केही दिनदेखि आफ्नै निवासमा एकान्तवासमा रहेकै बेला एक मित्रको फोन आयो । कुराकानीका क्रममा उनले भने – ‘‘घरबाहिर निस्कन नहुने, घरभित्र बसेर दिन काट्न पनि साह्रै गाह्रो पो हु“दोरहेछ । कोरोनाको त्रासका कारण दिमाग कति भारी भइरहेको छ भने केही सोच्नै सक्दिन । यसो लेखपढ गरुँ भनेको म त शून्य शून्य पो भएँ । मनै विचलित भएपछि के नै गर्न सकिँदोरहेछ र ?’’ उनको यस्तो निराशावादी अभिव्यक्ति अहिले उनको मात्र अनुभूति होइन । यो त आज हामी सबैको साझा भोगाइ हो । किनभने आज कोरोना भाइरसको संक्रमणको संत्रासमा सारा विश्व नै आतंकित भइरहेको बेला हामी नेपाली आफूलाई त्यसबाट पृथक ठानेर ढुक्क हुनसक्ने अवस्था छैन । त्यसैले केही दिनयता सरकारी गैरसरकारी तथा जनस्तरबाट नै सचेतता र जोखिम नियन्त्रणका लागि व्यापक प्रयास भइरहेको छ । मानिसहरू स्वेच्छाले तथा सरकारी आदेशका कारण एकान्तवासमा छन् । कोरोना संक्रमणबाट जोगिन यो सकारात्मक पहल हो तर यसका साथसाथै फैलिएको मानसिक सन्त्रास भनै भयावह देखिएको छ । एकातिर विश्वव्यापी संक्रमणको शारीरिक समस्या अर्कातिर एकाएक सामना गर्नुपरेकोको जटिल परिस्थितिका कारण उब्जेको मानसिक तनाव ! यी दुवैखाले विषमताबाट जोगिएर सामान्य बनिरहनु र दृढ आत्मबलका साथ रोग तथा तनावबाट मुक्त हुने प्रयास नै सही अर्थमा कोरोनाविरुद्धको लडाइँ हुनेछ ।
विश्वका विकसित मुलुकलाई हल्लाइरहेको कोरोनाभाइरस हामीकहाँ पनि फैलियो भने त्यो हाम्रो नियन्त्रणभन्दा बाहिर हुनेछ भन्ने अनुमानले मात्र पनि हामीलाई आधा गलाइसकेको छ । सञ्चार माध्यम तथा विशेषगरी सामाजिक सञ्जालमा एकछत्र प्रस्तुत भइरहेका ‘कोरोना खबर’ले हामीलाई मानसिकरूपले झनै संक्रमित गराइरहेको छ । मलाई सम्झना भइरहेको छ मेरी एक आफन्तले भेटघाट बन्द भएपछि फोनमा भनेको – ‘‘अचेल मलाई स्याँस्याँ हुन थालेको छ । छाती पनि दुख्छ, शरीर फतक्कै गलेको छ । कतै मलाई पनि कोरोना त लागेन ?’’ कोरोनाभाइरसको संक्रमणपश्चात्का लक्षण सुन्दा र पढ्दा हामीमध्ये प्रायःको अवस्था यस्तै भइरहेको छ । हाछ्युँ आउनासाथ वा खोकी अथवा अन्य केही हुनासाथै हाम्रो सातो जाने अवस्था सिर्जना भएको छ । अनावश्यक शंका, डर तथा आत्मबलको अभावका कारण मुटुको चाल बढ्ने, सास फेर्न असहजजस्तो हुने अनि शरीर तात्ने र गल्नेजस्ता लक्षणहरू देखिन्छन् । यी लक्षणहरू कोरोना संक्रमणसँग पनि मेल खाने हुनाले हामी झनै त्रसित हुने गर्छौँ । अहिले त झन् कार्यक्षेत्र बन्द, घरभित्रै बस्नुपर्ने अनि त ‘‘खाली दिमाग सैतानको घर’’ भन्ने उखान चरितार्थ नहुने कुरै भएन । मनमा अनेक नकारात्मक कुरा आउनाले हामी मानसिकरूपले अस्वस्थ बन्दै गएका छौँ । सचेत हुनु राम्रो हो तर आवश्यकताभन्दा बढी सचेतता र शंका भने उपयुक्त हुँदैन । किनभने कोरोनाभाइरसको संक्रमण हुनाका लागि हामी संक्रमित व्यक्तिसँगको सम्पर्कमा पुगेको हुनैपर्छ । त्यसैले सशंकित हुनुपूर्व आफ्नो सम्पर्क र गतिविधिबारे सोचौँ । हामी घरभित्रै छौँ र आफ्नो सरसफाइ र स्वास्थ्यका बारेमा सचेत छौँ भने आत्तिनुपर्दैन । यो समय हामीले आफ्नो आत्मबल तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता दुवै बलियो बनाउनुपर्छ, विचलित हुने होइन ।
अहिलेको मौसम हेर्दा तापक्रमको सन्तुलन छैन । बाहिर घाम अत्यन्त चर्को भए पनि भित्र चिसो छ । पानी पनि उस्तै चिसो छ । साँझबिहान र दिउँसोको तापमा निकै अन्तर देखिन्छ । हावाहुरी त कतै असिनापानी पर्नेे पनि गरेको छ र यस्तोमा मौसमी रुघाखोकी लाग्ने सम्भावना बढी रहन्छ ।
रुघाखोकीका लक्षणलाई कोरोनाभाइरस संक्रमणको शंकामा हामी बढी आत्तिने गरेका छौँ । त्यसैले यस्तो मानसिक विचलन घटाउन सकेसम्म रुघाखोकी तथा श्वासप्रश्वासजस्ता समस्या आउन नदिनेतिर लाग्नुपर्छ । चिसोबाट जोगिने, बिहानको घाममा बस्ने, संभव भएसम्म बेलुकी तातोपानीको बाफ लिने, तुलसी, ज्वानो–बेसार, अदुवा, जिरा, जिम्बुआदिजस्ता औषधिजन्य मसलालाई खानामा समावेश गर्ने गर्नु उपयुक्त हुन्छ ।
सामान्यतया हाम्रो शरीर आफैँ रोगसँग लड्न सक्छ । यसका लागि शरीरको रोगप्रतिरोधात्मक क्षमता बचाइराख्नुपर्दछ । शरीरलाई आवश्यक पोषणको कमी हुन नदिन सन्तुलित खानामा ध्यान दिनुपर्छ । खानालाई हाम्रो स्वादका लागि होइन शरीरको आवश्यकताका रूपमा ग्रहण गर्नुपर्छ । यी सामान्य कुराप्रति सचेत भएर बाहिरी सम्पर्कमा नगएको खण्डमा सशंकित हुनुपर्ने देखिँदैन ।
स्वस्थ शरीरको सम्बन्ध सकारात्मक सोचसँग हुन्छ । सकारात्मक र आशावादी सोचले हाम्रो शरीरलाई ऊर्जा दिइरहेको हुन्छ भने नकारात्मक सोचले कमजोर बनाइरहेको हुन्छ । त्यसैले अहिलेको विषम परिस्थितिमा हामीले आफूलाई सकारात्मक विचार र रचनात्मक गतिविधिमा व्यस्त बनाउनुपर्ने हुन्छ । आफूलाई सकारात्मक ऊर्जा प्रदान गर्ने प्रेरक पुस्तक वा यस्तै सामग्री पढ्ने, व्यस्तताका कारण गर्न बाँकी रहेका कामलाई निरन्तरता दिने । दुःखद समाचारहरूमात्र नभएर अन्य मनोरञ्जनात्मक सामग्रीको पनि उपयोग गर्ने, परिवारमा सहयोग र सद्भावको वातावरण सिर्जना गरेर रमाउने अनि मनका कुरा आपसमा बाँड्ने हो भने मानसिक बोझ कम हुन सक्छ । विशेषगरी बालबालिकालाई समय बिताउन गाह्रो भएको छ । उनीहरू मोबाइल वा टेलिभिजनमा नै घोत्लिनुपर्ने भएको छ । यसको पनि विकल्प खोज्न सकिन्छ । उनीहरूलाई क्षमता र स्तरअनुसारको अध्ययन तथा लेखनमा लगाउने, चित्रकारी या अन्य यस्तै हस्तकलामा व्यस्त गराएर अभिभावक पनि त्यसमा सहभागी भई उनीहरूको हौसला बढाउने हो भने यो अत्यासलाग्दो ‘लकडाउन’ पनि बालबालिकको प्रतिभा प्रस्फुटनमा सहयोगी हुनेछ । बाढीपहिरो, भूकम्प आदिजस्ता प्राकृतिक प्रकोपभन्दा भयानक तथा जटिल छ यो स्वास्थ्य संक्रमणको प्रकोप । किनभने यसमा एउटा मान्छे अर्को मान्छेसँग नजिक भएर उसलाई सहयोग गर्न वा एकैठाउँमा बसेर एकआपसमा दुःखसुख बाँड्न सक्ने अवस्था छैन ।
हामीलाई सम्झना छ महाभूकम्पको त्यत्रो विपत्तिमा हामीहरू कयौँ दिनसम्म घर छाडेर पालभित्र वा खुला मैदानमा बसेका थियौँ । ठूलो समूहमा बसेर जे भेटेको खादै हाँसो रमाइलो गरेर सबैले आफ्ना पीडा बिर्सेको त्यो अवस्थामा छैनौ अहिले हामी । अहिले त हामी आफ्नाहरूसँग समेत तर्केर आफ्नै घरमा थुनिनुपर्ने अवस्था छ । यस्तोमा हामी मानसिकरूपले अस्वस्थ हुनु स्वाभाविकै हो । यसमा पनि अनेक दुःखद समाचार तथा तिनलाई अतिरञ्जनात्मकरूपमा प्रचार गरिँदा हामीमा मानसिक त्रास बढ्दै गएको देखिएको छ । आत्मवादी सोच र अध्यात्मिक चिन्तन यस्तो बेला सहायक हुनसक्छ । यसले हामीमा सकारात्मक ऊर्जा प्रसारित गर्छ । त्यसैले समय बिताउन गाह्रो भएको छ भने योग ध्यान गर्नु उपयुक्त हुन्छ । भागवत गीताजस्ता प्रेरक धार्मिक ग्रन्थको अध्ययन तथा सद्गुरु–महामानवका वाणी तथा प्रवचनको श्रवण गर्नाले पनि आत्मिक शान्ति प्राप्त हुने गर्छ । जे जसरी हुन्छ अहिले हामी सबैले आफूलाई व्यस्त राख्नुपर्दछ । आफू बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने मानवीय मूलमन्त्र स्मरण गर्दै बाहिरी सम्पर्कमा रहेका वा विदेशबाट आएका व्यक्तिहरू स्वयम् निश्चित समयको एकान्तवास तथा स्वास्थपरीक्षका लागि सक्रिय हुनुपर्छ ।
कोरोनाको संक्रमण आफैँमा जति पीडादायी हुन्छ संक्रमित व्यक्तिको उपचार त्यसभन्दा जटिल हुने प्रकोपमा परेका मुलुकहरूबाट थाहा पाइसकेका छौँ । एउटा बालकलाई आइसोलेसनमा राखेर उपचार गर्दाको क्षणको कल्पनामात्रले पनि मुटु हलाउँछ । उपचारमा संलग्न चिकित्सककै ज्यानको जोखिम त आफ्नो ठाउँमा छँदैछ । त्यसैले पनि हामीकहाँ स्वास्थ्यकर्मीहरू सकेसम्म कोरोनासँग सम्बन्धित सेवामा जान नपरोस् भन्दै बरु जागिर छोड्न तयार भएको पनि सुनिएको छ । सरकारले उनीहरूको सुरक्षाका लागि आवश्यक उपकरणको व्यवस्था नगरिदिँदा वा गरे पनि त्यो भरपर्दो नहुनाले उनीहरूको डर स्वाभाविक देखिन्छ तर यो त सबैको आत्मपरीक्षाको घडी हो ! हरेकले आआफ्नो ठाँउबाट गर्नसक्ने योगदानको खाँचो छ राष्ट्रलाई ।
यस्तै विपतका बेला खाँचो पर्छ भनेर त सरकारले प्रत्येक व्यक्तिमाथि लाखौँ लगानी गरेर दक्ष जनशक्ति उत्पादन गरेको हो । त्यसैले अहिले हामी सबैले आफ्नो कर्तव्य सम्झने बेला आएको छ । छिमेकी देशमा जसरी हाम्रो सरकारले विपन्न तथा सर्वसाधारणको दैनिकीका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसके पनि हामीलाई घरभित्रै राखेर संभावित महामारीलाई रोक्ने प्रयास त गरेको छ । यो नै अहिलेको निर्विकल्प उपाय हो । त्यसैले यसमा थोरै पनि लापरबाही नगरौँ । आपसमा नजिकिएर आत्मीयता देखाउनुभन्दा पहिला आफू पूर्ण सुरक्षित भएपछि मात्र परिवार तथा अन्यको सम्पर्कमा जाने गरौँ । हाम्रो यही इमानदारी नै कोरोनाविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार हुनेछ ।