site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 किसानको उज्यालो अनुहार

व्यावहारिक मान्छेले जस्तोसुकै सङ्कटमा पनि भोलिको अवस्थाबारे सोच्छ र योजना बनाउँछ । किनभने सङ्कटको अन्त्यपछि पृथ्वीमा उसैगरी घाम उदाउनेछ, पानी पर्नेछ र सृष्टि यथावत् चल्नेछ भन्ने थाहा छ । मानिसको भागदौड पनि उसैगरी हुनेछ, जसरी सङ्कटअघि हुन्थ्यो । 

आजको दुःख वा विछोड सम्झेर भोलिलाई अनिश्चित बनाउनु मूर्खताबाहेक केही होइन । यसो भनिरहँदा कतिपयलाई अमानवीय लाग्न सक्छ तर अति भावुकताले मानिसको जीवनलाई थप पीडामात्रै दिन्छ । हामी यतिखेर सङ्क्रमणको डिलमा उभिएका छौं । थाहा छैन, सङ्क्रमणको अन्त्य कहिले हुन्छ ? तर, यो निश्चित छ, यसको अन्त्य त हुन्छ नै । यो पनि निश्चित छ सङ्क्रमणलाई छलेर बाँच्ने मानिसको सङ्ख्या अधिक हुनेछ । तिनको बाँकी जीवन र पृथ्वीमा नयाँ आउने मानिसका लागि पनि यो संसार बस्न योग्य बनाउनु बाँच्नेहरुकै जिम्मेवारी हो । 

यही कारण पनि कतिपय मुलुकले कोरोनाको सङ्क्रमणका बीच भावी योजना र अर्थतन्त्रलाई कसरी मजबुत पार्ने भन्ने विषयमा गम्भीर ढङ्गमा सोच्न थालिसकेका छन् । विश्वव्यापी यो महामारीले शक्तिशाली मानिएको अमेरिकामा मात्रै कोरोना सङ्क्रमण सुरु भएपछि गत साताको पूर्वाद्र्धसम्ममा दुई करोडभन्दा बढी मानिसले रोजगारी गुमाइसकेका छन् । यो क्रम अझै बढ्ने पक्का छ । कहिले र कसरी मुलुकका आर्थिक क्रियाकलाप सुचारु गर्ने भन्ने सन्दर्भमा त्यस विशाल मुलुकका राष्ट्रपति डोनाल्ड ट्रम्प सोचमग्न बनेका छन् । भलै, उनको यो सोचको चौतर्फी विरोध भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दह्रो अर्थतन्त्र, बलियो सरकार र विकसित मुलुक अमेरिकासमेत देशको भविष्यलाई लिएर चिन्तित भइरहेको यो समयमा नेपालजस्ता अविकसित मुलुक चुपचाप बस्नु कुनै पनि हालतमा उचित होइन । यतिखेरको सरकारी अकर्मण्यता अघिपछिको भन्दा धेरै गुणा खराब हुन्छ । यसकारण पनि नेपालले आजैदेखि यसबारे योजना बनाउनु र कसरी मुलुकको अर्थतन्त्र डुब्न नदिने भन्नेबारे सोच्न थाल्नु जरुरी छ ।  

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पछिल्लो प्रक्षेपणले संसारकै अर्थतन्त्र जर्जर हुने देखाइसकेको छ । नेपाल सामान्य अवस्थामा रहँदा ८ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । अब त्यो खुम्चिएर एक प्रतिशत छेउछाउमा रहने अनुमान गर्न थालिएको छ । अर्थमन्त्री युवराज खतिवडाले चारपाँच प्रतिशतसम्म आर्थिक वृद्धि हुने बताए पनि त्यो सम्भव देखिँदैन । त्यो अनुमान उनले गरेका होइनन् बरु उनको कुर्सी बोलेको हो भन्ने बुझ्न गाह्रो पर्दैन । त्यो सम्भावित खराब अवस्थाबाट मुलुकलाई कसरी माथि उकास्ने भन्ने प्रश्नको उत्तर अब एउटा मात्रै छ, त्यो हो – कृषिमा ध्यान । अबको अर्थतन्त्र कृषि केन्द्रित हुनुपर्ने विषयमा धेरैखाले बहस कोरोना कालमै भइसकेको छ । कतिपय सञ्चारमाध्यममा अर्थविद्हरुले यो कुरा बताइसकेका छन् । यसमा थप कुरो के छ भने, कसरी कृषिमा युवाआकर्षण बढाउने भन्ने सवाल अबका दिनमा प्रमुख बनेको छ । यसको उत्तर खोज्ने काम सरकारको हो । 

Global Ime bank

सरकारमा यतिखेर कृषि मन्त्रालयको जिम्मेवारीमा अध्ययनशील, जुझारु तथा जिम्मेवार नेताको छवि बनाएका घनश्याम भुसाल आसिन छन् । उनले आफ्नो छवि उजिल्याउने र थप मजबुत पार्ने अवसर पाएका छन् । सङ्कटलाई अवसरमा बदल्ने कि कोरोनालाई दोष दिएर जनतालाई थप गरिब बनाउने ? र, आफू जिम्मेवारीबाट पन्छने ? वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणबाट लाजै नमानी तलबसुविधा खाइरहने कि स्वदेशमै रोजगारी सिर्जना गर्ने ? अबको रोजगारीको प्रमुख क्षेत्र भनेको कृषि नै हो । यो तथ्य बुझेर अघि बढ्न अब जरुरी छ । उसै पनि रोजगारी सधैँ तरल हुन्छ र प्रायः स्थायी हुँदैन । मानिसहरु भने स्थायी रोजगारीको खोजीमा हुन्छन् तर अधिकांशले त्यो पाउँदैनन् । स्वदेशमै कृषिकर्ममा नागरिकले स्थायी रोजगारी पाउँदा ती खुसी नहुने कुरै छैन ।  

पछिल्लो अध्ययनले के देखाएको छ भने वैदेशिक रोजगारीमा गएका झन्डै ८० प्रतिशत नेपाली स्वदेश फर्कन चाहन्छन् । निश्चितरुपमा त्यति धेरै सङ्ख्यामा नेपाल फर्कन चाहनुको कारण कोरोना महामारी नै हो । विदेशमा रहेका कतिपय अहिले बेरोजगार भएका छन् । त्यसकारण पनि ती आफ्नो थातथलो फर्कन चाहन्छन् । यसरी फर्किएका दरिला पाखुरीलाई कृषितर्फ आकर्षित गर्न सक्ने हो भने मुलुकको अर्थतन्त्र पुनः गतिमा फर्कने त छ नै साथमा यसले बहुफाइदा पुर्‍याउनेछ । रोजगारी खोज्दै विभिन्न मुलुक पुगेका कतिपय कृषि उद्योगमा पनि लागेका छन् । तिनले आर्जन गरेका सीप र दक्षता अब स्वदेशमा उपयोग गर्ने मौका आएको छ । 

आधा करोड हाराहामरीमा विदेशमा रहेका जनशक्तिबाट वार्षिक करिब पौने नौ खर्ब रकम नेपाल भित्रिन्थ्यो । अब त्यो निकै घट्नेछ । त्यसपछि मुलुकको अर्थतन्त्र झनै कमजोर बन्ने अवस्था आउन सक्नेछ । तर, त्यति रकम मुलुकमै बसेर कृषिकर्मबाट कमाउन गाह्रो छैन । आफ्नै मुलुकमा बसेर जीवन सहज र सुखी हुन्छ भने कोही किन विदेश भासिन्छ ? विकल्प नपाएर नै अधिकांश नेपाली दलाललाई थैली बुझाएर विदेश भासिएको हुन् भन्ने बुझ्न सरकार तयार हुनुपर्छ । कृषिमा आकर्षण बढाउँदा जनशक्ति आफ्नै देशमा बस्न त पाउँछ नै साथमा आयातमुखी अर्थतन्त्रमा पनि सुधार आउने छ । हाम्रो कृषिउपज निर्यातसमेत हुन सक्नेछ । यसले नेपाललाई परनिर्भर (विशेषगरी भारतनिर्भर)बाट अन्तर्निभर बनाउन मद्दत गर्नेछ । 

नेपालमा कृषि लामो समयदेखि जीविकामुखी बन्दै आयो । यसले व्यावसायिक रुप लिन मुस्किल पर्दै आएको छ । यसकारण पनि कृषितर्फ युवा आकर्षित हुन सकेनन् । अब मौका आएको छ सरकारलाई । कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी कम्तीमा पनि वर्ष दिनका लागि खुल्ने अवस्था छैन । पुरानै लयमा संसार फर्कन अझै बढी समय लाग्न सक्छ । स्वदेश फर्किएर कतिपय युवा अब फेरि पसिना बगाउन खाडी ताक्ने छैनन् । तिनलाई आफ्नै जमिनमा पोखिएको पसिनाको सुगन्धले लोभ्याउने छ । त्यसकारण पनि यस अवधिमा बढीभन्दा बढी युवालाई कृषिमा आकर्षित गराउन सक्दा चौतर्फी लाभ हुन जान्छ । नेपालसँग यतिखेर सम्भवतः इतिहासमै धेरै युवा जनशक्ति छ । त्यसको अनुभव, क्षमता र प्रतिभा देशभित्रै उपयोग गर्न सक्दा मुलुकको अनुहार फेर्न लामो समय लाग्दैन । 

अहिले देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एकचौथाइ छ । यस्तो योगदान कम्तीमा दोब्बर पार्नु आवश्यक छ । दोब्बर पार्न सुरुमा कठिन भए पनि यो असम्भव छैन । मुख्य कुरा सरकारले लिने नीति किसानको हितमा हुनुपर्छ । किसानले समयमा मलखाद, बीऊ, सिंचाई र न्यून दरमा ऋण पाउनु पर्छ । तिनले उत्पादन गरेको वस्तुको बजार सहज बनाइदिनु पर्छ । यति गर्न सक्दा देशका किसानको अनुहार उज्यालिन्छ । 

अहिलेको अवस्थामा सङ्क्रमणले कृषिमा असरै नपार्ने त होइन तर अन्य क्षेत्रको तुलनामा यसमा कम असर पर्छ । गाह्रो भनेको उत्पादित वस्तुलाई बजार र उपभोक्तासम्म पुर्‍याउनु हो । यसमा पनि सङ्घीयताको अवयवहरुले काम गरिदिने हो भने त्यो सहज हुन्छ । हामीसँग ७५३ स्थानीय तह छन्, तिनको अग्रसरतामा उपभोक्ताको दैलोदैलोमा कृषि उपज पुर्‍याउन सकिन्छ । साथै, स्थानीय तहकै निगरानीमा कृषि बजार सञ्चालन पनि गर्न सकिन्छ । सहकारीहरुलाई चलायमान बनाउन सकिन्छ । स्थानीय सरकारले किसानसँग खरिद गरेर बिक्री गर्ने काम गर्न पनि सक्छ । चाँडै नाश हुने उपजलाई जतिसक्यो छिटो उपभोक्तासम्म पुर्‍याउने व्यवस्था मिलाउनुपर्छ ।  

खेतीमा सीधा काम गर्नुपर्ने जनशक्तिलाई दूरी कायम गर्न त्यतिविधि गाह्रो नपर्ला । अहिले पनि कतिपय कृषिकर्म दुई व्यक्ति जोडिएर गरिँदैन । धान रोप्दा होस् या गोड्दा र अन्य बाली लगाउँदा र काट्दा तीन फिटको दूरी कायम गर्न सकिन्छ । त्यसकारण पनि कोरोनाको प्रभाव अन्य क्षेत्रको तुलनामा कृषिमा निकै कम पर्ने देखिन्छ । नेपालको कृषिले गति लिन नसक्नुमा सरकारी नीतिको प्रमुख दोष त छँदैछ साथमा श्रमिक अभाव पनि अर्को महत्वपूर्ण पक्ष रहँदै आएको छ । कोरोनाले वैदेशिक रोजगारीमा गएका अधिकांशलाई घर भित्र्याएको छ, यसबेला श्रमिक अभाव हुँदैन । यो सङ्क्रमणमा अन्य काम स्थगन भए पनि तिनै युवालाई सक्रिय पार्दै कृषिकर्म सुचारु राख्न सकिन्छ ।  

निश्चित छ, कोरोना अवधिमा अर्थतन्त्र निश्चल रहनेछ । कोरोनाको अन्त्यपछि अर्थतन्त्रको ‘इन्जिन स्टार्ट’ त हुनेछ तर चक्का घुम्ने छैन । चक्का नघुम्नु भनेको इन्धन खर्च भइरहनु तर कहीँ पनि नपुग्नु हो । त्यसबखत अर्थतन्त्रको गाडीलाई अघि बढाउन कृषिकै भरथेग सबैभन्दा भर पर्दो हुन्छ । अबको केही समय देशको अर्थतन्त्र चलायमान बनाउन सक्ने कृषिले मात्रै हो ।   

अहिलेको सरकारसामु ठूलो मौका आएको छ । चुनौती त सबै मिलेर सामना गर्नुपर्ने घटना हो । कृषिमा अहिले सुनौलो दिनको झिल्का देखिएको छ । त्यो झिल्कालाई तीव्र प्रकाशमा परिवर्तन गर्ने जिम्मा सरकारको हो । त्यो त्यही प्रकाश हो जसले किसानको अनुहार उज्यालो पार्छ ।  
  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC