विद्यार्थी संघ संगठनहरूले विद्यार्थी समुदायको हित, अधिकार र सुविधालाई केन्द्रमा राखेर अगाडि बढ्नु अपरिहार्य भइसकेको छ । राजनीतिक दलका सिपाही वा सेनाको पगरी भिरेरमात्र बदलिँदो परिवेशमा संगठनहरू सान्दर्भिक र लोकप्रिय रहन कठिन हुने देखिन्छ । अलोकतान्त्रिक राजनीतिक व्यवस्था परिवर्तन गर्ने संघर्षमा होमिनु आवश्यक, सान्दर्भिक र जायज नै थियो । तर, अब विद्यार्थीले आफ्नो व्यक्तित्व विकासलाई नै उच्च प्राथमिकता दिन थालेकाले त्यसमा सहयोगी बन्न सकेमात्र संगठनप्रति अपनत्व महसुस गर्न थालेका छन् । त्यसैले हामीले आफ्ना गतिविधि र कार्यक्रमलाई तदनुसार परिमार्जन र व्यवस्थित गर्नु जरूरी छ ।
सर्वसाधारण विद्यार्थीहरुको चाहना र भावना नबुझीकन परम्परागत शैलीमै चलिरहने हो भने विद्यार्थी संगठनहरू अझै प्रभावहीन र अलोकप्रिय बन्न सक्नेछन् । यसतर्फ सम्बन्धित सबैको समयमै ध्यान जान आवश्यक छ ।
केही विद्यार्थीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रम र विकासका बारेमा पर्याप्त जानकारी छ । अहिलेको पुस्ताले नवीनतम संचार प्रविधिको अधिक उपयोग गर्ने अवसर पाइरहेको छ । विकट र पिछडिएका बस्तीहरूमा भने विद्यार्थीहरू अझै पनि पछौटेपन कै सिकार भइरहन बाध्य छन् । यो असमानताबीच समन्वय र समभाव दर्शाउँदै आफ्ना नीति र कार्यक्रम अगाडि सार्नु चुनौतीपूर्ण पनि छ । यस असहज अवस्थामा संगठनहरूले आआफ्ना सांगठनिक मतहरूभन्दा माथि उठेर एकताबध्द भई संयुक्त विद्यार्थी आन्दोलन सञ्चालन गर्नुपर्छ ।
शैक्षिक क्षेत्रमा मनग्य विकृति, अनियमितता र बेथितिहरू विद्यमान रहेको वर्तमान सन्दर्भमा सरोकारवालाको ध्यानाकर्षण गरी नवीन सुरूआत गर्न ढिलो भइसकेको छ । साधन स्रोतको अभावमा दक्षता हासिल गर्नै नपाउनु, समाजमा अपमानित र उपहासको पात्र बन्नुपर्ने अवस्थाबाट मुक्त गरेर सबैलाई व्यक्तिका विशिष्ट क्षमताको सहज र स्वाभाविक प्रस्फुटनको अवसर दिलाउनु आजका विद्यार्थी संघसंस्थाको मूल कर्तव्य हुनुपर्छ । उदाहरणार्थ चीनको वुहानमा अप्ठेरोमा भएका विद्यार्थीको माग र चाहनाका लागि पनि हामीले बोल्यौँ र त्यो आवश्यक थियो पनि । अहिले अध्ययनका लागि स्वदेशमै विभिन्न ठाउँमा डेरा गरिबसेका विद्यार्थीहरूमध्ये धेरैले हातमुख जोर्नै अप्ठेरो परेको गुनासो गरिरहेका छन् । तिनको आवाज मुखरित गर्ने र सम्बन्धित निकायलाई घच्घच्याउने काम पनि हाम्रो नै हो ।
अहिले सरकारका विभिन्न तहले अध्ययनार्थ बसेका विद्यार्थीलाई चिन्दैनन् र केही अपवादबाहेक अनागरिकको व्यवहार गरिरहेका छन् । यो एउटा विशिष्ट परिस्थितिको संकटको समय हो भन्न त सकिएला तर कसैले पनि दायित्व लिनु पर्दैन र विद्यार्थीहरूको? जो आफैँमा सक्षम छन् तिनका हकमा ब्यवस्थापन गर्नु नपर्ला तर नहुनेहरूका लागि लड्ने जिम्मेवारी त विद्यार्थी संगठनहरू कै हो नि ।
लामो बन्दाबन्दी (लक डाउन)का कारण शैक्षिक गतिविधि नहुँदा उनीहरूमा पर्दै गएको मनोवैज्ञानिक असरलाई नजरअन्दाज गर्नु हुँदैन । कलिला बाल मस्तिष्कदेखि युवा विद्यार्थीहरू समेतमा पर्ने नकारात्मक असर र प्रभावलाई न्यून गरी प्रविधिसँग जोड्दै तिनको सिकाइलाई निरन्तरता दिन अब ढिलो गर्नु हँुदैन । यी र यस्तै सवालहरूमा बोलिदिने कस्ले ?
संकटमा क्षमता प्रदर्शन गर्दै अग्रसरता लिन सकेमात्र हामीले विद्यार्थी राजनीतिको सान्दर्भिकता र आकर्षणलाई पुनःजीवित गर्न सक्छौं नत्र इतिहासले धिक्कार्नेछ । वर्तमान संकटसँग सही र बुद्धिमत्तापूर्ण रूपमा सामना गर्न सरकार चुकिरहँदा हामीले सशक्त रखवारी गरेनौं भने त्यो अक्षम्य हुनेछ ।
विद्यार्थी शक्ति कहिल्यै पनि सत्ताको मतियार वा हतियार हुनुहँुदैन । यो त सत्तालाई खबरदारी र सचेत गर्ने शक्ति हुनुपर्छ । अहिले यो यथार्थलाई राज्य सत्ता वा पार्टी सत्तासंग सामिप्य राख्नेले पनि हृदयङ्गम गर्नुपर्छ ।
विद्यार्थीहरुको मुद्दा वा मागमा जो खरो र दह्रोरूपमा उभिन्छ विद्यार्थी पंक्ति पनि उसकै पछाडि हुनेछ । हामी इतिहासको गौरव गाथामा मात्रै भुल्यौ भने महामानव बीपी कोईरालाले भनेजस्तो हुनेछ । बीपीको कथन थियो – “ इतिहासमा सम्पन्न गरेका जिम्मेवारीको गुणगानमा आफूलाई भुलाउन थाल्यौँ भने इतिहासले हामीलाई त्यागेर अघि बढ्छ ।“
निजीकरणका नाममा शिक्षालाई व्यवसाय बनाउने र लुट मच्चाउनेका विरूध्द हामी डटेर उभिनै पर्छ । लाग्छ, सम्बन्धनका नाममा हुने गलत धन्दा बन्द गर्ने र आवश्यकता हेरी मापदण्ड पुगेकालाई मात्र कुनै पनि शैक्षिक कार्यक्रमको सम्बन्धन दिने परिपाटी बसाल्न पनि हामीले नै अझ धेरै लड्नु पर्छ ।
चिकित्सा शिक्षा विधेयक जनमुखी बनाउने विषय हाम्रो सरोकार हुनै पर्छ । शैक्षिक ऋण, बेरोजगारलाई रोजगारी अनि सीप, दक्षतालाई स्थान दिलाउने कुरामा हाम्रो जोड हुनु पर्छ । योग्यतमलाई अवसर भन्ने मान्यताका लागि हामीले लडिरहनु पर्छ ।
पाठ्यपुस्तक समयमा नपुग्ने, नपाइने समस्याको उजागर गर्नेदेखि शैक्षिक गुणस्तर उकास्न हुने सबै परिवर्तनको अगुवाइमा नेपाल विद्यार्थी संघको नेतृत्व र पहलकदमी हुनुपर्छ । अनिमात्र हामीले नेपाल विद्यार्थी संघको औचित्य र आकर्षण कायम राख्न सक्नेछौँ ।
यी सबैका लागि हामीले आन्दोलनको संस्कारमा परिवर्तन गर्नुपर्ने देखिन्छ । अब ध्वंसात्मक होइन रचनात्मक आन्दोलन आवश्यक छ । शैक्षिक संस्थामा बन्द, हडताल, तोडफोड, आगजनी र हिंसक गतिविधि अन्त्य गर्न हाम्रो प्रयास र प्रतिबध्दता हुनै पर्छ । शैक्षिक क्यालेन्डर कडाइकासाथ पालना गराउनेदेखि अनियमितता, भ्रष्टाचार र विकृति विसङ्गतिविरूध्द उभिनै पर्छ । शिक्षालयहरू दलीय राजनीतिक भागबन्डाको अखडा होइन शैक्षिक गुणस्तरका केन्द्र बनाइनुपर्छ ।
सरकारी वा सार्वजनिक शैक्षिक संस्थालाई सबल र सक्षम बनाएर गुणस्तरीय शिक्षामा सबैको पहुच पुर्याउन हाम्रो खबरदारी निरन्तर रहनै पर्छ । ढिलासुस्ती, लापरवाही र अपारदर्शीताविरूध्द हामीले नबोले कस्ले बोल्ने ? सच्चिएर आकर्षकको केन्द्र बन्ने कि अलोकप्रिय हुँदै असान्दर्भिक हुने हाम्रै हातमा छ ।
(महामन्त्री, नेपाल विद्यार्थी संघ)