बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाको त्रास र प्रभाव : नातासम्बन्धदेखि मानसिक स्वास्थ्यसम्म 
KNP nepal
KNP nepal
सूर्यप्रसाद अधिकारी
बाह्रखरी - सूर्यप्रसाद अधिकारी सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank

चितवन । एकजना दाजु आफ्नो भाइ (काकाको छोरा) लकडाउन भएपछि काठमाडौबाट घर आउंँछ भन्ने पूर्ण विश्वासमा थिए । हरेक वर्ष दसैंको टीकाको दिनमा मात्रै भेट्ने दाजुभाइको मित्रता लकडाउनले प्रगाढ र आत्मीयता अझ गहिरो हुने विश्वास दुवैको थियो । 

घरआएपछि लकडाउन सुरु भएकै दिन भाइले दाजुलाई फोन गरे । ‘दाजु हाम्रो घरतिर आउनुस् न !’ हुन पनि उनीहरूको घरको दूरी हिँडेर धेरैमा १५ मिनेट लाग्थ्यो । त्यो दिन दाजु विशेष कारणले जान सकेनन भोलिपल्ट भाइले फेरि फोन गरे ‘किन नआउनु भएको दाजु मेरो घर ? भाइलाई भेट्न दाजु पनि आतुरै थिए । रातभरि भाइले बोलाएको दिन जान नसकेको पश्चाताप गर्दै दाईले रात काटे । लकडाउनमा दाजुको पेसालाई त हिँड्न भने स्वतन्त्रता थियो । भाइको पेसाले भने अवरोध गरेको थियो । दाजु आफ्नो लामो समयसम्म भेट्न नपाएको तडपपनले दिउँसोतिर भाइको घर पुगे । सामान्य शिष्टाचार र भेटघाट गरेपिछ भाइले बार्दलीमा रहेको खाटमा बस्न आग्रह गरे । तर जब दाजु स्वभाविक ढंगले बसे । भाइको आवाज निस्किहाल्यो ‘दाइ सोसियल डिस्टेन्स मेन्टेन गरेर बस्नुन’ त्यसपछि दाजु झसंँग भए । 

केही बेरको चियापान र भलाकुसारीपछि दाजु आफ्नो घर फर्कने तरखरमा लागे । तर अफसोच उनले भाइको मुखबाट र परिवारको सदस्यले पनि हाम्रो घर आइराख्नु है भन्नै सकेनन् । यसअघि जहिले यो शब्द छुट्दैनथ्यो भाइबाट पनि । भोलिपल्ट भाइ सूचना प्रविधिको इन्जिनियर पेसा भएकाले नातासम्बन्धलाई निरन्तरता दिन होला आफ्नो एउटै परिवारको एउटा ग्रुप मेसेन्जर बनाए । त्यसबाट केही दिन त भिडियो कलबाट वार्तालाप, सबै नाता सम्बन्ध परिवारसंँग भइरह्यो । त्यो प्रयास पनि धेरै दिन टिकेन । 

Duber nepal

Agani Group

हुन त भाइलाई पनि दाजुको घरमा आउन मन नभएको पक्कै होइन । किनकि उनले पहिले पनि घर आउंँदा बाबुआमालाई भन्दा दाजुलाई नै पहिला फोन गरेर जानकारी गराउंँथे । भाइको घर गएपछि त्यसको भोलिपल्टै दाजुले पनि भाइलाई हिँडेर आफ्नो घरमा आउन आग्रह गरे । तर लकडाउन भएको ४ साता टेकिसक्दा पनि उनले आउंँछु आउंँछु भनेर जवाफ दिए, भाइ आउँदै आएनन् । लकडाउनको कारण १५ मिनेटको दूरी पनि पनि यी दाजुभाइको लागि १५०० सय घण्टाको दूरी हुनपुग्यो । कोरोनाले नातासम्बन्धमा पनि अविश्वास र शंका उत्पन्न गराइदियो । 

अहिले सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यताले पारिवारिक नातासम्बन्धसमेतको दूरी बढ्दै गइरहेको अनुमान सहजै गर्न सकिन्छ । अधिकांश आफ्नै नातागोताको सम्बन्धमा कोरोनाले अलग्गै त्रासको सिर्जना गरिरिएको छ र मानवीयतामा समेत संकट आएको छ । विशेष गरी अहिले यो देशमा ३ वटा तप्काबाहेक सबै घरभित्र बन्दाबन्दीमा छन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आंशिक रूपमा सञ्चारकर्मी । यही वर्गीकरणमा पनि परेर होला आज न त्यो भाइले दाजुलाई बोलाउन सके, नत दाजु नबोलाईकन उनको घरमा जान सकेका छन् । उनको मनमा हुँदो हो यो दाइले संक्रमण त बोकेर ल्याएको छैन ? त्यसैले भावनात्मक सम्बन्धको पीडालाई लुकाएर पनि उनले दाजुलाई पुनः बोलाउनै सकेनन् । विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाले आर्थिक क्षेत्र त ध्वस्त पारिदियो पारिदियो यसले नाता सम्बन्धलाई समेत धमिल्याइदियो । 

अर्का एक व्यवसायी नारायणगढमा व्यवसाय गर्छन् । कम्युटरको व्यवसाय उनको घर पसलबाट नजिकै पर्छ भने उनका वृद्ध बुबाआमा झन्डै ७ किलोमिटर टाढा ग्रामीण इलाकाको घरमा बस्छन्, परिवारकै एक्लो छोरा आज एक महिना हुन लागिसक्यो भेट्न पाएका छैनन् । बाबुआमाले चाहेर पनि छोरालाई बोलाउन हिम्मत गर्न सकेका छैनन् । बाधक बनेको छ कोरोना त्रास । “पहिले सातामा २, ३ पटक आमाबाबुलाई भेट्न पुग्थें । तर अहिले आफ्नै घर परदेश बनाएको छ,” उनी भन्छन्, “घरमा के भइराछ, कस्तो छ फोनकलबाट मात्र कुरा गरेको छु ।” 
यति मात्र होइन हरेक व्यक्तिको दिनचर्यामा लकडाउनका कारण आमूल परिवर्तन आएको छ । दैनिक तालिकै कोरोनाकै कारण भताभुंग बनाइदिएको छ । जसले गर्दा उनको दैनिक दिनचर्यामा पनि व्यापक परिवर्तन आएको छ । कम्युटरका किबोर्ड र माउस चलाउने उनका हात सहरको घरको करेसाबारीमा कोदाली चलाउनमा बितेको छ । 

यसले पारिवारिक दूरी, भावानात्मक दूरी त टाढा बनाएको छ नै आर्थिक गतिविधिसमेत ध्वस्त बनाएको छ । यी घटना यस समयका लागि प्रतिनिधि घटना मात्रै हुन् । पारिवारिक र सामाजिक दूरीको पीडाले त होला सयौं किलोमिटर पैदल हिँडेर आफन्त परिवार भेट्ने आशमा साता दिन निद्रा र भोक खपेर पाइला चालिरहेका छन ती बटुवाहरू पनि । 
यसले आर्थिक, सामाजिक क्षेत्रमा त गहिरो असर पुर्याएको छ नै भावनात्मक सम्बनधमा समेत दरार ल्याइदिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका मानवशास्त्रका प्राध्यापक शिरोमणि पराजुली लकडाउनले परिवारकै सदस्यभित्र असर नपुर्याए पनि नातागोता सम्बन्धमा भने असर पुग्दै गरेको दाबी गर्छन् । “यसले सामाजिक दूरी त बढाइदियो बढाइदियो,” उनी भन्छन्, “नेपाली संस्कृतिलाई समेत धमिल्याइदियो ।” उनका अनुसार कोरानाको त्रास र यसको मनोवैज्ञानिक त्रासका कारण मानिसलाई बढी व्यक्तिवादी र स्वार्थीपनाबाट ग्रसित बनाएको छ । यसले सामाजिक संरचना, सामीप्यता र मानवीय भावनामा समेत नराम्ररी चोट पुर्याइदिएको छ । त्यसैले आफ्नै घरका सदस्यहरूसँग पनि डराउनुपरेको छ, आफ्नै आफन्त बिरामी हुँदा पनि भेट्न नमिल्ने बनाइदिएको छ आफ्नै छिमेकी, नातेदारको मृत्यु हुँदा पनि मलामी जान रोक लगाइएको छ ।

सोही क्याम्पसका समाजशास्त्रका प्राध्यापक होमनाथ अधिकारी भने यसले हालको समयमा केही सामाजिक असन्तुलन र दूरी बढाए पनि दीर्घकालीन रूपमा यसले असर नपुर्याउने दाबी गर्छन् । यसले आर्थिक रूपमा त ध्वस्त त बनाइदियो तर सामाजिक दूरी नाता सम्बन्धमा भने त्यति असर गर्दैन । भूकम्पमा पनि एक किसिमको सामाजिक र भावनतात्मक सम्बन्धमा तरंग ल्याइदिए पनि यो विस्तारै उही स्थितिमा पुनःस्थापित हुन पुग्यो । उनका अनुसार नेपालीको स्वभाव र बानी नै भइसक्यो जस्तोसुकै दुःख पनि खेप्न सक्ने अनि बिर्सन पनि सक्ने । 

सूचना प्रविधिको विकासले पनि भौतिक दूरी छोट्याइदिएको उनको तर्क छ । तर विश्वका विकसित त सम्पन्न राष्ट्रहरूमा समेत भौतिकवादी समाजप्रति अहिले चर्को वितृष्णा उत्पन्न भएको छ । त्यसैले त इटलीका सहरका सडकहरूमा मानिसहरू सडकमै पैसा फ्याँकेर निराशापन जनाए । यति मात्र होइन संसारका बलबान र धनाढ्य व्यत्तित्वलाई पनि कोरोनाले छोडेन । आखिर उनीहरूको पैसा कोरोनाको अघि कामै लागेन । त्यसैले पूर्वराष्ट्रपति, निर्देशक, चिकित्सकलगायतले पैसा भएर पनि मृत्युवरण गर्नुपर्यो । 

यति मात्र होइन मानिसलाई लकडाउन लामो र अनिश्चित घरबसाइँले एक त अल्छी बनाइदिएको छ । चिया खाएर भेट्ने संस्कार अहिले फोन र इन्टरनेटले प्रतिस्थापित गरिदिएको छ । अझ भनौैं मानिसलाई सामाजिक सञ्जालले कुलतमा फसाइदिएको छ । कारागारमा त निश्चित समय कैद अवधि पहिल्यै तोकिन्छ तर लकडाउनको अनिश्चिताले मानिसलाई बेचैनी, चिन्ता र निराशासमेत थपिदिएको छ । 

भरतपुर अस्पतालका मानसिक रोगका चिकित्सक सुनील शाह लकडाउनको प्रभावले मानिसलाई दीर्घकालीन रूपमै मानसिक असर पुर्याउने र यसको संख्या ह्वात्तै बढ्ने अनुमान गर्छन् । “कोरोनाको त्रास र बन्दाबन्दीको असर एकातिर छँदै छ अर्को मानसकि त्रास भनेको आर्थिक संकट हुनेछ,” उनले भने । उनका अनुसार मानिसमा घरमै बन्दाबन्दीमा बस्नुपर्दा मानिसमा निद्रा नलाग्ने, छटपटाउने, रिस उठ्ने, एकोहोरो हुने, बर्बराउने समेत लक्षण देखिसकेको बताउंँछन् ।

अस्पतालमा अहिले मानसिक रोगीका लागि ओपीडी बन्द गरिए पनि दैनिक ५ देखि १० कलसम्म मानसिक बिरामीको फोन आउने गरेको शाह बताउंँछन । उनका अनुसार यसको एउटै उपाय हो, सकारात्मक सोच, धैर्य र दैनिक सिर्जनात्मक काममा बढी अभ्यस्त हुनुपर्छ । आर्थिक क्षतिको विखण्डतालाई क्रमशः सुधार गर्दै जान सकिएला तर सामाजिक क्षतिको परिपूर्ति कसरी गर्ने विषयमा कसैले अनुमान गर्नै सकेका छैनन् । 

क्याप्सन :
लकडाउनका समयमा सडकमा हिँड्दै गरेका युवालाई सम्झाउँदै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएका प्रहरी ।

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्