site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमणको तथ्यहीन व्याख्या

गरिबी, रोग, भोक, मौसम परिवर्तन, युद्ध, अस्तित्वगत जोखिम र असमानताले संसारले धेरै ठूलो र भयंकर समस्याको सामना गरिराखेको छ । हामीले सामना गरिरहेका यी ठूला समस्याविरुद्ध कसरी प्रगति गर्न सम्भव छ भनेर विश्वभरका हजारौं अनुसन्धानकर्ताले जीवन समर्पित गरिराखेका छन् । संसार अहिले कोरोनाभाइरसको संक्रमणबाट आक्रान्त छ । कोरोनाभाइरसको लागि विशेष भ्याक्सिन तथा औषधि हालसम्म पत्ता लागेको छैन, यद्यपि, अनुसन्धानकर्ताहरू खोजमा लागिरहेका छन् । संचारमाध्यम तथा सामाजिक सञ्जालमा व्यक्त अनुमानका भरमा स्थानीय जडिबुटी तथा औषधिको प्रयोगले कोरोनाको संक्रमण रोक्न सकिन्छ भन्ने धारणालाई विश्व स्वास्थ्य संगठनले निर्देशिका नै तयार गरी भ्रम निवारण गर्ने स्पष्टीकरण दिइसकेको छ । यो लेख हालैको कोरोनाको संक्रमणको प्रभावलाई सर्वसाधारणदेखि संचारमाध्यले गरेको विश्लेषण कति तथ्यपरक छ भन्नेमा केन्द्रित भएर केही प्रश्न उठाउने प्रयास हो । यसका लागि कोरोनाभाइरस संक्रमणको पछिल्लो तथ्यांक हेरौँ । 

कोरोनाभाइरसको तथ्यांकको स्रोत र देशहरुको वर्गीकरण

वर्तमान अवस्थामा संख्यात्मक तथ्यांकबाट कोरोनाभाइरसका कारण उत्पन्न संक्रमणको अवस्था बुझ्न सकिन्छ । यस लेखमा कोरोनाको संक्रमण असरको छोटो चर्चा गर्न इन्टरनेटमा वर्डोमिटरबाट उपलब्ध तथ्यांकलाई आधार बनाइएको छ । विश्व बैंकले आयको आधारमा गरेको ४ प्रकारको वर्गीकरण – न्यून आय मुलुकहरु (३१), न्यून मध्यम उच्च आय मुलुकहरु (४७), उच्च मध्यम उच्च आय मुलुकहरु (६०) र उच्च आय मुलुकहरु (८०) रहेका छन् यस्तै सात प्रकारको क्षेत्रगत वर्गीकरण – पूर्वी एसिया तथा प्रशान्तका मुलुकहरु (३८), युरोप तथा मध्य एसियाली मुलुकहरु (५८), ल्याटिन अमेरिकी तथा क्यारेबियन मुलुकहरु (४२), मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकहरु (२१), उत्तर अमेरिकी मुलुकहरु, दक्षिण एसियाली मुलुकहरु (८) र सबसहारा अफ्रिकी मुलुकहरु (४८)) लाई आधार बनाएर कोरोना संक्रमणको विश्लेषण गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कुल संक्रमितहरुको विश्लेषण गर्दा प्रत्येक १० हजार जनामा ८ हजार १०७ जना (८१.०७ प्रतिशत) उच्च आय भएका देशमा संक्रमित भएको पाइएको छ भने एक तिहाइ (३४.३६ प्रतिशत) भन्दा बढी मध्यम आय भएका राष्ट्रमा कोरोनाबाट संक्रमित बिरामी स्वस्थ्य भएका छन् । दुई तिहाइभन्दा बढी संक्रमण, मृत्यु र संभावित मृत्यु हुनेहरुको संख्या उच्च आय भएका राष्ट्रहरुमा देखिएको छ । तुलनात्मकरुपमा निम्न आय भएका राष्ट्रहरुमा संक्रमण हालसम्म पनि न्यून छ । हालसम्मको कोरोनाको परीक्षण १ करोड ३८ लाख ५२ हजार ३१३ जनको भएको छ जस्मा प्रत्येक ४ मा ३ जना (७४.५७ प्रतिशत) उच्च आय भएको मुलुकहरुमा बसोबास गर्छन् । न्यून आय भएको राष्ट्रहरुमा प्रत्येक १०० मा १७ जनाको कोरोना जाँच भएको छ । 

हालसम्ममा प्रत्येक १० लाख जनसंख्यामा उच्च आय भएका मुलुकहरुमा १ लाख ८ हजार २९२ जना, मध्यम आय भएका मुलुकहरुमा ८ हजार ३४९ जना र न्यून आय भएका मुलुकमा १८१ जना संक्रमित भेटिएका छन् । त्यस्तै प्रत्येक १० लाख जनसंख्यामा उच्च आय भएका मुलुकमा ४ हजार २५० जना, मध्यम आय भएका मुलुकमा २६१ जना र न्यून आय भएका मुलुकमा ५ जनाको मृत्यु भएको छ ।   

Global Ime bank

क्षेत्रगतरप्मा हेर्दा युरोपियन तथा मध्य एसियन र उत्तर अमेरिकन मुलुकहरुमा परीक्षण गरिएका प्रत्येक सयमा ८३ जना संक्रमित भएको पाइएको छ । नया संक्रमण घट्दो क्रममा र ४७.७३ प्रतिशत युरोपियन तथा मध्य एसियन मुलुकहरुमा देखिए पनि उत्तर अमेरिकन र ल्याटिन अमेरिकन, क्यारेबियन तथा दक्षिण एसियन राष्ट्रहरुमा प्रत्येक दिन संक्रमितहरुको संख्या बढ्दै जाने देखिन्छ । कुल, नयाँ तथा सक्रिय संक्रमणको संख्या युरोपियन तथा मध्य एसियन र उत्तर अमेरिकन मुलुकहरु क्रमशः धेरै भएको पाइए पनि संक्रमितहरु स्वस्थ्य हुनेमा दोस्रो पू्र्व तथा एसियन मुलुकहरु पर्छन् । पूर्वी एसियाभित्रको चीनले हालसम्म कति जनसंख्यालाई कोरोनाको परीक्षण गराएको भन्ने स्पष्ट छैन तापनि पूर्वी एसियाली तथा प्रशान्त क्षेत्रका मुलुकहरुको प्रत्येक ९ जनामा  एकको (११.०३ प्रतिशत) कोरोना जाँच गराएका छन्  । नेपाल पछिल्लो सूचनाअनुसार ४ हजार ४२६ जनालाई जाँच गराएको देखिन्छ ।    

प्रत्येक १० लाख जनसंख्यामा युरोपियन तथा मध्य एसियन मुलुकमा ९६ हजार ४७२ जना, ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुकहरुमा ८ हजार ३३७ जना, मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकहरुमा ५ हजार ९२१ जना, उत्तर अमेरिकन मुलुकहरुमा २ हजार ९९९ जना, पूर्वी एसिया तथा प्रशान्त मुलुकहरुमा २ हजार २६३ जना, सबसहारान मुलुकहरुमा ७३४ र दक्षिण एसियाली मुलुकहरुमा ९६ जना संक्रमित छन् । त्यस्तै प्रत्येक १ करोड जनसंख्यामा युरोपियन तथा मध्यएसियन मुलुकमा ३८ हजार ०५३ जना, ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुकमा ४ हजार ६३२ जना, उत्तर अमेरिकी मुलुकमा १ हजार ४३० जना, मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकमा १हजार ११ जना, पूर्वी एसियाली तथा प्रशान्त मुलुकहरुमा १९० जना, सबसहारान मुलुकहरुमा १७३ जना र दक्षिण एसियाली मुलुकहरुमा १६ जनाको मृत्यु भएको छ ।   

कोरोना संक्रमण देखिएका पहिलो दस मुलुकहरुमा संयुक्त राज्य अमेरिका, स्पेन, इटली, जर्मनी, फ्रान्स, चीन, संयुक्त अधिराज्य बेलायत, इरान, टर्की र बेल्जियम हुन् । अप्रिल ११ को तुलनामा अप्रिल १२ को बिहान ७ बजेसम्मको तथ्यांकले नयाँ संक्रमित घटेको देखाउँछ । लजिस्टिक विधिले भविष्यमा संभावित संक्रमित तथा मृत्यु हुनेहरुको संख्या प्रक्षेपण गर्छ तर एकदमै सही नतिजा नहुन पनि सक्छ । अप्रिल ११ र अप्रिल १२ लाई आधार बनाएर कुल संक्रमित र मृत्युहुनेहरुको संख्या लजिस्टिक विधिबाट प्रक्षेपण गरिँदा ७ र १० दिनमा क्रमशः टर्की र संयुक्त अधिराज्य बेलायतमा संक्रमित सख्या दोब्बर हुने संभावना देखिन्छ भने अमेरिकामा १२ दिन लाग्छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोनाभाइरसबाट अतिनै प्रभावित इटलीमा केही तुलनात्मक सुधार हुने यो प्रक्षेपणले देखाउँछ । 

मृत्युबाट आक्रान्त १० देशहरुमा संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य बेलायत, इरान, चीन, बेल्जियम र नेदरल्यान्ड हुन् । अप्रिल ११ र अप्रिल १२ मा प्राप्त मृत्युको तथ्यांक विश्लेषण गर्दा अमेरिका, बेलायतमा र बेल्जियममा मृत्यु हुनेको संख्या ७ दिनमा दोब्बर हुने अनुमान गरिएको छ । चीनलाई छाडेर इरान, स्पेन र इटालीको पछिल्लो मृत्युको संख्या तुलनात्मकरुपमा घट्ने अनुमान गरिएको छ । 

नेपालमा कोरोनाभाइरसको संक्रमणसम्बन्धी विश्लेषण 

यी पंक्ति लेख्दासम्म नेपालमा ९ जना कोरोना भाइरसबाट संक्रमित भएको पाइन्छ । विसं २०७६ साल माघ ९ गते (जनवरी २३, २०२०) मा पहिलो संक्रमण पत्ता लागेको हो । दोस्रो संक्रमण दुई महिनापछाडि २०७६ साल चैत्र १० गते (मार्च २३, २०२०), तेस्रो १२ गते (मार्च २५ ), चौथो १४ गते ( २७), पाचौं १५ गते (मार्च २८) र छैटौं चैत्र २० गते (अप्रिल २, २०२०)मा भेटिएको हो । चैत्र २२ गते (अप्रिल ४) मा सुदूरपश्चिम प्रदेशमा ३ जनामा फेलापरेको छ । दुई जना भारतबाट आएका र एक जनामा दोस्रो संक्रमित हुँदै सरेको हो । कोरोना संक्रमणबाट आजसम्म एकजनाको पनि मृत्यु भएको छैन । 

नेपाललगायत न्यून आय भएका मुलुकहरुमा कोरोना संक्रमितको संख्या कम हुनुमा स्पष्ट कारण पत्ता लगाउन वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । बीसीजी खोप हालसम्म पनि दिइँदै आएका मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या न्यून पाइएको छ । बीसीजी खोप लगाएका व्यक्तिमा ६० वर्षको उमेरसम्म प्रतिरोधात्मक क्षमता बढ्ने हुदा संक्रमितको संख्या न्यून भएको वैज्ञानिकहरुले अनुमान गरे पनि अन्तिम निष्कर्ष निकाल्न सकेका छैनन् । 

नेपालमा वैकल्पिक चिकित्साका रुपमा रहेको आयुर्वेद, नेपालीको जीवनशैली, अमिलो, पिरो, बेसार र मसलायुक्त खानपिन, प्रतिरक्षा प्रणाली बलियो हुनु, बीसीजी खोपको निरन्तरता र भाइरस फैलाउने पूर्वाधार कम हुनुबाट कोरोनाको संक्रमण कम भएको अपुष्ट तर्क जनसंचारका माध्यममा पढ्न पाइन्छ ।  

संचारमाधयममा खासगरी सामाजिक संजालमा कोरोनाभाइरससम्बन्धी विभिन्न तथ्यांक तथा सूचना आइरहेका हुन्छन् । यी कति भरपर्दा हुन्छन् भन्ने ठम्याउन सर्वसाधारणलाई कठिन हुन्छ । सरकारीलगायत कुनै पनि संघसंस्थाहरुले प्रदान गरेको तथ्यांक तथा सूचना विश्वसनीय छन् भनेर सन् २००१ देखि हालसम्म विभिन्न २० विषयगत शीर्षकमा अनलाइनमार्फत सरकार, व्यवसाय, गैरसरकारी संस्था र संचार चारवटा सार्वजनिक क्षेत्रले प्रदान गरेको भूमिका कत्तिको प्रभावकारी छ भनेर एडेलम्यान ट्रस्ट ब्यारोमिटरले अध्ययन अनुसन्धान गरिराखेको छ । 

सन् २०१९ को  अक्टोबर १८ देखि नोभेम्बर १९ एक महीनाको बीचमा गरिएको पछिल्लो अनलाइन सर्वेक्षणमा योग्यता र नैतिकताको भरोसासम्बन्धी २८ वटा बजार क्षेत्रमा ३४ हजारभन्दा उत्तरदाताबाट तथ्यांक संकलन गरिएको थियो । अध्ययन क्षेत्रभित्र परेका उच्च आय अर्थतन्त्र भएका विकसित देशमा अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड, स्पेन, अमेरिका, जर्मनी, हङकङ, जापान, इटाली, सिंगापुर, दक्षिण कोरिया तथा बेलायत र उच्च आय अर्थतन्त्र भएको विकासोन्मुख देशहरुमा चीन, कोलम्बिया, भारत, इन्डोनेसिया, केन्या, मलेसिया, युएई, अर्जेटिन्टना, ब्राजिल, मेक्सिको, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका, थाइल्यान्ड थिए । 

उल्लेखित अध्ययनले सरकार र संचार दुवै कम विश्वासिलो र अनैतिक देखाएको छ । उत्तरदातामध्ये ५७ प्रतिशत प्राप्त सूचनाहरु दूषित र अविश्वसनीय भएको मानेका छन् भने ७६ प्रतिशतले समाचारहरू हतियारका रुपमा प्रयोग भएको ठानेका छन् । संस्थागत कार्य सम्पादन हेर्दा जनसंचारले अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय समाचा तुलनागतरुपमा दिएको पाइयो । असल निर्णयको लागि सूचना प्रवाहमा, सर्वसाधारणको भनाइ सुन्न, भष्ट्रचारको खुलासा गर्न, राय र तथ्य बीचमा फरक देखाउन, महत्त्व वा सनसनीखेजबीचमा फरक गर्न, सूचनाको गुणमा, वस्तुनिष्ठ हुनुमा र सामाजिक संचार पवित्र बनाउनमा भने संचार क्षेत्र त्यति सफल भएको देखिएन । कोरोनाको प्रभावको विश्लेषण गर्दा नेपालको संचारमाध्यमको व्यवहार उल्लेखित अध्ययनको निष्कर्षसँग धेरै निकट देखिन्छ ।    

तथ्यपरक ज्ञान वैज्ञानिक 

नेपालको संचार क्षेत्रमा कोरोनाभाइरसको अवस्था विश्लेषण गर्दा धार्मिक दृष्टिकोणदेखि अप्रमाणित व्याख्याले सामाजिक संजाल भरिएको पाइनछ । वास्तवमा भन्नेहो भने अहिलेको नेपालका जनसंचार र धेरै सर्वसाधारण जनता उन्नाइसौ शताब्दीका फ्रन्च दार्शनिक अगस्ट कोम्टेबाट प्रतिपादित सकारात्मकवादको सिद्धान्तको पहिलो ब्रह्मज्ञान (थियोओलोजिकल) र तत्त्वज्ञान (मेटाफिजिकल)का अवस्थाबाट प्रभावितजस्तो देखिन्छ । तेस्रो निश्चयात्मक (पोजेटिभ) अवस्था हो जुन सत्य ज्ञान अवलोकन र तथ्यमा आधारित हुन्छ । अधिनायकवादी, रहस्यमय र तथ्यपरक तीन प्रकारको दृष्टिकोणबाट सकिन्छ ज्ञानको स्रोत बुझ्न सकिन्छ ।  

निर्देशात्मक –अधिनायवादी) ज्ञानको योग्य उत्पादकहरूको रूपमा सामाजिक वा राजनीतिक परिभाषित व्यक्तिहरूलाई बुझाउछ । जस्तो आदिवासी समाजहरूमा पुजारीहरुलाई भगवानको दूतको रुपमा लिई जनतालाई सोहीअनुसारको ज्ञान दिइन्छ । ईश्वरतान्त्रिक समाजमा पुरोहित, पादरीहरू, राजतन्त्रवादी समाजका राजा र प्राविधिक समाजमा वैज्ञानिकहरू निर्देशात्मक ज्ञानको स्रोत हुन सक्छन् । 

रहस्यमयी ज्ञानमा, सत्य खोजी गर्नेहरूले अलौकिक शक्ति जस्तै भविष्यवक्ताहरू, जादूगरहरू र धामीझाँक्रीहरुबाट ज्ञान प्राप्त गर्छन् । यस अर्थमा रहस्यमय ज्ञान निर्देशात्मक ज्ञानसँग मिल्दोजुल्दो देखिन्छ । जे होस् यो अलौकिक घटनाहरूको अभिव्यक्ति र ज्ञान उपभोक्ताको मनोवैज्ञानिक स्थितिमा भिन्न प्रकारले निर्भर हुन्छ । रहस्यमयी ज्ञान धेरै हदसम्म धार्मिक र अनुष्ठानिक प्रक्रियाहरूको प्रयोगमा निर्भर हुन्छ । 

तथ्यपरक ज्ञानको सम्पूर्णता तर्कको विधिहरु र नियमहरूको कडा पालन गरेर प्राप्त गर्न सकिन्छ । तथ्यपरकले मानव दिमागले घटनाको अवलोकनबाट स्वतन्त्र संसारलाई बुझ्न सक्छ । यसका साथै तथ्यपरक ज्ञान हाम्रो व्यक्तिगत अनुभवबाट स्वतन्त्र हुन्छ । अर्को शब्दहरुमा तथ्यपरक ज्ञान सिद्धान्तमा सही हुनुपर्छ जुन तार्किकरुपमा सम्भव पनि हुनुपर्छ ।

अन्त्यमा, यो एक्काइसाैँ शताब्दीमा तथ्यपरक ज्ञानलाई स्वीकार्नु नै विज्ञानलाई मान्नु हो । हालसम्मको कोरोना संक्रमितको संख्यात्मक ज्ञान नै यथार्थ हो । कुनै पनि विषयले अपनाइने अन्तर्राष्ट्रिय अभ्यास खास गरेर अन्तर्राष्ट्रिय रिभ्युड् जर्नलहरुमा प्रकाशित प्राज्ञिक तथा अनुसन्धात्मक लेखरचनामा प्रयोग गरिएका स्तरीय विधिलाई नेपालमा गरिने अध्ययन अनुसन्धानमा पनि लागू गर्नु अनिवार्य हुन्छ । कुनै स्तरीय विधि परिवर्तन गर्नु परेमा विगतमा गरिएका अभ्यासका प्रमाणको आधारमा संशोधन गर्न सकिन्छ तर आफ्नो विषयको सैद्धान्तिक पक्षलाई आधार बनाउनुपर्छ । 

हाल उपलब्ध कोरोनाभाइरसबाट संक्रमित तथ्यांक कुनै अध्ययन अनुसन्धानको लागि प्रयोग गरिएको विधि अपनाएर संकलन गरिएको होइन । यो त विश्वभर फैलिएको माहामारीको उपज हो । अनुसन्धानकर्ताहरूले प्रयोगशालामा जाँच गरेर आएको नतिजाले मात्र कोरोनाको संक्रमणको सही तथ्य प्रस्तुत गर्न सक्छ । 

(प्राध्यापक एवं अध्यक्ष, त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभाग)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC