ओ हेनरी
भित्तामा झुण्डिएको तरबारलाई कप्तानले उदाश नजरले हेरेको थियो । छेउको दराजमा उसको मैलिँदै गएको वर्दी थियो–मौसम र सेवाका कारण दाग लागेको र च्यातिएको । उसलाई लाग्छ, युद्धको चेतावनीको सङ्केतपछि कयौं वर्ष बित्यो ।
देशमा देखिएको सङ्कटकालमा आफ्नो योग्यताको प्रमाण प्रस्तुत गर्ने अनुभवी कप्तान आकर्षक आँखा भएकी र मुस्कुराइरहेकी एउटी सुन्दरीका सामु सम्पूर्ण समर्पणभावमा पुगेको थियो । ऊ आफ्नो शान्त कोठामा बसिरहेको थियो र उसको हातमा तिनै युवतीको पत्र थियो । पत्र उसको हातमा भर्खरै मात्र परेको थियो र त्यसले उसको अनुहारमा उदाशी भरिदिएको थियो । उसले त्यो पत्र एकपटक फेरि पढ्न थाल्यो ।
‘तपाईंले मलाई बडो आदरपूर्वक आफ्नी पत्नी बन्न गरेको अनुरोध अस्वीकार गर्दैगर्दा मलाई महसुस भएको छ कि, मैले सबै कुरा खुल्ला दिलले गर्नुपर्छ । यो अस्वीकारबारे मेरो नजरमा जुन कारण छ, त्यो हो हामीबीच रहेको उमेरगत ठूलो फरक । म तपाईंलाई खुबै मन पराउँछु । तर मलाई पूरा विश्वास छ, हाम्रो विवाह सफल हुने छैन । यो कुरा लेखिरहँदा मलाई एकदम अफसोच लागिरहेको छ । तर मलाई विश्वास छ, विवाह नहुनुको सत्य कारण बताउने मेरो इमानदारीलाई तपाईं जरुर सम्मान गर्नुहुनेछ ।’
कप्तानले लामो स्वास तान्दै टाउको हातमा झुकाए । सत्य हो, युवती र उनको उमेरमा ठूलो फरक छ । तर ऊ शक्तिशाली र कठोर पनि छ । उसको ठूलो इज्जत छ । ऊसँग धन पनि छ । के उसको प्रेम, हेरचाह र
उसको क्षमताले त्यो उमेरलाई भुलाउन सक्दैन ? र उसलाई यो पनि पक्का थाहा थियो कि, युवतीले उसको हेरविचार राम्ररी गर्थिन् ।
दुई घण्टापछि ऊ जिन्दगीको सबैभन्दा ठूलो सङ्घर्षका निम्ति तयार थियो । उसले टेनिसीको दक्षिणी प्राचीन नगर जाने गाडी समात्यो । ऊ त्यहीँ बस्थ्यो ।
जब कप्तान त्यो पुरानो हवेलीको ढोकाबाट भित्र पस्दै अगाडि बढ्यो, तब थियोडोरा डेमिङ सिँढीमा बसेर गर्मीयामको सुन्दर साँझको आनन्द लिइरहेकी थिइन् । उनी कप्तानसँग यस्तो मुस्कानसहित अगाडि आइन्, जसमा कुनै पनि प्रकारको पीडा लुकेको थिएन ।
‘‘तपाईं आउनु हुन्छ भन्ने मलाई विश्वास थिएन,’’ थियोडोराले भनिन्, ‘‘तर अब तपाईं आइसक्नु नै भएको छ भने आउनोस् मसँगै बस्नोस् । तपाईंले मेरो पत्र पाउनु भएन ?’’
‘‘पाएँ,’’ कप्तान बोल्यो ।
‘‘अब त्यसको कुनै मतलब रहेन । म तपाईंलाई एकदम मन पराउँछु, तर विवाहबारे कुरा मिलेन । मेरो र तपाईंको उमेर...तर अब फेरि मलाई बोल्न नलगाउनोस्– मैले पत्रमा सबै कुरा लेखिसकेको छु ।’’
कप्तानको मुख रातो भयो । केहीबेर ऊ चुपचाप बस्यो र धूमिल साँझलाई घुर्न थाल्यो । सत्य हो, भाग्य र कालपिताले उसका साथ ठूलो बदला लिएको थियो । ऊ र उसको खुसीलाई मात्र केही वर्षले अड्काइदिएको थियो ।
थियोडोराको हात तलतिर झर्यो र कप्तानको हातमा गएर फँस्यो । आखिर उसलाई त्यो प्रेमसँग सम्बद्ध हुन पुगेको अनुभूति हुन पुग्यो ।
‘‘यो कुरालाई यति धेरै गम्भीरताका साथ नलिनुस्,’’ उनी विनम्र आवाजमा बोलिन्, ‘‘जे भइरहेको छ, त्यो राम्रो हुनका लागि भइरहेको छ । मैले यसबारे ठूलै तर्कवितर्क गरेँ । एकदिन तपाईंलाई पनि महसुस हुनेछ कि, मैले तपाईंसँग विवाह नगरेर राम्रै काम गरेछु । केहीबेरका निम्ति यो विवाह उचित महसुस हुन सक्ला, तर सोच्नोस् त– केही वर्षपछि हाम्रा रुचिहरुमा कत्ति भिन्नता आउलान् । हामीमध्ये कोही एकलाई घरमा बसेर केही पढ्न मन लाग्ला– साँझमा हुने थकानको औषधि गर्न मन लाग्ला अर्कोलाई चाहिँ नाचगान वा राति ढिलासम्म चल्ने पार्टीमा सहभागी हुन मन लाग्ला । हुन सक्छ मेरा प्रिय मित्र, यो जनवरी वा मे महिनामा नहोला, तर यो अक्टुबर र जुनको आरम्भमा त अवश्य हुन सक्नेछ ।’’
‘‘म सधैं त्यही गर्न चाहन्छु थियो, जुन तिमी चाहन्छौ...।’’
‘‘तपाईं त्यसो गर्नु हुने छैन । तपाईं आफूले त्यसो गर्ने सोच्नु हुन्छ भने पनि गर्न सक्नु हुन्न । कृपया दोहोर्यार अब मलाई त्यसो नभन्नु होला ।’’
कप्तान हारिसकेको थियो । उसले उत्तरतर्फ जाने गाडी सोही रात समात्यो । अघिल्लो दिन ऊ आफ्नो कोठामा पुगिसकेको थियो । ऊ रातको भोजनका लागि आफ्नो कपडा फेरिरहेको थियो, घाँटीमा सेतो टाई बाँधेको थियो उसले । त्यही साँझ ऊ एक उदास भाषणमा लिन थियो :
‘आफनो शीरको कसम, लाग्छ थियो ठीक भनिरहेकी थिइनन् । कोही पनि मानिस यो कुरालाई अस्वीकार गर्न सक्दैन कि ऊ आफू अधिक सुन्दर र यौवनामत्त छ । तर खुल्ला मनले मैले हिसाब गर्ने हो भने उनी पनि २८ भन्दा कम त छैनन् होला नि !’
र कप्तानलाई आफू १९ वर्षको हुँदा केही थाहा थियो । उसले आफ्नो तरबार निकाल्ने जरुरत कहिल्यै परेन, तर एक पटक चाटानुगाको परेड ग्राउन्डमा उसले निकालेको थियो । ऊ सम्झन्छ, स्पेनिस–अमेरिकी युद्धमा सामेल हुनु आफ्नो अन्तिम सीमा थियो ।
(प्रसिद्ध आख्यानकार ओ हेनरीको जन्म सन् १८६२ मा अमेरिकामा भएको थियो भने निधन १९१० मा भयो । उनका ‘द गिफ्ट अफ द म्यागी’, द कप एन्ड द एन्थम’लगायतका कृति विश्वप्रसिद्ध छन् ।)