site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लकडाउन’ हो, ‘लाइफडाउन’ होइन
Sarbottam CementSarbottam Cement

बिना थिङ

म दक्षिण फर्किएको झ्यालछेऊ उभिएँ । झ्यालबाट काठमान्डू सफा देखियो । आकाश नीलो रङमा परपरसम्मै फैलिएको छ । सेता बादलका ससाना चोइटाहरुले हृदय तरङ्गित बनायो । सलाईका बट्टा चाङ लाएजस्ता देखिने घरहरु कुनै होहल्लाबिना चुपचाप उभिरहेका छन् । म आफैं पनि पछिल्लो १० दिनदेखि चुपचाप छु । सधैं स्कुल जानु, सानासाना विद्यार्थीसँग सिकाई साट्नु । फुर्सदमा सहकर्मीहरुसँग चियाको सुर्को लाउँदै विभिन्न विषयमा गफ चुट्नु, मेरा दैनिकी थिए । घर फर्किंदा बाटोभरी भेटिने चिनेजानेकाहरुसँग बात मार्थें । बिदाका दिनहरुमा साहित्यिक कार्यक्रमहरुमा जान्थेँ । पुस्तक पसल चहार्थें । कहिलेकाहीँ मुड चल्दा साथीभाइसँग कफीसपतिर गफ चुटथेँ । सिनेमा हल धाउँथेँ, मन परेका सिनेमा लागेको थाहा पाउँदा । सपिङमा निस्कन्थेँ । 

केही दिनदेखि मेरो दैनिकीमा फेरबदल आएको छ । सरकारले लकडाउन घोषणा गरको छ । मान्छेहरुलाई घरभित्र बस्न अनुरोध गरेको छ । साधारण माइक्रोस्कोपले देख्न नसक्ने कोभिड १९ नामक जीवाणुले मान्छेलाई साँघुरो कोठाभित्र थुनेर आपूm संसारभर यात्रा गरिरहेको छ । जीवन रहे जगत् छ भन्ने भावमा हामी छौं । आफन्त साथीभाइसँग नजिक पर्न डराइरहेछौं । गेट, भ¥याङ, ढोका, बाथरुम, भान्सा जताततै भाइरस हुन सक्ने आशङ्काले टाउको रिङ्गाइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनको पहिलो र दोस्रो दिन सामान्य लाग्यो । लगातारको श्रमले मानसिक र शारीरिक रुपमा थकित थिएँ । शरीरले आराम पायो । मष्तिस्कले दबाब झेल्नु परेन । दुई बिहान अबेलासम्म सुतिरहेँ । कहीँकतै जानु छैन । केटाकेटीलाई तयार पार्नु छैन  । बजार जानु छैन । अफिस बन्द  । केही साताअघि त यस्तै दिनको ताकमा हुन्थेँ । लाग्थ्यो, लामो समय छुट्टी पाएँ भने खुब पढ्थेँ । खुब लेख्थेँ । सिनेमा हेर्थें । दिनभर ओछ्यानमा पल्टिरहन्थेँ । 

तर यस्तो केही नहुँदो रहेछ । घरभित्र फुुसर्दिलो समय व्यतीत गरिहेकै थिएँ । तर ध्यान एकीकृत गर्न सकिनँ । सृजना क्रम फिटिक्कै अगाडि बढेन । लकडाउनको तेस्रो दिन पुस्तक राखिएको कोठामा छिरेँ । टेबलमा रातो कलरको ल्याम्प छ । सानो मनिप्लान्ट छ । त्यो झन् हरियो भएर गएको छ । बाह्रखरी कथा प्रतियोगितामा प्रथम हुँदा प्राप्त प्रमाणपत्र छ । असरल्ल केही किताब छन् । टेबलसँगै ढेसाएर राखिएको बीपीको फोटो फ्रेम छ । 

Global Ime bank

मन एकतमासको भयो । अघिपछि यिनै चिजहरुले हृदयमा जोश भथ्र्यो । मेचमा बसिहालुँ । ल्यापटपमा चकचक गरिहालुँ लाग्थ्यो । तर त्यस्तो केही गर्नै मन लागेन । मैले बुककेसका किताबहरु छामी हेरेँ । लामो समय फुर्सद पाएँ भने पढ्छु भनेर किनेको सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपालको पाँच भोल्युमको चाङ छ । दोस्तोएव्स्कीको उपन्यास ब्रदर्स कारमाजोवको दुई खण्ड छ । ध.च. गोतामेको उपन्यास यहाँदेखि त्यहाँसम्म छ । राजेन्द्र पराजुलीको संस्मरण कोटेश्वरको केटो छ । तर अहँ कुनै पनि पुस्तक झिकेर पढुँ लागेन । मन अस्थिर भएपछि पुस्तकमा स्थिर हुन नसकिँदो रहेछ । वास्तवमा  कुनै पनि सर्जकको लागि प्रसस्त समय भन्दा पनि परिवेश जरुरी रहेछ । सृजनाको लागि मानसिक रुपले तङग्रिनु पर्दो रहेछ । नत्र त यतिको लामो फुसर्दिलो समय यसअघि कहाँ पाइयो र ? 

अस्थिर मन बरु सामाजिक सञ्जालमा भएका गतिविधिमाथि खनिन गयो । कोरोना कहरले को–कहाँ–कतिलाई आफ्नो विषालु अँगालोमा पा¥यो भन्नेमा चासो बढ्यो । अनलाइन समाचारका लिङ्क क्लिक गर्नमा औंलाहरु सक्रिय रहे । चीनको वुहानदेखि फैलिएको कोरोना इटलीलाई सखाप पार्न उद्यत् समाचार पढेर अत्यास लाग्यो । कोरोनाको सङ्क्रमण र सङ्क्रमितको उक्लिँदो सङ्ख्याले दिमागमा खलबल मच्चाइरह्यो । हिसाबकिताब गज्याङमज्याङ भयो । 

कस्तो खतरनाक भाइरस ! ल मानौं घरभित्रै बस्यौं, तर साँझबिहान सागसब्जी किन्नु छ । पैसा लेनदेन गर्नुछ । कोरोना त जसरी पनि हाम्रो घरभित्र पस्न सक्ने रहेछ ।  जस्तो कि ग्यासको सिलिण्डरमा पनि भाइरस टाँसिएको हुन सक्छ  । छिमेकीको गाईपालनबाट ल्याइने दुधको प्याकेटमा टाँसिएर पनि आउन सक्छ । सङ्क्रमित कोहीले बाटो हिँड्दा गेटमा छोइदिए त्यहीँ पनि टाँसिन सक्छ । ओहो ! जताबाट पनि कोरोना आउन सक्छ । त्यसो भए के गर्ने ? दुधको ठेक्का क्यान्सिल गरिदिऊँ ? तरकारी किन्न नजाऊँ ? अथवा गेटमा कसले छुन्छ ? हेरिरहुँ ? यस्तो सोचले मेरो टाउको फुट्ला जस्तो भयो । 
जीवनमा पहिलो पटक बाँच्नुको महत्व बोध भइरहेको छ । मृत्युसँग डराउनेहरु कायर हुन् भन्ने आदर्श भत्किएर गएको छ । यो संसारमा बाँच्नु पहिलो सर्त रहेछ । बाँकी कुरा तपशील पो रहेछन् । जीवन नै छैन भने प्रेम, अनुराग, कृति, यश सब केहीको पनि मूल्य नरहँदो रहेछ भन्ने लाग्यो । फेरि यो महामारीबाट मृत्यु हुनु भनेको त आप्mनो छातीमा टाउको राखेर रुने प्रियजन समेत नपाइनु हो । मलामी त परको कुरा । कीराफट्याङ्ग्रा मरेजस्तो हुने रहेछ । महामारी बढ्दै गए डोजरले सोहोरेर खाल्डामा खन्याइने रहेछ । मान्छेको मृत्यु कुनै मिति सकिएको सामानजस्तै सङ्ख्यामा परिणत हुने रहेछ । ओहो ! कस्तो त्रासदी । कति मूल्यहीन जीवन ! भन्नेले त इच्छा मृत्यु पाउनुपर्छ भन्छन् । मलाई पनि ती रोगब्याधले छट्पटिरहेका मानिसहरु देख्दा मृत्यु नै उत्तम लाग्थ्यो । तर यतिखेर मेरो भ्रम हटेको छ । मान्छे अन्तिम समयसम्म बाँच्न खोज्दो रहेछ । उपचारको आशा गर्दो रहेछ । हामीले सतही ढङ्गमा इच्छा मृत्युलाई हेरिरहेका रहेछौं, बुझिरहेका रहेछौं । हरेक प्राणीले बाँच्नको निम्ति अन्तिमसम्मै युद्ध गरिरहँदो रहेछ । हामी कोरोनासँग यो युद्ध लड्दै छौं । घरभित्र आपैmंलाई कैद गरेर । उप्m ! टाउको फनन घुम्यो ।

यस्तो सङ्क्रमित समयमा परिवारका सदस्यहरु एकैठाउँमा भेला भएर जुध्न पाए केही साहस बढ्थ्यो होला । त्यस्तो पनि भइराखेको छैन । खासमा म कोरोना नेपालमा देखिनु अघिदेखि नै अत्यासिएकी थिएँ । दक्षिण कोरियामा हजारौं कोरोना सङ्क्रमित देखिएको समाचार पढेदेखि नै मेरो होस उडेको थियो । सुखी जीवन बिताउने कल्पनामा परदेशिएको जीवनसाथी त्यहीँ छन् । कम्पनीले काम बन्द गरेको छैन । त्यहाँ लकडाउन पनि छैन । निर्वाध आवतजावत भइरहेकै छ । अब के हुने हो ? सुन्दर भविष्यको कल्पनामा अस्ट्रेलियामा अध्ययन गर्न पुगेकी छोरीको काम छुटेको छ । कोठा भाडा, कलेज शुल्क, रासनपानीको लागि आवश्यक रकम सकिँदै गएको छ । अब के हुने होला ? कसरी जोगिएलान् उनीहरु ? यहाँ नेपालमा घरमै पनि वृद्ध सासुससुरा, छोराछोरीलाई कसरी सुरक्षित राख्ने ? मेरो दिमाग बोझिलो हुँदै गएको थियो । यस्तोमा म कसरी ध्यान केन्द्रित गर्न सक्थेँ ? अत्यासको शृङ्खला चलिरह्यो । 

घरभित्रै बसे, साबुनपानीले पटकपटक हात धोए कोरोनाले भेट्दैन भन्ने आशयको सन्देश नेपाल टेलिकमले दिन थालेको थियो । साँच्चै त्यसो गरे सङ्क्रमण हुनबाट जोगिन्छ । तर कोठा भाडामा बस्नेहरु फुत्तफुत्त बाहिर निस्किरहेका छन् । थप समस्या सृजित भएको लाग्दै छ । तिनलाई पटकपटक भनेँ– घरबाहिर नजानुहोला । उनीहरु अटेरी भइरहे  । नमीठो बचन लाउन पनि सकिनँ । अन्ततः हात जोडेर नमस्कार गरेर अनुरोध गरेँ– प्लिज लकडानउन अवधिमा घरबाट बाहिर नगइदिनुहोला । खानेकुरा सकिए बरु बाँडचुँड गरेर खाउँला । जीवनमा पहिलोपटक कोहीसँग म यति निरीह बने । मृत्युको भयले मान्छेलाई कत्ति निरीह बनाउँदो रहेछ ! 

कोरोना । कोरोना । कोरोना ।  सर्वत्र त्यही भाइरसको चर्चा छ । सामाजिक सञ्जाल हेरे कोरोना । परिवारका सदस्यहरुबीचको वार्तालापमा कोरोना । जताततै कोरोना । केही दिन त म शून्य जस्तै भएँ । साथीभाइको म्यासेज आउँथ्यो, केही लेख । पढ । तर मभित्रको उत्साह मर्दै गयो । दुई रात असामान्य भएर बिताएँ । निद्रा परेन । दिमागमा परदेशिएका श्रीमान्, छोरीको अनुहार घुमिरह्यो । तिनीहरु कोरोनाको कहरमा परे भने ? हामी सङ्क्रमित भयौं भने ? यो महामारीको छनोटमा हाम्रो घरबाट कोको रहला ? अथवा कोही पनि नरहला । खराब विचार मष्तिस्कभरी सल्बलाइरह्यो । 

मान्छेलाई समाज भन्दा पर रहनु सजायजस्तै हुँदो रहेछ । भौतिक दूरी कायम गर्न कोरोनाले बाध्य बनाइरहेको अवस्था छ । यस्तोमा भर्चुअल दुनियाँको महत्व बढ्दो रहेछ । तेस्रो दिनदेखि मैले फेसबुकमा रमाइलाखालका स्टाटस हाल्न थालेँ । साथीभाइको फन्नी कमेन्ट पढ्न थालेँ । साथीहरुसँग भिडियोकलमा बोल्न थालेँ । सबैले आ—आप्mनो दैनिकी, त्रास र आश सुनाए । सबैको दुःख उस्तै त रहेछ । मृत्युको भय सबैलाई उस्तै त हुँदो रहेछ । म मात्रै किन चिन्ता लिनु ? भन्ने लाग्न थाल्यो । फेसबुकमा लाइभ बसेँ । साथीहरुको प्रतिक्रियाले हृदयको सन्ताप अलिकति कम भयो । त्यसपछि म पुनः अध्ययन कक्षमा गएँ । सञ्जीव उप्रतीको घनचक्कर उपन्यास दोहो¥याएँ । ललित विष्टको मोहपथबाट केही थान कथाहरु पढेँ । राजेन्द्र पराजुलीको कोटेश्वरको केटोबाट केही च्याप्टर संस्मरण पढेँ । अलिअलि भए पनि राहत महसुस भयो ।

अचेल, प्रसस्त सिनेमा हेर्छु  । आईएम लेजेन्ड, स्नोपियर्सर, इन्सेप्सन, वन्स अपन अ टाइम इन हलिउड, प्याडम्यान, अन्धाधुन, द स्काइ इज पिङ्क, बद्ला, गेम ओभर, वाटर, थप्पड, तुम्बाड, गिल्टी, पार, अर्थ, फायरलगायतका सिनेमा हेरिसकेकी छु । म अरुरलाई पनि यी सिनेमाहरु हेर्न सिफारिस गर्छु । सिनेमा हेरुञ्जेल म अर्कै दुनियाँमा पुग्छु । मानसिक रुपले सिनेमाको प्रस्तुति, कथानकता, शैलीमा केन्द्रित हुन्छु ।  तत्क्षण म सारा पीरहरु बिर्सन्छु । मैले पछिल्ला दिनहरुमा एकै दिनमा लगातार तीनवटासम्म सिनेमा हेरेँ । मेरो सिनेमा प्रेम देखेर ग्रेसी राईले नेटफिल्क्सको आइडी र पासवर्ड इन्बक्स गरिदिइन् । आभारी छु उनीप्रति । गहिरो दर्शन भएका पुस्तकमा ध्यान केन्द्रित गर्न भने अझै समस्या भइरहेको छ । फाटफुट छोटोछोटो आख्यानहरु पढ्छु । फेसबुकमा फन्नी पोस्ट गर्छु । कमेन्ट पढेर मरीमरी हाँस्छु । यसो गर्दा तनाव कम हुदै जाँदो रहेछ ।

घरभित्र बसेर कोरोनाविरुद्ध  सक्दो लडिरहेकै छु । यति गर्दागर्दै पनि कोरोना लागेछ भने लागेछ । मरिएछ भने मरिएछ । तर म किन जिउँदै मरिरहँु ? अचेल यस्तै लाग्छ । यो महामारीले शक्तिशाली भनिएका राष्ट्र र त्यहाँका जनतालाई त निरीह बनाइरहेको छ, हामी त नेपालमा छौं । जहाँ जम्माजम्मी ७०० वटा भेन्टिलेटर छ । चिकित्कसहरुको लागि पर्याप्त पीपीई उपलब्ध छैन । एम्बुलेन्स निकै कम छन्, त्यसको पनि व्यवस्थापन उचित छैन । अस्पतालबाट अरु रोग लागेका बिरामीहरु धमाधम फर्काइँदैछ । प्रशस्त मात्रामा कोभिड—१९को जाँच गर्न सरकार असफल छ । कोरोना लागिहाल्यो भने माया मार्नुपर्ने अवस्था उत्पन्न भएको छ । भाग्यवादको शरण पर्नुपरेको छ । यस्तो सङ्क्रमणको समयमा पनि सरकार र उसका निकायबाट भ्रष्टाचार भएको सुन्नुपर्दा मुटु चिरा परेर आउँछ । रिस, घृणाको पारो उम्लिन्छ । भ्रष्ट संवेदना भएकाहरुविरुद्ध चरम घृणा उत्पन्न हुन पुग्छ । 

तर लाग्छ, कत्ति कुरामा तनाव लिनु ? कति पटक मस्तिष्कमृत्युको सामना गर्नु ! भैगो अब जे पर्ला पर्ला । जस्तो जस्तो परिस्थिति आउला सामना गर्दै जाउँला । यो मलाई मात्र परेको होइन । सम्पूर्ण मानवजातिमाथिकै सङ्कटको घडी हो । आत्मबल बलियो बनाउनुपर्छ । म आफूलाई दह्रो बनाउने अभ्यासमा छु । 

मलाई थाहा छ– यो त केही समयका लागि गरिएको लकडाउन हो, लाइफडाउन त होइन नि !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC