site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फोटो पत्रकारले ‘ढलको पानी’ले मुख धुनुपरेको दिन 

क्यामराम्यान श्याम श्रेष्ठले धेरै पटक भने – ‘‘खै सधैँ रिर्पोटरको डायरीमात्र आउँँछ । क्यामराम्यानको काम खिच्ने हो । लेख्ने होइन क्यारे । कहिले काहीँ त हाम्रो डायरी पनि लेखिदिनुस् न ! कमसे कम हाम्रा पनि दुःख पीडा अरुले थाहा पाउन् ।’’ लेख्छु, लेख्छु भनेर धेरैपटक आश्वासन दिएँ तर सन्दर्भ मिलेको थिएन । 

अहिले कोरोनाको महामारीले सिंगो विश्व आहत भएका बेला नेपाल पनि जोगिन सकेन । बन्दाबन्दी (लकडाउन)पछि सर्वाधिक दुःख पाउने वर्ग मजदुर भएको छ । सयांै किलोमिटर पैदल यात्रा गर्नेहरुका दुःख पीडाका कथा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्याप्त छन् । खाना र पानी नपाएर सडक किनारमा अलपत्र लडेका, बन्दाबन्दीको पालना नगरेको भन्दै ठाउ“ठाउ“मा प्रहरीले तिनै निहत्थाको ढाडमा कटवास लगाएका तस्बिर र भिडियो सरकारले हेरेको छ कि छैन ? हेरेको भए पनि असहाय नागरिकहरुको पीडामा मलम लगाउने काम गरेन । सामान्य मानिस भने ती दृश्यबाट भक्कानिएका छन् । 
यसै प्रसंगमा श्याम दाइ (क्यामराम्यान) को डायरी लेख्न मन लाग्यो । 

विसं २०६१ भदौ १६ को कुरा हो । हामी दुवै कान्तिपुर टेलिभिजनमा काम गर्थ्यौँ । इराकमा कार्यरत १२ नेपालीको बर्बर हत्या भएको तस्बिर सार्वजनिक भएसँगै बिहानैदेखि घटनाको विरोधमा काठमाडौं जुर्मुराएको थियो । अघिल्लो दिन भदौ १५ गते नेपाली मजदुरको अपहरणपछि हत्या गरिएको थियो । त्यस घटनाबारे भिडियोसहितको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रसारण भएपछि सारा नेपाली क्षुब्ध भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

राजधानीवासीले इराकमा नेपालीमाथि भएको बर्बर अत्याचारको विरोध सुरु गरे । तर अराजक प्रदर्शनको सिकार भए देशकै म्यानपावर कम्पनी । प्रदर्शनकारीले भेटे जति म्यानपावरमा धावा बोले । कम्प्युटर, सोफा, दराज र अफिसका बहुमूल्य सामान झ्यालबाट फाल्दै जलाउने अभियानमात्र चलाएनन्, म्यानपावरको अफिस भएका निजी घरसमेत उनीहरुको निसानामा परे । कामका लागि विदेश जानैपर्ने बाध्यता भएका हजारौँ नेपालीका पासपोर्टसमेत जलाइए । जंगलमा डढेलो फैलिएझैँ काठमाडौं जल्न थाल्यो, जताततै अकाशमा धुवाको बादल थुप्रियो ।  

आक्रोशित भीडले नारावाजी गर्दै सञ्चारकर्मी र सञ्चारगृहमा पनि आक्रमण गरे । कान्तिपुर र स्पेसटाइममा ढुंगामुढा र आगजनी भयो । 

Global Ime bank

दिउँसो १२ बजेको समाचार बुलेटिन प्रसारण हुने समयमा कान्तिपुर टेलिभिजन कम्पलेक्सभित्र आगजनी भइरहेको थियो । 

हिजोआजजस्तो जहाँबाट पनि प्रत्यक्ष प्रसारण गर्न मिल्ने प्रविधि यता प्रयोगमा आइसकेको थिएन । सामान्य अवस्थामा घटनास्थलबाट खिचिएका टेप स्टुडियो नपुर्‍याइ दृश्य देखाउन सम्भव थिएन । 

दिनको ठीक १२ बजे । 

कान्तिपुर समाचार सुरु भयो । 

नमस्कार ! कान्तिपुर समाचारमा स्वागत छ । म विजय पौडेल । सुरु गरौँ प्रमुख समाचारबाट । 

इराकमा १२ नेपाली कामदारको हत्याको विरोधमा काठमाडौंमा व्यापक प्रदर्शन । 

कान्तिपुर पनि आक्रमणको सिकार । 

पौडेलले यति समाचार के पढेका थिए । स्टुडियो क्यामराम्यानको भागाभाग भैहाल्यो । स्क्रिनमा कालो देखियो । अत्तालिएको स्वरमा पौडेलले भने ‘‘लौ आक्रमणकारी त स्टुडियोसम्मै आई पुगे त ।’’ माइक्रोफोन खोलेरै बाहिरिए । त्यतिञ्जेल क्यामराम्यान, मेन कन्ट्रोल रुमका इञ्जिनियरलगायत सहकर्मी दुई तलामाथिबाट धमाधम हाम फाल्दै ज्यान जोगाउँदै थिए । पौडेल पनि फाल हाले । 

नेपाली टेलिभिजन इतिहासमा स्टुडियोभित्रै आक्रमण भएर समाचार अवरुद्व भएको त्यो नै एउटा घटना हो । 

त्यतिबेला समाचार भनेकै राजनीति, बाँकी सबै ‘फिलर’ भन्ने बुझाइ थियो । जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षमको आरोप लगाउँदै २०५९ असोज १८ मा वर्खास्त गरेपछि राजा ज्ञानेन्द्रले आफू खूसी सरकार बनाउने र विघटन गर्ने प्रयोग गरिरहेका थिए । 

राजाको त्यस कदमलाई प्रतिगामी भन्दै दलहरु सडक आन्दोलनमा गए । पत्रकार आन्दोलनकै समाचार बनाउन व्यस्त थिए । हामी टेलिभिजनकर्मीहरुमा प्रहरीले प्रर्दशनकारी माथि डण्डा, अश्रुग्यास, रबरका गोली हानेका र प्रदर्शनकारीले आगजनी गरेका दृश्य देखाउने होडबाजी थियो । प्रदर्शनकारी क्यामरा देख्नासाथ उत्तेजित हुन्थे । या त डेढ हात उफ्रिएर चर्को स्वरमा उग्र नारा लगाउँथे नभए टायर जलाउँथे, सरकारी सम्पत्तिमा आगजनी गर्थे । टेलिभिजनमा तिनै तोडफोड र आगजनीका घटना मुख्य समाचार बन्थे । 

यस्तै चल्दै थियो राजनीतिको खिचडी । त्यहीबीच आफैँले अक्षम भनि बर्खास्त गरेका देउवालाई नै राजाले प्रधानमन्त्री नियुक्त गरे । देउवाले पनि नारायणहिटी दरवारको पश्चिम ढोकामा टेलिभिजन क्यामरा अघि उभिएर भने ‘‘गोर्खाका राजाबाट न्याय पाएँ ।’’ देउवाको त्यो अभिव्यक्ति चर्चाको शिखरमा थियो । 

यही पृष्ठभूमिमा भदौ १६ को घटना भएको थियो । त्यो दिन श्याम रत्नपार्क क्षेत्रमा खटिएका थिए । धेरैलाई मुस्लिमले नेपाली कामदार मारे भन्ने पारियो । त्यसैको आधारमा प्रर्दशनकारीले घन्टाघर आसपासका दुई मस्जिदलाई आक्रमणको निसाना बनाए । ठूलो भीड अचानक तोडफोड र आगजनीमा लागेपछि डिउटीमा रहेका प्रहरी सामु मुकदर्शक भएर बस्नुको विकल्प थिएन । 

भीड मस्जिदभित्रै पस्यो । कति मानिस आक्रमणमा घाइते भए । अनिमात्र ठूलो संख्यामा थप प्रहरी त्यहाँ पुग्यो  ।

एकैपटक सयौं सेल अश्रुग्यास छोडियो । भीड तिरबितर भयो । बूढाबुढी, बटुवा र विद्यार्थी अश्रुग्यासको राप सहन नसकेर सडक पेटीमा लडे । 

‘गज्जबको भिजुअल पाइयो, हेडलाइन हुन सक्छ’कै शैलीमा खिच्दै थिए श्याम । जति आगजनी, ताडफोड भयो, त्यति नै ‘एक्सक्लुसिभ’ ठानिने जमाना थियो । 

मज्जाले एक एक दृश्य  कैद गरी रहेका श्याम एकैपटक अश्रुग्यासको बादलभित्र हराए । न सास फेर्न सक्छन्, न बाहिरी दृश्य हेर्न नै । साथमा रहेका रिर्पोटर कता पुगे थाहा भएन । भाडदौड र कोलाहलमात्र छ । बचाऊ बचाऊ । मरेँ बा मरेँ । बाहेक केही सुनिएको थिएन । 

एकैपटक कसैले ‘‘दाइ मलाई बचाउनुस्, दाइ मलाई बचाउनुस्’’ भनेको सुनियो । श्यामले भने – ‘‘कसरी बचाउने म आफैँ मरे तुल्य छु । तिमीलाई कसरी बचाउन सक्छु म ।’’

उसले भन्न थाल्यो – ‘‘दाइ म विद्यार्थी हुँ। पढ्न आएको । अब पुलिसले फेला पारे मारिहाल्छ । तपाईँले माइक बोक्न दिनुभयो भने पत्रकार भनेर कुट्दैन । अनि त बाँचिहाल्छु नि । प्लिज मलाई बचाउनुस् दाइ ।’’

श्यामले भने – ‘मैले तिमीलाई देखिरहेको पनि छैन । सक्छौ भने मलाई बचाऊ । पानी छ कतै भने ल्याऊ ।’’ प्रहरीबाट बच्ने आशामा श्यामको क्यामरा र माइक समाएर केटाले भन्यो ‘दाइ, ल मैले देखेको छु पानी । जाऊँ ।’

नेत्रहीनलाई डोर्‍याए झै श्यामलाई लिएर गयो ऊ । 

रत्नपार्कमा अहिले आकाशे पुल भएको ठाउँनिर बीच वाटामा सानो वाटिका थियो । त्यहीँ खाडलमा पानी जमेको देखे पछि केटाले भन्यो – ‘‘दाइ ल यहाँ पानी रहेछ । यसैले धुनुस् मुख ।’’ 

अश्रग्यासको पिरोले ढल्ने बेहोसी अवस्थामा पुगेका श्यामले एक अञ्जुली पानी उठाएर अनुहारमा छ्याप्प पारे । बाफ रे बाफ । कस्तो गन्ध आयो भने । सहनै नसक्ने । ह्वास्स । एकै पटक जोडले कराए – ‘‘भाइ कहाँको पानी हुनु पूरै ‘आची’ रहेछ । म त गन्धैले मरे । बर्बादै पार्‍यौ तिमीले त ।’’

सडक बालबालिकाले दिसा गर्ने गरेको सानो खाल्डो रातिको वर्षाले भरिएको रहेछ । त्यही पानीले मुख धोएछन् । कस्तो भयो होला ? 

केटाले डराउँदै बिस्तारै भन्यो – ‘सरी दाइ । पानी देखेर भनी हालेँ। ल, तपाईँ यहीँ बस्दै गर्नुस्, म पानी खोजेर ल्याउँछु ।’ 

केटाले चारैतिर नजर लगायो र भन्यो – ‘‘यता त पसल खुलेकै छैनन् । म वीर अस्पताल तिरबाट ल्याउँछु पानी ।’’ कुदेको पाँच मिनेट जतिमा एउटा बोतल बोकेर आई पुग्यो ऊ । बोतल खोलेर हातमा पानी हालिदियो । अलिकति सजिलो भयो । 

ठीक त्यति नै बेला श्यामको फोन बज्यो । प्रमुख क्यामराम्यान उपेन्द्रमान अत्तालिएर भन्दै थिए – ‘ए ... श्याम । कता हो ।’ एकाहोरो बोलिरहे ‘‘पूरै काठमाडौंमा टेन्स छ । पत्रकारलाई भेट्यो कि कुटिरहेका छन् । कान्तिपुर कम्पलेक्स जलाई सके । क्यामरा कतै लुकाएर आफू पनि लुक ।’’

अफिस जाने अरु उपाय थिएन । गाडी तत्काल आउने सम्भावना रहेन । हिँड्दै पुतलीसडक पुगे । एकैपटक सेनाको मोटर झ्याप आएर रोकियो । गाडीबाट बुट बजार्दै ओर्लिएर मेजरले भने – ‘‘ए कता हिँडेको ? कर्फ्यु लागिसक्यो थाहा छैन ।’’

‘‘थाहा भएन हजुर’’ भने श्यामले । मेजरले भन्न थाले– ‘‘तिमी पत्रकारहरु, ठूला भएका, पार्टीको समाचार दिन्छौ । राजाको दिँदैनौ के हो पारा हँ ।’’ श्यामले भने – ‘‘हजुर म त क्यामराम्यान हो । समाचार के दिने, के नदिने, समाचार प्रमुखले गर्ने काम हो । हामीले त लाए अह्राएको खिच्नेमात्र हो । समाचारको कुरा हामीलाई थाहा हुँदैन ।’ 

इराकमा नेपाली कामदार मारिएको विरोधमा आफ्नो देशका त्यस तहको क्षति र हिंसा गर्ने नेपाली आज कहाँ छन् ? हजारौं मजदुर काखे बालक बोकेर पानीको भरमा सयौं किलोमिटर यात्रा गरिरहेका छन् । यिनको अधिकार बारे कसले बोली दिने ? 

राणाशासन हुँदै प्रजातन्त्र, लोकतन्त्र हुदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुक आइपुग्दा अधिकार माग्न पढाइयो तर कर्तव्य पूरा गर्नुपर्छ भन्ने शिक्षा दिइएन । विसं २००३ सालमा विराटनगरको मजदुर आन्दोलन यता देशमा सबै क्रान्तिमा मजदुरले योगदान गरे । तर, उनीहरुको लगानीलाई नेताहरुले सत्तामा पुगेपछि नदी त¥यो लाठी छोड्यो कै शैलीमा व्यवहार गरे । 

देशभित्र गरिब निमुखा मजदुरको श्रम र खाडीलगायत बाहिरी मुलुकमा पसिना बगाउने युवाको कमाइले देश चलेको छ । तर, तिनै मजदुरको मानवीय संवेदनामाथि शासकहरु अमानवीय व्यवहार गरिरहेका छन् । 

प्रधानमन्त्री ओली सत्तामा आएपछि सामाजिक सुरक्षा कोषको अवधारणा कार्यान्वयन भयो भनेर युद्वस्तरमै प्रचार गरियो । पोलपोलमा ओलीको तस्बिरसहितका पोस्टर झुन्ड्याइए । ‘एउटा नया“ युगको सुरुआत : सहभागिता, योगदान र सामाजिक सुरक्षा’ को नारा पोल पोलमामात्र सीमित रहेन । दैनिक पत्रिकामा ज्याकेट विज्ञापन भएर आयो । पोष्टर टाँसेपछि सरकारले बाटो खनिदियो । उसको दायित्व सकियो । अरु आगे, यात्रा मजदुर आफैँले गर्ने हो ?  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC