site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कोरोना भाइरसमा कमजोर अन्तर्राष्ट्रिय समन्वय

गत डिसेम्बर महिनामा चीनको वुहान प्रान्तमा पहिलोपटक देखिएको कोरोनाभाइरस (कोभिड—१९ ) हाल दुई सय देशमा फैलिइसकेको छ । नेपालमा पनि केही व्यक्तिमा संक्रमण देखिएपछि अहिले मुलुक बन्दाबन्दी (लकडाउन)मा छ । यो महामारीसँग विभिन्न देशहरू आफ्नै तरिकाले जुधिरहेका छन् । विश्वभर अनपेक्षित गतिमा भएको संक्रमणको विस्तारले महामारी कुनै भूगोल वा राष्ट्रको सीमामा रोकिँदैन भन्ने देखाएको छ । यो कुनै देश वा भूगोलको संकट नभई अन्तर्राष्ट्रिय समस्याका रुपमा विश्वसामु देखापरेको भए पनि उसको सामना गर्न आवश्यक समन्वय भने देखिँदैन ।

विश्व स्वास्थ्य संगठनको भूमिका पनि फितलो देखियो । अमेरिका चीनका उत्कृष्ट अभ्यासहरू अनुसरण गर्ने मनःस्थितिमा देखिएन भने बहुपक्षीय संगठनहरू पनि सशक्त देखिएका छैनन् । फलस्वरूप, सबै देश एक्लाएक्लै भिडिरहेको आभास भइरहेको छ । यस लेखमा  कोरोना भाइरसको अनपेक्षित विस्तार र  समस्या निराकरणका लागि आवश्यक अन्तर्राष्ट्रिय समन्वयबारे संक्षित चर्चा गरिएको छ । 

विश्वव्यापी महामारी : एक्लाएक्लै सम्बोधन

Prabhu Bank
Agni Group
NIC Asia

चीनबाट सुरु भएको कोरोना भाइरसबाट युरोप र अमेरिकालगायत विश्वभरका देश नराम्रोसँग प्रभावित भएका छन् । चीन, फ्रान्स, स्पेन, भारत, इटली, बेलायत, अमेरिकालगायतका देशहरूले एकल प्रयासमै विपतको सामना गरिरहेको देखिएको छ । यद्यपि, कुनै न कुनै रूपमा अन्तर्राष्ट्रिय समन्वयको आवश्यकता महसुस भएको जस्तो पनि देखिन्छ । बेलायती प्रधानमन्त्री बोरिन जोनसोनले जी–२० को भिडियो कन्फेरेन्समार्फत अन्तर्राष्ट्रिय प्रतिकार्यका लागि अग्रसरता देखाए । सार्क क्षेत्रमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा साझा रणनीति तय गर्ने उद्देश्यले भिडियो कन्फरेन्सको आयोजना गरियो । तर, महामारीको समस्याबाट निकास पाउन सामूहिक प्रयास उल्लेख्य देखिएन । अन्तर्राष्ट्रिय स्तरमा भएका हालका प्रयास महामारीले अर्थतन्त्रमा ल्याउने नकारात्मक असर हल गर्न आगामी दिनमा काम लाग्न सक्नेमा बढी केन्द्रित देखिन्छ ।

सार्क औपचारिकतामा सीमीत भइसकेको छ । विश्व स्वास्थ्य संगठनको भूमिका पनि प्रभावकारी नभएको बुझ्न गाह्रो छैन । युरोपमा यो महामारीसँग जुध्न युरोपियन युनियनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने भनिरहेको भए पनि युरोपमा अत्यावश्यक स्वास्थ्य सामग्री युरोपबाहिरका देशहरूबाट लिन नहुने भन्दै युनियन नै भूगोलमा अल्झिएको छ । यद्यपि, उसले युनियनको कोषबाट २७ अर्ब युरो महामारीप्रभावित जनताका लागि प्रदान गर्ने र सन् २०२० सम्ममा युनियन सदस्य राष्ट्रहरुका लागि जनस्वास्थ्य संकट टार्न ‘सोलिडारिटी फन्ड’ ८० करोड युरोसम्म पुर्‍याउने प्रस्ताव गरेको छ । स्पेन, टर्की र नेदरल्यान्डले चीनबाट आयातित सामग्रीहरु कमसल भएको भन्दै गुणस्तरको उल्झनमा आयात नै रोकेका छन् । यसरी हेर्दा कोरोना भाइरसविरुद्धको सामूहिक प्रयासमा तारतम्य नमिलेको प्रस्ट देखिन्छ ।

Global Ime bank

चीन–अमेरिका सम्बन्ध 
विश्वका आर्थिकरूपमा समृद्ध मुलुक चीन र अमेरिकाबीच पनि अपेक्षित समन्वय भएको देखिँदैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक चीनप्रति कठोर र आक्रामक आक्षेप व्यक्त गर्ने गरेका छन् । गत साता भने उनले अप्रत्याशित ट्वीट गर्दै “चिनियाँ प्रधानमन्त्री सीसँग धेरै राम्रो कुराकानी भयो । संसारलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसबारे विस्तृतमा कुरा भयो । भाइसरबारे चीनले धेरै राम्रोसँग बुझेको छ । हामी सँगसँगै मिलेर काम गरिरहेका छौँ । मेरो सम्मान” भनेर लेखेका छन् ।

कोरोनाभाइरसलाई चाइनिज भाइरस भन्दा नस्लवादी अभिव्यक्ति दिएको आरोप सामना गरेका ट्रम्पले गरेको चीनको प्रशंसा अनपेक्षित नै थियो । कोरोना भाइरसको महामारी सुरु भएपछि पहिलोपटक चीनिया राष्ट्रपति सी जिन पिङसँग प्रत्यक्ष टेलिफोन संवादबारे ट्विट गर्दै उनले कोरोना भाइसरविरुद्ध चीनले गरेको प्रयासलाई सम्मानजनक भनेका थिए । उनले समकक्षीसँग निकै राम्रो कुराकानी भएको बताउँदै अमेरिकाले कोरोनाभाइरसको मामलामा चीनसँग निकट रहेर काम गर्ने पनि बताएका थिए । यसरी अहिले चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले बुहान प्रान्तमा भाइरस फैलाएको हुनसक्ने भनेपछि सुरु भएको दुई देशबीचको आरोप–प्रत्यारोप मत्थर भएको देखिएको छ । 

कोरोना भाइरसको महामारीले शक्ति कसैको पेवा होइन, यो निरन्तर रहँदैन भन्ने मान्यता पुष्टि गरिदिएको छ । चीनसँगको व्यापार घाटा अमेरिकाको टाउको दुखाइ बनिरहेको बेला विज्ञान प्रविधिमा अब्बल अमेरिकाले चीनबाटै स्वास्थ्य सामग्री आयात गर्नुपर्ने अवस्था आएको छ । द न्यु योर्क टाइम्सका अनुसार गएको आइतबार मात्र पन्जा, गाउनलगायतका ८० टन सामग्री सांघाई हुँदै न्यु योर्क पुगेका छन् । अलिबाबाका सहसंस्थापक ज्याक माले दस लाख मास्क र पाँच लाख परीक्षण सामग्री अमेरिका पठाउँदैछन् । अमेरिकी सरकार पनि यस्ता सामग्री उत्पादनमा लागिपरेको छ तर उत्पादन गर्ने कम्पनीहरू पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि धान्न सक्ने अवस्था नरहेको समाचार बाहिर आएका छन् । जनरल मोटर्स, फोर्डजस्ता कम्पनीले समेत पहिलोपटक मेडिकल सामग्री उत्पादन गर्न थालेका छन् । विद्यमान परिदृश्यले राजनीतिक शक्तिभन्दा महाविपत्ति धेरै माथि छ र यसले भूगोललाई चिन्दैन  भन्ने मुख्य सन्देश दिएको छ । 

अन्तर्राष्ट्रिय समन्वयको भूमिका जुनसुकै बेला पनि महत्त्वपूर्ण हुन्छ । सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धबाट अन्तरदेशीय समस्या समाधान गर्न सकिन्छ । कोरोनाभाइरससँग जुध्ने क्रममा चीनले गरेको अभ्यासलाई उसले लुकाएको आरोप अमेरिकी वृत्तमा चल्ने गरेको विषय अन्तर्राष्ट्रिय मिडियामा आइरहेका छन् । आरोप प्रत्यारोपबीच दुई देशबीचका राष्ट्र प्रमुखहरूको प्रत्यक्ष कुराकानीले भने विश्वासको वातावरण बन्न सक्ने अनुमान गर्न सकिन्छ । दुई देशबीच भूराजनीतिक विषयमा धेरै फरक मत छन् तर महाविपत्तिको सामनामा दुई देशको सहकार्य महत्त्वपूर्ण हुनेछ । 

खुम्चिएको विश्व स्वास्थ संगठन

सुरुमा चीन सरकारप्रति नै विश्वस्त हुन नसकेको विश्व स्वास्थ्य संगठनले कोरोना महामारी संकटको हिच्किचाउँदै नेतृत्व लिएको छ । विभिन्न देशहरूमा फैलिँदै गएको राष्ट्रवादी लहर, ठूला राष्ट्रहरुले विश्व स्वास्थ्य संगठनलाई दिन थालेको कम महत्त्व, बजेट कटौती आदि कारणले विश्व स्वास्थ्य संगठनको भूमिका खुम्चिदै गएको छ ।  

सांघाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजले यसै महिना प्रकाशित गरेको प्रतिवेदन (इन्टरनेशनल कोअपरेसन फर द कोरोनाभाइरस कम्ब्याट) ले हाल विश्वव्यापी स्वास्थ्य नेतृत्वमा ‘भ्याकुम’ अर्थात् शून्य देखिएको उल्लेख गरेको छ । स्वास्थसँग सम्बद्ध विश्वव्यापी संकटमा नेतृत्व गर्ने संस्थाको अभाव खट्केको उक्त प्रतिवेदनले उल्लेख गरेको छ । 

सरकार, स्वास्थ्यसँग सम्बन्धित  अधिकार प्राप्त संघसस्था, विशेषज्ञता हासिल गरेका निकाय नै स्वास्थ्य क्षेत्रका मुख्य कर्ता हुन् । विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय समन्वय संयन्त्रमा समन्वयकर्ताको भूमिका खेल्छ तर सम्प्रभुतासम्पन्न राष्ट्रलाई निर्देश गर्ने कर्मचारी तन्त्रको जस्तो संयन्त्र ऊसँग हुँदैन । कोभिड रेस्पोन्समा विश्व स्वास्थ संगठनको सुस्त सक्रियताको एउटा कारण यो पनि हुनसक्छ । 

अर्को विषय हो – विश्वासको कमी । एउटा देशको विस्वास अर्को देशले नगर्नु । यसै सन्दर्भमा इतिहासविद् युभाल नोआ हरारीले टाइम अनलाइनमा लेखेका छन् – आज चीनले सबै देशहरुलाई कोरोनाबारे महत्त्वपूर्ण पाठ पढाउन सक्छ तर अहिले अन्तर्राष्ट्रिय समन्वय र विश्वासको निकै कमी छ । 

हुन त यस भाइरसलाई जित्न विभिन्न देशहरु लागिरहेका छन् र शोध, खोज तथा अनुसन्धान गरिरहेका छन् तर नतिजा भने हालसम्म प्राप्त हुन सकेको छैन । यस्ता भाइरसजन्य संक्रमणलाई जित्न हरारीले सुझाएको दीर्घकालीन समाधानको तर्क पनि मननयोग्य छ – “यो देश या त्यो देश नभनी विश्वभर नै भाइरसको दुनिया (भाइसर स्फेयर) र संसारबीच सीमा कायम गर्ने अर्थात् भाइरस विकास हुने वा आउन सक्ने सबै सम्भावनाहरु बन्द हुने अवस्था सिर्जना गर्नेगरी सबै मानव जातिलाई स्वास्थ सुविधाको दायरामा ल्याउने ।”

कोरोनाभाइरस दस लाखभन्दा धेरैमा देखिएको छ भने ४३ हजार मानिसको मृत्यु भइसकेको छ । यसको नियन्त्रण कसरी हुन्छ, त्यो भविष्यमा थाहा होला । तर, यस्ता विश्वव्यापी महामारीबाट जोगिन अन्तर्राष्ट्रिय समन्वयलाई प्रभावकारी पार्न सकिएन भने फेरि अर्को दुर्घटना हुँदा पनि यस्तै अवस्था आउन सक्छ । चीनमा डिसेम्बरमा देखिएको भयावह अवस्थाको युरोपियन देशहरू र अमेरिकाले समेत आकलन गर्न सकेनन् वा लापरवाही गरे । विश्व स्वास्थ्य संगठनले पनि साधनस्रोतहरु खोपमा बढी केन्द्रित गरिरहेको छ तर अप्रत्याशितरूपमा आउन सक्ने कोरोनाजस्ता विपत्तिमा कसरी जुध्ने भन्ने विषयमा चासो दिएको देखिँदैन । आगामी दिनमा यसतर्फ पनि ध्यान केन्द्रित गर्न जरुरी छ ।

सांघाई इन्टिच्युट फर इन्टरनेसनल स्टडिजद्वारा प्रकाशित प्रतिवेदनले विकसित मुलुकहरूले विकासशील देशहरूको कमजोर जनस्वास्थ्य प्रणाली सुधार गर्न पूर्वाधारमा सहयोग गर्नुपर्ने र प्रतिकार्य (रेस्पोन्स) क्षमता बढाउनुपर्ने, बहुपक्षीय अन्तर्राष्ट्रिय बैंकहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य प्रणालीमा योगदान गर्नुपर्ने, सीमा वारपार महामारी रोक्न अन्तरदेशीय संयन्त्र बनाई काम गर्नुपर्ने लगायतका सिफारिस गरेको छ । नेपालभन्दा निकै सम्पन्न र शक्तिशाली देशहरूको अभ्यासमा पनि ‘जब भयो राति अनि बूढी ताती’ भन्ने आहान चरितार्थ भएको छ । अब एकमात्र उपाय देखिन्छ – समयमै सचेत बनौ, समन्वय गरेर काम गरौँ । 

( त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागअन्तर्गत विद्यावारिध शोधकर्ता हुन्)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC