०४६ सालमा म अमेरिकामा थिएँ । आन्दोलनको दौरानमा म, मेरो श्रीमती र अरु एक दुईजना साथी मिलेर खासगरि बोस्टनमा नेपालीहरुलाई परिचालन गरेका थियौँ । कनकमणि दीक्षित न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको हेडक्वार्टरमा काम गर्नुहुन्थ्यो । राजाको घोषणा भोलि आउँदैछ भनेर उहाँले भन्नुभएपछि मैले राजाको घोषणालाई टेप गरेँ ।
नेपालमा फोन गरेर टेप गरेको थिएँ । त्यतिबेला अरु कुनै उपाय अहिलेकोजस्तो थिएन । रेडियोलाई फोनमा जोड्न भनेँ र उता टेप गरेँ राजाको सम्बोधन । अनि साथीहरुलाई त्यही टेप सुनाउनका लागि बोलाएँ । बोस्टनमा राजाको सम्बोधनको टेप सुन्न आउने साथीहरुले घर भरियो । सबै खुसी, सबै उत्साही हुनुभयो ।
त्यो वर्षको घटना हेर्दा विद्यार्थीहरु, प्रोफेसरहरु निकै नै सक्रिय भएर त्यहाँ भएको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गरेका थिए । त्यसमा बोस्टन क्षेत्रमा हामीहरुले गरिरहेका थियौँ । वासिङटन क्षेत्रमा हुनुहुन्थ्यो जयराज आचार्य । न्यूयोर्कतिर खगेन्द्र जीसीहरु सक्रिय हुनुहुन्थ्यो । त्यसले गर्दा ०४६ सालको आन्दोलन नेपालमा हुँदा अमेरिकामा रहेका नेपालीहरु पनि परिचालित थिए ।
मेरो आफ्नो व्यक्तिगत परिचय पनि भएको र पारिवारिक रुपमा पनि चिनजान भएकाले मेरो सीधा किसुनजीसँग, गणेशमानजीसँग फोनमा कुरा हुन्थ्यो । के भइरहेको छ ? हामीले के गर्नुपर्छ ? भनेर एकप्रकारले निर्देशन पनि लिन्थेँ । अनि त्यही क्रममा रोचक के भयो भने त्यतिबेला गणेशमानजीको स्वास्थ्यमा समस्या भएर ट्वाइलेटमा लामो समय बस्नुपथ्र्यो ।
उहाँ चाक्सीबारीमा निवासमा ट्वाइलेटमा बसेको बेलामा ह्यान्डसेट उहाँलाई दिएर उहाँले बोलेको कुरा ‘यो अन्तिम लडाईँ हो’, ‘वार कि पार’ भनेको कुरा मैले उहाँ टेप गरेको थिएँ ।
त्यो टेप बोस्टनमा रहेका नेपाली समुदायले हामीले खुबै प्रचारित गरेका थियौं । जनआन्दोलनसँगै सम्बन्धित अरु दुईवटा घटना महत्वपूर्ण थिए ।
०४६ सालमा भारतसँगको ‘ट्रेड ट्रान्जिट ट्रिटी’को सकिएको थियो । भारतले पुनरावलोकन गर्न मानेको थिएन । नेपाल एकप्रकारले भारतको नाकाबन्दीजस्तै स्थितिमा थियो । हामीले पहिलोपटक बोस्टन एरियाका साथीहरु सबै मिलेर संयुक्त राष्ट्रसंघको हेडक्वार्टर अगाडि जुलुस निकाल्यौँ, प्रदर्शन ग¥यौं । हामीले एउटा ज्ञापनपत्र त्यहाँ बुझाइदियौँ ।
‘ट्रेड एण्ड ट्रान्जिट’ नेपालको अधिकार हो । ‘ट्रेड एण्ड ट्रान्जिट’ हामीले पाउनुपर्छ भन्यौं । सायद, नेपालीहरु पहिलोपटक न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको अगाडि प्रदर्शन गरेको यो पहिलो घटना होला । लगत्तै नेपालमा आन्दोलन सुरु भयो । उता अमेरिकामा हामी राजाको निरंकुशताविरुद्ध, पञ्चायती व्यवस्थाविरुद्ध भएको आन्दोलनको समर्थनमा हामी फेरि वासिङ्टन डीसी गयौँ ।
बोस्टनबाट ड्राइभ गरेर जान करिब १० घण्टा लाग्छ । पहिला ‘क्यापिटल हिल’मा जम्मा भएर भाषणहरु भए । नेपालको आन्दोलनको समर्थनमा, यहाँका निरंकुशताका बारेमा अमेरिकनहरुलाई पनि ज्ञापनपत्र दिने काम गर्यौं । त्यसपछि ‘ह्वाइट हाउस’ अगाडि हामीले प्रदर्शन गर्यौँ । हामीले नेपाली दूतावास अगाडि पनि प्रदर्शन गर्यौं । अचम्मको बेला थियो त्यतीबेला । ती सबै काममा संलग्न भएका साथीहरु एकदमै सचेत जानकार भएको हुनाले जब यो चैत २६ गतेको घोषणा भयो, त्यसले सबैनै उत्साहित थिए । कारण के थियो भने, पूरै यो प्रक्रियामा सबै सहभागी थिए ।
त्यतिबेला एकदमै उत्साह, उमंगको वातावरण भएको थियो । हामीलाई त्यहाँका केही सिनेटरहरुले पनि सहयोग गरेका थिए । रोवर्ट केनेडीको जेठो छोरा जो केनेडी कंग्रेसम्यान हुनुहुन्थ्यो । उहाँकोमा हामी डेलिगेसन गएर पहिलेदेखिनै नेपालमा भइरहेको आन्दोलनका बारेमा बताइरहेका थियौं ।
उनीहरुले निकै समर्थन गरिरहेका थिए । एउटा घटना मलाई याद छ, हामीले प्रजातन्त्रका लागि भइरहेको आन्दोलनमा दमन भइरहेको छ भनेपछि उहाँले कतिजना नेपाली छौ ‘एसाइलम’ दिलाउनका लागि मैले केही गर्नुपर्छ भने भन है भन्नुभयो ।
यस्ता यस्ता घटनामा संलग्न भएकाले जब यो २६ गते आउँछ एकदमै ठुलो उपलब्धिका लाग्छ । म नेपालमा नभएकाले यहाँको आन्दोलनको फोटो देखियो । खासगरि अमेरिकामा अचम्मको परिचालन भएको थियो ।
(जगन्नाथ दुलालसँग गरेको कुराकानीका आधारमा)