site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एउटा छायाँ अनुहारबाट गयो...
Sarbottam CementSarbottam Cement

मृदुला गर्ग

अज्ञेयसँग मेरो पहिलो भेट सन् १९७४ मा भयो । जतिखेर मेरी दिदी मञ्जुल भगतको पहिलो कथासङ्ग्रह ‘गुलमोहर के गच्छे’ भारतीय ज्ञानपीठबाट प्रकाशित भएको थियो । म १० वर्ष दिल्लीबाट बाहिर बसेपछि दिल्ली फर्किएकी थिएँ । १९७०/७१मा हामी दुवैले, करिब–करिब एकैसाथ लेख्न सुरु गरेका थियौं । मेरो त्यसबेलासम्म कुनै पुस्तक प्रकाशित भएको थिएन ।

मञ्जुलको पहिलो किताब प्रकाशनको खुसीमा सप्रु हाउसमा चियापान कार्यक्रम आयोजना गरिएको थियो । त्यसैबेला दुईचारजना लेखक तथा समालोचकहरूले पुस्तकमाथि छलफल गर्ने भएका थिए । एक दिन अचानक मञ्जुल मेरो घरमा आइन् र भनिन्, ‘‘मजा त त्यो बेला आउने थियो, जब कार्यक्रममा अज्ञेय आउने थिए ।’’ मैले भनेँ, ‘‘बोलाउँ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

यहाँले बुझिसक्नु भएको होला, हामी हिन्दी साहित्यको राजनीतिक शिष्टाचारबाट कति अनभिज्ञ थियौंं भन्ने कुरो । तर अनभिज्ञता अज्ञेयको साहित्यमा होइन । खुबै पढेका थियौं उनलाई । त्यसताका अज्ञेय हिन्दी साहित्यको आकाशमा सूर्यजस्तै देदीप्यमान थिए । 

मञ्जुलले एमए अङ्ग्रेजीमा नाम लेखाएकी थिइन् । मैले एमए गरेर तीन वर्षसम्म अर्थशास्त्र पढाएकी थिएँ । तशर्थ हामीलाई हिन्दी जगत्को सोपानतन्त्र र चरण स्पर्शीय शिष्टाचारको बानी थिएन । मिरान्डा हाउस र दिल्ली स्कुल अफ इकोनोमिक्समा नाम चलेका प्रोफेसर तथा अर्थशास्त्रीहरूसँग हामीले बहस गर्दै आएका थियौं । घरको संस्कार पनि बौद्धिक र उदार थियो । हरेक उमेरका सदस्य आफ्नो राय दिन सर्वथा स्वतन्त्र थिए । खासमा हाम्रा पिताजीको अज्ञेयसँग राम्रो परिचय थियो । तर उहाँले कुरा गर्न मान्नु भएन । भन्नुभयो, ‘‘हामी दुवैसँगको नाता उहाँले त्यसबखत मात्रै देखाउनु हुनेछ जतिखेर उहालाई हाम्रो पिताजीको नामबाट चिनाउन सकौं ! हामी उहाँको छोरीहरू जस्ता छैनौं ।’’ भाग्य हाम्रो !

Global Ime bank

हामीले निर्णय ग¥र्यौं, अज्ञेयलाई फोन गरेर कार्यक्रमका लागि आमन्त्रित गर्ने । फेरि हामीले काल्पनिक सिक्का उछाल्यौं, जुन सधैंजस्तै मेरो विपरीत रह्यो । अर्थात् फोन गर्ने जिम्मा मेरो भागमा प¥यो । फोन मिलाइयो । अज्ञेयले आफैं उठाए या उनलाई फोन दिइयो, सम्झना छैन । मैले भनेँ, ‘‘वात्सायनजी, मेरो नाम मृदुला गर्ग हो । तपाईं मलाई चिन्नु हुन्न । मेरी दिदी छिन् मञ्जुल भगत । उनलाई पनि तपाईं चिन्नु हुन्न । उनको पहिलो पुस्तक ‘गुलमोहरके गुच्छे’ छापिएर आएको छ । त्यस खुसीमा हामी फलानो तारिखका दिन फलानो समयमा सप्रु हाउसमा चियापान कार्यक्रम गर्दैछौं । तपाईं पनि आउनु होला ।’’
सोधियो, ‘‘किताब कहाँबाट छापिएको हो ?’’ मैले भनेँ, ‘‘भारतीय ज्ञानपीठबाट ।’’

