडा धुने तथा नुहाएरमात्र आफनो कोठामा पस्ने गर्छिन् । खाना परिवारसँगै बसेर खान्छिन् तर पनि कोरोना आइहाल्छ कि भन्ने त्रास भने हरेक क्षण परिवार र उनीबीच रहेकै हुन्छ । 

कोरोनालाई परास्त गर्ने सबैभन्दा ठूलो अश्त्र आत्मबल नै हो । जतिसुकै आधुनिक अस्त्रशस्त्र साथमा भए पनि मन हारेपछि युद्ध जितिन्न । कोरोनासँगको युद्धमा जित हासिल गर्न कोही कसैको मनोबल गिर्नु हुन्न । संक्रमित स्वयंले पनि आत्मबलले नै कोरोनालाई जितेको हुन्छ ।  

आज कोरोनाले सिंगो विश्वलाई युद्धभूमिमा परिणत गरेको ‘‘नेपालमा यो विपत आएपछि व्यवस्थापन कसरी होला ?’’ यो सबैका सामुको अत्यास लाग्दो प्रश्न थियो । अहिलेसम्म सरकारले कोरोना रोकथाम तथा व्यवस्थापनमा काम गरिरहेको छ । महामारीले भविष्यमा कस्तो रुप लिने हो त्यो अनिश्चित छ । त्यसैले संक्रमितको उपचारमा होमिने स्वास्थ्य सेवन प्रदायकको मनोबल कुनै हालतमा खस्कन नदिन उनीहरुलाई नियमितरुपमा मनोचिकित्सकसँग विमर्श गर्ने व्यवस्था हुन जरुरी देखिन्छ । 

(डा. केसी उप्साला विश्वविद्यालय, स्वीडेनका पोस्ट डक्टरेट )

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC