site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 चाक्सीबारीको नजरबन्द

पञ्चायती व्यवस्था गतिहीनता तथा भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको थियो तर पनि पञ्चायतका पक्षधरहरू व्यक्तिगत फाइदाका लागि प्रजातान्त्रिक शक्तिलाई जसरी पनि दबाएरै राख्ने काममा सशक्त ढंगले लागेका थिए । अर्कोतिर, देशको लोकतान्त्रिक शक्तिको प्रतिनिधि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता कुनै पनि हालतमा नेपालमा जनताको अधिकार बहाल गर्ने र देशमा पुनः प्रजातान्त्रिक व्यवस्था कायम गर्ने स्पष्ट धारणासहित सशक्त विद्रोह गर्ने मानसिकतामा अघि बढ्दै थिए । यस्तो समयमा नेपाली कांग्रेसले लिएको हरेक कदममा जनताको अत्यधिक चासो र साथ थियो । त्यसैले २०४६ सालको नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार बनेको थियो । सो राष्ट्रिय सम्मेलन माघ ५ देखि ७ गतेसम्म गणेशमानजीको निवासस्थान ठमेलको चाक्सीबारीमा सम्पन्न भएको थियो । सोही घरकी कान्छी बुहारीका रुपमा मेरो व्यस्तता तथा संलग्नता पनि उत्तिकै थियो । नेपाली कांग्रेसकी एक कार्यकर्ताको रुपमा समर्पित र सिंह परिवारको सदस्य भएकीले मेरो उत्साह बेग्लै थियो । 

सो राष्ट्रिय सम्मेलनको सबैभन्दा ठूलो विशेषता के थियो भने भारतीय राजनीतिका चर्चित नेताहरू आफैँ उपस्थित भएर नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलनमा समर्थन जनाएका थिए । उक्त सम्मेलनमा भारतका नेता चन्द्र शेखर (जो पछि भारतका प्रधानमन्त्री पनि भए), सुरजीत सिंह, शरद यादव, डीपी त्रिपाठी तथा भारतका बुद्धिजीवी सुब्रमण्यम स्वामी, विख्यात पत्रकार एमजे अकबर स्वयं उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए । नेपालभित्रका पनि अन्य पार्टीका नेताहरूको सो समारोहमा निकै सशक्त उपस्थिती थियो । मनमोहन अधिकारी, सहाना प्रधान, विष्णु मानन्धरजस्ता नेताहरूले समारोहलाई सम्बोधन गर्नुभएको थियो । सो राष्ट्रिय सम्मेलनको सबैभन्दा ठूलो ऐतिहासिक निर्णय फागुन ७ गतेबाट शान्तिपूर्ण राष्ट्रव्यापी आन्दोलन सुरुगर्ने अठोट थियो । 

माघ ८ गते विदेशी पाहुनाको सम्मानमा नेपालका बुद्धिजीवी र लोकतन्त्रका पक्षधर मानवअधिकारवादी समूहले रात्रीभोजको आयोजना गरेको थियो । मलाई दमननाथ ढुंगाना दाइले व्यक्तिगतरुपमै तिमीपनि डिनरमा आउनु है भनेर बोलाउनु भएको थियो । सो रात्रीभोजमा बुवा गणेशमान सिंह, आमा मंगलादेवीलगायत सपरिवार सामेल भयौँ । तर, रात्रीभोज सकाएर घरमा छिर्न पनि नपाउँदै एक प्रकारको तनाव सुरु भइहाल्यो । कसैले मार्शल जुलुम शाक्य दाइलाई पञ्चायती सरकारले प्रहरी पठाएर घरबाटै पक्राउ ग¥यो भन्ने खबर सुनायो । यो समाचार सुन्नेबित्तिकै रात्रीभोजको सम्पूर्ण आनन्द छिनभरमै बिलायो । मेरा पति प्रकाशमान सिंह र पीएल दाइले रातिनै घर छाडनु भयो र भूमिगत हुनुभयो । प्रकाशमान त्यति बेला नेपाली कांग्रेसका जिल्ला सभापति र उपत्यकामा आन्दोलन सञ्चालन गर्न गठित ‘एक्सन कमिटी’का सदस्य हुनुहुन्थ्यो । त्यसो त हामी कुनै पनि बेला सरकारले हामीमाथि कारवाही चाल्छ भन्नेमा तयार नै थियौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

फागुन ४ गते बिहान जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरिक्षक (डिएसपी)  पक्राउ पुर्जी लिएर आए । उनीहरूले गणेशमान बा र मंगलादेवी आमालाई ‘‘अब तपाइँहरू घरबाट कहीँ निस्कन पाउनुहुन्न र कोही बाहिरका मान्छेले पनि तपाईँहरूलाई भेट्न पाउने छैनन्’’ भनेर सुनाए । अर्थात्, उहाँहरूलाई नजरबन्दमा राखियो । घरभित्र, बाहिर सबैतिर प्रहरी जवान बन्दुक लिएर तैनाथ भए । यतातिर प्रहरीको सक्रियता देखेर म भने बिहे भएर आआनो घरमा रहनुभएका दिदीबहिनीलाई यो खबर गर्छु भनेर खुसुक्क फोन भएको कोठामा छिरेँ । त्यसबेला मोबाइल थिएन । घरमा दुईवटा ल्यान्ड लाइन थियो । फोन उठाएर हेरेको त दुवैवटा लाइन काटिसकेका रहेछन् । दिदी बहिनीलाई बा नजरबन्दमा परेको खबर सुनाउन नपाएर हो वा उहाँहरूको आड र भरोसा लिन नपाएर हो नमज्जा लाग्यो । तर, यो नजरबन्दीको समाचार सर्वत्र फैलिसकेको रहेछ । उहाँहरू बालाई भेट्न आउनु पनि भएको रहेछ तर घरभित्र सुरक्षाकर्मीले प्रवेश गर्न दिएनछन् । त्यसबेला उहाँहरूकी कान्छी छोरी डा. मिता सिंह नेपालगन्ज अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । 

घरमा बा र आमामात्र नजरबन्द परेको होइन । त्यस घरमा बस्ने हामी सबैलाई पनि घरमा बस्ने भए नजरबन्दमा बस्नुपर्ने उर्दी सुनाइयो । घरमा नबस्नेहरूलाई बाहिर जान लगाए । बालाई भेट्न यसै पनि धेरै मान्छे आइरहन्थे, सबैलाई घरबाहिर निकालियो । मेरी बहिनी गुनु त्यसबेला हामीलाई भेट्न चाक्सीबारी आएकी थिई । उसलाई यही घरमा बसेर पढ्दै गरेकी भनेर सँगै राखेँ । परिवारबाहेक घरमै बस्नेमा श्रीपतिदाश जोशी दाइ हुनुभयो । वास्तवमा श्रीपति दाई त्यसैदिन बालाई भेट्न आउनु भएको थियो । वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर गणेशमान बा र मंगलादेवी आमालाई जेलमा राखेको अवस्थामा उहाँले बच्चाबच्ची सबैको हेरदेख गर्नुभएको थियो । सबैलाई खाना पकाएर खुवाउने सुख, दुःखका साथी हुनुहुन्थ्यो । उहाँलाई पनि यही घरको मान्छे भनेर हामीले सँगै राख्यौँ । 

Global Ime bank

त्यसपछिका दिनहरूमा सुरक्षा निकायले हामीलाई सम्पूर्ण सूचना र बाहिरी सम्पर्कबाट विच्छेद गराए । अहिलेको अवस्थामा भन्दा सिंह परिवारलाई सम्पूर्णरुपमा लकडाउनमा राखे । मलाई भने घर बाहिर गएर हाम्रो अवस्थाको बारेमा संसारलाई बताउन अत्यन्त हुटहुटी भइराखेको थियो । त्यसबेला मेरो छोरा (प्रभास) अठार महिनाको थियो । त्यही छोरालाई दूध र बा, आमालाई औषधि किन्न जानुपर्‍यो भनेर म बाहिर निस्कन प्रयत्न गरिरहन्थेँ । आफू पनि विद्यार्थी कालको सक्रिय कार्यकर्ता भएको कारणले कुनै प्रहरीसँग दाजुभाइको जस्तो व्यवहार गरेर र कसैसँग वादविवाद गरेर भए पनि बाहिर निस्कने कोसिसमा हुन्थेँ । उनीहरू किनेर ल्याउनुपर्ने सामानको सूची दिनुस् भन्थे, म भने सबैथोक पारिवारिक डाक्टर पुष्कर सत्याललाई नसोधी हुँदैन भनेर अड्डी कस्थेँ ।

तर, जति कोुिस गर्दा पनि मलाई घरबाट निस्कन करिब दुई साता लाग्यो । अन्ततः महिला प्रहरीको साथमा घरबाट निस्कने अनुमति पाएँ । यसरी निस्कन पाएपछि औषधि किन्न गएको समयमा शौचालय जाने बहानामा चिने जानेको नातेदार, इष्टमित्रको घरमा गएर पीएल सिंह, माथवरसिंह बस्नेत दाइहरू, त्यस्तै त्यसबेलाका चर्चित पत्रकार बीबीसीका नेपाल प्रतिनिधि केदारमान सिंह र एपीका विनय गुरुवाचार्य दाइहरूलाई फोन गरेर बाले बोलेका कुराहरू सुनाउँथे र उहाँहरूको कुरा पनि घरमा गएर बालाई सुनाउँथे । त्यस्तै कुरा गरेको आधारमा समय मिलाएर बालाई घर बाहिर बस्न वा घर वरिपरि घुम्न लगाउँथे, र राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाकर्मीलाई उहाँको फोटो खिच्नका लागि नजिकको घरमा बस्नका लागि अनुरोध गर्दथेँ । त्यसबेला खिचिएका उहाँका फोटाहरू अन्तर्राष्ट्रिय मिडियामा निकै प्रकाशित भएका थिए ।

सत्ताधारीहरूले नेपाली कांग्रेस र अन्य दलका नेताहरूलाई जति धरपकड र जेलनेल गरे पनि २०४६ फागुन ७ गतेबाट सुरु गर्ने भनिएको जनआन्दोलन देशैभर सशक्त रुपमा चल्यो । सो आन्दोलनका कमान्डर र सर्वमान्य नेता भनेर कम्युनिस्ट पार्टीले समेत मानेका बा भने हरेक दिन कार्यकर्ता कहिले कहाँ, कहिले कता घाइते भए, मरे भन्ने समाचारले अलि चिन्तित देखिनुहुन्थ्यो । तर, उहाँलाई सुन्न दिइने रेडियो नेपालले भने त्यस्तो खबर केही पनि दिँदैनथ्यो । लुकिछिपी आएको समाचारको भरमा उहाँले स्थितिको अनुमान गर्नुहुन्थ्यो र सोही अनुसारको निर्देशन पनि प्रवाह गर्नुहुन्थ्यो । उता, आन्दोलन पनि सफल नहोला भन्ने पीर छँदै थियो । झन्, बीबीसीमा उक्त रेडियोका भारतीय प्रतिनिधि मार्क टलीले नेपालको आन्दोलन आंशिक रुपमा मात्र सफल भएको भन्ने टिप्पणी गरेकोले आन्दोलनको भविष्यप्रति थप चिन्ता बढेको थियो । 

चैतको दोस्रो साताको सुरुमा बा गणेशमानलाई अलि बिसन्चो भयो । हामीले पारिवारिक डाक्टर डा. पुष्कर सत्याल नै चाहिन्छ भनेर अड्डी कस्यौं । किनभने उहाँलाई बाको स्वास्थ्यको विषयमा धेरै ज्ञान थियो । अन्ततः उहाँलाई आउन दिइयो । डा. सत्याल आएपछि आमा मंगलादेवीको पनि जाँच गर्नुभयो । आमाको ब्लड प्रेसर त झन् एकदमै धेरै देखियो । उहाँ पहिलेदेखिनै प्रेसर र सुगरको बिरामी नै हुनुहुन्थ्यो । आन्दोलनको समयमा बाहिर निस्केर सक्रिय हुन नपाएकोमा पनि उहाँलाई पटक्कै चित्त बुझेको थिएन । त्यसैले पनि प्रेसर बढाएको हुनसक्छ । कान्छी छोरी डा. मिता पनि नेपालगञ्जबाट आउनुभयो । उहाँको समेत सल्लाहमा बा र आमा दुवै जनालाई अस्पतालमानै राखेर उपचार गर्ने निर्णय लिइयो । उहाँहरूलाई वीर अस्पतालमा भर्ना गरियो । अस्पतालमा डा. मिताबाहेक परिवारका सदस्यलाई समेत बन्देज थियो । मलाई बिहानको खाना लिएर पु¥याउन जाँदा भेट्न दिन्थे । बेलुकीको खानाको बन्दोबस्त दिदीबहिनीहरूले गर्नुभएको थियो । 

बा, आमा अस्पतालमा भएपछि म पनि आन्दोलनमा सहभागी हुन थालेँ । आन्दोलनले चर्को रुप लिँदै गएको थियो । यसै क्रममा पद्मकन्या कलेजमा गृहणी महिलाहरूले थाल ठटाएर आन्दोलनलाई ऐक्यबद्धता जनाउने कार्यक्रम थियो, म र नन्द डा. मिता दुवैजना सहभागी भयौँ । माइली नन्द कान्ता सिंह पहिला नै पुगिसक्नु भएको थियो । उहाँ त आन्दोलनभरी राजनीतिकरुपमा निकै सक्रिय हुनुभएको थियो । त्यहाँ प्रहरील धरपकड गर्न थाले । आन्दोलनकारीले मलाई र नन्द डा. मितालाई पद्यकन्या कलेजको पर्खाल चढाएर भगाए । मलाई बा, आमालाई खाना खुवाउनुपर्छ भनेर र नन्दलाई डाक्टरको रुपमा अस्पतालमा हेर विचार गर्नुपर्छ भनेर भगाइएको थियो । नन्द कान्तालगायत धेरै महिला नेतृलाई त्यहाँबाट प्रहरीले पक्राउ गरेर लग्यो । 

सरकारले जति प्रयत्न गरे पनि आन्दोलनको ज्वारभाटा झन् झन् उग्र हुँदैगयो । नेपाली कांग्रेसले नेतृत्व गरेको र कम्युनिस्ट पार्टीहरूको साथ रहेको यो आन्दोलनको राप र तापको अगाडि पञ्चायत गल्दै गयो । चैत्र २४ गते काठमाडौं, पाटन र भक्तपुरमा अत्यन्त उग्र प्रदर्शन भयो । त्यसबेलाका राजा वीरेन्द्र शाह पनि चैत्र २४ पछि निकै गलेको भन्ने खबर आयो । सोही दिन पञ्चायत भित्रका पनि कट्टरपन्थी पञ्च मरिचमान सिंह श्रेष्ठलाई प्रधानमन्त्रीको पदबाट मुक्त गराएर नरमपन्थी मानिने लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीको कार्यभार राजाले सुम्पिए । 

चन्दको नेतृत्वको सरकारले गणेशमानजीसँग वार्ता गर्‍यो । प्रधानमन्त्री चन्द स्वयं पशुपति शमशेर जबरासँग राजाको सन्देश लिएर वीर अस्पताल आए । त्यसबेला बाले स्पष्ट शब्दमा जबसम्म राजनीतिक दलमाथि लागेको प्रतिबन्ध हट्दैन तबसम्म कुनै पनि प्रकारको वार्ता हुँदैन भन्ने अडान राख्नुभयो । चैत्र २५ मा आन्दोलन अझ सशक्त भयो । चैत्र २६ गते दरबारबाट गणेशमानजीले भनेको सर्त मान्ने सन्देश आयो । त्यसपछि नेपाली कांग्रेस र वाममोर्चाका तर्फबाट कृष्णप्रसाद भट्टराई, सहाना प्रधान, गिरिजा प्रसाद कोइराला र राधाकृष्ण मैनालीलाई राजासँग भेट्न दरबार पठाइयो । 

चैत्र २६ गते राति ११ः५० मा राजा वीरेन्द्रबाट राजनीतिक दलमाथि लागेको प्रतिबन्ध हटेको र बहुदलीय व्यवस्था लागू भएको घोषणा भयो । सो घोषणापश्चात राजाबाट २०४६ सालको आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहलाई प्रधानमन्त्रीको पद स्वीकार्न अनुरोध भयो । तर बाले आफ्नो स्वास्थ्यका कारण देखाई सो पद अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीका लागि योग्य भएको बताउनुभयो । उहाँले आफूले पदका लागि राजनीति नगरेको र नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन राजनीति गरेको पनि स्पष्ट पार्नुभयो । 

यो लेख उक्त ऐतिहासिक घटनाको ३० वर्षपछि लेखिएर प्रकाशित हुँदैछ । त्यसबेलाका शीर्षस्थ व्यक्तिमध्ये धेरैजना अहिले यो संसारमा हुनुहुन्न । त्यसबेला  चैत्र २७ का दिन बृहत् ¥याली भयो, प्रजातन्त्रको पुनस्र्थापनाको खुसीमा र सँगसँगै गणेशमान सिंहको त्याग र तपस्याको सम्मानमा पनि । त्यस्ता नेताको बुहारीको रुपमा अझै राजनीतिलाई नजिकबाट नियाली रहेकी म भने त्याग र समर्पणको भाव हाम्रो नेतृत्व गणमा क्षय हुँदै गएकोमा चिन्तित छु । आशा छ, अबको समयमा गणेशमान सिंहको योगदान र व्यक्तित्वबाट नयाँ पुस्ताले केही सिक्नेछ ।

(नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह सर्वमान्य नेता गणेशमान सिंहकी कान्छी बुहारी हुन् ।)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC