सन्तोष रिमाल
पुस्तक–प्रसङ्गमा कान ठाडो हुन्छ । किनभने जीवनमा यसलाई धेरै ब्यहोरियो । कक्षा चढ्नबाहेक पनि । परीक्षा, परिवन्द र पत्रकारिताको जाागिरले माग गरेका किताब धेरै पढ्नुपर्दा गतिला छुटेकोे थकथक पनि छ ।
पूर्णकालीन पत्रकारिताको दौरानमा धेरैसँग अन्तरवार्ता गरियो । टेलिभिजनमा अन्तरवार्ताका कार्यक्रम बनाइयो । आफूले बनाएका वा हेरेका ती कार्यक्रम साँच्चै अन्तरवार्ता भन्न लायक थिए त ? गतिलो अन्तरवार्ता गर्नमा ठूलो अन्तर पो रह्यो कि ?
अहिले आएर विगतमा पढेका किताब र गरेका अन्तरवार्ताको प्रसङ्ग उठाउनुमा कारण छ । अहिले म एउटा किताबमाथि घोत्लिँदैछु । यो किताब अन्तरवार्ताको सँगालो हो । र, पनि गजब छ ।
‘द विज्डम अफ सन्डेज’– यो किताब पढ्न थाल्दा नेपालका एकजना टक सो होस्टले आफ्नो अतिथिसँग गरेको अमर्यादित व्यवहारको खुब आलोचना भइरहेको थियो । त्यतिबेलै यो किताबमाथि लेख्ने सोचेको थिएँ, भ्याइएन । अहिले यसमाथि लेख्न बस्दा कोरोना आतङ्क छ । त्यसो त गतिला किताब जुन समय पनि उपयोगी हुन्छन् । तर महामारीको त्रासमा त्यस्ता पुस्तक र व्यक्तिलाई पढ्नु अझै लाभदायक हुन्छ जसले प्रेम, जागरण, करुणा र होसका कुरा गर्छन् । जसमा अध्यात्मको झिल्को देखिन्छ । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ओपरा विन्फ्रीको यो किताब उनको पडकास्ट ‘सुपर सोल कन्भर्सेसन’को सँगालो हो । करिव दुई सय घन्टाका अन्तरवार्तालाई उनले किताबमा छानेकी छन् । उनको दाबी छ –मानवीय सम्भावनाको माथिल्लो तहमा रहेकासँग वार्ता गरेर, त्यस्तै स्थितिमा उक्लन सक्ने सम्भावनालाई जगाउन यो किताब तयार पारेको हो ।
...
मान्छेको चिनारी के ? हामी जसरी अरुलाई आफू चिनाउँछौं, के ठ्याक्कै त्यस्तै हौं त ? त्यसो हो भने किन एउटै व्यक्तिको गुण सबैका सामु एकै हुँदैन ? आमाका लागि आज्ञाकारी छोरो बाबुको नजरमा किन अटेरी हुन्छ ? कतै धोकेबाज प्रेमी कतै कसरी इमानदार ? किनभने हाम्रो पहिचान अमूर्त छ । कसैले हामीलाई जस्ताको त्यस्तै चिने भने पनि प्रेम गर्लान् त ? यस्तै प्रश्नको घेरावन्दीमा थिए रिचर्ड अल्पर्ट । जीवनको मूर्तताको खोजमा भारत हान्निएका रिचर्डले जब नीम कोरली बाबा (जसलाई महाराजजी पनि भनिन्छ) लाई भेटे, उनको खोज पूरा भयो । ती बाबाले रिचर्डकी आमाको मृत्यु कसरी भयो भन्ने बेलिबिस्तार ‘मेडिकल टर्म’मै लगाइदिएपछि त उनलाई लाग्यो– बाबाले आफ्नो मन ऐनामा अनुहार जसरी देखे । यसरी छर्लङ्ग देख्नसक्ने मान्छे गुणमात्र हैन, दोष पनि देख्छ । उनलाई लाग्यो– त्यो ‘साँचो’ चिनारीभित्र गुणमात्र होइन, दोष पनि लुकेको छ । तैपनि आफूले निःसर्त प्रेम पाएपछि उनी तत्काल सम्मोहित भए । त्यो क्षणलाई एउटा दुर्लभ अवसर महसुस गरेपछि हार्वर्ड वैज्ञानिक रिचर्ड अल्पर्ट बने रामदास ।
‘महाराजजीले मेरो आत्माको दर्पण देखाइदिनुभयो । मैले ठान्ने म र वास्तविक ‘म’को फरक बुझाइदिनु भयो’ । रामदास अझै प्रभावित त तब भए जब ती बाबाले ‘आई वान्ट यु टु लभ एभ्रीबडी’ भन्दै उनलाई शिष्यका रुपमा स्वीकार गरे । सन् १९६७ मा ती पूर्वीय सन्तको ‘अनकन्डिसनल लभ’मा परे उनी । उनै रिचर्ड अर्थात् रामदास त्यहाँ उप्रान्त अमेरिकी समाजमा प्रेम र करुणा सिकाउँदै छन् । हार्वर्ड वैज्ञानिकको ‘रोल’बाट ‘सोल’मा रुपान्तरण भएको कथा उनले ओप्राको सोमा सुनाएका छन् ।
ओपरासँगको संवादमा सशक्त सुनिन्छन् ज्याक कोर्नफिल्ड । बेस्ट सेलिङ अमेरिकी लेखक ज्याक अमेरिकामा विपश्यना ध्यानको प्रवद्र्धनमा सक्रिय व्यक्ति हुन् । उनको विचारमा जीवनको सम्भावना असीमित छ । तर डरको अवरोधले जीवन सङ्कुचित भइरहेको छ । डरको तुलना घरको सवैभन्दा सस्तो र कमजोर कोठासँग गर्दै उनी भन्छन्, ‘म तिम्रो बसोबासको स्थिति सप्रिएको देख्न चाहन्छु ।’
‘द सिट अफ द सोल’ र ‘सोल स्टोरिज’ जस्ता प्रख्यात पुस्तकका साथै आध्यात्मिक लेखनमा ख्याति कमाएका ग्यारी जुकव ‘ओप्रा विन्फ्रे सो’मा पटकपटक दोहोरिएका अतिथि हुन् । यो संवादमा उनी ‘नियत’ माथि बढी पोखिएका छन् । संसार अभावले दुःखी छ कि नियतले ? उनको सोझो उत्तर हो नियत । एक व्यक्तिले चारतले घर बनाउने इच्छा गर्यो । अर्कोले पनि त्यस्तै गर्न चाह्यो । यहाँसम्म दुवैको चाहना स्वाभाविक देखिन्छ । उस्तै चाहना भए पनि एकजनाको उद्देश्य हो बेघर बालबालिकालाई आश्रय उपलब्ध गराउनु । अर्काेको उद्देश्य भने दुईतले घर भएको छिमेकीसामु फुर्ती देखाउनु । उस्तै इच्छालाई नियतले कति फरक पार्छ उनले खुलाएका छन् । मान्छे ‘नियत’को वशमा पर्दा दुःखको भारी उठाउन पुगेको ठोकुवा गर्ने उनी भौतिकवादी समाजमा बसेर समृद्धिका लागि नियत–सुधारमा जोड दिन्छन् ।
पीडा भनेको दृष्टिकोण हो । त्यसलाई रोक्न सकिन्छ भन्ने हिम्मतका साथ आध्यात्मिक सेमिनार गर्छन् टोनी रोविन्स । ‘स्टप द सफरिङ’ उनको लक्ष्य हो ।
आज म को हुँ ?
म केका लागि उभिएको छु ?
यहाँ म के गर्दैछु ?
यो कार्यबाट म के दिइरहेको छु ?
यसबाट मैले के चीज हुर्काइरहेको छु ?
यहाँबाट प्राप्त के चीजले मलाई आनन्दित बनाइरहेछ ?
यस्ता प्रश्नलाई आदत बनाउन सुझाउँछन् उनी । र, त्यही आदतले मान्छेलाई पीडाबाट बाहिर निस्कन सघाउँछ भन्ने उनको विश्वासमा सहमत हुनेको सङ्ख्या बढ्दै गएको छ । देशविदेशबाट उनको सेमिनारमा भाग लिन आउनेले यसलाई पुष्टि गर्दैछन् ।
विश्वप्रसिद्ध आध्यात्मिक चिन्तक, लेखक, कलाकारसँगको अन्तरवार्ता पढ्न पाइन्छ यो किताबमा । उनीहरु नयाँ–नयाँ कोणले सत्यको व्याख्या गर्छन् । जीवन–दर्शन व्यक्त गर्छन् । तर ती गीता या उपनिषद्मा लेखिएका, वेदमा सुनिएका जस्तै लाग्छन् । के आध्यात्मिक उन्नतिको उचाइमा पुगेकाहरुले देख्ने सत्य एउटै हुन्छ ? वा सबैले सत्य मानेर उस्तै चीज पढे होलान् । कतिपय प्रसङ्गमा मनोवाद चल्छ र अनुत्तरित निष्कर्षमै चित्त बुझाउनु पर्छ । सायद अध्यात्म भन्ने चीजै यस्तो हो कि !
अन्तरवार्ताकारको परिपक्वता, तयारी र समझले भने कायल बनाउँछ । आफ्ना अतिथिबारे पूर्ण जानकार लाग्छिन् ओपरा । कतिपय प्रसङ्गमा आफ्ना अतिथिका भनाइ दुई हरफ राखेर आफ्ना लागि १० हरफ लिन्छिन् । तैपनि बढी बोलेको जस्तो नलाग्नु र ओप्रामार्फत् ती अतिथि अझै उजागर भएको महसुस हुनु अब्बल पक्ष हो ।
पाप–पुण्य, धर्म–अधर्म, सत्य–असत्य आध्यात्मिक चिन्तनमा सधैं, सबैतिर उब्जिने तर निष्कर्षमा एकै सहमति ननिस्किने विषय हुन् । यस विषयमा न्युयोर्क टाइम्सका स्तम्भकार डेभिड ब्रुक्स घतलाग्दो कुरा गर्छन्, ‘जब हाम्रो प्रेमको म्याद सकिन्छ हामी पापी हुन्छौं ।’ उनको भनाइ पढ्दा पूर्वीय शास्त्रले प्रेमलाई परमात्मासम्म पुग्ने मार्ग मानेको तथ्य याद आउँछ ।
धेरै बहस हुने तर सर्वमान्य निष्कर्षमा पुग्नै नसक्ने अर्को विषय हो, सत्य । त्यसलाई बुझाउन सजिलो परिभाषा सुनाउँछन्, हलिउड निर्माता एवम् बेस्ट सेलिङ अथर डेभोन फ्राङ्कलिन । उनी सत्यलाई केवल दुई चीजको नियन्त्रणमा देख्छन् । सम्भावित अवस्थाबारे गरिने तयारी र भर्खरै घटित अवस्थाको प्रतिक्रिया ।
जे छ केहीजस्तो नलाग्ने, जे छैन त्यही सबथोक लाग्ने सर्वकालीन मानवीय स्वभाव हो । अमेरिकी अभिनेत्री एमी पर्डीसँग पनि महत्वाकाङ्क्षाका पहाड पक्कै थिए होलान् । तर २१ वर्षको चुलबुले उमेरमै दुवै गोडा गुमाइन् उनले । त्यसपछिको विषाद के बयान गर्नु ! बिना गोडा जीवनको सबै कुरा रोकिएको ठानिन् । हिउँमा चिप्लेटी खेल्न र नाच्न मन गर्ने उनका रहरहरू त ठप्प हुने नै भए ।
नैराश्यले घेरिएकै बेला यिनले आफूसँग भएका विराट शक्ति पहिल्याइन् । ओपरासँग त्यो क्षण बयान गर्दै उनी भन्छिन्, ‘गोडा गुमाएपछि मैले बुझेँ जीवनको नृत्य ।’
‘यदि तिम्रो जीवन एउटा किताब थियो र तिमी त्यसको लेखक थियौ भने आफ्नो कथा कसरी लेख्थ्यौ ?’ घनघोर निराशाबीच उनले यो प्रश्न सुनिन् । त्यो कुनै अन्तरवार्ताकारले गरेको प्रश्न थिएन, आफ्नै मनको प्रतिध्वनि थियो । त्यसै दिनदेखि उनले आफूले अनुभव गरेको भन्दा फरक संसार देख्ने चेष्टा गरिन्, जसले उनलाई आजको अवस्थामा ल्याइपुर्याएको छ ।
न्युयोर्क टाइम्सको बेस्ट सेलिङ पुस्तक ‘अन माई टु फिट’मा उनको जीवनवोध पढ्न सकिन्छ । गोडा गुमाएदेखि जीवनको नृत्य बुझेसम्मका कुरा उनले ओपरासामु पोखेकी छन् । उनी लेखक, मोडल र ‘स्नोबोर्डर’का रुपमा प्रख्यात त छिन् नै, मोटिभेसनल स्पिकरका रुपमा पनि उनको परिचय चुलिँदो छ ।
ओपराले कुराकानीको सन्दर्भ नै यसरी तयार पारिदिन्छिन् कि उनका हर अतिथिको जीवन, जगत, कर्म आदिलाई हेर्ने दृष्टिकोण नै ‘दार्शनिक’ लाग्छ । प्रसिद्ध अमेरिकी कलाकार रेन विल्सन ओपराकै सोमा भन्न पुग्छन्– कलाकार र भक्त भनेका एकै हुन् । क्यानभासमा ब्रस चलाउनु र चर्चमा शिर झुकाउनु उस्तै हो ।
कला र भक्तिप्रति उनको समझ सुनेपछि ओपरा पनि आफ्नो भावना व्यक्त नगरिरहन सक्दिनन् । कपालमा गुलाफ फुलेको अनुभूति गरेँ भन्दै उनी थप्छिन्, ‘कला प्रार्थना हो, सिर्जनशीलता प्रार्थनाको अभिव्यक्ति !’
पीरचिन्ता सबैसँग छ । पीर नगर्ने सुझाव दिन हरकोही खप्पिस छन्, तर त्यसको सहज समाधान गर्ने क्षमता जो कोहीसँग हुँदैन । ‘पीरलाई कसरी हटाउने ?’ यो आमसमस्याको सजिलो जवाफ दिन्छन् भियतनामी वौद्ध भिक्षु टिक न्याट् हन् । ‘चिन्ता र दुःख आफ्नै सन्तान हुन् । तिनको हेरचाह गर । के कारणले चिन्ता पैदा भयो बुझ । तिनलाई सुम्सुम्याऊ, अङ्कमाल गर, सहज हुन्छौ,’ छोटो अन्तरवार्तामा मीठो कुरा सुनाएर बिदा हुन्छन् उनी ।
‘द विज्डम अफ सन्डेज’ विश्वविख्यात लेखक, कलाकार, दार्शनिक र आध्यात्मिक चिन्तकहरुसँगको छोटो तर गहन अन्तरवार्ताको सङ्कलन हो । यो किताब एउटा ढोका हो यसका अतिथिहरूभित्र पस्ने । तिनका दृष्टिकोणले तिनको जीवन जान्ने भोक जगाउँछ, तिनका जीवनले तिनका कृति बुझ्ने उत्सुकता । यो किताबको ठाउँठाउँमा ओपरा ‘वाउ मोमेन्ट’ भनिरहन्छिन् । पढ्दै जाँदा लाग्छ यी अहोभावले भरिएका अन्तरवार्ताहरु हुन् ।
अन्तरवार्तालाई ‘वाह’ बनाउने सम्भावना हुँदाहुँदै पनि अपवादबाहेक हाम्रा ‘टक सो’हरू फिलर (भरुवा)भन्दा उम्दा लाग्दैनन् । सायद नेपाली टेलिभिजनमा सबैभन्दा धेरै बनाइने र सबैभन्दा थोरै हेरिने सो हुनुपर्छ अन्तरवार्ता । यसका विभिन्न निहित उद्देश्य छन् । धेरैलाई आफ्ना कुरा भन्नुछ, त्यसैले अतिथि सर्वसुलभ छन् । आफूले गर्न चाहेको प्रश्नमा गहन जवाफ कसले देलान् भनेर अनुसन्धान गर्ने फुर्सद अन्तरवार्ताकारमा छैन । जो बोल्छ उही विज्ञ । कार्यक्रम बनाउनेलाई पनि सस्तो र छिटो । त्यसैले धेरैजसो कार्यक्रम त ‘जङ्क’ जस्तै छन् ।
यसो भनेर प्रश्नोत्तरमार्फत् तयार हुने चीजलाई कम आँक्न खोजेको होइन । हाम्रा कयौं दर्शन र साहित्य पनि प्रश्नोत्तरकै मार्फत् तयार भएका छन् र तिनको मूल्य अझै पनि अमूल्य छ । अर्जुनको प्रश्नले जन्मिएको ‘भगवद् गीता’ र जनकको प्रश्नले जन्माएको ‘अष्टावक्र गीता’ मात्रै पढ्दा पनि प्रश्नको शक्ति थाहा हुन्छ ।
सवाल हाम्रा प्रश्न कस्ता छन् र जवाफका अधिकारीको स्तर कस्तो छ भन्ने हो ।
यो किताबमा पूर्वाग्रह हुन सक्ने जोखिमहरु हुँदाहुँदै पनि ओपरा विचारको सन्तुलित सँगालो बनाउन सफल भएकी छन् । त्यो उनको ठूलो खुबी हो । त्यसैले पूर्वका चिन्तकलाई भेट्दा हिन्दुत्वको प्रभाव पर्न दिएकी छैनन्, पश्चिमका पादरीसँग कुरा गर्दा ईशाईकरण हुनबाट जोगाएकी छन् । बौद्ध भिक्षुसँग साक्षात्कार गर्दा साम्प्रदायिक गन्ध आउँदैन । सन्तुलन उनको क्षमता हो ।
ओपरासँग गहन प्रश्न छन् । उनका अतिथिहरुसँग छन् सरल उत्तर । र, उनीसँग एउटा प्रश्न छ, जसको जवाफ उनले कुनै अतिथिहरूसँग मागेकी छैनन् । सायद यो प्रश्न उनले आफ्ना पाठकलाई गरेकी हुन् । जसको जवाफ दिनु पर्दैन, मात्र खोजे पुग्छ ।
‘तपाईंको जीवन हरपल तपाईंसँग संवाद गरिरहेको हुन्छ । मौलिक आध्यात्मिक प्रश्न के हो भने तपाईं सुन्न तयार हुनुहुन्छ ?’