site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वतन्त्र स्वतन्त्र नेपाली 
Ghorahi CementGhorahi Cement

मोहनराज शर्मा 

यहाँ को स्वतन्त्र छैन ? यहाँ कुन स्वतन्त्रता छैन ? नेपाल सदाकाल स्वतन्त्र रहिआएको देश हो । तसर्थ स्वतन्त्रता नेपालीको पेवा हो । हो त, यस स्वतन्त्र देशमा रहने जो पनि स्वतन्त्र छ उत्तिकै स्वतन्त्र । जो दिनहुँ सेल–स्वारी हुन्छ ऊ पनि स्वतन्त्र छ र जो खोलेफाँडामै भुल्छ ऊ पनि । जो हावादारी बिल्डिङमा सुख–सयल गर्छ ऊ पनि स्वतन्त्र छ र जो चाल्नो जस्तो छाप्रामा बिल्लिबाठ परेको छ ऊ पनि । जो नयाँ–नयाँ पोसाकहरुको फेसन–परेड गरी हिँड्छ ऊ पनि स्वतन्त्र छ र जो झ्याङप्वाले चिथरा बेरी हिँड्छ ऊ पनि । यहाँ सबै स्वतन्त्र छन्, यहाँ सधैं स्वतन्त्रता छ । नेपाली पूरै स्वतन्त्र छैन  भन्ने उहिलेको खुइलेको कुरो हो । 

Agni Group

नेपाली किन स्वतन्त्र छैन र ? ऊ पूरै स्वतन्त्र छ, रोड–सेन्सलाई जागा राखेर पेटीबाट हिँड्न अथवा सेन्सलेस भएर सडकको माझमा इतरिन । हिँड्दा–हिँड्दै टक्क अडिएर ऊ रोड–इन्स्पेक्टरी गर्न स्वतन्त्र छ र पसलभित्र पसेर केही किनकान गर्न पनि । पसलेलाई हुकुम लगाई–लगाई खातकाखात माल झिकाएर हेर्न पनि स्वतन्त्र छ र मन परेन भन्ने निहँु पारेर केही नकिनी त्यसै फर्किन पनि । पसलबाहिर आउनासाथ सट्ट हातले सान लाएर चट्ट टयाक्सी रोकाउन स्वतन्त्र छ र बिसौनीमा घण्टौं कुरेर बस चढ्न पनि । अनि ताल परे, कन्डक्टरले चाल नपाए भलादमीको मुकुन्डो भिर्दै सिटमा गजधुम्म बसेर टिकस नकाटी सकुशल जात्रा सम्पन्न गर्न पनि स्वतन्त्र छ । 

यहाँ कस्तो स्वतन्त्रता छैन र ? प्रत्येक नेपाली पिठ्यूँपछाडि जोसुकैको भक्कु बदख्वाइँ गर्न स्वतन्त्र छ र मुखेन्जी उसैको लक्कु बढाइँ गर्न पनि । फेरि ऊ उत्तिकै स्वतन्त्र छ, अगाडि–पछाडि दुवैतिर उत्तिकै बदख्वाइँ गर्न अथवा उत्तिकै बढाइँ गर्न । ऊ फोस्रा गफ चुटेर अर्काको समय खान स्वतन्त्र छ र अर्काका थोत्रा कुरा सुनेर आफ्नो समय खेर फाल्न पनि । ऊ लेख्न पनि स्वतन्त्र छ, पढ्न पनि अथवा दुवैमध्ये केही नगर्न पनि । ऊ अर्काको माल देखेर राल चुहाउन स्वतन्त्र छ र अर्काको राल देखेर आफ्नो माल लुकाउन पनि । ऊ सिङ नहुनेलाई तीखो भन्न स्वतन्त्र छ र हिङ हुनेलाई नगनाउने भन्न । नेपालीको स्वतन्त्रता ‘विष्णुसहस्रनाम’ झैं अजस्त्र छ । 

Global Ime bank

यहाँ के गर्ने स्वतन्त्रता छैन र ? जहाँ मन पर्छ त्यहाँ प्याच्चै थुके हुन्छ, तुर्र मुते हुन्छ, ख्याक्कै खोके हुन्छ र प्याच्चै बोले हुन्छ । देश आफ्नै हो भने कहाँ थुक्ने, कहाँ मुत्ने भनेर किन घोरिरहनु ? फ्याक्ट्री इन्स्योर्ड छ भने आफै आगो लाउने स्वतन्त्रता पनि छ, रकम छाद्ने त बीमा कम्पनी छँदैछ । राम्रो फिलिम पनि मन परेन भने आफू बसेको कुर्सी बसेको कुर्सीको डनलप चटाचट काट्ने स्वतन्त्रता छ । हलभित्र उपस्थित अन्धकारको सेनाले यस स्वतन्त्रता उपभोग गर्न हरतवरले सघाएकै हुन्छ । नत्र हल्ली–खल्ली मच्चाएर, सिनेमाको पर्दालाई च्यातेर अरुलाई पनि देख्न–सुन्नबाट वञ्चित गर्ने स्वतन्त्रता पनि छँदैछ । ठूला–बडाको मरौपरौमा सार्वजनिक शोक–सभा हुँदै गरोस् छेउको श्रोतालाई कोट्याएर भट्टीपसल्नीको सुत्त परेको नाक र फुत्त उफ्रेको आँखाबारे चर्चा गर्ने पनि पूरै स्वतन्त्रता छँदैछ । 

यहाँ को स्वतन्त्र छैन र ? बेपारी मिसौटा गर्न स्वतन्त्र छ । मरीचमा मेवाका गेडा, पिठामा खोयाको धूलो, घिउमा पिँडालु, चामलमा ढुङ्गा र प्याट्रोलमा मट्टिटेल मिसाउनेलाई कुन जुङाले छेल्ने ? ‘भावी कर्णधार’ भन्ने साइनबोर्ड झुण्ड्याएर हिँड्ने विद्यार्थीहरु पूरै स्वतन्त्र छन्, मागहरुको घण्ट ठोकेर पढाइको टण्टबाट फुर्सतिन अथवा केही दिनपछि माँग पुरा नभए पनि सम्झौता गरेर फेरि पढाइ चालू गर्न । हाकिमहरु स्वतन्त्र छन्, दिनभरि मनपरि मोटर कुदाउन अथवा दराज–बन्दी रोग लागेर कुहिएका फाइलहरुको रातो कलमले फोरफार गर्न । नेताहरु स्वतन्त्र छन्, चुनाउ जितेपछि जनतालाई खुच्चिङ भन्न अथवा अजिङ्गर झैं बसी–बसी सासले तानेर सार्वजनिक सम्पत्ति पेटभित्र हुल्न । योजनाकारहरु स्वतन्त्र छन्, बतासे योजना बनाउन र सो अन्तिम चरणमा पुगेको मनचिन्ते प्रचार गर्दै अन्तमा ‘साधनले भ्याएन’ भनेर त्यसलाई बेलून झैं प्याट्टै फुटाल्न । मन्त्री पनि स्वतन्त्र छन्, शोषणका विरुद्ध गाण्डिव–टङ्कार झैं गननन्न भाषण गर्न र समाजमा घुन झैं लागेका शोषकहरुका विरुद्ध केही नगर्न पनि । कर्मचारी पनि स्वतन्त्र छन्, अबेर–सबेर अफिस जान अथवा टाउको दुखेको निहुँ पारेर नजान । नगए पनि के भयो र, तलब त पाक्छ–पाक्छ । पाकेको तलब नपाएको खण्डमा व्यवसाय–सङ्गठनलाई गोहारेर कालो झण्डा देखाउने पूरै स्वतन्त्रता छँदैछ । अनि त पैसा लितिक्क पाकेको आँप झैं बर्र झरिहाल्छ । 

यहाँ के स्वतन्त्र छैन र ? कृषि ब्याङ्क स्वतन्त्र छ सहकारीलाई दोस्न, सहकारी स्वतन्त्र छ रिन लिनेलाई दोस्न र रिन लिने स्वतन्त्र छ दुवैलाई दोस्न । जिल्ला स्वतन्त्र छ, जिल्लातर्फ दोष–वाण ताकेर हान्न । अन्तःशुल्क पनि मिलहरुको अन्तःपुरमा आफ्ना मान्छे तैनाथ गरेर शुल्क–चोरी रोक्ने पहरा राख्न स्वतन्त्र छ भने मिलवालाहरु पनि तैनाथेका आँखामा छारी हालेर शुल्क रकम पच पार्न स्वतन्त्र छन्, कर–अड्डा एउटै वस्त्ुमाथि चार–पाँच तवरले कर छेराउन स्वतन्त्र छ भने करदाताहरु पनि हिसाप–कितापको दोहोरो खाता खडा गरेर कर चोर्न स्वतन्त्र छन्, रातभरि पुलिस गस्ती गर्न स्वतन्त्र छ भने चोर–चकारहरु पनि देवल–भित्ता फोर्न स्वतन्त्र छन् । ठाना रिपोट लेख्न स्वतन्त्र छ भने मुठीदान पाएर नलेख्न पनि स्वतन्त्र छ । भन्सार अड्डाहरु एउटै जिनिसमाथि बेग्लाबेग्लै दरले औपचारिक–अनौपचारिक भन्सार लिन स्वतन्त्र छन् भने भन्सारमाराहरु आँखा छल्न पनि स्वतन्त्र छन् । 

जेहोस्, नेपाली स्वतन्त्र छ, सर्वतन्त्र स्वतन्त्र ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC