भोजपुर । यहाँका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज द्रुत निदानात्मक परीक्षण (आरडीटी) गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
गत वर्ष फागुन ३० गते साउदी अरबबाट काठमाडौं आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए ।
होम क्वारेन्टाइनमा रहेका उनलाई पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । उनको स्वाब संकलनका लागि मंगलबारै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी लागेको स्वास्थ्य कार्यालयले बताएको छ ।
स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने कार्यालयले जनाएको छ । -रासस