त्यस पछि मञ्जुलले मेरो हातबाट फोन लिइन् र भनिन्, ‘‘यो त्यही भारतीय ज्ञानपीठ हो, जसले सुमित्रानन्दन पन्तलाई पुरस्कार प्रदान गरेको थियो ।’’
वात्सायनजीले भने, ‘‘बुझेँ । तर पुस्तक मकहाँ आइपुगेको छैन ।’’

‘‘ओहो ! हामी आएर दिन्छौं । बङ्गाली मार्केटबाट तपाईंको घर आउँदा कति नम्बरको बस आउँछ ?’’
‘‘भैगो छाड्नुस् ।’’ अज्ञेयले भने र फोन काटिदिए ।

मैले भनेँ, ‘‘कस्ती बेवकूफ तँ, उनीसँग बस नम्बर सोध्नु जरुरी नै थिएन । हामी पत्तो लगाइहाल्थ्यौं नि ।’’

उसले भनी, ‘‘तँ पनि कम बेवकूफ छैनस् । म मृदुला गर्ग तपाईंले मलाई चिन्नु हुन्न । ऊ मञ्जुल भगत तपाईंले चिन्नु हुन्न उसलाई,...यसरी पनि कोही आउँछ !’’
हामीले तय गर्यौंैं, अज्ञेय आउँदैनन् ।

तर उनी आए । सबैभन्दा अगाडि आए । र अबेलासम्म बसे । किताब पनि पढे, सायद एउटा कथा पनि पढे क्यार ! भने, ‘‘यस्ता दिदीबहिनीहरूलाई हेर्ने मोह कसरी छोड्थेँ, जो आफ्नो किताब प्रकाशनको खुसी मनाइरहेका छन् ।’’

मञ्जुलले मलाई साउती गरेर भनी, ‘‘उनी त यस्ता छन्, कसैले सोधे– के तपाईं आफ्नो जुत्ता आफैं पालिस गर्नुहुन्छ भनेर सोध्दा भन्नेछन्– तपाईंले कसको गर्नुहुन्छ ? अर्थात् हामीले बुझ्न सकेनौं कि आफ्नो किताबको खुसी किन मनाउन सकिन्न ?

उनीसँग भनिएन पनि, उनको व्यक्तित्वको प्रभामण्डलको दबाबमा । यो त्यो समय थियो जब रवीन्द्रनाथ टेगोरपछि कुनै लेखकको सशरीर छविले मोहित गथ्र्यो भने त्यो अज्ञेयको थियो । आफ्नो छविलाई सजाउन उनी हमेसा सजग र सतर्क थिए । एक शब्दमा भन्नुपर्दा उनको छविलाई यही नाम दिन्थेँ ‘तराश’ (सबै मिलेकोे) । मिलाइएको दाह्री, इस्त्री गरिएको पहिरन, साधिएको स्वर र त्यस्तै आक्रोश पनि । मिलेको रचनाकर्म र चिन्तन । मिलेको आत्मकथा अर्थात् ‘शेखर एक जीवनी’ । मिलेको यायावरी । मिलेको प्रेम, कयौंपटक वा एक पटक पनि हैन, त्यस्तो अहम् ! अरुको अहम्लाई मिलाएर वा तराशेर पुड्को बनाउने योग्यता । साधारणलाई मिलाएर अनुपातसहितको बनाउने क्षमता ! उनको व्याख्यानहरूभन्दा धेरै मेरा लागि उनको तेवर (क्रोध) धरोहर थियो । जसका कारण उनी कसैको अगाडि झुक्दैनथे । 

एउटा गोष्ठीमा पोल्यान्डका विख्यात हिन्दी अध्येता, स्मेकलले हिन्दी बोल्नेहरूलाई शुद्ध हिन्दी नबोलेकोमा धिक्कारे । अज्ञेयले संयमित स्वरमा विरोध गर्दै भने– ‘हाम्रो भाषा हो, हामी जसरी चाहन्छांै त्यसरी नै बोल्छौं । हामी निरन्तर त्यसलाई परिवर्तन गर्छौं र गर्नु पनि पर्छ ।’ उनले एउटा प्रगतिशील गोष्ठीमा बोल्न मानेनन्, कारण उनको विचारमा विमर्शको स्तर केटाकेटीपनाको जस्तै थियो । कतिकै मनाउँदा पनि उनी मानेनन् र उठेर गए । जबकि बाँकी रहेका दिग्गज र नाम चलेका व्यक्ति पनि बोल्नलाई सहमत भएका थिए ।

अज्ञेय गम्भीरता र दीर्घ मौनका लागि प्रशिद्ध थिए । यो हाम्रो सौभाग्य थियो कि हामीले उनलाई पहिलो पटक हाँस्दै र ठट्टा गर्दै गरेको देखेका थियौं । यहाँ अलिकति संशोधन जरुरी छ, ठीक अघिल्तिर उनलाई पहिलो पटक देखे पनि उनको मुस्कानयुक्त र ठट्यौली छविको साक्षी हामी धेरै अगाडिदेखि नै भएका थियौं । पत्याउनका लागि यो पर्याप्त हुन्छ कि हामी मिरान्डा हाउसमा त्यसताका पढ्थ्यौं, जतिबेला कपिला मलिक (वात्सायन) त्यहाँ अङ्ग्रेजी पढाउँथिन् र वात्सायनजीको उनीसँग प्रेमयोग चलिरहेको थियो । अज्ञेयको गम्भीर छवि हेर्दा त अफेयर भन्न सकिने अवस्था थिएन । उता कपिलाजी पूरा मिरान्डा हाउसकी मायालु छोरी थिइन् । वात्सायनसँग जब उनको बिहे भयो, लाग्यो हामीले नै छोरी बिदा गरेका हौं । 

उनको प्रेममा लिप्त व्यवहार र व्यक्तित्वको आकर्षण वात्सायनको उपन्यास ‘नदी के द्वीप’मा खुबै महसुस गरियो । कोही कतिकै अज्ञेय किन नहुन्, प्रेमयात्राको समयमा कोही नमुस्कुराई कहाँ बस्न सक्छ ? हामीले त्यसबेला टाढाबाटै देखेका थियौं उनको उज्यालो मुस्कान । कपिलाजीसँग उनको सम्बन्धविच्छेद हुँदा त्यसको दुःख हामीले पनि अनुभव गरेका थियौं । यो कुरा अर्र्कै हो कि इलाजीसँग पनि हाम्रो परिचय थियो । र उनलाई हामी पनि खुबै मन पराउँथ्यौं । शिशुका लागि उनको स्वतन्त्र र अतृप्त लालसाको पनि हामी साक्षी रह्यौं । 

फर्कौैं कविसँगको पहिलो सशरीर भेटघाटको सन्दर्भमा । खासै केही नभनेर पनि धेरै कुरा अज्ञेयले बोलेका थिए, त्यस दिन । हामीलाई इमानदारीको अमूल्य पाठ सिकाएका थिए । अथवा यो बुझौं कि पिताजीले दिएको शिक्षामा सिलछाप लगाइदिएका थिए । त्यो इमानदारीका कारण पछि गएर हामीले विभिन्न किसिमका अन्याय सह्यौं, तर इमानदारी छाडेनौं । चियापानको समयमा उनीसँग हाम्रो पिताजीको भेट भयो । अनि उनले भने ‘ए तपाईं यिनीहरूको पिता हो ?’ यहीँ हामीलाई चिट्ठा परेको थियो । 

अज्ञेयद्वारा भनिएको विचारमा लुकेको अर्थ बुझ्न हामीलाई समय लागेन । हिन्दी साहित्य जगत्मा इमानदारीपूर्वक आफ्नो भावना प्रकट गर्ने चलन छैन । हरेक लेखक अचम्मको दार्शनिक वा आक्रोशित मुद्रा लिएर घुमिरहेका हुन्छन्, मानौं पूरा साहित्यको शव काँधमा उठाएर ती हिँडेका हुन् ! प्रेम, कला, शिल्प, वैयक्तिक अस्मिता, रस आदिमा तिरस्कार र उपेक्षाको भाव थियो । यो सम्झिनुस् कि भाव नै तिरस्कृत थियो । घोषित प्रगतिशील, पत्नीको निःश्वार्थ प्रेमको मजा लिँदै प्रेमलाई नकार्थे । अफिम खानमा कुनै परहेज थिएन तर धर्मलाई अफिम भनेर धिक्कार्थे । पारिश्रमिकको चेक पाउँदा त्यसलाई भजाएर रक्सी पिउनु प्रगतिशीलता थियो तर केटाकेटीहरूका लागि मिठाई किन्नु उच्चवर्गीय प्रतिक्रियावाद ! 

सानो दीपावलीमा भएको रेडियो रेकर्डिङपछि, म यो व्यापारको भुक्तभोगी भएँ । धुरन्धर लेखकहरू, कलम हातमा बोकेर, प्रतीक्षा गर्न विवश थिए कि शिल्पको कल्पना भए विचारको धारालाई रचनात्मक कृति बनाएर शिल्पको अदम्य आकर्षणलाई पाश्चात्य अनुकरण बताउँदै, त्यसमाथि लाञ्छना लगाउन बाँकी राख्थेनन् । ती भुल्थे कि माक्र्सवाद आफैंमा टाढाको पाश्चात्य दर्शन हो वा कला र सौन्दर्यबोधलाई गाली गरेर, तिनले माक्र्सको अपूर्व भाषा ज्ञान र कलात्मक शिल्पलाई तिरस्कृत गरिरहेका छन् । 

यस्तो परिस्थितिमा भाषा र शिल्पका अद्भूत चित्रकार अज्ञेयको कलाप्रति समर्पित रहेर, साहित्यिक समुदायको सम्मान जित्नु, चमत्कार भन्दा कम थिएन । अनेक गोष्ठीहरूमा उनले इमानदारी र साहसका साथ आफ्नो नितान्त मौलिक चिन्तनका शब्दहरू प्रस्तुत गरेको सुनेकी थिएँ । दिनमानको सम्पादक हुँदा उनले प्राग, वारसाजस्ता अङ्ग्रेजले छोडेको उच्चारणलाई छाडेर युरोपका सहरहरूको मूल नाम प्राहा, वरसावा आदि लेख्न सुरु गरेका थिए । अफसोच्, हाम्रो उपनिवेशवादी मानसिकताले सत्य पचाउन सकेन र तिनीहरू गएपछि हामी अङ्ग्रेजीयतमा फर्किएरै आयौं । तर मलाई लाग्छ पछि गएर कोलकाता, मुम्बई आदि नामकरण उनैले रोपेको बिउबाट उम्रिएका थिए ।

वर्षौंपछि अर्को घटना त्यतिबेला भयो जब सन् १९८०मा मेरो चौथो उपन्यास ‘अनित्य’ छापियो । पहिलो उपन्यास १९७५मा छापिएको थियो तर मञ्जुलको झैं घटना दोहो¥याउने मौका भएन । दोहो¥याउँदा कुनै चमत्कार हुने अवस्था रहन्नथ्यो । त्यसै पनि प्रकाशकद्वारा आयोजित गोष्ठीमा अध्यक्षका हैसियतमा जैनेन्द्रजी आएका थिए । जैनेन्द्र र अज्ञेयका बीचमा खिचातानी लामो समयदेखि चलिरहेको थियो । सुनेको थिएँ जैनेन्द्रले कतै अज्ञेयको परिचय आफ्नो अनुवादक जस्तै दिएका थिए, यस्तोमा स्वाभाविक थियो दुईका बीचमा खिचातानी हुनु । वात्सायनलाई जैनेन्द्रले दिएको अज्ञेय उपनाम मन परेको थिएन । आफूलाई मन नपरेको उनी लुकाउँथेनन् तर उपनामको प्रयोग गर्दै जानुमा पनि उनको कुनै आपत्ति थिएन । वास्तवमा यसको प्रमाण थियो, वात्सायन नामका कवि, यो धराभन्दा माथि हैन धरतीमा विचरण गर्ने जीव थिए, मानवीय गुण र दोषसहितका ।

धरतीमा यदि प्रकृत्ति वा पर्यावरणको पर्याय माना त अज्ञेयभन्दा अधिक को थिए होलान् ? पातपातमा उनको गहिरो काव्यात्मक मात्रै होइन दार्शनिक रुचि थियो । वैज्ञानिक जानकारी पनि कम थिएन । कुन वनस्पति कतिबेला कहाँ उम्रियो, को कुन जैविक तत्वका साथ विकसित भयो, कसरी हरियो भयो र किन नष्ट भयो, उनीभन्दा धेरै कुनै पनि कविले यसबारे जानेका नहोलान् ! न त कोसिस नै गरे होलान् । प्रकृतिको नैसर्गिक सङ्गीत उनको लेखनमा यसरी तरङ्गित थियो, मानौं त्यसको सौन्दर्यानुभूति मात्रै हैन, त्यसमा निहित गहन चिन्तन पनि, प्रकृतिको विलक्षण तर्कहरूबाट प्रेरित थियो । यही कारण थियो कि उनको अतुल्य र विपुल गद्य साहित्य हुँदाहुँदै पनि अन्ततः उनको नामका साथ कवि शब्द उपनाम जस्तै जोडिएको थियो, जसरी रवीन्द्रनाथ टैगोरका साथ ‘कविवर गुरुदेव’ वा सेक्सपीयरकासाथ ‘द बार्ड’ ।

सन् १९८०मा तमिल लेखक पोट्टेकटलाई भारतीय ज्ञानपीठ पुरस्कार मिल्यो । त्यस उपलक्षमा साँझको चियापानको समयमा मञ्जुल र मेरो भेट अज्ञेय र पोट्टेकटसँग भयो । फोटो खिचिँदै थियो । थाहा छैन अज्ञेयलाई के लाग्यो, मधुर मन्द हाँसोका साथ मञ्जुल र मेरो छेउमा उभिए, पोट्टेकटलाई अर्कोतिर उभिन सङ्केत गर्दै भने ‘हामी यिनको द्वारपाल भइदिउँ ।’ यो हाँसो र ठट्टा यति दुर्लभ थियो, मैले पछि मात्रै बुझेँ । त्यहीँ उनले मलाई भने– ‘कुनै पत्रिकामा तपाईंकोे उपन्यासको समीक्षा प्रकाशित छ । एकदमै तारिफ गरिएको छ तपाईंको ।’ फेरि जोडे, ‘घर आउनु भयो भने कुराकानी हुन सक्छ ।’ मन्दबुद्धिकी मैले बुझिहालेँ, उनले उपन्यास पढिसकेका छन् ।

म तीनपाङग्रे लिएर, केवेनटर इस्टमा रहेको उनको बङ्गलामा पुगेँ । तोकिएको समयभन्दा पाँच मिनेट ढिला । सहरीपनको कैदबाट अलग अचम्मको क्षेत्र थियो । मैले तोकिएको सही समयमा पुग्ने पाठ पढेको थिएँ, त्यसैले तीनपाङगे्रबाट झर्नासाथै वेचैन हुँदै ढिलो भएकोमा माफी मागेँ । उनको अनुहारमा मुस्कान छल्कियो । आँखीभौं चल्यो । भने ‘आउनुस्’ । मलाई लाग्यो, मात्रै पाँच मिनेटको विलम्बका लागि माफी माग्नु उनलाई मन प¥यो । जहाँसम्म मलाई सम्झना छ, रमेशचन्द्र शाह तथा अरु पनि केही मानिस बाहिरको चोकमा बसेका थिए । अज्ञेयले मलाई सीधै बैठकमा लिएर गए । 

सबैभन्दा पहिले उनले जे भने, त्यसले आश्चर्यचकित बनायो र उनको छविप्रतिको दृष्टि बिगा¥यो । भने, ‘तपाईंको पछिल्लो उपन्यास ‘चित्तकोबरा’को सारिकामा छापिएको बहस पढेको थिएँ । उपन्यास हैन् । ‘अनित्य’ पढे उप्रान्त ‘चित्तकोबरा’ मगाएर पढेँ ।’ म चकित, सोच्दै थिएँ, यदि अज्ञेय जस्ता मनमौजी र कसैसँग नदब्ने व्यक्ति, सारिकाको काम न काजको टिप्पणीबाट प्रभावित हुन्छन् भने आममानिसको हालत के भएको होला ? त्यसबेलासम्म मौनको पाठ हृदयङ्गम गरेकी थिएँ, त्यसैले केही भनिनँ । अज्ञेयले क्षणभर मलाई हेरे । एउटा छाया अनुहारमा थर्केर गयो, मानौं पातहरूको आवाजसहित हलचल भएको होस् । फेरि उनी ‘अनित्य’माथि कुराकानी गर्न थाले । धेरै कुरा भयो । दोहो¥याउनु बेकार छ । कोही साक्षी पनि थिएनन् । केही दिनअघि चन्द्रकान्त बाँदिवडेकरले मलाई भने ‘अनित्य अज्ञेयलाई मन परेको थियो, तर त्यसको पनि कोही साक्षी छैन । त्यसैले तपाईंले मान्नु–नमान्नु दुवै उचित हुन्छ ।’ 
त्यो कुराकानीमा केही रोचक प्रसङ्ग थिए, जसलाई म बाँडन चाहन्छु । स्मृतिमा अड्केको छ, जस्ताको त्यस्तै ।
उपन्यासको ‘अनित्य’ नामक पात्रका बारेमा उनले भने ‘कस्तो मोहभङ्ग हो, जबकि ऊ बारम्बार फर्किएर आउँछ ।’ प्रतिवादमा मैले भनेँ, ‘यही नै त अन्तर हो यायावर र सन्यासीमा । सन्यासी गएपछि फर्किंदैन र यायावर फर्कीफर्की आउँछ । त्यसैले त यायावर कहलिन्छ, हैन ?’

यायावरीको विशेषज्ञ अज्ञेयसँग त्यसो भन्नु, गुरु–शिष्य परम्पराको दरवारमा अशिष्टता नै मानिन्छ । तर मलाई बानी थियो, डाक्टर बी.के.आर.बी. राव र के.एन. राज जस्ता दिग्गज गुरुहरूसँग बहस गर्ने । त्यसैले निःसङ्ंकोच आफ्नो मत राखेँ । उनले उत्तर दिएनन् । न विरोध, न त अनुमोदन नै । हो, यतिबेला पात बेस्सरी चल्मलायो । एउटा ‘सुरमुई’ छायाँ अनुहार हुँदै गयो । कोठामा मौन छायो । मौन लामै तन्कियो । उनको दीर्घ मौनसँग म त्यति परिचित थिइनँ तर त्यसको बयान पर्याप्त सुनेकी थिएँ । त्यसैले केही समयपछि उठेर भनेँ ‘नमस्कार’ ।

‘जानुहुन्छ ?’ उनले भने । एकचोटी फेरि अनुहारमा छायाँ हल्लियो तर यो छाया पहिलको छायाहरूभन्दा अलिक फरक थियो । ‘बस्नुुस्, इला खाजा लिएर आउँदैछिन् ।’ कुनै अदृश्य सङ्गत अन्तर्गत, इलाजी र एउटा सेवक खाजाको किस्ती लिएर आइपुगे । म बसेँ । अरु के नै गर्न सक्थेँ र ! सोचेँ, मलाई इलाजीका साथमा छोडेर अज्ञेयजी बाहिर जानेछन् । तर उनी गएनन् । केही औपचारिक कुराकानीपश्चात्, थाहा छैन किन हो, इलाजी र मबीच लेखकको अहम्का विषयमा चर्चा चल्यो । चोट खाएकी थिएँ सायद त्यसैले पनि मेरो मुखबाट निस्कियो, ‘लेखकमा अहङ्कार त हुन्छ नै ।’ यसपटक अज्ञेयको अनुहारलाई जुन छायाँले धूमिल बनायो, त्यो हराएन । अनुहारमै बस्यो ! मैले तत्काल संशोधन गरेँ, ‘अहङ्कार हैन अहम् भन्नु पथ्र्यो ।’ छायाँ हरायो । फेरि मलाई के लाग्यो, ‘आ बैल मुझे मार’को शैलीमा उनको आँखामा आँखा जुधाउँदै भनेँ, ‘त्यसो त व्यावहारिक अन्तर दुवैमा छैन ।’ यति भन्नासाथ आफ्नो पर्स उठाएर हिँड्ने तयारी गरेँ । सोचेँ, यतिखेर उनको अनुहारमा जुन छायाँ आउनेछ त्यसलाई झेल्न सकिने छैन । तर भयो के भने उनको निधारमा तनावका रेखा आउँदाआउँदै हराएर गयो र उनी मुस्कुराए । मेरो मन्तव्य बुझेर, मलाई मेरै अस्त्रले परास्त गरिदिए । म नतमस्तक भएँ ।

एउटा अर्को कुरा, उनको पचहत्तरौं जन्मदिवसका अवसरमा कयौं समारोह भए । त्यसैमध्ये एक आपसको कुराकानीमा उनले भनेका थिए ‘हामी कहाँ ७५ हैन, ७७ वर्ष ७७ दिनको आयु महत्वपूर्ण मानिन्छ ।’ थाहा छैन किन, मैले– जसले कहिले पनि डायरी राखेन– हातको कापीमा यो नोट गरेँ । उनको निधन हुँदा यो कथन सम्झना भयो । त्यो ठाउँमा पुगेका थिएनन् । यो लेख लेख्दा त्यो नोट पुस्तिका खोज्ने प्रयाससम्म पनि मैले गरिनँ । यति प्रिय वस्तुहरू नष्ट भइसकेका थिए भने त्यो पनि हराएको थियो, कतै । खोज्ने मन भएन सम्झना पर्याप्त छ । प्रमाण नहुँदा पनि गलत ठहरिन्न, किनकि यो कुरा मेरो सपनामा आउन सक्ने होइन ।

(‘हिन्दी समय’बाट अनुदित तथा सम्पादित ।)
  


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC