site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘बालुवाटारमा त च्यातिएला बालकोटमा फेरि पठाउनेछु’

प्रधानमन्त्रीज्यू !  

सर्वप्रथम यहाँको स्वास्थ्यमा शीघ्रसुधारको कामना गर्छु । अनिमात्र यो पत्र लेख्नुको कारक रहेका सन्दर्भहरुलाई बुँदागत रुपमा उल्लेख गर्छु । 

–प्रधानमन्त्रीको कार्यालयलाई प्रेस काउन्सिलले ‘अगामी दिनहरुमा गंभीरताका साथ सतर्कता अपनाउनु हुन प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारीहरुलाई आग्रह गर्दछ’ भन्दै वक्तव्य सार्वजनिक गरेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

–केही दिन पहिले पत्रकार महासंघले एउटा विज्ञप्ति जारी गरेरै एउटा अनलाइन पत्रिकाको समाचार अनधिकृतरुपमा हटाउन प्रधानमन्त्रीका सल्लाहकारहरुबाट निर्देशन भएको सूचना आफूलाई प्राप्त भएको जनायो । लिखितरुपमा त्यस्तो जानकारी पत्रकार महासंघलाई प्राप्त भई पनि सकेको छ । 

–ओम्नी समूहलाई प्रक्रिया मिचेर स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का दिने प्रक्रियामा असहयोग गरेको भन्दै एक जना कर्मचारीलाई सजाय स्वरुप सरुवा गरिएको र अझै ‘ब्याक डेट’मा स्पष्टीकरण सोधेर थप कारबाहीको तयारी गरेको खबर लगातार मिडियामा आइरहेका छन् ।

Global Ime bank

–यो संकट र अप्ठेरो समयमा उप्रधानमन्त्रीका छोरा र प्रधानमन्त्रीका सल्लाहकार छोरा स्वास्थ्य सामग्री खरिदको जिम्मा अनुभवहीन कम्पनीलाई दिलाउननका लागि चलखेलमा संलग्न भएको चर्चा सबैतिर भइरहेकै छ । 

–सत्तारुढ दलकै एकजना अध्यक्षले कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्रको आवश्यकतामा सहमति जनाएका छन् । 

–महामारीबाट जोगिन पूर्वतयारी गर्नुपर्ने महत्त्वपूर्ण काममा सरकार चुक्दैछ । हतारमा निर्णय वा धारणा सार्वजनिक गर्ने र त्यसलाई फेरि खण्डन गर्ने उर्बौलो प्रवृत्ति बढ्दो छ । 

–सहायता वितरणका लागि अहिलेसम्म कार्यविधि बनेको छैन । सहायताको अभावमा विपन्नको आगो बल्न छाड्दै छ । त्यतिमात्रै हैन, कतिपय स्थानमा कुहिएको चामल बाँडेको भन्दै असन्तुष्टि प्रकटसमेत हुन थालेको छ । 

उल्लेखित विषयहरु अहिले ‘हटकेक’का रुपमा नेपाली जनताका माझ चासो र चर्चाका विषय बनेका छन् । यी भ्रमपूर्ण र मिथ्या होइनन् । यी कुरा प्रधानमन्त्री समक्ष पुगेका पो छैनन् कि भन्ने लागेर यो पत्र तयार गर्दै छु । 

प्रधानमन्त्रीज्यू, 

आत्मश्लाघाले कसैलाई पनि उपयुक्त निर्णय गर्न रोक्छ । शासकका अगाडि एउटा यस्तो स्वार्थी समूहको पंक्तिले घेरा हालिरहेको हुन्छ जो कुनै पनि आलोचात्मक सुझावमात्रै होइन प्रशंसाको पुलिन्दालाई पनि भित्र छिर्न दिँदैन । सबै कुरा आफूमार्फत र आफ्नो सोचअनुसार नै शासकबाट होस् भन्ने त्यस्तो स्वार्थी समूहको चाहना हुन्छ । अरुपसे भने आफ्नो भूमिका कमजोर हुने भयबाट त्यो समूह सधैँ अत्तालिइरहेको हुन्छ । कतै आजकाल प्रधानमन्त्रीको वरपर त्यस्तै घेरा त छैन भन्ने अनुभूति नेपाली नागरिकलाई हुँदैछ । 

यती समूहलाई जमिन लिजको निरन्तरताको निर्णय, तपाईंको जन्मोत्सवको तामझाममा देखिएका पात्रहरु र प्रवृत्तिहुँदै ओम्नी समूहसँगको साँठगाँठका शृङ्खलाले अहिले सबैमा यस्तो संशय पैदा गरिदिएको छ । 

तपाईँको निष्ठा र संघर्षको कथा मलाई थाहा छ । तपाईँको उमेर र स्वास्थ्य अवस्था त झन् सबैलाई थाहा छ । त्यो पृष्ठभूमि र यस अवस्थामा सत्ताको नेतृत्व गर्दा तपाईँले देखाउनु भएको मनोबल उदाहरणीय छ । यस अवस्थामा तपाइँले देशलाई केही दिने र त्यसको लाभ सारा नेपालीले वषौंसम्म लिने स्थिति निर्माणका लागि संकल्प लिनुभएको होला भन्ने पनि धेरैले ठानेका छन् । तपाईंको यस्तो चाहनाले मुलुकले समृद्धितर्फको यात्रामा लाग्ने हाम्रो पनि साझा विश्वास हो । कठोर संघर्षबाट बनेको तपाईँको व्यक्तित्वका कारण ‘सुखी नेपाली : समृद्ध नेपाल’को नारालाई दल विशेषको भनिएन । 

अर्कोतर्फ प्रधानमन्त्रीज्यू, निराशाको कालो बादल पनि उसैगरी मडारिँदै छ तपाईका ‘प्रजा’हरुको मस्तिष्कमा । यहाँ मैले ‘प्रजा’ शब्द जानीजानी प्रयोग गरेको हुँ । राजाहरुको एउटा सन्दर्भ यहाँ उल्लेख गरुँ । कर्णालीका मानिसले खान पाइरहेका छैनन् भन्ने एउटा सूचना बेप्रसंगमै दरबारमा पुगेछ । आश्चर्यचकित स्वरमा रानीले भनिन् रे –‘‘तिनीहरुलाई दूध भात खान भनिदेऊ न !’’ दरबारमा दूध भात त कुकुरले पनि पेटभर खान पाउँथ्यो । त्यसैले त्यो त पुग्छ होला नि भन्ने ठानिछन् रानीले । दरबार र नागरिकका बीचमा संवाद नहुँदा यस्तो सोच जन्मन्छ । 

आफू निकटका मन्त्री भ्रष्टाचारमा संलग्न भएको सार्वजनिक भइसक्दा पनि ‘उस्को दोष छैन’ भन्ने तपाईंको अभिव्यक्ति पनि संवैधानिक अंगभन्दा माथि कतै दरवारमा बसेको महाराजा बोलेजस्तो ध्वनित हुन्छ सुन्नेहरुका लागि ।

आजकल प्रधानमन्त्रीसँग संवाद हुँदैन नागरिकको । सम्बोधनका बेलामात्र देखिने राजाजस्तो हुँदै गएको छ तपाईंको भूमिका । सरकारका निर्णयका बारेमा जनताको असन्तुष्टि तपाईंसम्म पुग्दैन क्या रे ! पुग्दो हो त तपाईंँजस्तो समृद्धिका लागि योजना बुनेको र त्यसका लागि संकल्प गरेको नेतृत्वले पक्कै सम्बोधन गर्नुहुन्थ्यो । स्वार्थी समूहको ‘अपडेट’ मात्रै तपाईंको सूचनाको स्रोत हुँदैनथ्यो भने तपाईँले भ्रष्टाचारका प्रकरणहरुलाई निर्ममताका साथ कदम चालेको महसुस हामीले गर्न पाउँथ्यौँ । 

मिडियाबाट भ्रष्टाचारका प्रकरण आइरहँदा ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने अठोटका साथ कुर्सीमा पदारोहण गर्नुभएको तपाईँले त्यसलाई छानबिन गर्न अग्रसरता देखाउनुपथ्र्यो र जिम्मेवारी बोकेका संवैधानिक निकायलाई निष्पक्ष छानबिनका लागि वातावरण बनाइदिनु पर्थ्यो । 

लगातार सरकारका कामप्रति गुनासो आइरहँदा र देशका विश्वसनीय निकायहरुले गंभीरतापूर्वक ध्यानाकर्षण गराइरहँदाको समयमा तपाईंँले देशवासीका नाममा सम्बोधन गर्दा त्यसको पनि सम्बोधन हुने अपेक्षा स्वाभाविक नै थियो । तपाईंँले उल्टै त्यसलाई ‘भ्रमपूर्ण र मिथ्या प्रचारवाजी’को जामा लगाइदिनु भयो र स्वार्थीसमूहको रक्षाकवच बनिदिनु भयो ।

न्युजपोर्टलमा अनधिकृतरुपमा छिरेर समाचार हटाउने (डिलिट गर्ने)सम्मका प्रेस स्वतन्त्रता विरोधी हर्कत हुँदैछन् प्रधानमन्त्रीज्यू ! विडम्बना, यस्तो हर्कतका मुख्यपात्र तपाईंकै वरपर सानका साथ बसेका छन् विज्ञ, सल्लाहकारका रुपमा । यस्तो प्रवृत्तिविरुद्धको आवाज तपाईँसम्म नपुग्दै ‘खारेज’ गरिएको वक्तव्य आउँछ । खारेजमात्र गरिँदैन, कुनै स्वार्थ समूहसँग मिलेर नियोजितरुपमा आएको भनेर उल्टो लाञ्छित गरिन्छ । 

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीले भनेका छन् – ‘‘आलोचना गर्नेलाई नजिकै राख्यो भने सरकारलाई लोकप्रिय बन्न मद्दत पुग्छ ।’’ बीपी कोइरालाले २०१५ सालमा सत्ता सम्हालेपछि ‘‘मेरा कामकारबाही, कार्यशैलीको आलोचना गरेर लेखिदियौ भने मलाई सच्चिन सहयोग पुग्छ’’ भनी समीक्षा साप्ताहिकका सम्पादकलाई भनेको र सहयोगसमेत गरेको सन्दर्भ यहाँलाई विदितै छ । पत्रकारितालाई राज्यको चौथो अंग भनिन्छ । विद्वान्हरुले ‘दोस्रो संसद’ भनेर पत्रकारिताको भूमिकालाई परिभाषित पनि गरेका छन् । संसद्मा जनप्रतिनिधि बोल्छन् भने मिडियामा जनता नै बोल्छन् । त्यसकारण सरकारले यी दुवै ‘संसद्’का अभिव्यक्ति सुनेर आफूलाई सच्याउँदै अगाडि बढ्ने अवसर पाउँछ र लोकप्रिय हुने दिशा निर्धारण गर्न सक्छ भन्ने मान्यता छ । 

प्रधानमन्त्रीज्यू तपाईको सरकारले भने दुवै संसद्को अभिव्यक्ति सुन्नै चाहेन । तपाईँसम्म ती अभिव्यक्ति पुग्नै दिइएन । पुग्दो हो त, बदमासी गर्नेलाई कारबाहीका समाचार पनि सुनिनुपर्ने हो । 

तपाईँका सहकर्मी अर्का अध्यक्ष पुष्पकमल दाहालले कथित ‘सर्वदलीय संयन्त्र’प्रति सहमति जनाएको समाचार आएपछि म झसंग भएँ । संसद् र स्थानीय तहसम्म सरकारको उपस्थिति हुँदा पनि सर्वदलीय संयन्त्रको कुरा उठ्नु र सत्तारुढ दलका अध्यक्षले नै त्यसमा सहमति जनाउनु सत्ताप्रतिको जनताको अविश्वासको मात्रा व्यापक रुपमा छ भन्ने स्वीकारोक्ति पनि हो । अवस्था यहाँसम्म पुगेको खबर तपाईँ समक्ष पुगेको छ कि छैन प्रधानमन्त्री ज्यू ?  

प्रधानमन्त्री ज्यू, तपाईं समक्ष यो खबर पुग्ने कुरामा मलाई धेरै विश्वास छैन । यस्तो लेख्नेहरुको पत्र तपाईँ समक्ष पुगेको जानकारी मलाई छैन । बरु पत्र लेखेबापत आलोचनाका वाणहरु मतर्फ तेर्सिने छन् । पत्र तपाईँकहाँ नपुगेरै मेटिने जोखिम अत्यधिक छ । यो पत्र मेरो ‘ल्यापटप’मा (तपाईँका कुनै प्रविधि विज्ञले ‘ह्याक’ गरेर मेटेनछन् भने !) सुरक्षित हुनेछ । प्रधानमन्त्री ज्यू, जब तपाईँ कुनै दिन बालुवाटारबाट बालकोट फर्कनु हुनेछ, त्यतिबेला तपाईलाई फेरि यो पत्र पठाउनेछु । त्यतिबेला छेकबार बनेर बसेको स्वार्थी समूह तपाईँको वरपर रहनेछैन । अनि, आफ्नो कार्यकालको र आफ्नो समूहको समीक्षा गर्न यो सहयोगी हुने विश्वास छ । 

तपाईँको देशको एउटा नागरिक

विपुल पोख्रेल
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC