ईश्वर
निकै ठूलो खल्ती भएको कोट लगाएर
ईश्वर मेरो सामु आएका थिए,
मेरी आमा, मेरा बाबु,
मेरा बच्चा तथा मेरी पत्नीलाई
खेलौना जसरी,
खल्तीमा हालेर ती गए
र भने,
निकै ठूलो संसार छ
तिम्रो मन बहलाउनका लागि ।
मैले सुनेको छु,
उनले कतै खोलेका छन्,
खेलौनाको पसल,
अभागीसँग
कति थोरै पुँजी रहेछ
रोजगारी चलाउनका लागि !
० ० ०
जरा
जरा कति गहिरो छ
अनुमान गर्छौ कसरी ?
फूलबाट ?
फलबाट ?
छायाँबाट ?
त्यो थाहा त यसैबाट हुन्छ कि
आकाशको कति
उचाई हामीले नापेका छौं,
धरतीमा कति टाढासम्म
हात फैलाएको छ ।
जलहीन, सुक्खा, ढुङ्गैढुङ्गायुक्त
जमिनमा उभिएर पनि
जो हरियो छ
त्यसैको जरा गहिरो छ
त्यही नै सर्वाधिक प्रेमले भरिएको छ ।
(सर्वेश्वर दयाल सक्सेन भारतका प्रसिद्ध कवि हुन् । उत्तर प्रदेशमा सन् १९२७ मा जन्मिएका उनको निधन १९८३ मा भयो । उनका ‘खुँटियोँ पर टँगे लोग’, ‘गर्म हवाएँ’, ‘एक सुनी नाव’, ‘कुआनो नदी’लगायतका कवितासङ्ग्रह प्रकाशित छन् । साहित्य अकादमी पुरस्कारसमेत उनले थुप्रै प्रतिष्ठित पुरस्कार पाएका छन् ।)