सम्पूर्ण जगत कोरोनाले आक्रान्त भएको बेला नेपाल पनि अछुतो रहन सकेन । भौतिक, भौगोलिक र आर्थिकरूपमा सम्पन्न राष्ट्रहरूलाई समेत हाराबारा बनाएको यस विपतले नेपालजस्तो मुलुकमा कस्तो स्थिति निम्त्याउँछ त्यो समयले बताउला । सरकारले बन्दाबन्दी गरेर अतिआवश्क बाहेकका सबै सेवा बन्द गरी सामाजिक दूरी कायम गर्दै सुरक्षित हुन आह्वान गरेको छ । आफ्नै घरपरिवारसँग वा आफू बस्ने स्थानमा नै रहेर आफ्नो सामाजिक दायित्व निर्वाह गरी राष्ट्र सेवा गर्न पाउने यो उत्तम मौका हुनसक्छ ।
अन्य मुलुकसँग जस्तो हामीसँग न त पर्याप्त स्रोत साधन छ न त्यति नै मात्रामा दक्ष जनशक्ति । यस अवस्थामा हाम्रो सबैभन्दा ठूलो हतियार आफ्नै समझदारी र संयम हो । अति आवश्यक कामबाहेक अरु बेला बाहिर ननिस्किएर हामीले यो महामारीको संक्रमणलाई फैलनबाट रोक्न सक्छौँ भने घरभित्रै हुँदासमेत हामीले यो परिस्थितिसँग लड्न धेरै कुरा गर्न सक्छौँ ।
बितेका केही दिनदेखि सामाजिक संजालमा युवा साथीहरु पुराना फोटो खोज्दै त्यसमा कमेन्ट गर्दै रमाएको देखेको छु । यो परिस्थिमा मन भुलाउन त्यो पनि उपयुक्त होला तर त्यो सँगसँगै हामीले गर्न सक्ने अरु धेरै विकल्प छन् । सबै जना कुनै न कुनै विधाामा दक्ष छन् । आफूमा भएका ज्ञान र प्रतिभालाई अरूसँग साँट्न सकिन्छ ।
विश्व अर्थतन्त्रमा आएको गिरावटको प्रभाव नेपालमा पनि पर्ने निश्चित नै छ । अहिलेको लकडाउनका कारण कलकारखाना बन्द छन् भने व्यापार व्यवसायमा पनि प्रत्यक्ष असर परेको छ । यसले पनि नेपालमा आर्थिक संकट निम्त्याउने पक्का छ । यस्तो बेलामा अर्थतन्त्रमा हुनसक्ने गिरावट कसरी कम गर्न सकिन्छ, भोलि यो महामारीको अन्त्यसँगै कसरी अर्थतन्त्रलाई उकास्न सकिन्छ भन्ने विषयमा अर्थशास्त्र तथा व्यवस्थापनमा दखल राख्ने अर्थविद् , लेखा विशेषज्ञ तथा व्यवस्थापनका विज्ञहरूले आफ्ना धारणा सामाजिक सञ्जालमार्फत राख्न सक्छन् । यस अवस्थामा कर तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी बाँड्न र तिनलाई बहसको विषय बनाउन सकिन्छ ।
त्यस्तै समाजमा यो महामारीले फैलाएको नकारात्मक मनोवैज्ञानिक असरलाई कसरी चिर्न सकिन्छ भन्ने विषयमा मनोविद् तथा समाजशास्त्रीले आफ्ना विचार राख्न सक्छन् । त्यसले पक्कै समाजमा सकारात्मक प्रभाव पार्नेछ । चिकित्सा शास्त्रका विशेषज्ञले यो बेला अपनाउनुपर्ने सावधानी तथा कहीँ कसैमा संक्रमणको शंका भएमा निज तथा उसको परिवारले अपनाउनुपर्ने सावधानी र प्राथमिक उपचारका उपायबारे सामाजिक सञ्जालबाटै चेतना फैलाउन सक्छन् । अध्यापकहरूले फेसबुक र यु्ट्युबजस्ता सामाजिक सञ्जालमा उपलब्ध प्रत्यक्ष प्रसारणका माध्यमबाट पाठ्यक्रमसम्बन्धी सामग्री प्रसारण गर्न सके परीक्षा तयारीमा बसेका वा अध्ययन गर्न चाहनेलाई पनि सुविधा मिल्ने थियो ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले बेलैमा आवश्यक लगत नराख्दा आहिले संक्रमितसँगै आएकाको पहिचान गर्न कठिन भएको छ । अझ सडक मार्ग भएर आउनेको त कुनै लेखाजोखा नै छैन । स्थानीय स्तरमा उनीहरूको पहिचान गर्न सजिलो हुनेहुँदा सामाजिक संजालमै आफ्नो क्षेत्रको एउटा समूह बनाएर भर्खरै संक्रमित मुलुकबाट वा ती मुलुकको बाटो हुँदै आएका स्थानीयको पहिचान गरी तिनको जानकारी स्थानीय निकायलाई दिन सके पनि समयमै संभावित संक्रमित पत्ता लगाउन र संक्रमण फैलन रोक्न सहज हुनेछ ।
आफ्नै गाउँठाउँमा पनि कोही अन्य रोगले ग्रसित होलान्, कोही प्रसव पीडामा होलान्, कोहीलाई रगतको आवश्यकता होला । उनीहरूले कहाँ र कसरी उपचार गर्ने र त्यस स्थानमा कसरी पुग्ने भन्ने उपाय सामाजिक सञ्जालमा खोजिरहेका होलान् । आफ्नो जानकारीमा भएका त्यस्ता उपायलाई सामाजिक संजालका विषय बनाऊँ । पर्याप्त स्रोतसाधनविना बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मी तथा सामाजिक सद्भाव कायम गर्न खटेका सुरक्षाकर्मीको मनोबल बढाउने सामग्रीलाई सामाजिक सञ्जालमा स्थान दिऊँ ।
शिक्षित युवा साथीहरु यस संकटको घडीमा सामाजिक संजालको सही प्रयोग गर्दै आफ्नो नैतिक जिम्मेवारी बुझेर सामाजिक दूरी कायम गरी सूचनामूलक र प्रेरणादायी वाक्य लेख्न सक्याैँ भने मनोवैज्ञानिक दृष्टिले पनि केही हदसम्मे संकटलाई परास्त गर्न सकिन्थ्यो कि ?