site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना, समाज र डाक्टर
Ghorahi CementGhorahi Cement

डा. विनोद ढकाल

म जङ्गलको बीचमा थिए । रुखको हाँगामा थिएँ । मेरो हातमा खुर्पा थियो । मसँग अरु मान्छेहरु थिए । हामी एउटै रुखमा थियौं । धेरै मान्छे भएकाले होला रुख झोल्लिएको थियो । हामीतर्फ आएर बच्चाहरु उफ्रँदै थिए । ती जङ्गली बच्चाहरु थिए । जमिनबाट हामीलाई हेर्दै उफ्रँदै थिए । उनीहरुका दाह्रा तिखा थिए । चिथोर्नलाइ आतुर । नाङ्गो शरीर थियो । मेरो मनमा डर सामान्य थियो । मेरो खुर्पाले उनीहरु चट्चट् काटिँदै थिए । पछि त उनीहरु झन्झन् माथि उफ्रन लागे । म एकएक गर्दै उनीहरुलाई परास्त गर्दै थिएँ । मेरो सामान्य हतियार प्रभावकारी भइरहेको थियो । उनीहरु कमजोर देखिन्थे । अब देखिन छाडे ।

अर्को दृश्यमा भुइँबाट एउटा बाघ मतिर उफ्रिरहेको थियो । म डराइरहेको थिएँ । बाघलाई खुर्पाले हान्दै थिएँ । समयसँगै म अझ जोडजोडले बाघतर्फ खुर्पा हानिरहेको थिएँ । रुखका अन्य हाँगामा अरु मान्छेहरु थिए । उनीहरु अझ रुखको टुप्पातर्फ लाग्दै थिए । मेरा हात काँपिरहेको थियो । बाघ चुप लागेर बस्न लाग्यो । मेरो मुटु अझै जोडजोडले धड्कँदै थियो । ऊ गयो ।

Agni Group

हामीहरुसँग त्यो रुखमा अरु दुईचार युवती थपिन पुगे । रुखको फेदमा एक युवती आइन् । उनी कुनै होटलको पोसाकमा थिइन् । रुखका कोही उनीसँग खाना अर्डर गरिरहेका थिए । मैले प्रश्न गरेँ– डर लाग्दैन ?

‘म यहीँको हो ।’ उनी भन्दै थिइन् ।

Global Ime bank

उनी बाटो लागिन् । म उठरे पिसाब फेर्न गएँ । म अझै सपनामा थिएँ । फर्केर आउँदा रुखमा अरु मानिसहरु थपिएछन् । हामी सबै एउटै रुखमा थियौं । रुखको सबभन्दा तल केही महिला अनि बच्चाहरु थिए । जमिनमा ब्वाँसो जस्ता देखिनेहरु घुमिरहेका थिए । ती ब्वाँसोलाई हेर्दा अघिका बच्चाहरु ब्वाँसा बनेर आएका जस्ता देखिन्थे । तिनले रुखको सबभन्दा तलको बच्चालाई समाते । ब्वाँसोले बच्चाको घाँटीमा समातेर थिचिराख्यो । एउटी महिला रुखबाट ओर्लिइन् । कसैले सानो बञ्चरो फालिदियो । उनले बञ्चरो समातेर ब्वाँसोलाई हान्न थालिन् । पहिलो हिर्काइ माटोमा लाग्यो । दोस्रो–तेस्रो प्रहारमा ब्वाँसोको जिउबाट रगत बगेको देखिन थाल्यो । तर पनि ब्वाँसो बच्चालाई छोडिरहेको थिएन । बारम्बारको प्रहारपछि मात्र ब्वाँसोको शरीर रगतले थिलथिलो भयो । 

फेरि अर्को ब्वाँसो आयो । उसले पनि त्यही बच्चालाई आक्रमण ग¥यो । ती महिलाले त्यो ब्वाँसोलाई पनि बञ्चरोले अनवरत् आक्रमण गरिरहिन् । फेरि अर्को ब्वाँसो आयो । अब त्यो बच्चाको लुछिएको शरीरमात्र देखियो । अरु ब्वाँसाहरु आए । ती महिलामाथि पनि आक्रमण गरे । हामीहरु रुखको हाँगामा हेरिमात्र रह्यौं । मसँग सानै भए पनि हतियार थियो । म रुख तल ओर्लन सकिनँ । हामी कोही ओर्लन सकेनौं ।

कस्तोकसे एउटा सपना जस्तो भयङ्कर कल्पना आयो मेरो मथिङ्गलमा ।

देश कोरोनाको भयले आक्रान्त भएको बेला, संसार कोरोनाले आक्रान्त भएको बेला, इटली, इरान, स्पेनजस्ता मुलुकलाई तहसनहस पारिरहेको छ । डाक्टरहरु पनि मरिरहेका छन् । ती भाग्यमानी हुन् जो घर बसेर सुुरक्षित हुन सक्छन् । अभागी डाक्टरहरु युद्धको पहिलो पङ्क्तिमा (फस्ट लाइन) उभिइरहेका छन् । म पनि डाक्टर । म प्रार्थना गरिरहेको छु– नेपालमा त्यो दिन नआओस् । म त्यो युद्धमा होमिन नपरोस् । खुर्पा लिएर बाघको सामना गर्न नपरोस् । ज्यानको माया, परिवारको माया कसलाई हँुदैन र ?

म आफ्नो गाडी चलाएर धुलिखेल अस्पतालतर्फ जाँदै थिएँ, कलङ्कीबाट । सडक सुनसान थियो । गाडी चलाइरहँदा अनौठो अनुभूति भयो । मेरो गाडीको अगाडि सिसाछेउमा (एच) लेखिएको थियो । सडकमा भएका सुरक्षाकर्मीले मेरो गाडी रोकेनन् । उनीहरु भोक, प्यास अनि भाइरस लाग्ने सम्भावनासँग लड्दै आफ्नो कर्तव्य पालना गर्दै थिए । उनीहरुको माया लाग्यो । आफ्नो गाडी नरोकेर उनीहरुले मेरो सम्मान गरेको आभास भयो । एक युद्धमा गइरहेको सिपाहीलाई दिने सम्मान जस्तो लाग्यो । जिम्मेवारी बढेको जस्तो लाग्यो ।

अहिले त म रुखको टुप्पामा खुर्पा लिएर बसेको मान्छे । सीप हातमा लिएर बसेको मान्छे । जब सङ्कट घरआँगनमा आउँछ, तब सबभन्दा पहिले अग्रपङ्क्तिमा भएकोलाई समात्छ । निर्धोलाई समात्छ । ती स्वाँठहरुलाई समात्छ जो मलाई केही हुँदैन भनेर बेवकुफी गर्छन् । उनीहरु आफ्नो वरिपरिका मानिसलाई रोग सार्छन् । यो बेवकुफिको सजाय मृत्यु पनि हुन सक्छ । आफ्नो अनि त्यो भन्दा बढी आफ्नो परिवारको ।

इटलीमा कोरोनाका बिरामीको उपचार गर्ने क्रममा सङ्क्रमणले ५० भन्दा बढी डाक्टरहरुको मृत्यु भएको समाचार आइरहेको छ । त्यहाँबाट आएका केही भिडियोमा हेर्छु एउटा मास्क, सामान्य चस्मा र गाउन लगाएर डाक्टरहरु बिरामी जाँच्दै छन् । त्यहाँ सूक्ष्म जिवाणु मौका खोज्दै छ । त्यो मास्क अनि गाउनलाई छेडेर भाइरस कुनै बेला डाक्टरको जिउमा छिर्न सक्छ । त्यो भाइरस पछि हट्ने सुरमा छैन । त्यो जिद्दी गरिरहेको छ, अडिग छ । हरेस खाँदैन । त्यो ब्वाँसो हो । ऊ सफल नहोइञ्जेल निरन्तर प्रयास गरिरहन्छ । डाक्टर कमजोर छ । अरुबेला जति नै धेरै भए पनि सङ्कटको बेला सीमित जनशक्ति हुन्छ, जहाँ पनि । ती सपनाकी महिलाजस्तै । निरन्तरको ड्युटी अनि नियमित खानपिनको अभावमा ऊ यसै कमजोर छ । युद्ध मैदान छोडेर डाक्टर भाग्न पनि सक्तैन । उसको इमानले दिँदैन ।

युद्धको विजयको इनाम ठूलो छ । वुहानमा बिरामीलाई सञ्चो पारेर अर्को सहरमा बिरामी हेर्न गइरहेका डाक्टरलाई पुलिस, सेना अनि त्यहाँका जनताले दिएको सम्मानको भिडियो हेर्दा जोकोहीको आँखामा आँसु आउँछ । त्यो सम्मान अर्बौं खर्च गरे पनि कसैले पाउन सक्तैन । त्यो सम्मान उनीहरुलाई पनि हो जसले आफ्नो कर्तव्यको सिलसिलामा ज्यान गुमाएका छन् । त्यो भिडियो देख्दा डाक्टर भएकोमा गर्व हुन्छ ।

डाक्टर वीर हो । मानवताको सिपाही हो । ऊ मुर्ख होइन । तर अझै पनि सडकमा थुप्रै मुर्खहरु छन् । यसै घुमिरहेका छन् । लकडाउन अवज्ञा गरिरहेका छन् । त्यो वेटर केटी जस्तै । कतिलाई त व्यवहारले पनि मुर्ख बनाउला । उत्तर प्रदेश र बिहारको बोर्डरको रेलवे स्टेसन अनि सयौं किलोमिटर हिँडेरै घर जान लागिरहेका हजारौंको भीड देख्दा यस्तै लाग्छ । उनीहरु घर फर्कंदै छन् । सहरमा श्रम गर्न आएका उनीहरु ज्यान बचाउन गाउँ जाँदैछन् । खै मूर्ख को हो बुझ्न सकिरहेको छैन । मसँग हैसियत छ र त म घरभित्र बस्न सक्छु । मसँग ज्ञान र विवेक छ र म घरभित्र बसिरहेको छु । हात धोइरहेको छु । खुर्पाले बाघलाई लखेटिरहेको छु । सानो भर्खर जन्मेको बच्चा भाइरसको हत्या गरिरहेको छु । एकदुई महिना म यसरी बस्न सक्छु । कर्तव्यले बोलाउने अर्को कुरा भयो । मलाई त्यसरी हुलमा जान परेको छैन, तर कुनै वेला युद्धको अग्रपङ्क्तिमा जान पर्ने हुन सक्ला । ती मजदुर जसलाई व्यवहारले किचेको होला । त्यसैले त उनीहरु सयौं किलोमिटर पैदल हिँड्न तयार छन् । भीडमा कोचिएका छन् । कोरोना दोस्रो प्राथमिकतामा परेको छ । पहिलो प्राथमिकता सधैं पेट हुन पुगेको छ । 

खै कसलाई दोस दिने ? कसलाइ के भन्ने ? ईश्वरको आशा मात्र त छ । फेरि सोच्छु ईश्वरले नै यो लीला गरेका पो हुन कि ! शङ्का लाग्छ । त्यो भाइरस पनि त ईश्वरको सृष्टि हो । उसको पनि बाँच्ने चाहना छ । भर्खर जन्मेको छ । ऊ पनि बढ्ने आशा राख्ला । त्यो भाइरसको संसार पनि अहिले मौकाको सदुपयोग गरिरहेको होला । आफ्नो संसार, देश, समाज, जात, परिवार र आफ्नो सुरक्षा चाहने सबको अधिकार हो । फरक यति छ को कुनलाई बढी प्रथमिकतामा राख्छ । बाघलाई हाँगामै बसेर खुर्पाको भरमा भगाउन सकिन्छ तर लापरवाही गर्दा कमजोर ब्वाँसोको झुण्डले पनि सखाप पार्न सक्छ । अरु रुखमा बसेर हेर्नबाहेक केही गर्न सक्तैनन् । सबैभन्दा नराम्रो त के छ भने जो सहयोग गर्न आउँछन् उनीहरु पनि मारिन सक्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC