site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नैतिक शिक्षा पढेर आएको हुँ, मेरो दायित्व मलाई थाहा छ
Sarbottam CementSarbottam Cement

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस बिस्तारै विश्वभर फैलियो । विश्वका कुनाकुना पुगेको भाइरस नेपाल आइनपुग्ने सम्भावना थिएन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राख्दै बेलैमा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्यो ।  

सुरुका दिनमा कानमा तेल हालेर बसेको सरकारले अन्तिममा आएर २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गर्यो  । क्लव, जिम सेन्टर, सिनेमा हल बन्द गर्न निर्देशन दियो । शैक्षिक संस्था बन्द गर्न भन्यो । अन्ततः कोरोना फैलिएका देशले नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्न घोषणा गरेको लकडाउन नेपालले पनि लागु गर्यो । 

जनता घरभित्रै बस्नुपर्ने भयो । आफ्नै स्वास्थ्यका लागि गरिएको आग्रह मान्नै पर्यो । दीपकराज गिरी पनि घरभित्रै बसे । हुन त उनी ‘छक्का पञ्जा–४’ को स्क्रिप्ट लेखनका लागि केही महिना अगाडिदेखि नै करिबकरिब होम क्वारेन्टाइनमा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउन घोषणा भएपछि झन् बाहिन निस्कने कुरै भएन । उनका केही स्वास्थ्यकर्मी साथीहरु छन् । उनीहरुसँग फोनमा दीपकको कुरा भयो । लकडाउनपश्चात् दीपकसँग फोन संवाद होस् अथवा समाजिक सञ्जालमा गफिनेमध्ये सबैभन्दा धेरै त्रसित तिनै स्वास्थ्यकर्मी थिए । उनीहरु भन्थे, दीपकजी मरिन्छ कि  क्या हो !

स्वास्थ्यकर्मी भएर त मनोबल उच्च पो पार्नुुपर्छ भन्दै दीपक तिनलाई थुम्थुम्याउने प्रयास गर्थे । तर ती स्वास्थ्यकर्मी भन्थे– बन्दुक नै नलिई लडाइँमा जाँदा गोली लाग्ने सम्भावना त बढी छ नि, हैन र ? हामीसँग स्वास्थ्य सामग्री छैन, आफ्नै जिन्दगी जोखिममा छ । उनीहरुलाई उल्टै दीपकले काउन्सिलिङ गर्नुपर्यो । आस्तिक हुन् दीपक सम्झाउँथे, भगवान्को कृपाले कसलाई के हुने र के नहुने माथि नै तय भएर आएको हुन्छ, त्यसैले केही हुँदैन ।

Global Ime bank

फेसबुकमा दीपक अचेल नडराउनुस्, आत्मबल उचो बनाउनुस्, हाँस्नुस्, रमाउनुस् भनेर भिडियो अथवा स्टाटस पोस्ट गरिरहेका छन् । कमजोर मनोबललाई केही उकास्ने उनको प्रयास हो यो । जसरी हुन्छ आफूसँग जोडिएका र आफूलाई सुन्नेहरुको मनोबल दरिलो बनाउँदै ‘मोराल बुस्टअप’ गर्नु उनको उद्देश्य हो । 

सेड्युल सर्ला, छैन चिन्ता
जेठको पहिलो साताबाट चलचित्र ‘छक्का पञ्जा–४’ को सुटिङ सुरु गर्ने उनको तयारी थियो । त्यसका लागि स्क्रिप्ट लेखिरहेका थिए । दीपक करिब ७५ प्रतिशत स्क्रिप्ट आफैं लेख्छन् । स्क्रिप्टको स्केलेटन तयार पारेपछि उनी आफ्नो टीमसँग बस्छन् । बैशाखको पहिलो सातासम्म स्क्रिप्टको स्केलेटन तयार पार्छु अनि सबैजना बस्नुपर्छ है भनेका थिए, उनले । दीपकको टिम भनेको दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल हुन् । सुमन गिरी –भाञ्जा)लाई दीपकले जेठको पहिलो साताबाट फ्लोरमा जानुपर्छ, त्यसको चाँजोपाँजो मिलाउँदै गर्नुस् है भनेका थिए । उनको टिम सेड्युलमा चल्न तम्तयार अवस्थामा थियो । 
तर विश्वका शक्ति सम्पन्न देशलाई निरीह साबित गर्नेगरी कोरोना भाइरस आइपुग्यो । दीपकको सेड्युल करिबकरिब अलपत्र परिसक्यो । 

विश्व नै महामारीले त्रसित बनेको अवस्थामा उनले आफ्नो काम पूर्वनिर्धारित मितिमा नहुने भयो भनेर टाउको दुखाउने कुरा भएन । र दुखाएका पनि छैनन् । 

विश्वका अन्य देशमा जस्तो नेपालमा कोरोनाको प्रभाव छैन । तर पनि जोखिमका कारण अझै कति समयसम्म अन्तर्राष्ट्रिय उडानहरु रद्द हुने हुन् अन्योल छ । त्यसको असर दीपकलाई पनि पर्छ । कारण नेपाली बसोबास गर्ने धेरै देशमा उनको चलचित्रको माग हुन्छ । तर अहिलेको अवस्थामा चलचित्र जसोतसो बनाए पनि विदेशमा लैजान सक्ने सम्भावना छैन । त्यसैले द्विविधामै छन् दीपक पनि । 

भोलि जे होला, त्यो भोलि नै भोग्दै जाने हो । भलै त्यस्ता प्राकृतिक प्रकोप तथा महामारीबाट बच्नका लागि पूर्वतयारी गर्नुपर्छ । तर आजै मरिन्छ कि क्या हो, आकाश नै खस्ने भयो, धर्ती नै पल्टिने भयो भनेर हतास हुनु नमरी स्वर्ग देख्नु अथवा आफ्नो दुर्गतिको दिन आफैं निम्त्याउनु हो भन्छन् दीपक । त्यसैले उनी आत्तिएनन्, बरु भन्छन्– आज ताकेको काम आजै भएन त के भयो, भोलि त पक्कै होला । आँटे ताकेको काम सबै हुनैपर्छ भन्ने नरहेको उनी बताउँछन् । 

दीपक भगवान्प्रति आस्था राख्छन् । त्यसैले उनी भन्छन्, हामीले त आँट्ने मात्रै हो, मोहर लगाउने काम त ईश्वरले गर्छन् । 

फेसबुके प्रतिक्रियालाई जवाफ
दीपक गिनेचुनेका चलचित्रकर्मी । कतिले उनलाई हाकाहाकी प्रश्न गरे– यो असहज परिस्थिमा सरकारलाई कति सहयोग गर्नुभयो ? कतिले घुमाएर सोधे । कतिले त आलोचना समेत गर्न भ्याए । 

दीपकले गरेको अनुभव : पैसा दिएन, पैसा किन दिइनस्, कञ्जुस । 

पैसा थोरै दियो, यति थोेरै दिने, लाज लाग्दैन । 

धेरै दियो, भ्रष्टाचार गरेर, लुटेर ल्याएको पैसा दिइहाल्छन् नि । 

केही दिनअगाडि मात्रै एकजनाले कोरोना नियन्त्रण कोषमा तीन लाख सहयोग गरे । उनलाई फेसबुकमा कमेन्ट गरियो, कहाँबाट आयो यति धेरै पैसा ? भ्रष्टाचार गरेर ल्याएको त होला । त्यसैले यस्तो फेसबुके प्रतिक्रियामा दीपक अहिले खासै ध्यान दिँदैनन् । आफूले ध्यान दिएको, देखेको र जानेको गर्ने सोचमा छन् उनी । 

उनको गुनासो छ, हाम्रा चलचित्रलाई बलिउड र हलिउडका चलचित्रसँग तुलना गरिन्छ । बलिउडका सेलिब्रिटीसँग नेपाली सेलिब्रिटीलाई तुलना गरिन्छ । दुईसय वर्षको इतिहास बोकेको हलिउड, सय वर्षको इतिहास बोकेको बलिउड जहाँ अर्ब डलर लगानीमा चलचित्र बन्छन्, हाम्रोमा मुस्किलले करोडमा बनेका चलचित्रसँग तुलना गर्न मिल्छ ? 

अक्षय कुमारले प्रतिवर्ष ४ सय देखि ६ सय करोड कमाउँछन् । हाम्रो चलेको नेपाली सेलिब्रिटीले मुस्किलले ३० लाख कमाउँछ । त्यो पनि तीनचार वर्ष चलेपछि डेट एक्सपायर हुन्छ । अनि कसरी मिल्छ तुलना गर्न ? अक्षय कुमारले २५ करोड रुपैयाँ सहयोग गरे हाम्रा कलाकारले खोई ? गरे पनि त्यति थोरै ? प्राय : अहिले भइरहेको आलोचना यही हो । यदि अक्षय कुमारको आम्दानी र हाम्रो अम्दानीको अनुपात हेर्ने हो भने हामीले २५ हजार रुपैयाँ मात्रै सहयोग गर्ने हो भने पनि त्यो रकम धेरै हुन जान्छ ।  

त्यसमा पनि राहत कोषमा सरकारले कति पैसा जम्मा गर्यो, कसरी स्वास्थ्य सामग्री छिटो जुटाउने, वितरण गर्ने खोइ नीति तथा कार्यक्रम, त्यहीँ भ्रष्टाचारका समाचारहरु आइरहेका छन् ? प्रश्न छ दीपकको । हामी त भर्खर सुरुआती चरणमा छौं । फेसबुके बुजु्रगहरु कडा आलोचना गरिरहेका छन् । 

तर फेसबुकमा आएका आलोचना र सुझाव होइन आफ्नो धरातलमा उभिएर आफ्नै क्षेत्रमा सहयोग गरेकाे दीपक बताउँछन् । 

कस्तो सहयोग ? 
नेपाली चलचित्र क्षेत्रमा काम गर्ने कमजोर आर्थिक अवस्था भएका करिब ३०/३५ जना स्पोट ब्वाई छन् । लकडाउन लम्बिँदै जाँदा उनीहरुको घरमा चुलो धुवाउँदैन । तिनीहरुको घरमा एक महिना पुग्ने रासन दिन सके धन्य हुने दीपक बताउँछन् । यही सोच अनुसार उनले सहयोग गरे चलचित्र प्राविधिकलाई । “लाखौं रुपैयाँ सहयोग गरेँ भनेर फेसबुकमा राखेर मलाई हिरो बन्नु छैन,” दीपक भन्छन्, “सकेको सहयोग आफ्नै पैसा दिएर गर्छु । अरुसँग पैसा मागेर अरुको पैसामा हिरो हुनु पनि छैन मलाई । नैतिक शिक्षा पढेर आएको हुँ । नागरिकको दायित्व के हो र मेरो दायित्व के हो मलाई थाहा छ ।”   

हजुरबुवा हजुरआमाले आफ्नो कमाइको १० प्रतिशत दानधर्म गर्नुपर्छ भनेर सिकाएको दीपकले बिर्सिएका छैनन् । दीपकसहित चलचित्र ‘छक्का पञ्जा’ युनिटले एकलाख १० हजार रुपैयाँ सहयोग गरिसकेको छ । 

लकडाउन डायरी
दीपक बिहान साढे ७ बजे उठ्छन् । डेढ घण्टा सामाजिक सञ्जालमा गएर अपडेट लिन्छन् । 

९ बजे शारीरिक अभ्यास सुरु गर्छन् । यसमै मर्निङ वाक पर्छ । घर नजिकै चौर छ, त्यसमै हिँड्छन् उनी । प्राणायम, अनुलोम बिलोम, कपालभाती गर्छन् । ब्याक बोनमा केही समस्या छ, त्यसका लागि छुट्टै प्राणायम गर्छन् । त्यसपछि आधा घण्टा गीत बजाएर नाच्छन् दीपक । 

भगवान्प्रति विश्वास छ दीपकलाई, आधा घण्टा ईश्वरको प्रार्थना गर्छन् । यति गर्दा दिनको ठीक १२ बजेको हुन्छ । १२ बजे दीपकको खाना खाने समय हो । एक घण्टा आराम गरेर स्क्रिप्ट लेख्न बस्छन् । स्क्रिप्ट लेखेर ६ बजे उठेपछि दीपक आधा घण्टा इभिनिङ वाकमा निस्किन्छन् । ७ बजे घर फर्किएर नेटफ्ल्क्सिमा एउटा चलचित्र खोज्छन् । आधा चलचित्र हेर्छन् । ८ बजे दिउँसो लेखेको स्क्रिप्टमा केही करेक्सन गर्छन् । साढे ८ बजे हल्का केही खान्छन्, बाँकी चलचित्र हेरेर ११ देखि साढे ११ बजे सुत्छन् । 

मृत्युमा कमी ? 
दीपक चलचित्रकर्मी मात्रै होइनन्, सञ्चारकर्मी पनि हुन् । मङ्गलबार कान्तिपुर एफएममा कार्यक्रम ‘फिल्मी परेड’ चलाउनु थियो । गाडी लिएर घरबाट निस्किए । सडक जति सुनसान थियो, त्यति नै सुन्दर पनि । सडकमा धुलो थिएन, हावामा धुलो र धुवाँ थिएन । आहा कति सुन्दर ! आखिर हाम्रो सबैभन्दा ठूलो समस्या त अस्तव्यस्त ट्राफिक पो रहेछ । हुन त यसको पहिचान उनले यसअघि नगरेका होइनन् । तर सायद यति धेरै गहिरिएर उनले सोचेका रहेनछन् । 

पशुपति क्षेत्र विकास कोषमा कार्यरत एकजना उच्च पदाधिकारीसँग उनको राम्रै चिनजान छ । कुरा भयो । ती कर्मचारीले पशुपति आर्यघाटमा लकडाउन सुरु भएपछि दाह संस्कारका लागि आउने शवको सङ्ख्या ह्वात्तै घटेको सुनाए । 

किन ? दीपकको जिज्ञासा थियो । लकडाउन भएपछि सवारी साधन चलेनन् । सवारीसाधन नचलेपछि दुर्घटना भएन । दुर्घटना नभएपछि ज्यान गुमाउनेको सङ्ख्या घट्यो । शव कम हुनुको कारण सुनाए दीपकलाई ती व्यक्तिले ।  

आखिर हामीले भोगिरहेको समस्या हामी आफैंले त निम्त्याएका रहेछौं, दुर्घटनाको कारण व्यक्ति स्वयम् त रहेछ । कुराकानीको निष्कर्ष थियो । 

चलचित्रमा कोरोना ? 
दीपकले स्क्रिप्ट लेखिरहेका बेला विश्वमा कोरोनाको महामारी फैलियो । चलचित्र स्वैरकल्पना मात्रै होइन,  समाजको ऐना पनि हो । 

त्यसो त के समेट्ने के नसमेट्ने त्यो विषय, समय र पात्रले पनि निर्धारण गर्छ । त्यो भए के विश्वलाई नै थिलथिलो बनाउने, शक्ति राष्ट्रलाई पनि घुँडा टेकाउने कोरोना प्रभाव दीपकको यो चलचित्रमा समेटिन्छ ? 

समेटौं कि नसमेटौं दीपक स्वयम् द्विविधामा छन् । कारण उनीप्रति दर्शकले भरोसा गरेका छन् । अपेक्षा धेरै छ । हल्काफुल्का रुपमा देखाएर अर्थ छैन, न्याय गर्नेगरी देखाउन पूर्वनिर्धारित विषयमा जोड्न सकिन्छ कि सकिँदैन ? उनी स्वयम् द्विविधामा छन् । जोडदार रुपमा देखाउन सके देखाउँछन्, अवस्था त्यस्तो बनेन भने छोड्दिन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC