कृष्णराज खनाल
साथी, तिमी बिरामी हुँदा
मफलफूल बोकेर
झोलामा,
सूप लिएर कचौरामा
तिमीलाई भेट्न आउन
सकिन
मलाई क्षमा गर है ।
साथी, तिमीकथं मर्यौ भने
यस संसारबाट बिदालियौ भने
म तिम्रो मलामी हुन सक्दिन
तिम्रो पछिपछि लागेर
आर्यघाट वा सिमेटरी जान सक्दिन
मलाई क्षमा गर है ।
मलाई थाहा छ
तिम्रो मृत्यु अस्पतालमै हुनेछ
त्यसबेला म तिम्रो
पार्थिव शरीरमा
एउटा थुँगो फूल
र
अलिकति अवीर
नि चढाउन सक्दिन,
रामनाम लेखिएको
पीत रंगको
कात्रो नि ओढाउन सक्दिन
म विवश छु साथी
साँच्चै मलाई क्षमा गर है ।
यो कोरोना नामक ज्यानमारा भाइरस
कहाँबाट आयो,
कसबाट आयो
र तिम्रो शरीरमा बास मागेर
तिमीलाई नै डसेर गयो
म चकितचकित छु साथी
र त म परपर भागिरहेछु
किनकि तिमीलाई डस्ने भाइरसले
मलाई नि डस्न सक्छ
मलाई नि मृत्युदण्ड दिनसक्छ
त्यसैले अस्पतालको शैय्यामा
तिमी छटपट भइरहँदा,
जीवनको अन्तिम सास लिइरहँदा
पनि
म तिमीलाई भेट्न आउन सकिन
साथी, मलाई क्षमा गर है ।
हामीलाई छोडेर
तिमी महान् यात्रामा हिँड्दा
क्वारेन्टाइनमा बसेको यो धरति
र
स्वनिर्वासनमा बसेको म
कसरी मलामी बन्न सक्छु र ?
तिम्रो लाशमाथि
कसरी फूल र अबीर चढाउन सक्छु र ?
नाथे भाइरससँग हारेको संसार
र
सन्त्रस्त मानव सभ्यतामाथि
धावाबोलेको भाइरसको रौद्ररुप
म पनि टुलुटुलु हेरिरहेछु
त्यसैले साथी
तिम्रो इहलोकको यात्रामा
क्वारेन्टाइनबाटै
दुई थोपा आँसु
र एक अञ्जुली जलअर्पण गरेको छु
स्वीकार गर
साथी, मलाई क्षमा गर है ।
वोस्टन, अमेरिका