site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
लकडाउनमा रिसलाई खुसीमा बदल्ने आधादर्जन उपाय

मान्छे स्वतन्त्रताको पक्षधर हो । ऊ फुक्काफाल भएर हिँड्न चाहन्छ । सम्पत्ति होस् नहोस् ‘बिन्दास’ जीवन जिउन चाहन्छ । मान्छे आफूलाई लागेको कुरा भन्न चाहन्छ । रोगले घेरे पनि खान मन लागेको कुरा खाएर जिब्रो फट्कार्न चाहन्छ । भिरालो जमिनमा हिडे लडिन्छ भन्ने जान्दा जान्दै रोमाञ्चक अनुभव हासिल गर्न भिरको बाटो हिँड्न रुचाउँछ । किने पनि आफूले पढ्ने होइन भन्ने थाहा हुँदाहुँदै पनि किताब किन्न छोड्दैन । यसरी मानिस अजिबको प्राणीमा पर्छ । तैपनि, संसारमा मानिस नै सर्वाधिक विकसित, बुद्धिमान्, सिर्जनशील, विवेकी, ज्ञानी र धैर्यशील प्राणीमा पर्छ । 

बेलायती दार्शनिक जेम्स एस्टुवार्ट मिल (सन् १८०६ – ७३) ले भनेजस्तो ‘‘अरुको स्वतन्त्रतामा दखल नपर्दासम्म असीमित स्वतन्त्रताको उपयोग गर्न’’ पल्किएको मानिस कोरोनाको कहरका कारण हाल बन्दाबन्दी (लकडाउन)मा छ । जनावरलाई चिडियाखानामा थुन्दा तिनीहरु कति दुःखी हुँदारहेछन् भन्ने अनुभूति मान्छे आफैँले गर्न थालेको छ । हुनत हामीले ‘पिंजडाको सुगा’ शीर्षकका कविता पनि पढेका हौँ । तर, मानिसको जातै डुंगाजस्तो । ‘हिँड्दै छ, बाटो मेट्दै छ’  । भोगेको सम्झन्छ, पढेको छिटृै भूल्छ । 

स्विस दार्शनिक जँ ज्याक रुसो (सन् १७१२ – ७८ ) ले उहिल्यै भनेका थिए – ‘‘मानिस स्वतन्त्रतापूर्वक जन्मिन्छ तर जन्मेपछि आफू चारैतिर बन्धनमा परेको पाउँछ ।’’ अहिले बल्ल मानिसले रुसोको भनाइ बुझ्न थाले होलान् । विश्वेश्वरप्रसाद कोइराला (सन् १९१४ – ८२) को ‘शत्रु’ कथा हामीले पढेकै हो । त्यसलाई जीवनमा उतार्न नसकेको मात्रै हो । अहिले बल्ल अनुभूत भएको छ – मान्छेको शत्रु त मान्छे नै पो रहेछ । हाल अर्को मान्छेले कोरोना भाइरस सार्छ कि भनेर मान्छे स्वयं मान्छेसंग तर्सिएर, तर्किएर हिँडिरहेको छ । यस्तो विषम परिस्थितिमा मान्छेमाथिको रिस व्यवस्थापन गरी कसरी सुखी र खुसी हुने भन्ने उपयोगी सूत्रहरु प्रस्तुत गर्ने जमर्को गर्दैछु ।  
१. जानेको कुरा गर्नोस् :
जान्ने, सिक्ने, पढ्ने, अनुभव हासिल गर्ने भनेको जीवनलाई खुसी, सुखी र सफल तुल्याउन हो । यस्को निमित्त हाम्रो अन्तरआत्माको ज्ञानीपनलाई उजागर गर्नुपर्छ । खेमराज नेपालले ‘तालीम सामग्री’ भन्ने पुस्तकमा चार प्रकारका मानिसका बारेमा उल्लेख गरेका छन् – क. जो ऊ आफू जान्दैन र जान्दिन भन्ने पनि जान्दैन । ऊ मूर्ख हो, त्यसलाई छुट्याऊ । ख. जो आफू जान्दैन तर जान्दिन भन्ने जान्दछ । ऊ साधारण हो, त्यसलाई सिकाऊ । ग. जो आफू जान्दछ, तर जान्दछु भन्ने जान्दैन । ऊ सुषुप्त हो, त्यसलाई ब्युँझाऊ । घ. जो आफू जान्दछ र जान्दछु भन्ने पनि जान्दछ, उ ज्ञानी हो । त्यसलाई पछ्याऊ । 

Agni Group

यसअनुरुप हामीले जानेको, बुझेको, भोगेको र अनुभूति गरेको विषयलाई व्यवहारमा उतारेपछि अन्य मानिसको नजरमा हामी असल मानिसमा पछौँ । बानीले बानी पार्छ भने झैँ हाम्रो असल चरित्र एक कान दुई कान मैदान हुँदै जान्छ । त्यसपछि हामीलाई सधैँ असल भइरहने इच्छा जाग्छ । उदाहरणका लागि हाल सरकारले घरबाट बाहिर निस्किनु हुँदैन । घरमै बस्नु सुरक्षित रहनु भनेको कुरा खुरुक्क जस्ताको तस्तै मान्न मन लाग्छ । यसले ‘लकडाउन’को समयमा पनि आफूलाई असलनै बनाई राख्न मद्दत गर्न । तर, असल भनिएका मानिस पनि लकडाउनको उल्लंघन गरी घरबाट बाहिर निस्के निरन्तर असल रहन सक्दैनन् । 

२. असल मानिसको संगत गर्नोस् :

Global Ime bank

असल मानिसको संगत गर्ने भनेको आफू पनि असल हुने भन्ने हो । एउटा नीति कथामा एउटी आमा सुगाले साह्रै लोभलाग्दा राम्रा सुगा दुई वटा बच्चा कोरल्छिन् । ती बच्चा सुगा हुर्किँदै जान्छन् । ती बच्चा सुगाहरु लगभग उँँड्ने अवस्थामा पुगेका बेला एउटा व्याधाले गुँढबाट उठाएर लैजान्छ । उसले ती दुवै सुगालाई बजार बेच्छ । एकजना सज्जनले खरिद गरेको सुगा ठूलो भएपछि बाटो हिँड्ने मानिसलाई अभिवादन गर्दै शुभदिनको कामना गर्न थाल्छ । यसबाट ऊ सबैको प्रिय हुन्छ । अर्को सुगा एक दुष्टले खरिद गरेको हुन्छ । त्यो सुगा दुष्ट मानिसको संगतबाट दुष्टपन नै सिक्दै जान्छ । ऊ बाटो हिँड्ने मानिसहलाई गाली गलौज गर्न र तिनको दिन अशुभ होस् भन्ने कामना गर्न थाल्छ । यसबाट सो सुगा सबैका लागि अप्रिय हुन्छ । यसरी सुगाको आमाले समानरुपमा हुर्काएका सुगाहरु संगतअनुसार असल र खराब बन्न पुग्छन् । 

यस नीति कथाबाट हामीले पाठ सिकेर ‘लकडाउन’मा असल मानिसले घरपरिवारमा उत्प्रेरणा जागृत गराएको, भान्छामा पतिपत्नी मिलेर काम गरेको, सबैसँग असल व्यबहार गरेकोबाट सिक्नुपर्छ । ठीक यस्को विपरीत खराब मानिसले लकडाउनका बखत प्रहरीको आखा छलेर बिहान वा साँझ घुम्ने, लुकेर तास खेल्ने, लुकेर मापसे गर्ने, लुकेर पार्टी उत्सव मनाउने, प्रहरीले गस्ती नगरेको मौका छोपेर सवारी साधन विनाकाम सडकमा गुडाउनेजस्ता काम गर्छन् । यसबाट हामी टाढै रहनुपर्छ । 

ऋणले ऋण बढाउँछ र धनले धन बढाउँछ भने झैँ असल मानिसको संगतले अझ असल हुन र खराब मानिसको संगतले थप खराब बन्न हामीलाई उत्पे्ररित गर्छ । यसर्थ हामी ‘लकडाउन’का बखत अतिरिक्त भलादमी बन्ने कोसिसमा जुट्नुपर्छ । 

३. आफूलाई बदल्नुस् : 

सर्पले हरेक वर्ष काँचुली फेर्छ । मानिस पनि गतिशील प्राणी हो । यसर्थ, हामीले पनि सर्पले छाला फेरे झैँ हरेक घटनाबाट आफूलाई परिमार्जित गर्दै लैजानुपर्छ । एउटा प्रसिद्ध भनाइ छ – सबैजना विश्वलाई बदल्नेबारे सोच्छन् तर आफैँलाई बदल्नेबारे भने कसैले पनि सोच्दैनन् । यसबाट हामीले सिक्ने कोसिस गर्नुपर्छ ।

यसर्थ, लकडाउनमा निराश नहुने, उत्साही हुने सीप सिक्नुपर्छ । पढ्ने बानी बसाउने । घर आँगन सफा गर्ने । करेसाबारी र कौसीबारीमा गोडमेल गर्ने । घरअगाडिको सडक र टोल सफा गर्ने । तर, यी सबै काममा कोरोना संक्रमणबाट जोगिने सबै सावधानी अपनाउनुपर्छ । 

सामान खरिद गर्दा पसलेसँग तुच्छ व्यवहार नगर्नुस् । ऊ पनि तनावमा हुन्छ भन्ने बुझ्नोस् । अत्यावश्यक काममा बाहिर निस्किएको बखत प्रहरीबाट सोधपुछ हुँदा नम्रतापूर्वक प्रस्तुत हुनोस् । आफ्नो कठिनाइ बताउनोस् । यति गर्दा पनि अबुझकै फेला पर्नुभयो भने उल्टै ‘सरी’ भनेर अनुमति मागेर अघि बढनुस् वा घर फर्किनोस् । यो पद्यमा आफूलाई खोज्नोस् – ‘‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’’

४. आफ्नो कर्तव्यबाट विचलित नहुने :

लकडाउनको समयमा आफू सुरक्षित हुनुपर्छ । आफ्नो परिवारलाई सुरक्षित राख्नुपर्छ । संभव भए जनताको सुरक्षाका लागि आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । यस अवस्थामा मानिसमा चिटचिटाहट पैदा हुने मनोवेत्ताहरूले भनिरहेका छन् । 

कुकुरहरु आपसमा जुध्ने र मानिस देखेमा आक्रामक हुन थालेका छन् । यसैगरी बाँदरहरु पनि रिसाउने र झम्टिने गर्न थालेका छन् । यही समस्या घरमा पनि देखा पर्नसक्छ । यसर्थ, सबैले सतर्कता अपनाउनुपर्छ । आप्mनो परिवारप्रतिको कर्तव्य बोधबाट विचलित भएर उल्टै उनीहरुमाथि खनिने गल्ती गर्नु हुँदैन । यस अवस्थामा परिवारका कुनै सदस्यले चर्को स्वर गरे पनि अर्को शान्त भई दिनुपर्छ ।

यस बखत सम्पर्कमा आउने आगन्तुक, पसले, प्रहरी, स्वास्थ्यकर्मी, सहयोगको याचना गर्ने व्यक्ति, सूचनामूलक सन्देश प्रवाह गर्दै हिँड्ने समाजसेवी वा जनप्रतिनिधिसँग जम्काभेट हुँदा आफ्नो शिष्टाचार राख्ने कर्तव्यबाट विचलित नहुनोस् । रिस नै विनाशको प्रस्थान बिन्दु हो । सहनशीलतानै बिग्रन लागेको सम्बन्धलाई बचाउने कडी हो । एउटा भनाइ छ – शत्रुलाई सिध्याउने एउटै काइदा छ, त्यो ऊसँग मित्रता कायम गर्ने नै हो । 

एउटा महत्त्वपूर्ण भनाइ सम्झनोस् – मानिस गर्न नहुने काम गर्न सधैँ डराओस् तर आफूले गर्नुपर्ने काम नगरिएलाकि भनेर सावधान रहोस् । 

५. अनावश्यक भयबाट बच्नोस् :

अहिले प्रत्येक व्यक्तिमा कोरोनाको संकमण हुने जोखिम बलियो छ । कोरोनाको कहरका कारण मानिसहरुको जागिर जाने र रोजगारी गुम्ने पनि निश्चित नै छ । यसैगरी कोरोनाले परीक्षाहरु अनिश्चित भएका छन् । स्कुल कलेज खुल्ने नखुल्ने कुनै निश्चित छैन । अब अमेरिका, अस्ट्रेलियालगायतका देशमा पढ्न जाउँला भनेर नसोचे पनि हुन्छ । मुलुकको अर्थतन्त्र पनि उठ्नै नसक्ने गरी भास्सिएको छ । यी र यस्ता समाचार, विश्लेषण, टिप्पणी ज्यादातर पढ्न, हेर्न, छलफल गर्न, सुन्न मन लाग्नु भनेकै आपूmमा अनावश्यक भय जागृत भएको संकेत हो । यस्को समयमै व्यवस्थापन गर्नुपर्छ ।

सामान्यतः कुनै पनि प्रकारको नकारात्मक कुराबाट हतास हुनु हुँदैन । अँध्यारोपछि उज्यालो आउँछ । दुःखपछि सुख फर्किन्छ । समस्याभित्र समाधान पनि लुकेको हुन्छ । खाटबाट खसुँला कि भन्ने डर छ भने भुइँमा सुत्नु बेस हुन्छ भने झैँ निराशा र कुण्ठा पाल्नेले सपना नदेख्ने सल्लाह मान्नुपर्ने हुन्छ । यसर्थ, यो समस्या आपूmलाई मात्रै आइपरेको होइन । समस्या समाधान भएपछि म मेरो गन्तव्यमा पुग्छु भन्ने आत्मबल बढाउनुपर्छ । 

वास्तवमा, असफलताको मनन गर्नेहरु नै सफलताका हकदार हुन्छन् । सर्वाधिक महत्त्वपूर्ण कुरा, सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे हुन्छ । यही नै जीवनको कटु सत्य ज्ञान हो ।

६. उद्देश्य के लिनु उँडी छुनु चन्द्र एक : 

महाकवि लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९ –५९) को माथिको पद्यले सदैव हामीलाई भविष्यप्रति आशावादी हुन सिकाउँछ । विद्यार्थी हुँदा रेल्वेस्टेसनमा भरिया काम गर्ने अब्राहम लिंकन अमेरिकामा चर्चित राष्ट्रपति बन्न सफल भए । विख्यात रुसी साहित्यकार म्याक्सिम गोर्की आफ्नो बाल्यकालमा कबाडीवाला कहाँ झुरा कागज उठाउने काम गर्थे । महान् वैज्ञानिक थोमस एल्वा एडिसन अनेकौं पटकको असफलतापछि स्टोरेज ब्याट्री आबिष्कार गर्न सफल भएका थिए । विश्वमा यस्ता उदाहरणीय व्यक्तित्वको कुनै कमी छैन । मानव जीवन संघर्षको मैदान भएकाले मासिसले दुःख र कष्ट सहेर नै विकास गर्छ । यस्का लागि दृढ इच्छा शक्ति भने आवश्यक हुन्छ । 

रोमका सेनापति जुलियस सिजरले जनतामा अपार उत्साह बढाएरै अविजित एथेन्स सेनालाई पराजित गरेका थिए । राष्ट्रकवि माधव घिमिरेले उसै लेखेका हैनन् – ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल । सबैमा म गर्छु, म सक्छु भन्ने भावना विकास गर्नुपर्छ । भनिन्छ, महत्त्वाकांछा नभएको बुध्दिमान् मान्छे पखेटाविनाको चराजस्तै हुन्छ ।

यी सबै दृष्टान्त पढेर हामी शान्त बनौ । कोरोनाको केही दिनको जगजगी सहेर घरमै बसौँ । यसै समय भविष्यको स्वर्णीम सपना बुनौँ । यस लकडाउनको समयमा आपूmभित्र कुनै पनि प्रकारको रिसलाई स्थान नदिऊँ । सधै आफू खुसी रहूँ । कोरोना भगाऊँ र सुरक्षित रहौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC