कोरानाभाइरसको संक्रमणबाट ६६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । हिजोमात्रै १ हजार ११४ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमितको संख्या १३ लाखभन्दा बढी पुगेको छ । पछिल्ला दिनहरुमा दैनिक १६ हजारभन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । पछिल्लो समयमा त सबैभन्दा शक्तिशाली भनिएको अमेरिका नै बढी पीडित भएको छ । त्यहाँ तीन लाख २० हजारभन्दा बढी कोरना संक्रमित भएका छन् । प्रत्येक सेकेन्डमा मर्ने र नया संक्रमित देखिएका कारण कुनै अंक किटेर भन्नै मिल्दैन ।
“कति मान्छे मर्लान् यस महामारीबाट ?” राम्रो स्वास्थ्य उपचार र प्रविधि भएको मानिने युरोपेली मुलुक इटालीमा सबैभन्दा धेरै १५ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । एक लाख २४ हजार ६३२ संक्रमित छन् । त्यहाँका प्रधानमन्त्रीले सार्वजनिकरुपमै कोरनाबाट इटालीलाई बचाउन नसक्ने भन्दै विश्व समुदायलाई अनुरोध गरे । जहा ५० जनाभन्दा बढी कोरनाको उपचारमा संलग्न चिकित्सककै मृत्यु भइसकेको छ । कोरोनाकै कारण स्पेनमा १३ हजारको हाराहारीमा ज्यान गएको छ ।
नेपालमा सरकारले तेस्रो पटक थप एक साताका लागि लकडाउन थप्ने गाइँगुइँ चलिरहँदा मनमा अर्को प्रश्न आयो –“नेपालमा किन छिरेन होला है त्यो कोराना ?” पहिल्लोपटक केहीले सार्वजनिकरुपमा सामाजिक संजालमा लेखे पनि भगवान पशुपतिनाथले नेपाललाई कोरानाबाट बचाए । साँच्चिकै नेपालमा किन नदेखिएको होला है ? प्रत्येक वाक्यमा तेर्सिने प्रश्न भन्दा पनि फैलियो भने के होला भन्ने त्रासले पोल्ने मुटुले पनि कम्ती पीडा दिएको छैन ।
साँच्चिकै हामी खैरो छाला हुनेभन्दा बढी इमानदार हौँ त ? औषधि पत्ता नलागेको रोगबाट बच्ने सबैभन्दा सजिलो उपाय सामाजिक दूरी कायम गर्नु । तुलनात्मकरुपमा हामी विश्वका अरु देशका नागरिकभन्दा बढी इमानदार छौँ । त्यही कारणले हामीले सरकारले गरेको अनुरोधलाई पालना गर्यौँ जसले गर्दा नेपालमा नौ जनाभन्दा बढीमा यसको लक्षण देखिएको छैन । विश्व स्वास्थ्य संगठनको अनुसन्धानले पनि यही भन्यो सामाजिक दूरी कायम गर्नुमा अमेरिकाभन्दा नेपाल अगाडि । हामीमा नफैलनुमा यो नै एकमात्र कारण हुनसक्छ । सायद, तेस्रो चरणमा फैलनबाट रोक्ने र यही चरणमा नेपालबाट कोराना अन्त्य गर्ने अभियानमा सरकार छ । त्यसैले अहिले तेस्रो पटक एक साताको लागि बन्दाबन्दी थप्ने तयारीमा सरकार छ ।
सरकारले तेस्रो पटकको लकडाउन थप गर्ने तयारीसँगै मनमा प्रश्नहरु उब्जेका छन् । सत्तरी प्रतिशतभन्दा वढी न्यूनमध्यम स्तरका नागरिक भएको देशका जनताले के खाने ? कसरी बस्ने ? सरकारले हाम्रा लागि के गरिदियो ? किनविना योजना बन्दाबन्दी गरिदियो ? अब हामीले जविनयापन कसरी गर्ने ? यी र यस्ता प्रश्नले मन साह्रै पोल्न थालेको छ । आजको दिनसम्म त विपन्न वर्गको घरमा पनि जसोतसो आगो बलेको थियो । बिहान बेलुका जसोतसो खानपाएका थिए ।
अर्को मनले भन्छ – “मर्नुभन्दा बहुुलाउनै ठीक ।” कोरानाबाट तड्पी तड्पी प्रियजनको मृत्यु हुँदा एक थोपा पानी खुवाउन र अनुहार हेर्न नपाई संसार छोड्नुभन्दा त भोकभोकैछटपटाएर पानीकै भरमा भ एपनि अर्को एक साता गुजार्नु ठीक हो कि ? (सञ्चारकर्मी, पोखरा )