site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रिय इटहरी
Sarbottam CementSarbottam Cement

प्रिय इटहरी !
मोटरबाट झरेर पहिलो पाइला टेक्दा तिमी जुठो बारेर बसेका थियौ । देशले शोक मनाइरहेको बेला तिमी किन अछुतो हुँदा हौ र ? सडकमा ओहोरदोहोर गर्ने हरेकजसो मानिस तालुचिण्डे देखिन्थे । इटहरी चोकको मानिसको ओहोदोहोरमा म मात्र टाउकामा केस भएको एक्लो देखिन्थेँ । सरकारी मान्छेमात्र हैन, सर्वसाधारणले पनि कपाल खुइल्याउनु पर्ने उर्दी थियो । प्रतिवाद गर्नेहरु अराजक तत्व ठहरिन्थे, प्रतिवाद को गरोस् पुलिसले भन्नेबित्तिकै कपाल खौरिन तयार हुन्थ्यो समूह । 

पहाडबाट झर्दा अघिल्लो दिन उदयपुरको सुन्दरपुरमा बेल्टार र गाइघाटबाट आउने बटुवालाई जवर्जस्ती पनि कपाल खौरिँदै पठाउँदै गर्थे पुलिसहरु । प्रश्न गर्नेहरुलाई माथिको आदेश भन्थे । गौंडा ढुकेर बटुवाको कपाल खौरिन छुरासहितका मानिस लिएर बसेका प्रहरी दुईचार जना मात्र देखिन्थे । पुलिस भन्दा पनि मानिसलाई कानुनको डर थियो उसबेला । राणाशासनबाट फुत्किए पनि पञ्चायतको ऐँठन झन् डरमर्दो थियो होला । मसँगै आउनुभएका भान्दाजुहरु पनि कुनै प्रतिवाद नगरी तालुचिण्डे भएरै आउनु भएको थियो । तर म केटाकेटी छेवर गरेको छैन, खुइल्याउन मिल्दैन भनेर जोगिएँ । अचम्मै लाग्यो इटहरीको तालुचिण्डेहरुको समूहमा दाजु पनि मिसिनुभएको रहेछ । उसै पनि सरकारी मान्छे भएपछि राजाज्ञा मान्नैपर्ने ! 

पञ्चायती व्यवस्था ल्याउने राजा महेन्द्रको अस्ति निधन भएको थियो । साँझ पहाडबाट झरेर गुण्टेचुहाडेमा बास बसेका बेला रेडियो नेपालको समाचारबाट मृत्युको खबर झरेपछि भान्दाजुहरु हेराहेर गर्नुभो । त्यहीँ खेती गरेर बस्नुभएका काका रामचन्द्र त क्वाँक्वाँ रुनुभो ! बूढोमान्छे रुँदा मलाई पनि रुन मन लाग्यो । काका निकैबेर रोएपछि भन्नुभो– महेन्द्र र म सँगैका थियौं, उनी मरिगए ! अब म पनि धेरै बाँच्तिन होला ! काकाले यसो भन्नु हुँदा ओहो ! काका पनि मर्ने हुनुभो भनेर आँखा साँच्चै टिलपिल भए । हेराहेर गर्दै भान्दाजुहरु मुस्काएकाले मात्र, नत्र म पनि रुन्थेँ हूँला । खबर सुनेपछि काकाले राजाको नाममा बेलुकाको छाक नुन खानु भएन । भान्दाजुहरु त काका रुदा हाँसे पो ! आ मामा, ऊ मरे उसको छोरो राजा हुन्छ, हामी रोएर के गर्नु ? भन्दै काकालाई उल्लीबिल्ली बनाए । नभन्दै रेडियोको समाचारले वीरेन्द्र वीरविक्रम शाह नेपालका श्री ५महाराजाधिराज भएको समाचार दिइसकेकेको थियो । ख्वै कति दिन जुठो बार्नुभो काकाले, भोलिपल्ट हामी हिँडिहाल्यौ इटहरीतिर । 

Prabhu Bank
Agni Group
NIC Asia

माघ महिनाको इटहरी बिहानबेलुकी जाडो भए पनि दिउँसो रापिलै थियो । महेन्द्र राजमार्ग बनिसकेको थियो । त्यसैले राजमार्गमा चल्ने भाडाका सवारीको कर लिन भरखरै देशभरी खुलेको सवारी कर कार्यालय, इटहरीमा पनि रहेछ । इटहरीका चल्तापुर्जामै गनिने नरनाथ नेपालको घरमा कार्यालय बसेको थियो । कार्यालयको हाकिम नायब सुब्बा हुन्थे । काठमाडौंतिरका कुनै घिमिरे थिए सुब्बासाहेब । दाजु त्यही कार्यालयको अस्थायी मुखिया । रेग्मी थरका कुनै खरिदारपछि केही थान मुखियाभित्र दाजु पर्नुहुन्थ्यो । म १२ वर्षको भञ्ज्याङ नाँघेर १३को उकाली चढ्दै थिएँ । नाथु केटाकेटी, मलाई इटहरी नै संसार थियो । कार्यालयका कर्मचारीले भनेपछि जहाँ गए पनि बसभाडा तिर्नु पर्दैनथ्यो । कहिलेकाहीँ पश्चिममा फत्तेपुर र उत्तरमा धरानसम्म जान्थेँ, त्यो पनि कसैको साथमा । धरान जाँदा भोटेपुलछेउमा रहेको बागमहल अहिले पनि सम्झन्छु । 

भुक्क उठेका गाला, भोटे कुकुरको छाउरोजस्तो म, सबैले माया गर्थे । जेजे खानेकुरा बेच्न ल्याउँछन् कर्मचारीहरुले मेरा लागि त्यै किनिदिन्थे । चारै दिशा जाने चोक भएकाले काँक्रा, कटहर, ज्यामिर जस्ता फलफूल र आलुचप, गुलगुल, मालपुवा लिएर मोटरछेउमा पुग्थे बेच्नेहरु । धनकुटाका नेउपाने बन्धुहरु बसमा काँक्रा बेच्तै हिँड्नेमा पर्थे । एक जना भट्टराई थिए आलुचप, गुलगुल बेच्थे । ओहो ! त्यो समयमा पनि चोकको पूर्वलाइनमा फोटो स्टुडियो थियो । सायद कुमार फोटो स्टुडियो हुनुपर्छ । स्टुडियोको पछाडिपट्टि हरियो दुबोको बगंैचा थियो । मानिसहरु फोटो खिच्न त्यतै जान्थे । मलाई अघिल्लोपल्ट पनि एकल फोटो खिच्न जुरेको थिएन । यसपल्ट पनि फोटो खिच्ने रहर भित्रभित्रै गुम्सिएर बस्यो, सतहमा कहिल्यै आएन बसुञ्जेल  । मैले देखेको पक्का घर भनेको कोशी निवास थियो चोकभन्दा पश्चिम र पूर्वतर्फ थियो अहिलेको सिने फ्लेक्सको छेउमा एउटा घर । 

Global Ime bank

इटहरी बसुञ्जेल गोविन्द नेपाल दाइले मलाई सधैं सँगसँगै लिएर हिँड्थे । उनी मृगीरोगका विरामी कुनै काम गर्दैनथे । बसीबसी उसै त मोटोघाटो म, सबैले मीठो ख्वाउन थालेपछि झन् मोटाउँदै गएँ । खान दिने भएपछि जसले काम अह्राए पनि गर्थें । एक दिनको कुरा, कार्यालयका कर्मचारीहरुले आलुचप लिएर आऊ भनेर झोला र रुपैयाँ दिएर पठाए । उनीहरुले देखाएको पसल चोकबाट दक्षिण, राष्ट्रिय जागृति क्लबको आसपास जनता पसलछेउमा थियो । झोला र रुपैयाँ पाएपछि कुरा बुझे झैं गरेँ, तर कुरा बुझ्दै बुझिनछु । बाटामा केके सोच्तै परपर हेरेर हिँड्दा ठेस लाग्यो र आलुचपको ‘चप’ त कता हरायो हरायो ! दिमागबाट चिप्लिएछ ! चप चिप्लिएपछि मसँग बाँकी रहेको कुरा आलु मात्र थियो, त्यही सम्झेर पसल पुगेँ । 

अहिले सम्झन्छु, उहिल्यै पढेको लाटोबुङ्गोको कथा ! चप बिर्सिएपछि बाँकी रहेको आलु किन्न जाने भनेकै किराना पसल थियो । किराना पसलमा पुगेर हेरेँ राताराता आलु ! ठूला चैं साँच्चैका ठूला ! पाकेका, मैले त यो पनि पो बिर्सेछु ! साथमा लगेको जालीझोला फुकाएँ र आलुको मोल गरेँ । मेरो के जान्थ्यो, झोलामा अटुञ्जेल आलु बोकेर फर्किएँ ! कार्यालयमा पुग्नै नपाई सबै जना हाँसे । म त जिल्ल परेँ । उनीहरुले भने बमोजिम नै मैले सामान ल्याएको थिएँ पालैपालो हातमा झुण्ड्याएर । झोलाको डाम बसेर हत्केला राता न राता भएका थिए । उनीहरुले “धत् उल्लु ! आलुचप लेऊ भनेको, कताको आलु बोकेर आएको ? अघि नै कुरा बुझेर जानु पर्दैन ?” भनेर आलुको झोला भित्र हुले । कर्मचारीहरुको संयुक्त भान्सा थियो, तरकारी बनाउन आलु चाहिएको पनि हुँदो हो । सबै जना हाँसेपछि साँच्चै उल्लु भएछु भन्ने लाग्यो नीलोकालो भएँ । मजाले पाकेर राताराता भएका आलुचप खान मुख मिठ्याएर बसेकाहरु जिल्ल परे । दाजुले आँखा तर्नुभो । लगत्तै अरु रुपैयाँ दिएर फेरि मैलाई मिठाई पसल पठाए । 

गोविन्द दाइ मलाई लिएर हिँड्थे । एकदिन उनी कतै गएकाले म एक्लै थिएँ । इटहरीका लागि म नौलो मान्छे, मेरो जाने ठाउँ नै थिएन । पहाडबाट झरेको सोझो केटो, हरि ढुङ्गाना दाइसँग गफ गरेर कार्यालय अगाडिको ढाटमा बसेको थिएँ । पूर्वबाट माथिसम्म बारेको दुइटा ठूला ट्रक आएर रोकिए । ट्रकबाट केही बलिया मान्छे पनि उत्रिए र ढाट खोल्न हरि दाइलाई भने । बन्द ढाट खोल्न उनीहरुले निकै जोर गरे । लठ्याङ्ग्रो बोली भएका सोझा हरि ढुङ्गाना दाइले ढाटको डोरी समाएर बसे, तर रसिद नकाटी ढाट खोल्न मरेकाटे मानेनन् । ढुङ्गाना दाइ पियन थिए कार्यालयका । उनको सोझोपनसँग ती बलिया मान्छे पनि गले । उनीहरु हाकिम भए ठाउँमा गएर हाकिम हो अथवा अरु खरिदारलाई लिएर आए । म ट्रकछेउमा उभिएको थिएँ । उभिँदा मधौरुले हँ हँ गरेको जस्तो आवाज कताकताबाट सुनिन्थ्यो । कतै झिँगा भुनभुनाए जस्तो सुनिन्थ्यो । भूइँमा थोरथोरै पानी चुहेको थियो ट्रकबाट । लोड गरिएका ट्रक र बलिया मान्छे उस्तै लाग्थे मलाई । लगत्तै हाकिम हो अथवा खरिदार हो, आएर ढाट खोल्न लगाए । ढाट खोल्नासाथ ती ट्रक बेगले पश्चिमतिर हान्निए । अचम्म पनि लाग्यो, अरु गाडी कर नतिरी जानै नपाउने अवस्थामा ती दुई थान ट्रकले दादागिरी देखाएर गए । ढुङ्गाना दाइलाई भित्रबाट आउने मानिसले यस्ता गाडी अरु आए भने छोडिदिनू भने । ती मानिसले मलाई पनि यताउति नबस्नू भने । आँखिरी मेरो पनि कुनै काम थिएन, गएँ । 

इटहरी ! तिम्रो नगरीमा २८ सालमा आउँदाको कुरा गरेको हूँ ! त्यतिबेला म पहाडबाट धानको भात खाएर बस्न मात्र आएको थिइनँ, न आलुचप, गुलगुल र मालपुवा खान भनेर आएको थिएँ ! इटहरी चोकमा बसेर गाडी गन्न पनि त आएको थिइनँ, न सित्तैमा मोटर चढेर पश्चिमउत्तरका बजार घुम्न आएको थिएँ ! म त मैले पढेको माम्खा हाईस्कुलमा महिनैपिच्छे फिस तिर्न नसकेर मधेसमा जागिरे दाजुलाई भात पकाएर सहयोग गर्दै पढ्न पो आएको थिएँ ! 

अँ त, कार्यालयका मानिसले मलाई यताउति नबस्नू भनेपछि म पनि ढाटछेउमा आइनँ । पश्चिम–उत्तर र दक्षिणका ढाटसँग मेरो सरोकार पनि थिएन । किनभने तिनीहरुले हरिको भाइ भनेर चिन्दैनथे । चिने पनि वास्ता गर्दैनथे । फेरि गोविन्द दाइले मलाई एक्लै पनि त छोड्दैनथे, कतै न कतै घुमाइरहन्थे । कहिलेकाहीँ घरमा लगेर खाजा पनि ख्वाउँथे । ती ट्रक गएको दुईचार दिनपछि गाइँगुइँ चल्यो । झोडामा गोली चलेछ र थुप्रै मानिस पनि मरेछन् । घाइतेहरु त कति हो कति ! मैले झोडाको शाब्दिक अर्थ पनि बुझिसकेको थिइनँ । गोली चलेको झोडा त पहाडबाट तराई झरेका र विदेशबाट फर्किएका नेपाली लाहुरेहरु मिलेर गाँसबासको लागि बसोबास गर्न मधेसका जङ्गल फाँडेर बनाइएको बस्ती पो रहेछ । यसअघि नै सरकारले आफुखुसी तराईका कुनै निश्चित ठाउँको जङ्गल फँडानी गरेर बसोबास गराएकाले अरुले पनि सिकेछन् र जङ्गल फाँडेर बस्ती बसाउन खोजेका रहेछन् । मैले देखेका दुइटा ट्रकभित्र त मरेका र गम्भीर घाइते मानिसहरु पो राखिएको रहेछ ! ट्रकबाट चुहिएको पानी नभएर पिसाब रहेछ ! नयाँ राजा आउनेबित्तिकै झोडामा थुपै्र मान्छे मारिए ! अलिअलि खासखुस सुनेँ । त्यस्ता ट्रकहरु अरु पनि थिए रे ! कति मरे कति घाइते भए कुनै लेखो भएन रे ! अनि घाइते र मरेका सबैलाई एउटै ट्रकमा हालेर पश्चिम लगेका रे ! गोविन्द दाइले त मजाले सुनेका थिए । पश्चिम कुन ठाउँ होला, मलाई के थाहा ? गोविन्द दाइले भनेको त्यो पश्चिम त सप्तकोशी पो रहेछ !

दिनहरु बित्नु भनेको आफ्नो उमेरको आयु घट्नु रहेछ । इटहरी बसुञ्जेल आयु घटाउनुबाहेक केही भएन उपलब्धि । दाजुभाइ यतै बस्ने, मैले भात पकाउने र पढ्ने, दाजुले निर्धक्क भएर जागिर खाने, दुवैजनालाई राम्रो ! मेरा योजना यिनै थिए पहाडबाट झर्दा । दाजुले त मलाई केही भन्नै सक्नु भएन, तर गोविन्द दाइले मलाई सम्झाए, “बद्री ! झोडामा गोली चलेर धेरै मान्छे पनि मरे, नयाँ राजा आएका छन्, यतातिर शान्ति होला जस्तो छैन, तिमी पहाड जाऊ ।” म खङ्रङ्ग भएँ । लडाईं–झगडाको कुराले मेरो मन पनि यता बस्न मानेन । पछिपछि त नेपाल बैङ्कछेउमा नरनाथ नेपालका ढिपीले बैना मारेको तीनचार कठ्ठा जग्गा पनि दाजुले लिन मान्नु भएनछ र बैना फिर्ता लिनु भएछ । कर्मचारीहरुले बरु सुन किनेर राख् न यस्तो स्याल कराउने ठाउँमा के को जग्गा किन्न खोजेको भनेर उल्याएछन् । चैत लाग्दै गर्दा पहिरेका मितबुबासँग यता बसेर पढ्ने सपनाको कुम्लो बोकेर निन्याउरो अनुहार लिएर फेरि माम्खा फर्किएँ । मेरो पढाइ पोहोर र अहिलेका घटनाले कचेल्टियो, माम्खामा गएर पढ्नै मन दिइनँ । 
कठै ! रहर मरेपछि त जाँगर पनि ठिँगुरिँदो रहेछ ! 

इटहरी ! पहाडबाट लिएर आएका सपना उतै फर्काएर जाँदा मलाई हुनसम्म दुःख लागेको थियो । मैले आफ्ना सपना फर्काएर लैजाँदा तिमीले कठै पनि भनेनौ ! मायाका दुई शब्द पनि मुखबाट निकालेनौ । आलु र आलुचप नबुझेर जिल्लिँदा पनि हाँसेरै बस्यौ । हुन त सरकारी बन्दुकले झोडामा गोली हानेर त्यतिका मानिस घाइते हुँदा र मृत्यु हुँदा थाहा नपाए झैं गर्ने तिमीबाट, सपना फर्काएर लैजाने मलाई सहानुभूति दिन्छौ भन्ने सोच्नु मेरो आलोकाँचो बुद्धिबाहेक अरु केही पनि थिएन । तैपनि म निकै दुःखी भएर फर्केको चाहिँ सत्य हो । हो इटहरी, आज मात्र हैन, तिमी त उहिल्यैदेखि अरुको कुनै मतलब राख्तैनथ्यौ । सवारी कर कार्यालय आउँदा तिमी तिनै सवारी गन्थ्यौ, तिनैको चियोचर्चाे गथ्र्याै, तिनै सबारीको कर असुल्थ्यौ । तर अरु ठाउँका मानिसको कुनै वास्ता नगर्ने साँच्चै मतलबी थियौ । मैले थाहा पाउँदा तिम्रो एउटै स्वार्थ थियो रुपैयाँ कमाउनु । तिमीसँग अरु गाउँठाउँका मानिसहरु साह्रै चिढिएका थिए । भन्थे– पखेस् है त, हामी पनि यहाँ घर–घडेरी किनेर कस्तो संस्कार अवलम्बन गर्नुपर्छ भन्ने इटहरीलाई सिकाइदिन्छौं !

हो त, ख्वै के भएर, मलाई पहाड बस्ने मन नै थिएन । पहाडमा न जागिर पाइन्थ्यो, न गाडी । न स्कुलमा तिर्ने फिस पाइन्थ्यो न चामलको भात ! दोस्रोपल्ट तराईबाट पहाड फर्किंदा पनि मेरा सपना मरिसकेका थिएनन्, मूर्छा परेका मात्र थिए । सपना मूर्छा परे पनि इटहरी, तिमीलाई सम्झिरहन्थेँ ! पहाडमै हुँदा सुनेँ, सवारी कर कार्यालय पनि तिमीलाई शून्य बनाएर गाउँतिर सरेछ । तिमीसँग निकै झोँक चलेको पनि हो । तर अर्काेपल्ट जब पहाडबाट तराई झरेँ, तिमीलाई नछोई त कतै पनि पो पुगिँदो रहेनछ  !

इटहरी ! तिमीसँग इखिएकाहरु पछि यही ठाउँमा आएर बस्ने भन्थे । मेरा लागि समेत सहानुभूति नराख्ने तिमीलाई सबक सिकाउन मानवीय समवेदना कस्तो हुन्छ देखाइदिने भन्थे । झोडामा सरकारी गोली खाएर मरेका र धुकधुकी रहेकाहरुलाई तिमीले समवेदना र सहनुभूति नदिएको झोँकमा मानवीय समवेदनाले भरिएको नगर बनाइदिने भन्थे । पछिपछि सुनेँ, तिमीलाई सबक सिकाउन इटहरीमै थर्पु हालेर बस्ने भनेर बसाइ सरी आएका थुपै्रथुपै्र मानिसहरु पनि तिमी जस्तै कसैको मतलब नराख्ने, तिमीभन्दा पनि निष्ठुरी पो भएछन् ! 

हो, म पनि तिमी र तिम्रो नगरमा आएकाहरुको मन इँटा जस्तै जड देख्थेँ । सायद इँटा जस्तै जड मुटु भएकाले पो तिम्रो नाम इटहरी रहेको हो कि जस्तो पनि लाग्थ्यो । तिमी र उनीहरुलाई देखेर मनमनै प्रतिज्ञा गर्थें– जीवनको कुनै समय इटहरी आएछु भने इँटाजस्तो इटहरीको जड मन पगालिदिन्छु र देखाइदिन्छु, मन भनेको यति कोमल हुनुपर्छ बुझ्यौ ?

सौभाग्य भनौं कि दुर्भाग्य, समयक्रमसँगै चार दशकपछि म पनि तिम्रै नगरीमा आइपुगेको छु । ओ इटहरी ! तिमी मजस्तै भयौ कि, म चाहिँ तिमी जस्तै भएँ !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC