प्रेमको विसर्जन
को छैन मेरो प्रेमी यो जगत्मा ?
उडिरहेको चराजस्तै फटफटाउन खोज्छु
मस्तसँग वेग मार्न चाहन्छु
धर्तीको एक छेउबाट
हजारौं माइलको यात्रा गर्न चाहन्छु अर्को छेउसम्म
सबै सुन्दर फूलहरुलाई चुम्न मन लाग्छ
मलाई यो धर्ती नै मान्छेले
मानिआएको स्वर्गजस्तै लाग्छ ।
कति सुन्दर छ म उड्ने आकाश,
निलो आकाशको बादलभित्र उड्दै
जब नियाल्छु म फूलको सौन्दर्य
कहिल्यै मेट्न नसकिएको
तिर्खाभन्दा पटक्कै फरक लाग्दैन
जति भेटे पनि भेटिरहुँ जस्तो
जति चुमे पनि चुमिरहँु जस्तो
अप्रतिम रसास्वादन भन्दा पटक्कै
भिन्न लाग्दैन फूलको सौन्दर्य
कसरी भन्न सक्छु
मलाई सबैभन्दा बढी कुन फूल मन पर्छ ?
सबैभन्दा बढी कुन फूलको रस मन पर्छ ?
वा
कुन फूलको सुगन्धले मोहित बनाउँछ ?
मसँग कुनै जबाफ छैन
मेरो सृष्टि नै सौन्दर्यको उपभोगमा लक्षित छ
जगत्का हरेक वस्तु मेरा आफ्नै हुन्
म प्रेममा यति मग्न भएको छु
कि म सबैलाई प्रेमी देख्छु ।
कयौं पटक हावाहुरीबाट आफैं असुरक्षित भएँ
र पनि मेरो प्रेम उस्तै छ
फूलसँग चुम्बन गर्दागर्दै
मैले सबैलाई चुम्न जानेको छु
सबैलाई प्रेम गर्न जानेको छु
यतिसम्म कि
आफू जल्ने थाहा हुँदाहुँदै
बत्तीलाई चुम्न खोज्छु
र उसकै ज्वालामा
आफैंलाई विसर्जन गर्छु ।
आफ्नै प्रेममा आफ्नै विसर्जन
पाउनुभन्दा ठूलो प्राप्ति के हुन सक्छ र !
० ० ०
ढोका र मान्छे
म हरेक पटक
ढोकाबाट ओहोरदोहोर गर्दा
सोच्छु—
ढोका र मान्छेमा
निकटता छ— समानता छैन
स्पर्श छ— आत्मीयता छैन ।
ढोका
प्रत्येक क्षण
मान्छेले चाहेको बेला उघ्रिन सक्छ
मान्छेले चाहेको बेला ढप्किन सक्छ
ऊ मान्छेद्वारा नियन्त्रित छ
त्यसैले
ढोकाको कुनै स्वार्थ हुँदैन
ढोकाको कुनै चाहना हुँदैन ।
ढोका
मन्दिरमा छ— मस्जिदमा छ
चर्चमा छ– गुम्बामा छ
झुपडीमा छ— दरवारमा छ
भिन्न देखिन्छन् ढोकाका स्वरुपहरु
भिन्न देखिन्छन् ढोकामा कुँदिएका आकृतिहरु
तैपनि ढोकाको काम एउटै हुन्छ
ढप्किदिनु !
ढोकाले कुनै धर्म जान्दैन
ढोकाले कुनै विभेद मान्दैन
अछुत भन्दैन— जनजाति भन्दैन
धनी र गरिब केही भन्दैन
सबैलाई समान देख्छ, रिसराग गर्दैन ।
ढोकाले सबैलाई एउटै ठान्छ ।
तर हामी धर्मको नाउँमा
जातिको नाउँमा
छुतअछुतको नाउँमा
मान्छेले मान्छेलाई नै घृणा गर्छौं
मान्छेले मान्छेलाई नै तिरस्कार गर्छौं
हामी ढोकाजस्तो उदार हुन सकेनौं
हामी ढोकाजस्तो संयम बन्न सकेनौंं
तैपनि हामी मान्छे हौं
निष्प्राण ढोका भन्दा
मान्छे भएकोमा गर्व गर्छौं
व्यवहारमा
ढोका मान्छेजस्तो छ
र मान्छे काठको मूढोजस्तो छ !