site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संक्रमित सरकारको उपचार

बैतडीका इन्द्रसिंह खत्री अघिल्लो साता ( गत सोमवार) महाकालीमा हाम फाले । उत्तराखण्डमा खच्चर मजदुरको   रुपमा काम गर्ने खत्रीले दुईदिन दार्चुला बाङाबगरको पारिपट्टि भारतीय बगरमा रात बिताएका थिए । चैत १७ गतेसम्म भारतको धार्चुला क्षेत्रमा उनीसहित पाँच सयभन्दा बढी नेपाली जम्मा भइसकेका थिए जहाँ अहिले एक हजारभन्दा बढी नेपाली छन्  । उद्धार र व्यवस्थापनको कुनै सम्भावना नदेखेपछि दुई दिनका भोका खत्रीले – ‘‘यसै मरेँ, उसै मरेँ’’ भन्दै महाकालीमा हामफाले । तर, सौभाग्यले उनी महाकाली तर्न सके । ज्यानको बाजी थापेर आफ्नो देशको किनारामा पुग्नेबित्तिकै प्रहरीले उनलाई पक्राउ गर्‍यो । 

यो घटना हाम्रो देशको अहिलेको तस्बिर हो । यो प्रसंगले धेरै कुरा बोलेको छ । प्रश्न उठ्छ – यस देशमा सरकार छ कि छैन ? सरकार छ । नभएको नभए ज्यानको बाजी राखेर महाकाली तैरिएका खत्रीलाई वारि पुग्नेबित्तिकै प्रहरीले पक्रेर नाङ्गै बजार कसले घुमाउँथ्यो ? जतिबेला नेपालीहरू इन्द्रसिंहजस्तै ज्यानलाई दाउमा राखेर महाकालीमा हाम फाल्दै थिए, घरघरमा त्रास थियो । के होला ? कसो होला ? उकुसमुकुस थियो । ठीक त्यसैबेला सरकारका मन्त्रीहरू स्वास्थ्य उपकरण खरिदमा कहाँबाट कसरी बढी कमिसन उठाउन सकिन्छ भन्दै मास्क मास्कको हिसाबकिताब केलाई रहेका थिए । सरकारको उपस्थिति खोज्नेलाई यसभन्दा अर्को ठूलो प्रमाण के चाहिएला ? 

हामीले खोजेको सरकार यस्तै हो त ? लोकतन्त्रको आधारभूत मान्यता हो – सरकार नागरिकप्रति उत्तरदायीमात्रै होइन जिम्मेवार पनि हुन्छ । कुरा रह्यो संकटको । सरकारको जिम्मेवारी खोज्ने संकटकै बेला हो । नागरिकप्रति सरकारको प्रतिबद्धता चाहिने आपतकै बेला न हो । संकटका बेला सीमा नाकामा लालाबालासहित भोकभोकै बसिरहेका नेपालीले आफ्नो सरकार खोज्नु गलत होइन । उनीहरूलाई मुलुकमा ल्याउने, राख्ने सरकारको कुनै तयारी र योजनामात्र हैन मनसाय पनि देखिएन । समस्या एकाएक आएको थिएन । हामीसँग तयारीको पर्याप्त समय थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

समस्या नाकामा रहेका नेपालीमा मात्रै सीमित छैन । चैत  ११ गतेदेखि लकडाउनमा बसेका सबै नेपालीको ज्यान दाउमा छ । हरेक दिन, हरेक पल जोखिम थपिँदै गएको छ । सरकारले भने परीक्षण सामग्री आयातका नाममा खेलाँची गर्‍यो । पहिलो चरणमै परीक्षणको दायरा बढाउन सकिएको भए सायद नेपाल संक्रमणको दोस्रो चरणमा जाने खतरा कम हुन्थ्यो ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले ढिलो गरी थालेको तयारी आलोच्य थियो नै आधारभूत स्वास्थ्य सामग्री खरिदमा देखिएको दुर्नियत अक्षम्य छ । यस्तो महामारीका बेला सरकार आफैँ अनियमितताको जालोमा फस्नुभन्दा लज्जास्पद विषय अर्को के हुन्छ ? स्वास्थ्यकर्मी सुरक्षा सामग्री देऊ भन्दैछन् तर सरकार एकपटक किनेका स्वास्थ्य उपकरण खरिदको ठेक्का रद्द गरेर फेरि प्रक्रियाका नाममै अल्झिएको छ ।

Global Ime bank

स्वास्थ्य सामग्री खरिदमा देखिएको बदनियतको पुष्टि स्वास्थ्य मन्त्रालय आफैँले गरिसकेको छ । यो संक्रमणको प्रकृति कस्तो छ भने जति चाडो जति धेरैको परीक्षण भयो, आशंकितलाई पहिचान गर्न सक्यो त्यति नै नियन्त्रणमा सजिलो हुन्छ । यसबीचमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका कारण हुन गएको परीक्षण अभावले बढाएको खतराको पीडा नेपालीले भोग्नुपर्ने भएको छ । सरकार इमानदार, पारदर्शी र उत्तरदायी हुनसके यो अनियमितताको छानविन होला, दोषीमाथि कारवाही होला तर संक्रमणकै कारण थप नागरिकले ज्यान गुमाउनु परे वा संक्रमण देखिँदाको पीडा भने कहिल्यै पूर्ती हुनेछैन । 

चीनमा संक्रमण सुरु भएकै दिनदेखि नेपाल जोखिममा थियो । अझ चीनबाटै फर्केका नेपाली युवा पहिलो पटक माघ १० मा संक्रमित भेटिएपछि नेपालमा खतराको आकलन जो केहीले पनि गर्नसक्थ्यो । सरकारले यसको संवेदनशीलतालाई कतिसम्म नजरअन्दाज गर्‍यो भने जोखिमबाट जोगिन सरकारको तयारी बारे उठेको प्रश्नमा स्वास्थ्यमन्त्रीले चीनले जसरी गायो, बजायो हामी त्यसरी नाच्नु आवश्यक छैन भन्ने जवाफ दिए । संसद्को यो प्रसंगले सरकार कोरोनाको संम्भावित जोखिमविरुद्ध लड्न कति तयार थियो भन्ने स्पष्ट हुन्छ । स्वास्थ्य उपकरण खरिदमा देखिएको अनियमिततासम्म आइपुग्दा त सरकारको नियत प्रस्ट भयो । 

उलेख्य प्रसंग अर्को पनि छ– विश्वव्यापी महामारी बनिसकेको कोरोनाको प्रकोप बढ्दै गएका बेला, विश्व स्वास्थ्य संगठनलगायतले नेपाल उच्च जोखिममा रहेका भनिरहेकै बेला सरकारको नेतृत्वकर्ता नेकपाभित्र शक्तिको दाउपेच चलिरहेको थियो । मुखैमा पुगेको गम्भीर महामारीका विषयमा सरकार कसरी जाने ? सत्तारुढ दलले के गर्ने ? नागरिकको ज्यान कसरी जोगाउने ? जस्ता विषयभन्दा को सांसद हुने नहुने विषयको चर्को विवादमा नेकपा रुमल्लिएलेको थियो । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पार्टीमा बनेको अर्को समीकरणलाई तह लगाउन हदैसम्मको प्रयासमा थिए भने अरू नेता प्रधानमन्त्रीलाई देखाइदिन उद्यत । त्यसको प्रत्यक्ष प्रभाव संम्भावित कोरोनाको संक्रमण रोक्ने कुरामा देखियो । अहिले पनि नेकपाभित्रको विवादको असर कुनै न कुनै रूपमा कोरोना जोखिम न्यूनीकरणमा देखिएको आकलन गर्नु गलत हुँदैन । 

संसदीय गणित र शक्तिका हिसाबले जसरी केपी शर्मा ओली नेतृत्वको यो सरकारले ऐतिहासिक अवसर पाएको थियो त्यसैगरी ऐतिहासिक काण्ड पनि भए । यसमा पनि कोरोना संक्रमणका सन्दर्भमा देखिएको सरकारको तयारी, अक्षमता र दुर्नियतको कुनै पनि कोणबाट सकारात्मक समीक्षा हुनसक्तैन । यो गैरजिम्मेवारीपनको मुलुकले ठूलो दूरगामी असर भोग्ने निश्चित छ । हाम्रो क्षमता, हाम्रा भूगोलको नियतिभन्दा सरकारका पदाधिकारीकै नियतले हामीलाई जोखिम बढाएको हो ।

त्यसैले संक्रमण सरकारमै छ । यसैको निदान पनि आवश्यक छ । स्रोत साधनको अभावले हुने समस्याका कारणले भएको पीडा त क्षम्य होला तर गलत नियतका कारण भएको क्षति क्षमा गर्न योग्य छैन । सरकारमा देखिएको यो हदसम्मको निर्लज्जताले लोकतन्त्रकै धज्जी उडाएको छ । सरकारका सिलसिलाबद्ध काण्ड एकातिर छन् तर यो विपत्तिका बेला संकट थप्ने सरकार खासगरी स्वास्थ्य सेवा विभाग, स्वास्थ्यमन्त्री, उच्चस्तरीय समिति संयोजक र स्वास्थ्य उपकरण खरिद काण्डमा जोडिएका कुनै पनि पात्रलाई इमानको तुलोमा जोख्न त के राख्न पनि सुहाउँदैन । यसमा कसैको लेदनेदन भयो भएन समयले खोज्ला ।

भ्रष्टाचार भए नभएको त पुष्टि गर्ने निकाय छन् । त्यो पुष्टि होला या नहोला तर माफियाको जालोमा परेर गरिएको अख्तियारको दुरुपयोग नै पनि आफैँमा कसुर हो । यस कुराको पुष्टिका लागि हामीले कुनै छानविन पर्खिनु पर्दैन । स्वास्थ्य विभागले ओम्नीसँगको ठेक्का सम्झौता रद्द गर्दा दिएको तर्क नै अख्तियार दुरुपयोग भएका प्रमाण हुन् । कहिले स्वास्थ्य उपकरण खरिद नगरेको कम्पनीलाई किन ठेक्का दिइयो ? अनियमितताको कुरा मिडियाले बाहिर ल्याएपछि अयोग्य भनिएको ओम्नीलाई ठेक्का दिँदाको योग्यता के हो ? 

माथि उल्लेखित प्रसंग त सरकार आफैँमा दुर्नियतको भाइरुबाट संक्रमित छ भन्ने उदाहरणमात्रै हुन् । त्यसबाहेक हालसालैका यतीकाण्ड, सेक्युरिटी प्रेस काण्ड पनि ताजै छन् । यसकारण ऐतिहासिक अवसर प्राप्त वर्तमान सरकारका नेतृत्वकर्ता प्रधानमन्त्रीले सरकारका कमजोरी औँल्याउने सबैलाई विरोधी देख्नुभन्दा उठेका प्रश्नमा गम्भीर बन्नु जरुरी छ ।

नेपाली नागरिकको आलोचनात्मक चेतलाई कमजोर ठानेकैले राजतन्त्रको अन्त्य भएको लोकतन्त्रका लागि जीवनपर्यन्त लडेका प्रधानमन्त्रीलाई सम्झाउनु शोभनीय नहोला । संक्रमणबाट नागरिकलाई जोगाउनुको विकल्प त छैन नै, सरकारभित्रै देखिएको संक्रमणको निदान गरेर लोकतान्त्रिक व्यवस्थालाई जनवितृष्णाको संक्रमणबाट जोगाउन आवश्यक छ । त्यसैले सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रिपरिषद् र सचिवालयलाई लकडाउनमा राखेर मुलुकलाई अनियमतिताको भयानक संक्रमणबाट जोगाउने हो कि ! अन्यथा, शक्तिशाली यो सरकारप्रति बचेको एकचिम्टी आशा पनि गल्ती सिद्ध हुनेभयो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC