site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड–१९, पुँजीवाद, र समाजवाद

चीनको वुहान सहरबाट सुरु भएको कोभिड–१९ विश्वका २०८ देश तथा क्षेत्रमा फैलिसकेको छ । यसले सुरुमा चीनलाई हायलकायल पारेको थियो भने अहिले अमेरिकालाई सताइरहेको छ । यसबीचमा स्पेन, इटली, जर्मनी, र फ्रान्सले यससँग पैंठेजोरी खेले । इटली र स्पेन त अझै यसलाई नियन्त्रण गर्न संघर्षरत नै छन् । तर, चीनले यसको फैलावटलाई निकै प्रभावकारीरुपमा नियंत्रण गरेको छ । कोरोना संक्रमणको गतिलाई चीनले नियंत्रण गरिसकेको र अमेरिका अझै पनि संघर्षरत रहेको अवस्थालाई आधार मानेर यसलाई विभिन्न संचार माध्यममा विश्वव्यापीरुपमा नै पुँजीवादको असफलता र समाजवादको सफलताको रुपमा चित्रण गरिँदै छ । के यो

वास्तवमै साँचो हो त ? यो सत्य पनि हुन सक्छ तर यो कुरा भावनामा बगेर भनिने विषयभन्दा पनि तथ्यको कसीमा जाँचिनु पर्ने विषय हो । 

के हो पुँजीवाद र समाजवाद ?

Prabhu Bank
Agni Group
NIC Asia

पुँजीवाद र समाजवादका विषयमा अनगिन्ती पुस्तक, लेख, रचना प्रकाशित छन् । विश्वका विभिन्न देशमा यी सिद्धान्तलाई राज्य संचालन प्रणालीको रुपमा अवलम्बन गरिएको छ । अतः यसको बारेमा विस्तृतरुपमा व्याख्या गर्न यस लेखमा संभव छैन । तैपनि यसलाई संक्षेपमा समाजवादी व्यवस्थामा सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ र पुँजीवादी व्यवस्थामा सरकारको भूमिका कम र निजी क्षेत्रको भूमिका बढी हुन्छ भन्न सकिन्छ ।

समाजवादी अर्थव्यवस्थाले आर्थिक असमानता समाजको लागि हितकर छैन त्यसैले सरकारले आर्थिक असमानता घटाउन विभिन्न उपाय अपनाउनुपर्छ भन्ने मान्यता राख्छ । सरकारले अपनाउने यस्ता केही उपायमा निःशुल्क शिक्षा, निःशुल्क वा धेरै अनुदानसहितको स्वास्थ्य सुविधा, समाजका विभिन्न तह र समूहका नागरिकलाई सामाजिक सुरक्षा दिनेजस्ता विषय पर्छन् । अर्कोतर्फ पुँजीवादी अर्थव्यवस्थाले दुर्लभ आर्थिक स्रोतको प्रयोग सरकारले भन्दा निजी क्षेत्रले बढी कुशलतापूर्वक प्रयोग गर्ने हुनाले कुनै पनि समाज स्वतन्त्र वा खुल्ला बजार अर्थतन्त्रमा बढी सुखी र समृद्ध हुन्छ भन्ने मान्यता राख्छ । समाजवादी अर्थव्यवस्थामा स्वास्थ्य तथा शिक्षाको जिम्मेवारी सरकारको भएजस्तै सैद्धान्तिकरुपमा पुँजीवादी अर्थव्यवस्थामा निजी क्षेत्रले नै यिनको पनि पूर्ति गर्छ । अतः एउटा आदर्श समाजवादी देशमा स्वास्थ्यसँग संबन्धित संपूर्ण सेवाको जिम्मा सरकारको हुन्छ भने आदर्श पुँजीवादी व्यवस्थामा यी सबै सेवाहरु माग र पूर्तीको आधारमा स्थापित बजार मूल्यले निर्धारण गर्छ । यसको अर्थ आदर्श पुँजीवादी व्यवस्थामा कुनै व्यक्तिको स्वास्थ्य सेवाको लागि तिर्न सक्ने सामथ्र्य र तत्परता भन्दा बजार मूल्य बढी भएमा उक्त व्यक्ति सो सेवा लिनबाट वंचित हुन्छ ।

Global Ime bank

चीन र अमेरिकामा स्वास्थ्य सेवा

समाजवाद, पुँजीवाद, र स्वास्थ्य सेवाको सम्बन्धमा चासो राख्नेहरुका लागि एउटा रोचक प्रश्न – के चीनमा सबै जनताले स्वास्थ्य सेवा निःशुल्क पाउने र अमेरिकाका सबै जनताले स्वास्थ्य सेवाको लागि पैसा तिर्नुपर्ने व्यवस्था छ त ? यसको सिधा जवाफ के हो भने दुवै कुरा गलत हुन् । अमेरिकामा पनि निःशुल्क स्वास्थ्य सेवा पाइन्छ र चीनमा पनि स्वास्थ्य सेवाको लागि पैसा तिर्नुपर्ने हुन्छ । यसको अर्थ न चीन आदर्श समाजवादी देश हो न अमेरिका आदर्श पुँजीवादी देश हो । यो कुरा शिक्षामा पनि लागु हुन्छ । अमेरिकामा १२ कक्षासम्म अनिवार्य र निःशुल्क पढाइ हुन्छ भने गरिबीको रेखामुनि रहेका परिवारका बालबालिकालाई निःशुल्क खाजा पनि खुवाइन्छ (यो व्यवस्था राज्यअनुसार केही फरक हुन्छ । त्यस्तै निजी विद्यालयमा पढ्न चाहनेले त्यसमा पढ्न सक्छन् ) । यस्तै चीनमा पनि ९ कक्षासम्म निःशुल्क पढाइ हुन्छ र त्यसपछिको पढाइमा केही शुल्क तिर्नुपर्ने हुन्छ । यति हुँदा हुँदै पनि अमेरिका अलि बढी बजार प्रणालीतिर ढल्केको देश हो भने चीन अलि धेरै राज्य नियन्त्रित व्यवस्था भएको देश हो ।

दुवै देशमा स्वास्थ्य सेवाको प्रवाहमा मिश्रित प्रणाली पाइने हुनाले अब यी दुवै देशको स्वास्थ्य सेवा प्रवाहको स्तर तुलना गर्नु उपयुक्त हुन्छ । यहाँ ख्याल गर्नु पर्ने कुरा के हो भने जसरी अमेरिकामा ओबामा राष्ट्रपति भएपछि ल्याएको ओबामा केयर कार्यक्रमले धेरै गरिब मानिसलाई स्वास्थ्य सेवाको जालमा समेट्न सक्यो चीनमा पनि वर्तमान राष्ट्रपति सी जिन पिङको कार्यकालमा स्वास्थ्य सेवा विस्तार र गरिबहरुलाई (ग्रामीण जनतालाई) स्वास्थ्य सेवाको जालमा समेट्ने कार्य निकै प्रभावकारीरुपमा अघि बढेको छ । 

अब केही तथ्यां हेरौँ । तुलनात्मकरुपले अध्ययन गर्न सजिलो होस् भनेर दुई देशको तथ्यांक तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका १ः स्वास्थ्य सेवाका केही सूचकांक
चीन    अमेरिका

सरकारले स्वास्थ्यमा गरेको प्रतिव्यक्ति खर्च (यु.एस. डलर)    २५०    ५,१३९

सरकारले स्वास्थ्यमा गरेको खर्च (जीडीपीको प्रतिशत)    ३    ९

स्वास्थ्यमा गरिने निजी खर्च (स्वास्थ्यको कुल खर्चको प्रतिशत)    ४३    १५

स्वास्थ्य बिमा भएको जनसंख्या –प्रतिशतमा)    ९५    ९१.२

अस्पतालमा उपलब्ध बेड (प्रति १००० जनसंख्या)    ४.०५    २.७७

चिकित्सकको संख्या (प्रति १००० जनसंख्या)    १.८    २.६

निजी अस्पतालको प्रतिशत     ६०    २१

माथिको तालिकाका पहिला तीन तथ्यांकहरुले स्वास्थ्य क्षेत्रमा सरकारको उपस्थिति चीनभन्दा अमेरिकामा बढी देखिन्छ । उदाहरणका लागि अमेरिकी सरकारले स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति ५ हजार १३९ डलर खर्च गरेको छ भने चीनले मात्र २५० डलर (यो तथ्याङ्ग विश्व स्वास्थ्य संगठनको हो । चीनको आफ्नै तथ्यांकअनुसार यो ४२० डलर रहेको छ) । यस्तै अमेरिकी सरकारले स्वास्थ्य क्षेत्रमा कुल जीडीपीको ९ प्रतिशत खर्च गर्छ भने चीनले ३ प्रतिशतमात्र खर्च गर्छ । 

किन्तु, सरकारले गर्ने खर्चको विवरणले मात्र सबै कुरा स्पष्ट पार्दैन । कुनै पनि देशको स्वास्थ्य सेवा कस्तो छ भन्ने त्यो देशको स्वास्थ्य सेवामा जनताको पहुँच कस्तो छ भन्ने कुराले निर्धाण गर्छ । स्वास्थ्य सेवाको पहुँच विभिन्न पक्षले निर्धारण गर्छन् । तीमध्ये केही बुँदा निम्न छन् : 

स्वास्थ्य बिमा : स्वास्थ्य सेवामा पहुँच निर्धारण गर्ने पहिलो आधार पैसाको अभावमा मानिस स्वास्थ्य सेवाबाट वंचित छ कि छैन भन्नेले निर्धारण गर्छ । यसको लागि देशका कति मानिससँग स्वास्थ्य बिमा छ भन्ने हेर्ने गरिन्छ । माथिको तथ्यांक हेर्दा अमेरिकाभन्दा चीनमा स्वास्थ्य बिमा भएका मानिसको प्रतिशत अलिकति बढी छ । अ

मेरिका र चीन दुवैले राष्ट्रपति ओबामा र सी जिन पिङको पालामा स्वास्थ्य बिमामा निकै उल्लेखनीय प्रगति गरेका छन् । चीनमा काम गर्ने मानिस, सहरका मानिस र गाऊँका मानिसलाई फरक फरक माध्यमबाट बिमा गर्ने गरिन्छ । यहाँ सरकारी र निजी दुवै प्रकारका बिमा उपलब्ध छन् । ग्रामीण जनतालाई सहकारीमार्फत बिमा उपलब्ध गराइन्छ । 

अमेरिकामा पनि निजी र सरकारी दुबै प्रकारका स्वास्थ्य बिमा उपलब्ध छन् । गरिबीको रेखामुनि रहेका र बृद्धबृद्धालाई मेडिकेड र मेडिकेयरजस्ता कार्यक्रम छन् जसले उनीहरुको स्वास्थ्य बिमा गरिदिन्छ । यसबाहेक कसैको बिमा छैन र ऊ गरिब छ भने स्थानीय स्तरका सामुदायिक स्वास्थ्य केन्द्रमा निकै सस्तोमा (लगभग निःशुल्क) औषधि उपचार हुन्छ । अमेरिकामा स्वास्थ्यमा गरेको खर्चमा ट्याक्स तिर्नु पर्दैन भने विशेष अवस्थामा सरकारले छुट्टै कार्यक्रमको पनि घोषणा गर्छ । उदाहरणको लागि कोरोनाको यो प्रकोपमा ट्रम्पले कुनै पनि बिमा नगरिएका नागरिकको खर्च सरकारले तिरिदिने घोषणा गरेका छन् । 

सेवा लिने तरिकाः कुनै मानिस बिरामी भएमा स्वास्थ्य सेवा लिने तरिका अमेरिका र चीनमा अलि फरक छ । चीनमा मानिस कुनै पनि अस्पतालमा गएर उपचार सेवा लिन सक्छ । तर, अमेरिकामा सामान्यतया बिमा भएका मानिसको एउटा प्राथमिक डाक्टर हुन्छ र त्यही प्राथमिक डाक्टरको सिफारिसमा अन्य विशेषज्ञ डाक्टरकोमा जानुपर्छ । तर, आकस्मिक सेवा भने जहाँबाट लिए पनि हुन्छ । त्यस्तै सामुदायिक स्वास्थ्य केन्द्रमा जान पनि प्राथमिक डाक्टरको सिफारिस चाहिँदैन । अमेरिकाको एउटा सुन्दर पक्ष के हो भने पैसा नभएकै कारणले कुनै मानिसले उपचार नपाउने भन्ने हुँदैन । यो चीनका हकमा पनि लागु हुन्छ । 

चिकित्सक र बेडको उपलब्धताः स्वास्थ्य सेवामा पहुँचलाई निर्धारण गर्ने अर्को कुरा चिकित्सक र भौतिक सुविधाको उपलब्धता पनि हो । चिकित्सकको संख्यामा अमेरिका चीनभन्दा अलिकति अगाडि छ भने बेडको संख्यामा चीन अमेरिका भन्दा अगाडि देखिन्छ ।

माथिका तथ्यांले के देखाऊँछन भने चीन र अमेरिकाको स्वास्थ्य प्रणाली र यसमा जनताको पहुँचको सवालमा खासै भिन्नता छैन । चीनलेसन् २००९ पछि स्वास्थ्य क्षेत्रमा गरेको प्रगति उदाहरणीय छ ।समाजवादी र पुँजीवादी स्वास्थ्य प्रणालीको आधारमा यी दुई देशको स्वास्थ्य प्रणालीलाई तुलना गर्ने हो भने त्यसो गर्न मिल्दैन । न त अमेरिकाले पूर्ण पुँजीवादी स्वास्थ्य प्रणाली अवलम्बन गरेको छ न त चीनले पूर्ण समाजवादी स्वास्थ्य प्रणाली अवलम्बन गरेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका कुनै सूचकांक अमेरिकामा राम्रा छन् भने कुनै चीनमा राम्रा छन् ।

राजनीतिक प्रणाली र कोभिड–१९ 

अहिलेको मुख्य बहस चीन समाजवादी मुलुक भएको कारणले कोरोना संक्रमण र यसको प्रभाव रोक्न सफल भयो तर अमेरिका पुँजीवादी मुलुक भएकोले यसमा सफल भएन भन्ने हो । के यो वास्तविक हो त ?

पहिलो, कोरोना संक्रमण एक स्वास्थ्य समस्या हो र माथिको विश्लेषणमा के देखियो भने जनताको स्वास्थ्य सेवामा पहुँच अमेरिका र चीनमा खासै फरक छैन । कोरोना संक्रमण फैलिँदै गर्दा अमेरिका स्वास्थ्य सामग्रीका लागि संघषरर्ते छ । यो त्यहाँको राजनीतिक, आर्थिक प्रणालीको कमजोरी भन्दा पनि कोरोना प्रभावको आकलनमा कमजोरी र यसअनुसारको सामग्री जगेडा नहुनु हो । यसबाहेक राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्भ र वैज्ञानीकहरुलाई महत्त्व नदिने व्यक्तिगत आचरण जिम्मेवार छन् । 

दोस्रो, के कोरोना संक्रमणको दर र यसलाई गरिएको नियंत्रण तथा राजनीतिक प्रणालीको श्रेष्ठताबीच सम्बन्ध स्थापित गर्न मिल्छ ? त्यसो हो भने उत्तर कोरिया एउटा पनि संक्रमण देखिएको छैन । म्यानमारमा २२ जनामा संक्रमण र एक जनाको मृत्यु अनि भुटानमा जम्मा ५ जनामा संक्रमण देखिएको छ । यसको अर्थ तानाशाही र राजतन्त्र भएका मुलुकलाई श्रेष्ठ मान्नु पर्ने भयो । यो कुरा सायद कसैलाई स्विकार्य छैन होला । 

अमेरिका र चीनमा के फरक रह्यो त?

कोभिड–१९ को औषधि अझैसम्म पत्ता लागेको छैन । अतः यसको संक्रमण फैलिन नदिनु नै यसको प्रमुख उपचार हो । यसबाहेक कस्तो अवस्थामा यो सजिलोसँग फैलन्छ र कस्तो मानिसलाई यसले सजिलै आक्रमण गर्छ भन्ने बारेमा पनि यकिन भइसकेको छैन । उदाहरणका लागि दक्षिण एसियामा यो किन धेरै फैलिएको छैन भन्ने कुरा अलि आश्चर्यजनक छ । कतिपय ले तापक्रम र आर्द्रताको कारण यसको विस्तारको गति कम भएको भन्दन भने कतिपयले यहाँको जीवनशैली (जस्तै नमस्कार गर्ने वा यहाँको मसला र जडिबुटीको कमाल) लाई यसको श्रेय दिन्छन् । यी कुरा प्रमाणित भएका छैनन् । कोरोना संक्रमण कम गर्ने प्रमाणित विधि सामाजिक दूरी कायम गर्ने नै हो । लकडाउन पालना गर्ने, नियमित रुपमा हात धुने र आपसमा सामाजिक दूरी कायम गर्ने व्यक्ति र समाजमा कोरोना संक्रमणको दर कम हुन्छ ।

चीन परम्परागतरुपमा एकदलीय शासन प्रणाली भएको देश हो । त्यसैले परम्परागतरुपमा सरकारी आदेशको पालना गराउन त्यहाँ अपेक्षाकृत त्यस देशमा सजिलो छ । सरकारी आदेशमा प्रश्न उठाउने र विवाद गर्ने सम्भावना चीनमा बिरलै हुन्छ । उत्तर कोरीयामा पनि भएको त्यही हो । लकडाउन र सामाजिक दुरीको आदेश पालना नगर्ने सम्भावना त्यहाँ हुँदै हुँदैन । शासन प्रणालीको यो चरित्रले ती देशमा कोभिड–१९को मामलामा सकारात्मक काम गरेको हुनुपर्छ ।

अमेरिकामा कोरोना संक्रमण त्यो स्तरमा बढ्नुको प्रमुख कारण, अघि नै भनिएजस्तो ट्रम्पको दम्भ नै हो । उनी अहिले पनि आफूले मास्क नलगाउने, लकडाउन घोषणा नगर्ने, जथाभावी औषधिको सिफारिस गर्ने, वैज्ञानिकहरुको कुरालाई उपहास गर्नेजस्ता काम गरिराखेका छन् । ट्रम्प र उनका निकट रिपब्लकिन साथीहरुको यो रवैया जलवायु परिवर्तनलगायतका अन्य विषयमा पनि रहेको पाईन्छ । 

अमेरिकाको, त्यसमा पनि रिपब्लीकनहरुको अर्को परम्परागत चरित्र नागरिक स्वतन्त्रता र व्यक्तिगत गोपनीयतामा अति धेरै लगाव पनि हो । इतिहास हेर्ने हो भने अमेरिकामा कतिपय सार्वजनिक स्वास्थ्यको सवालमा व्यक्तिगत स्वतन्त्रतालाई महत्त्व दिँदा निकै ठूला विवाद र झडप भएका छन् । अहिले पनि रिपब्लिकनहरुको सरकार रहेका अमेरिकाका पाँच राज्यमा लकडाउन गरिएको छैन र त्यहाँका गभर्नरहरुले स्पष्टरुपमा उनीहरुले लकडाउन गरेर नागरिक स्वतन्त्रता हनन गर्न चाहदैनन् भनेका छन् ।

निष्कर्ष

समाजवाद र पुँजीवाद दुईविपरीत ध्रुवका राजनीतिक आर्थिक प्रणाली हुन् । तर, विश्वमा कहीँ पनि पूर्ण समाजवाद वा पूर्ण पुँजीवाद प्रणाली छैन र यो संभव पनि छैन । यीमध्ये एक वा अर्को प्रणालीमा विश्वास गर्नेले (ख्याल गरौँ, जहाँ विश्वास हुन्छ त्यहाँ तर्कले काम गर्दैन) त्यस्ता प्रणालीहरुको दिवास्वप्नमात्र देख्ने हो । यथार्थमा यी दुवैको मिश्रण भएका प्रणालीमात्र अस्तित्वमा रहने हुन् (नर्डिक देशहरु यसका राम्रो उदाहरणहरु हुन्) । चीन र अमेरिकामा नै पनि निजी अस्पतालको संख्या हेर्दा (माथि तालिकामा) यो कुरा पुष्टि हुन्छ ।

कोभिड–१९को मामलामा पनि चीन समाजवादी र अमेरिका पुँजीवादी भएको कारणले अमेरिकाले बढि क्षति व्यहोरेको र चीनले कम क्षति व्यहोरेको भन्ने कुरा तथ्यको आधारमा गलत देखिन्छ । यसमा समाजवाद र पुँजीवादको कुनै सम्बन्ध नै छैन । केही हदसम्म सर्वसत्तावादी संस्कार वा चलनलाई सहन सक्ने परम्परागत बानीले भने यसमा सहायता गरेको हुन सक्छ । यसो भन्दैमा चीनको सरकार र जनताले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतीलाई अवमूल्यन गर्न खोजेको भने होइन ।

चीन कोरोना नियंत्रणमा सफल, अमेरिका संघर्षरत रहेको अवस्था, तथा नेपालमा निजी अस्पतालहरुले कोरोना परीक्षण र उपचारमा आनाकानी गर्दै गर्दा नेपालका निजी अस्पताल पनि सरकारीकरण गरिनुपर्ने आवाज पनि यदाकदा सामाजिक संजालमा देख्न पाइन्छ । तर, निजी अस्पताल त चीनमै पनि बढी देखियो । यसैले नेपालको समस्या निजी होइन सुशासनको हो । निजी अस्पतालका संचालक नै शासक हुने र अस्पताल संचालन स्वीकृती दिने बेलामा गरिएका लेनदेनले यी समस्या जन्माएका हुन् । 

सैद्धान्तिकरुपमा बजार अर्थव्यवस्थाले सबैभन्दा बढी सामाजिक कल्याण प्रदान गर्छ । तर, सबै अवस्था र क्षेत्रमा बजार अर्थव्यवस्था लागु हुन सक्तैन । अतः निरपेक्षरुपमा बजार अर्थव्यवस्था वा सरकार नियंत्रित अर्थव्यवस्था भन्नु समाज र अर्थनीतिले कसरी काम गर्छ भन्ने नबुझेको ठहरिन्छ । यति हुँदाहुँदै पनि शिक्षा र स्वास्थ्यमा राज्यको उपस्थिति आवश्यक नै हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC