site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
जीन्दगी भोगाइको दुःखद आश्चर्य 

जीन्दगी भोगाइमा सबैको समान अनुभूति हँुदैन तर यस्तो पनि कुनै समय आउँदो रहेछ जब सबैको अनुभूति समानजस्ता लाग्छन् । आश्चर्यको अनुभूति र दुःखसुखसँग साक्षात्कार सबैको आआफ्नै प्रकारको हुन्छ । सुखद आश्चर्य र दुःखद आश्चर्य सबै मिल्दोरहेछ जिन्दगीमा । तिनको अनुभूतिको प्रकार भने परिवेशले पनि निर्धारण गर्छ कि ? अहिले बन्दाबन्दीमा गृहबन्दी भएर बस्दा समयको छेउकुनामा यस्तै कुरा खेल्छन् । घाउमा नुनचुक सरकारी कृत्यले थप्दो रहेछ । 

कोरोनाभाइरस (कोभिड १९) को महामारीले विश्व नै बन्दाबन्दीमा परेको छ । हजारौंको जीवन अदृश्य भाइरसले लिएको छ । लाखौँ मान्छे जीवनको प्रतीक्षामा अस्पतालको ओछ्यानमा छट्पटाई रहेछन् । नेपाल पनि घेरिँदैछ, भयभीत छ । पहिलो दुःखद आश्चर्य कोरोनाभाइरस हो । विज्ञानको यति भव्य विकासले पनि त्यसको पूर्वानुमान गर्न त सकेन नै अहिले उपचार पनि नचिन्ने र नभ्याउने अशक्त अवस्थामा देखिएको छ । विज्ञान हारेको छ भने ज्ञान र ज्यान दुवै निरीह साबित छन् ।  

विश्व नै ‘फेस’ गर्दैछ । जो बेलैमा सचेत वा कर्तव्यनिष्ठ भए तिनले समस्यालाई नियन्त्रण गरेका छन् । दक्षिण कोरिया, भियतनाम र हाल केही सहरमा आपातकाल घोषणा गरे पनि जापानलगायत केही देश कोरोनाभाइरसको महामारी आफ्ना मुलुकमा फैलिन नदिन सफल मानिएका छन् । नेपाल पनि भाइरस नियन्त्रको प्रयासमा छ । तर, यस्तो बेलामा समेत सरकारी मान्छे भ्रष्टाचारमा लिप्त पाइनु दुःखद आश्चर्यमात्रै भएन, पाशविक प्रवृत्तिको अनुभूति दिने घटना पनि भयो ।  आर्थिक अनियमितताका लागि नीतिगत भ्रष्टाचार निर्बाध छ । प्रश्न उठ्छ के यस्तो पनि सरकार हुन्छ ?

Agni Group

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार पनि नगर्ने, गर्न पनि नदिने, निर्ममतापूर्वक भ्रष्टाचारलाई रोक्ने’ वाक्य सयौंपटक सार्वजनिकरूपमा दोहोर्याएका छन् । अझै भन्दैछन् । तर, उनको दोस्रो कार्यकालको ३० महिने अवधिमा झन्डै यति नै संख्यामा भ्रष्टाचारका ठूल्ठूला काण्ड सार्वजनिक भएका छन् । पारदर्शिता र सुशासनको अभावमा साना यस्ता घटना कति भए थाहा छैन । 

सरकारी काम विधिपूर्वक, पारदर्शी र सुशासनयुक्त हुनुपर्छ भन्ने प्रधानमन्त्रीको भनाइ ललिता निवासको जग्गाकाण्डमा मुन्टो लुकाउन पुगेको छ । सेक्युरिटी प्रेस खरिद काण्डमा आर्थिक अनियमितताको आरोप लागेकालाई सुरुमै सफाइ दिएर प्रधानमन्त्री ओलीले यतिबेलाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हैसियत र औचित्य खोलिदिएका छन् । सोद्देश्य कम्युनिस्ट नेता बचाउने ललिता निवास काण्डमा पनि आयोगको अर्धपाटो छर्लङ भएकै हो ।  

Global Ime bank

स्वास्थ्यका कारण लामो ‘आइसोलेसन’मा बसेका प्रधानमन्त्रीले मौन तोडेर मंगलबार बिहान देशका नाममा बोल्ने रे भन्ने सुनेपछि धेरैले टेलिभिजन र रेडियोमा आँखा, कान लगाए । कोरोनाभाइरसले त्रसित मानिसहरु प्रधानमन्त्रीले विशेष योजना र प्रतिबद्धता घोषणा गर्ने केही आशा लिएका थिए । फोन संवादका क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको भनाइ सुन्न आफू टीभीअगाडि बसेको जनाउ दिए । थाहा पाएपछि टीभी हेर्नैपर्यो । 

शारीरिक शक्ति प्रदर्शन लाग्ने प्रधानमन्त्री ओलीको टीभी सम्बोधनले सकिनासाथै निराश बनायो । धन्यवाद दिन गमेर खोज्दा नयाँ योजना, प्रतिबद्धता र त्रसित नागरिकलाई ढाडस दिने प्रकारको केही उल्लेख्य भेटिएन । यसअघि मन्त्रालयका प्रवक्ता, सम्बद्ध मन्त्री र विभागीय कर्मचारीले दिएका फेहरिस्तको जोडजाड नै उनको प्रस्तुतिका विवरण थिए । त्यतिबेला झन् लाज लाग्यो जतिबेला प्रधानमन्त्रीले केही थान मास्क र उपचार सामग्री बाँडेको हिसाबकिताब दिन थाले । 

सबैभन्दा डरलाग्दो कुरा उनको अन्तःस्करणबाट फुत्कियो सायद् – ‘वैयक्तिक स्वतन्त्रता रोज्छौ कि जीवन ? उनले दुईमध्ये एक छान्न भने । त्रसित नागरिकलाई कोरोना भाइरसको आडमा ‘स्वतन्त्रता र जीवन सँगसँगै नरोज्न’ प्रधानमन्त्रीले धम्की दिए । कम्युनिस्ट नेताबाट अन्तःस्करणको अधिनायकवादी संस्कार व्यक्त हुनु अनौठो होइन । अनौठो चाहिँ उनले आफू प्रजातन्त्रवादी भएको दाबा गर्ने र पत्याउने हामीहरुको भरोसा नै हो । 

भाइरसले के भन्छ थाहा छैन तर प्रधानमन्त्रीले दुई साता अरु अप्ठेरा दिन छन् भने । हुनसक्छ अरु पनि । सबैलाई धन्यवाद दिने उदारता चाहीँ उनले प्रदर्शित गरेकै हुन् । आलोचनात्मक चेत र पत्रकारितालाई उनले दुत्कार्न छोडेनन् । आफ्ना मन्त्रीको भ्रष्टाचार प्रयत्नलाई छोप्ने मामलामा प्रधानमन्त्री यसपटकसमेत अगाडि आए । कोरोना भाइरसलाई पनि कमाउ धन्दा बनाउने आफ्नाहरुलाई बचाउन उनले सञ्चार माध्यमले फत्तुर लाञ्छना लगाएको र काम गर्न नदिई निरुत्साहित पारेको दाबा गरिदिए । 

यस्ता उपचार सामग्रीको क्रयविक्रय नै नगरेको अनुभवहीन निजी कम्पनीलाई महँगोमा चीनबाट खरिद गर्न किन दिइयो र पछि जिम्मेवारीबाट किन हटाउनु पर्यो भन्ने खुलासा चाहिँ प्रधानमन्त्रीले गरेनन् । अहिले त सुनिदैछ त्यही ओम्नी कम्पनीलाई फेरि घुमाइफिराइ त्यस्ता सामग्री किन्ने जोहो मिलाइँदै छ रे ! उसले काम गर्न नसकेको र महँगो गरेको आरोप लगाई धरौटी जफत र ‘ब्ल्याक लिस्टेड’ गर्ने भनिएको खबर बेवारिसे किन पारियो ?  

एकातिर सञ्चार माध्यमलाई धन्यवाद, अर्कोतिर यस्तो खतरनाक बेला पनि सरकारी ‘भ्रष्टाचारको पोल खोल्ने’ हो ? भन्दै बेमौसमी बाजा बजाउने सञ्चार माध्यमहरु सरकारलाई असफल बनाउन जुटेको टिप्पणी उनले रुखो शैलीमा गरे । सामाजिक सञ्जालमा कतै भेटिने कमजोरीलाई सबै पत्रकार र माध्यमलाई दपेट्ने मसला बनाए प्रधानमन्त्रीले । यो अर्को अधिनायकवादी प्रस्फुरण थियो उनको । 

कोरोनाभाइरसबाट नागरिकलाई सुरक्षाको अनुभूति दिने योजना र प्रतिबद्धता कतै नभेटिने प्रधानमन्त्रीको भनाइमा विश्व नै पीडित भएको कुरा बारम्बार दोहोरियो । यथार्थ भए पनि विश्वको लाचारीलाई आफ्नो असफलता लुकाउने माध्यम बनाएजस्तो सुनिन्थ्यो प्रधानमन्त्रीको भनाइमा । अहिलेसम्म आवश्यक उपचार सामग्री खरिद गर्न असफल सरकारले यो काम सेनालाई जिम्मा दिएर आफ्ना सम्बद्ध निकाय अक्षम र अविश्वसनीय भएको पुष्टि गरिसकेको छ । तैपनि प्रधानमन्त्री ढाकछोपमा उत्रिएकै पाइयो ।  

सबैभन्दा जोखिम संकेत गरेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरेर प्रधानमन्त्रीको खासै योजना आएन । ती प्रदेश र त्यहाँका स्थानीय निकायलाई पुग्ने ठोस सहयोगको कार्यक्रम पनि सुनिएन । निजी अस्पतालहरु उपचार दायित्वबाट भाग्न खोजेको  अवस्थालाई पनि सम्बोधन भएन । सामान्य ज्वरोका बिरामीलाई भर्ना र उपचार नदिएका घटना दिनदिनै सार्वजनिक भएका छन् र उपचार नपाएर मृत्युवरण गर्न पुगेका घटना पनि बाहिरिएका छन् । ती पनि असम्बोधित नै रहे । 

तराईतिरको अवस्था के छ ? प्रधानमन्त्रीले दुत्कारिएका सञ्चार माध्यमले दिएको जानकारी बाहेक संघीय सरकारको निकायबाट अहिलेसम्म खासै जानकारी आएको छैन । खुला सीमा क्षेत्रबाट भएको आउजाउले त्यहाँ जोखिम छ भन्ने अनुमान गर्न सकिन्छ । समाचारमा आएअनुसार तराई क्षेत्रका क्वारेन्टिन खाली खाली छन् रे !

भाइरस संक्रमण नभएका कारण ती खाली हुन् भने राम्रो हो । परीक्षण नपुगेर हो कि ? संक्रमण नभएकै हो ? स्पष्ट स्थितिबोध छैन । पश्चिमको सीमा क्षेत्रमा घर जान आएका नेपालीहरु कथित क्वारेन्टिनमा कोचाकोच र एउटै सिरकभित्र अटेजति सुत्नुपरेको दुःखेसो सुनिएको छ । चाहे दार्चुला, धार्चुलातिर होस् वा रुपैडियातिर ।

सरकारी तथ्यांकअनुसार बनाइएका तीस हजार अट्ने क्वारेन्टाइनमा नौ हजारभन्दा केही बढी शंकास्पदहरु बसेका छन् । घर आउन खोजेका तर सीमामा बिचल्ली परेका श्रमजीवीलाई ती खाली ठाउँमा ल्याएर बस्ने व्यवस्थातिर ध्यान दिइएको पाइएन । दुवै देशका नागरिक जो जहाँ छन् तिनलाई त्यतै बस्ने सुविधा मिलाउन नेपाल भारतबीच सहमति भएको सरकारी भनाइ छ । यस्तो सहमति अन्यत्र बसेकालाई प्रयोग हुनुपर्ने हो । घर पुग्न सीमामा आइसकेका नागरिकलाई बिचल्लीमा पार्न होइन । भारत स्वयं संक्रमणको बढ्दो घेरामा परेको छ ।             

सरकारले केही गरेन भनेको होइन केही गरेको पनि छ । यतिबेला कोरोनाभाइरसबाट बच्न, बचाउन सबै राजनीतिक दल र नागरिकको एकताबद्ध राष्ट्रिय सहयोग सरकारलाई प्राप्त छ । तर, त्यस्तो सहयोगलाई सहमतिको उच्च सहकार्यका प्रयोग गर्न सरकार चुकेको छ । यसतर्फ प्रधानमन्त्रीको भनाइले उदारता र सहयोगी सम्मिलनको भाव प्रदर्शित गरेन । यस्तो विकसित विश्वमा कोरोना दुःखद आश्चर्य लिएर आयो र सरकार त्यही दुःखान्त गीत दोहोर्याई रहेछ । 

खबर आइरहेछ, ग्रीसमा कोरोना भाइरस नस्ट गर्ने सूर्य किरणको अध्ययन यतिबेला भइरहेछ । पूर्वका पूर्वजले पनि हजारौँ वर्ष अघिबाट भन्दै आएका हुन् – सूर्य किरणमा कीट नाशक क्षमता छ । यहाँको मौसममा गर्मी चढ्दैछ । चिसा ठाउँ पनि छन् । त्यसो त चिसोमा मात्रै होइन पचास डिग्रीमाथि तापक्रम रहने अरब क्षेत्रलाई पनि भाइरसले त्रसित बनाएकै छ । यसकारण नागरिक समाज सतर्क रहनु आवश्यक देखिन्छ । 

मौसमले साथ देओस् र सूर्य भगवानभाइरस मास्न सफल होऊन् । जिन्दगी बाँच्दैगर्दा नेपालको यो पुस्ता अर्थात् हाम्रो आसपासको उमेर पुस्तासँग थुप्रै राजनीतिक उहापोह र प्राकृतिक प्रकोपलाई सामना गरेको अनुभव छ । यतिबेला कोरोना भाइरसको उपचारमा घोटाला गरेको सरकारी रबैयाको दुःखद आश्चर्यको पाटो पनि यही पुस्ता नजिकैबाट अनुभूति गर्दैछ । दोहोर्याई, तेहेर्याई घोटालाहरु सुनियो । कामना गरौँ फेरि यस्तो नदोहोरियोस् ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC