सरकारले २५ जनाभन्दा धेरै भेला नहुनू, कोभिड–१९ को जोखिम बढ्छ भन्दा दयाहाङ राई पोखरा आसपासका क्षेत्रमा थिए, दीपेन्द्र लामाको चलचित्र ‘२ नम्बरी’ को छायांकनमा ।
कोरोनाको जोखिम उच्च हुँदै भएपछि सरकारले भीडभाढ हुने ठाउँ बन्द गर्नथाल्यो । डान्सबार, क्लब तथा सिनेमा हल बन्द गर्ने निर्णय गर्यो । ‘२ नम्बरी’ छायांकनरत टोली पनि काठमाडौं फर्कियो ।
चीनको वुहानबाट सुरु भएको कोरोना कहर काठमाडौंमा सुरु भयो । कोरोनाको कहर त छँदैथियो, त्यहीबेला दयाहाङलाई आफन्तको हेरचाहमा १० दिन हस्पिटलमा बस्नुपर्यो ।
हस्पिटलबाट त उनी उम्किए । तर कोभिड–१९ को कहरबाट काठमाडौं उम्किएको थिएन । पूरै देश लकडाउनमा थियो/छ । दयाहाङ पनि लकडाउनको पालनामा लागे ।
समय बिताउने विकल्प चलचित्र हेर्न र पुस्तक पढ्नु हो । तर यी दुवैमा उनको ध्यान खासै जाँदैन । “चलचित्र हेर्नुपर्यो भनेर सुरु गर्छु, तर पूरै हेर्नै सक्तिन,” उनी भन्छन्, “पुस्तक पढ्न थाल्यो मन अन्त्यै बरालिन्छ, ध्यान पुस्तकमा केन्द्रित नै भइरहेको छैन ।”
केही रचनात्मक काम गर्नुपर्यो भन्ने सोच आउँछ तर त्यसमा पनि एकत्रित हुन सकिरहेका छैनन् दयाहाङ । चलचित्र हेर्दा होस् अथवा पढ्दा ध्यान कहाँ के भयो ?, मृत्यु हुनेको संख्या कति पुग्यो ?, सीमामा रहेका नेपालीको अवस्था कस्तो छ ?, सरकारले नेपाल आउन दिन्छ कि दिँदैन ?, संक्रमित थपिए कि छैनन् ?, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ? ध्यान त्यसतर्फ जान्छ उनको । अनि फेरि अपडेट लियो, बस्यो, यसैगरी दिन बितिरहेको छ उनको ।
फाट्टफुट्ट कवितामा कलम चलाउने उनको ध्यान त्यसले पनि खिच्न सकेको छैन । केही चलचित्रका स्क्रिप्ट पनि छ उनको हातमा । ‘२ नम्बरी’ को त ७५ प्रतिशत छायांकन नै बाँकी छ । क्यारेक्टर निर्माण गर्न समय प्रशस्त छ, तर त्यसलाई पनि कोरोनाको कहरले मिच्यो ।
“समय नै ठप्प भएजस्तो लाग्छ । घडीको सुई त रोकिएको छैन तर अरू सबै कुरा रोकिएको छ,” दयाहाङ भन्छन्, “यस्तो समयमा जति क्रिएटिभ हुन्छु भन्दा पनि हुन सकिँदोरहेनछ ।”
० ० ०
विश्व ठप्प प्रायः छ । कहिले कोभिड–१९ को औषधि पत्ता लाग्ला र अवस्था सहज होला ? कसैलाई थाहा छैन । भ्याक्सिन पत्ता लगाउन पनि कम्तीमा १८ महिना लाग्ने जानकारहरूले बताइरहेका छन् । औषधि पत्ता नलागुञ्जेल यस्तै अवस्था हुने हो भने भालिको हाम्रो अवस्था के हुने ? यो प्रश्नले आजकाल दयाहाङलाई लेखेटिरहन्छ ।
दयाहाङलाई के असार केको मंसिर, चलचित्र पाए असार मंसिर नपाए चैत वैशाख । चलचित्र नै उनको दैनिकी, चलचित्र नै जीवन । तर पनि उनलाई बाली लगाउने समयमा कृषक लकडाउनमा बस्नु परेको सम्झिँदा पीडा हुन्छ । अब कृषकले बाली लगाउने समय आयो । तर कोरोनाको जोखिमले घरभित्र थन्किनु परेको छ । बिऊ चाहिन्छ, मल चाहिन्छ । त्योभन्दा पनि ठूलो कुरा अर्मपर्म गरेर खेतीबाली लगाउनुपर्छ । यसका लागी छरछिमेक आमनेसामने हुनैपर्छ । तर कोरोनाको जोखिमका कारण घरमै बस्नुपरेपछि कृषि उत्पादनमा अर्को साल कस्तो असर पर्ला र त्यसले सिर्जना गर्ने असर कस्तो होला ? यी कुरा मनमा खेलिरन्छन् । कालोबजारी कति फस्टाउला उनलाई सम्झिँदा पनि कहाली लाग्छ ।
कोरोना पछिको दैनिकी कस्तो होला ? र आम मान्छे सामान्य अवस्थामा फर्किन कति लाग्ला ? यी र यस्तै प्रश्नले उनको दिमागमा बास गरेको छ ।
“विश्वकै अर्थतन्त्र धरापमा परिसक्यो । चलचित्रको मात्रै त के कुरा रह्यो र ? मानव सभ्यता नै के हुने हो टुङ्गो छैन,” उनी भन्छन् “एसियाबाट चीन कराउँछ, पश्चिमबाट अमेरिका हामी निर्धो देशका निमुखा जनता त शक्ति राष्ट्रको शीतयुद्ध हेरेर बस्ने त रहेछ ।”
उनले बेलाबेलामा आउने समाचारहरू सम्झिए । गरिब राष्ट्रका जनतामा औषधि उपचारमा स्वास्थ्य सामग्री सहयोगका नाममा हुने गरेको परीक्षणले उनलाई झस्काउँछ । कोभिड–१९ को भ्याक्सिन बनेपछि मानवमा त्यसको पहिलो परीक्षण कहाँ हुन्छ ? उनलाई झस्काउने विषय हो यो ।
० ० ०
मेकरका हातमा चलचित्र छन् । नेपालमै करौडौं लगानीमा तयार भइसकेका चलचित्र छन् । तर कोरोनाको भयले रिलिज कहिले गर्ने, अन्योल छ । बैंकको ब्याजको मिटर चढिरहेको छ । तर अवस्था सामान्य भएर चलचित्र कहिले प्रदर्शनमा आउँछन् ? यो प्रश्न गर्ने अवस्था पनि छैन । अवस्था सामान्य हुने बित्तिकै हलमा चलचित्र हेर्न जाने वातावरण बन्छ ? यसै भन्न सकिने अवस्था छैन ।
आफ्नो ज्यान धरापमा राखेर चलचित्र हेर्न भीडभाड हलमा दर्शक जान्छन् ? शंका गर्ने प्रशस्तै ठाउँ छन् । एकातिर डिजिटल प्ल्याटफर्मले दर्शकलाई आकर्षित गरिरहेका छन्, अर्कातर्फ हलमा जान भय छ । यसको चपेटामा हल सञ्चालक र निर्माता पर्ने ठूलो सम्भावना देख्छन् दयाहाङ ।
त्यसैले उनी नेटफेलिक्स जस्ता डिजिटल प्लेटफर्मले बजार लिने उच्च सम्भावना रहेको बताउँछन् । अबको चलचित्र उद्योगमा निर्माणदेखि प्रदर्शनसम्म अहिलेको तौरतरिकाको विकल्प खोज्नुको विकल्प नरहेको बताउँछन् ।
“अब सिनेमा मेकिङको डिजाइन नै परिवर्तन गर्नुपर्छ । सायद अब चलचित्र हेर्ने प्लेटफर्म परिवर्तन हुन्छ,” नेपाली चलचित्रको कुरा गर्दा उनी भन्छन्, “अहिले नै डिजिटल प्लेटफर्मबाट धेरैले चलचित्र हेरिरहेका छौं हामी, यसले वृहद् रुप लिने न हो ।”
नेपाली चलचित्र कहिले तङ्ग्रिएला ? “लामो समय लाग्छ” भन्छन्, दयाहाङ । नेपाली चलचित्र पहिला नै संकटमा परिसकेको भन्न उनको जिव्रो लकपकाउँदैन ।
“हामीले राम्रा चलचित्र नै बनाएनौं, आकर्षक सिनेमा मात्रै बनायौं । दर्शकलाई यो चाहिँ मनपर्छ होला भनेर दर्शकलाई भुल्याउन मात्रै चलचित्र बनायौं,” दयाहाङ अगाडि भन्छन्, “हामी राम्रो चलचित्र बनाउनै छोडिसकेका थियौं । बनेका केही चलचित्र पनि यी चाहिँ दर्शकका लागि होइनन्, मेकरको प्यासनले मात्रै बनाइएका हुन् भन्ने अवस्था थियो ।”
मास मनोविज्ञानलाई बुझेर दर्शकलाई बुझाउने चलचित्रको अब विकल्प नरहेको र अबका चलचित्रले दर्शकलाई मनोरञ्जन मात्रै दिएर नपुग्ने उनको बुझाई छ ।