site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड १९ सम्बन्धी जटिलता नियन्त्रण

विश्वमहामारीका रूपमा फैलन पुगेको कोभिड – १९ सन् २०१९ नोभेम्बर–डिसेम्वरदेखि चीनको वुहान प्रान्तको कुनै खाद्य बजारबाट सुरु भएको अनुमान गरिएको छ । हालसम्म संसारका अधिकांश मुलुकलाई प्रभावित बनाएको यस भाइरसको संक्रमणबाट नेपाल पनि जोगिन सकेन । नेपालमा पहिलो संक्रमण २०७६ माघ ९ गते पुष्टि भएको थियो ।

चीनले कोभिड – १९का कारण बेहोर्नु परेको क्षतिलाई सुरुका दिनमा गंम्भिरतापूर्वक नलिँदा स्वास्थ्य सुविधा र प्रविधिमा विश्वमै अब्बल ठानिएका विकसित राष्ट्रहरूलेसमेत ठूलो मानवीय क्षति व्यहोर्नु परेको छ । त्यसविपरीत दक्षिण कोरिया, सिंगापुर ताइवानलगायतले यस संक्रमणलाई गम्भीरतापूर्वक लिएर पूर्वतयारीतर्फ सजग भएर लागे । यी देशमा कोभिड –१९ आज लगभग नियन्त्रित अवस्थामा छ । नेपालले रोकथामका प्रयास केही ढिलै थाले पनि अहिलेसम्म धेरै फैलिएको देखिएको छैन । 

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा कोरोना संक्रमितको संख्या १३ लाख४७ हजार ३४३ पुगिसकेको छ जसमध्ये पूर्णरुपमा निको हुनेको संख्या २ लाख ८४ हजार ८८२ छ भने कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७४ हजार ७६९ छ । नेपालको पछिल्लोे तथ्यांकअनुसार हालसम्म १ हजार ८९० जनाको नमुना परीक्षण भएको छ भने ९ जनामा संक्रमण देखिएको छ । यसमा १ जना पूर्णरूपले निको भइसकेका छन् । तैपनि नेपाल कोरोना संक्रमणको उच्च जाखिममा छ । भौतिक पूर्वाधारको कमी एवं सीमित स्रोत साधनका कारणले यस रोगबाट जोगिनु नेपालका लागि निकै ठूलो चुनौती भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना नयाँ भाइरस होइन । सन् २००३ मा देखिएको सार्स र हाल देखिएको कोरोना एकै प्रजातिका भाइरस हुन् । तर, सार्सको कारक भाइरसजस्तो जोखिमपूर्ण छैन र सार्सभन्दा फरक छ । त्यसैले यसलाई नोवेल कोरोना भाइरस (२०१९ – एनकोभ) भनिएको हो ।  विश्व स्वास्थ्य संगठनले माघ २८ गते यसलाई कोभिड –१९ र संक्रमण गर्ने भाइरसको नाम सार्स –कोभ–१९ भन्ने नामाकरण गरेको छ ।

मूलरुपमा कोरोनाभाइरसले जनावरहरुलाई संक्रमित गर्छ । त्यसैले मानिसमा संक्रमण देखिनुपूर्व यस जीवाणुले जनावरलाई असर गर्छ । मानिसको जनावरसँगको सामिप्यका कारण अहिले यो संक्रमण जनावरबाट मानिसमा भइसकेको छ र मानिसबाट मानिसमा हुने संक्रमण तीव्ररूपमा बढिरहेको छ । संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा निस्कने कणहरूमा यो भाइरस हुने जानकारी धेरैलाई छ ।

Global Ime bank

त्यस्तो जीवाणु हावामा पनि केही समय रहन सक्छ । यस्तो अवस्थामा स्वस्थ्य व्यक्तिले श्वास फेर्दा सजिलै ती भाइरस स्वस्थ्य व्यक्तिको शरीरमा पुग्छन् । यसका साथै ती भाइरस कुनै सतहमा जस्तै ढोकाको ह्यान्डल, चुकुल, टेबल, कपडा आदिमा रहँदा कुनै स्वस्थ व्यक्तिले छोएर त्यही हातले आँखा, नाक वा मुखमा लग्दा सजिलै संक्रमित गर्न सक्षम हुन्छ ।

कोभिड – १९ संक्रमणका लक्षण संक्रमण भएको दिनदेखि १४ दिनसम्म देखिन सक्छ । तर, व्यक्तिको अवस्था, रोग प्रतिरोधात्मक क्षमताका कारण यो समय फरक हुन सक्छ । कसैकसैमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । संक्रमित व्यक्तिमा लक्षण नदेखिएता पनि अरूमा रोग वा भाइरस सार्न उत्तिकै सक्षम हुन्छ  । अर्थात् लक्षण देखा परुन्जेलसम्म संक्रमित व्यक्तिले थाहै नपाई हजारौलाई संक्रमित बनाइ सकेको हुन्छ ।

कोरोनाभाइरस अति नै सूक्ष्म जीवाणु हो । यसलाइ आफ्नो जीवनचक्र पूरा गर्न अरू जीवित कोषको आवश्यकता पर्छ । संक्रमित व्यक्तिको हाच्छिउँ वा खोक्दा निस्किएका कणमा भएको भाइरस कुनै पनि माध्यमबाट स्वस्थ्य व्यक्तिको श्वास नलीमा पुगेपछि सो  भाइरसलाई टाँसिन विषेश ‘रिसेप्टर’ चाहिन्छ । फरकफरक भाइरसको लागि यस्ता रिसेप्टर फरक फरक हुन्छन् ।

सार्स –कोभ –२ भाइरसको लागि आवश्यक पर्ने रिसेप्टर ‘एसीई टु’ हो । यो फोक्सोको अक्सिजन र कार्बन डाइअक्साइड साँटासाट गर्ने हावाको मसिना थैलीमा पाइन्छ र यसमै टासिएर यो भाइरसले आफ्नो संख्या वृद्धि गर्छ । एल्भियोलीमा भाइरस पुगेपश्चात मानव शरीरले पनि रोग प्रतिरोधात्मक प्रक्रियालाई सक्रिय गर्न थाल्छ र तीन विभिन्न किसिमका प्रतिरोधात्मक तत्त्वहरू आईएल १, ६ र टीएनएफ निकाल्न थाल्छ ।

जसै यी तत्त्व रक्त नलीमा पुग्छन् भाइरस र रोग प्रतिरोधात्मक तत्त्वहरूबीचमा एक किसिमको लडाइँ सुरु हुन्छ । फलस्वरूप, संक्रमितमा लक्षण देखिन सुरु गर्छ । त्यस अवस्थामा रक्तनली एवं पूरै फोक्सो सुन्निने, रुद्रीघन्टी (अलवेओली) मा तरल पदार्थ भरिन थाल्ने हुन्छ । त्यसले गर्दा रक्तनलीमा अक्सिजनको वहावमा अवरोध सृजना हुन्छ ।

यस्तो शारीरिक अवस्थालाई एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एर्डस) भनिन्छ । कोभिड – १९ संक्रमितमा देखिन सक्ने  पहिलो जटिलता भनेको यही नै हो । रक्तनलीको सुजनसंगै फोक्सोलगायत  विभिन्न संवेदनशील अंगमा अक्सिजनको आपूर्ति पनि कम हुन जान्छ जसले ‘सेप्टिक सक’ हुन सक्छ । यो दोस्रो जटिलता हो ।

त्यसैले यस्तो अवस्थामा अक्सिजनको आपूर्ति कृत्रिमरूपबाट भेन्टिलेटरको माध्यमबाट गरिनुपर्छ । श्वास प्रश्वासमा जटिलता आउँदै गर्दा नेबुलाइजर र कृत्रिमरूपमा श्वास प्रश्वासलाई सहज बनाउने उपकरणको प्रयोग पनि लाभदायक हुन्छ । सेप्टिक सकजस्तो जटिलतालाई बेलामै निको पार्न सकिएन भने संक्रमितको अवस्था झनै बिग्रँदै जान्छ र ‘सिस्टमेटिक इन्फ्लामेटोरी रेस्पोन्स सिन्ड्रोम’ (सिर्स) गराउँछ । त्यसबाट एकै पटक शरीरका अन्य महत्त्वपूर्ण अंगले पनि काम गर्न छाड्छन् र बिरामीको मृत्यु हुन्छ । 

कोभिड – १९ले माथि वर्णन गरिएका जटिलता निम्त्याउन सक्ने भए पनि सबै संक्रमितमा यस्तो जटिलता देखिँदैन । कोभिड – १९को हालसम्म कुनै औषधि अथवा खोप बनिसकेको छैन । कोभिड – १९ को ८० प्रतिशत  संक्रमितलाई साधारण किसिमको समस्यामात्र हुनेहुँदा रोगका लक्षणको आधारमा सामान्य उपचार गर्दै श्वास प्रश्वासलाई सहज गराएर थप जटिलता रोक्ने कार्य गरिँदै आएको छ । यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र थाहै नपाईकन सर्ने हुँदा सबैले सामाजिक दूरी कायम राख्दै आफ्नो व्यवहार र दैनिकीमा परिवर्तन ल्याउनु अत्यन्तै जरुरी छ ।

लगातार सुख्खा खोकी लागेमा, ज्वरो आएमा वा श्वास फेर्न गाह्रो भएर कोभिड – १९को शंका लागेमा अथवा विगतमा १५ दिनभित्र कुनै बाहिरी देशवाट आएको वा यस्ता व्यक्तिको सम्पर्कमा आएको भएमा अनिवार्य छुट्टै क्वारेन्टिनमा बसी नमुना परीक्षण गराउनुपर्छ । श्वास नली वा फोक्सोबाट निकालिएको नमुना परीक्षण गर्न सकिन्छ । तर यो नमुना संकलन सघन उपचार कक्षमा भर्ना भएका बिरामीका लागि केहि सम्ंभव भए पनि नियमित जाँच गर्न सहज नहुने हुँदा स्वाब र र्‍यालको परीक्षण गरिन्छ । 

नमुना परीक्षण र्यापिड डायोग्नोस्टिक किट वा पोलिमेरास चेन रिएक्सन (पीसीआर)द्वारा गर्न सकिन्छ । र्‍यापिड डाइग्नोस्टिक किटको प्रयोग गर्दा नतिजा १० मिनेटभित्र प्राप्त गर्न सकिन्छ । तर, यसको संवेदनशीलता कम हुने हुँदा धेरै नमुना एकै चोटी गर्नुपर्ने भएमा मात्र प्रयोग गर्न सकिन्छ । 

पीसीआर आधुनिक प्रविधि हो । जसमा भाइरसको आरएनए निकालेर जेनेटिक एंप्लिफिकेसन गरी सार्स–कोभ–२ को विशेष प्रइमरसँग जुधाइन्छ । नमुनामा कोरोना भाइरस नभए यसले कुनै प्रतिक्रिया दिँदैन र नेगेटभ नतिजा आउँछ । तर यसविपरीत भाइरस संक्रमित नमुना भएमा यसले उक्त प्रइमरसँग मिलेर उज्यालो रंगकोे प्रतिक्रिया दिन्छ जुन पोजेटिभ नतिजा मानिन्छ । 

यि दुई प्रविधिबाहेक एन्टिजेन एन्टिबडी परीक्षण पनि गर्न सकिन्छ । यस प्रविधिबाट नमुना परीक्षण गर्दा विषेशगरी पहिले उक्त भाइरससँग सम्पर्कमा आए नआएको र शरीरले कसरी सो भाइरसलाई प्रतिक्रिया दिएको छ, हेर्न सकिन्छ ।

नमुना परीक्षण गर्दा जुनसुकै प्रविधि अपनाए पनि ‘फल्स नेगेटिभ’ नतिजा आउनु  चुनौतीपूर्ण हुन्छ । कुनै व्यक्तिमा भाइरसको संक्रमण हुनु, लक्षणहरु देखिनु तर नमुना परीक्षण गर्दा नेगेटिभ आउनु नै फल्स नेगेटिभ हो । यस्तोे केस कोरोना पोजेटिभ केसभन्दा खतरनाक हुन्छन् । किनभने यी व्यक्तिहरू आफू नेगेटिभ भएको  भनेर निर्धक्क भई छुट्टै क्वारेन्टिनमा नबस्दा आफ्नो परिवार, छरछिमेकलाई समेत संक्रमित गरिरहेका हुन्छन् । त्यसैले मिल्दो लक्षण देखिएको छ भने एक पटकको नतिजामा मात्र भर नपरेर दोहोर्‍याएर जाँच गराउनु पर्छ । यस काममा झर्काे मान्नु हुँदैन ।

विश्वका समृद्ध एवं स्वास्थ्य सुविधाको क्षेत्रमा उल्लेख्य पहुँच भएका मुुलुकलाई समेत आक्रान्त पारेको यस महामारीसँग जुध्नु हामीजस्तो सीमित स्रोत साधन भएको मुलुकलाई कम चुनौतीकोे विषय होइन । एक व्यक्तिबाट अर्को व्यक्तिमा अनि सिंगो समुदायमा द्रूतगतिमा सर्ने कोभिड – १९ को उपचार नै नभएकाले लागिहाल्यो भने उपचार गराउनेतिर लाग्नुभन्दा संक्रमणको चेनलाई नै टुटाएर संक्रमण नै हुन नदिने व्यवहार  अवलम्बन गर्नुपर्छ । आत्मअनुशासनमा ध्यान दिँदै व्यक्तिव्यक्ति बीचको शारीरिक दूरीलाई कम गर्दा नै कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सकिन्छ । 

मानिसले खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख, नाक छोप्ने र ती टिस्यु पेपरको उचित व्यवस्थापन गर्ने, भाइरसलाई छेक्न सक्ने मास्क लगाउनाले ड्रपलेट संक्रमणलाई रोक्न सकिन्छ । त्यस्तै पटकपटक साबुन पानीले हात धुनाले अथवा ७० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्नाले भाइरसको बाहिरी सतहमा भएको बोसोजस्तो लिपिड पदार्थलाई पगालिदिन्छ र त्यसले भाइरसलाई नष्ट गरिदिन्छ । 

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार यस भाइरसबाट भएको मृत्यु दर अहिले ५.५५ प्रतिशत रहेको छ । सन् २००३ मा देखिएको सार्सभन्दा निकै कम प्रतिशत हो । तर पनि यसबाट जोगिनु हरेकका लागि आवश्यक हुन्छ ।

संक्रमित भए पनि यसको जटिलता फरक हुनुमा व्यक्तिको रोगसँग लड्न सक्ने क्षमताले अहम भूमिका खेल्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँदा पनि पनि यस रोगको क्षति न्यून गर्न सकिन्छ । यसरी रोग सर्ने संभावनाबाटै जोगिन अनुशासित भएर सामाजिक दूरी विषेशगरी शारीरिक दूरीलाई कायम राख्ने, पटकपटक साबुन पानीले हात धुने बानी गर्ने, सरकारद्वारा जारी गरिएका निर्देशन पूर्ण पालना गर्नाले यो रोग सर्ने र सार्ने सम्भावना एकदमै न्यून भएर जान्छ । 

हालको परिस्थितिले उब्जाएको समस्याले सामान्य मानिस, आफ्नो र परिवारमा पर्न सक्ने रोगको प्रभाव, आफूहरूले संचालन गरेकोे व्यापार, व्यवसाय र उद्योगमा पर्न जाने प्रभाव, रोजगारी गुम्ने डरलगायतका अर्थिक संकटले गर्दा भविष्यमा आउन सक्ने अनेकौं समस्याबारे चिन्तित भई मानसिक तनावको अवस्थाबाट गुज्रिरहेका छन् । विद्यमान परिस्थितिमा जनमनोविज्ञानलाई कसरी सम्बोधन गर्ने ? लकडाउन पछि के गर्ने ? के नगर्ने ? आदि विषयमा सरकारले ढुक्क हुने रणनीति तयार गरी प्रभावकारी कार्य योजना ढिलो नगरी जनता समक्ष प्रस्तुत गर्न जरुरी भइसकेको छ ।  

आशा गरौँ, निकट भविष्यमा यसकोे औषधि तथा खोप पत्ता लगाइने छ र  यो व्याधिलाई जित्न सकिनेछ । कुनै पनि संकट जुनसुकै बेला डरलाग्दो किसिमले आउन सक्छ भन्ने मनन गरी अहिलेको हाम्रो अवस्थाबाट पाठ सिकेर आउँदा दिनमा भौतिक एवं प्राविधिकरूपले सुविधा सम्पन्न अस्पताल, प्रयोगशाला प्रदेश प्रदेशमा स्थापना गर्ने कार्य पनि तुरुन्तै प्रारम्भ गर्नु अपरिहार्य देखिन्छ । यसबाट योग्यता भएका जनशक्तिलाई पनि प्रत्येक प्रदेशमा राज्यले उपयोग गर्न सक्नेछ । यसरी सरकार, जनता सबै मिलेर एक जुट भएमा यस्ता चुनौतीलाई परास्त गर्न सफल हुनेछौँ ।

(उपप्राध्यापक, माइक्रोबायोलोजी विषयमा विद्यावारिधि शोधार्थी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC