१
सुखमय जीवन प्राप्तिको महाअभियानमा
निरन्तर लड्दैभिड्दै
नवीन खोजहरूका बाबजुद,
अधैर्य र तनावग्रस्त भैरहनु पर्यो ।
जिवनको लक्ष धुमिल भैरह्यो,
जिजिविषा ज्याद्रो हुदो रहेछ,
संघर्ष गर्दै, जिवन लयमा चलिरह्यो ।
२
अस्थिरता र असुरक्षा प्रारम्भबाट नै देखिए,
विपद र नरभक्षीको कहरबाट आक्रान्त हुनु पर्यो ।
तैपनि, आफ्नै बुध्दि विवेक र क्षमताबाट
विकल्पहरू निर्माण हुँदै गए,
संकटहरू पार भए ।
३
आफ्नै सीमारेखाहरु मृत्युजाल हुँदा
विभीषिकाबाट गुज्रिनु पर्यो ।
स्वार्थ र अभिमानबाट वशिभूत हुँदा
विभेदका पर्खालहरु बने,
असहिष्णुता र विद्वेष जीवन्त रहे ।
४
समयका अनेक कालखण्डमा
जीवन यात्रा चलिरह्यो,
वहम र भ्रान्ति जस्तै
सान्त तलाउमा अनायास छालहरु आए
यदाकदा, महामारीको कहर बज्रियो,
गंभीर क्षतिबाट गुज्रिनु पर्यो ।
५
एकाबिहानै खबरले झस्काइ दियो,
अनौठो विषाणु देखा पर्यो !
उसलाई अनुकूलता प्राप्त हुँदा
जीवनरसमा विष भरिदिन्छ,
प्रतिरोधी क्षमता क्षीण गर्दै
परलोकको बाटो प्रशस्त गर्छ ।
६
विज्ञहरु भन्छन्, विषाणु जीव होइन,
तर, अनुकूलता प्राप्त गर्दा
जीवको व्यवहार गर्छ,
आफ्नो शृङ्खला जीवन्त राख्न
बोसोको लेपन धारण गर्छ ।
७
जीवित कोषहरुको सामिप्यमा आउँदा
कोष भित्र विषाणु पुग्छ
त्यहा अनुकूल वातावरण प्राप्त हुँदा
व्यापक वध्दि हुदै संक्रमण गर्छ,
आफ्नो साम्राज्य स्थापित गर्दै
महामारी सृजना गर्छ ।
८
दैनिक खबरहरुले आतंक सृजना गर्दै रहे,
संक्रमितहरूको संख्या बढ्दै गयो,
कालको मुखमा असंख्य परे,
यो के हो? कहाँबाट आयो ?
बुझ्नु अगाडि नै महामारी भयो,
महासंकट आयो ।
९
यो विचित्रको विषाणुले
धनि गरीब, उच निच भनेन
जात जाति, काला गोरा भनेन
मान्छेको बुइचढी फैलिँदै गयो,
कालो बादलले ढाक्यो ।
१०
विषाणु फणा उठाउँदै थियो,
हुनेखानेहरु,
‘इर्ष्या र घमण्ड’ले वशिभूत भै
‘यो हाम्रो समस्या होइन’ भन्दै
थपडी बजाउँदै थिए,
तर, विषाणुले सीमा काटिसकेको थियो ।
११
भूलोकमा विषाणु नपुगेको ठाउ रहेन
कोही अछुतो रहेन
निर्बल र पुगिसरी नभएकाहरु
आफ्नो सुरक्षामा लागे
तर, अभिमानीहरु, ‘मलाइ केही हुँदैन’ भन्दै
आत्मरतिमा रमाइरहे ।
१२
विवेकहीन या असमझ भएर हो कि
विषाणुको कहर नबुझेको हो !
सामर्थ्यवान्हरु संवेदनशील नहुँदा
अब के हुने हो !
व्यापक संत्रास फैलियो ।
१३
यसलाई रोक्ने न औषधि छ, नखोप छ,
बाटो छेक्न सामाजिक दूरी जरुरी छ,
र,तातोपानीले यसको बोसो पगाल्नु पर्छ ।
बलियोले निर्धोलाई हेप्ने रीत
यहाँ पनि देखियो,
खानपान र व्यवहार सुधार्नुपर्ने भयो ।
१४
किनहोला आपतको बेला आफ्नो खुट्टी नदेख्ने?
काम गर्नेलाई हियाउने र होच्याउने!
आत्मतुष्टि पूरा गर्दा, कट्टु फुस्केको थाहै नपाउने!
असंगत चिच्याहटले विषयान्तर गर्ने ।
शत्रु संघारमा आइसक्यो, घरभित्र पसिसक्यो
अझै चेत नआउने ।
१५
शत्रु कमजोर छैन, होसियार बन्नु पर्छ
सामूहिक प्रयत्नले क्षमता वृध्दि गर्नु पर्छ
धैर्य र सुविचारित कामबाट परास्त गर्नु पर्छ
इच्छा शक्ति र अनुशासन कायम राख्नु पर्छ
यो कहरको अन्त्य हुनेछ ।
प्रा.डा.भरतराज पहारी
बैदाम, पोखरा
२०७६।१२।२५