






_470200341.png)


काठमाडौं । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी महामारीका बन्दै विश्वलाई नै संकटमा पुर्याएको छ । एक महिनाअघि मात्रै अर्थात् मार्च ३ मा कोरोना संक्रमितको संख्या ९२ हजार थियो । जसमा ८० हजार कोरोना संक्रमित चीनमा थिए भने विश्वका अन्य मुलुकमा १२ हजार कोरोना संक्रमित थिए ।
त्यस समयमा चीनले कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन चिनियाँ सहरहरु लकडाउन गरेको एक महिना ८ दिन भएको थियो । बाँकी विश्व कोरोना भाइरसबाट सजग हुने तरिकाहरु खोज्दै थियो । त्यसयता आज एक महिनापछि कोरोना भाइरसको संक्रमितको संख्याले आकाश छुन थालेको छ । निकै तीव्ररुपमा बढेको कोरोना भाइरसले अप्रिल ३ सम्म आइपुग्दा ९२ हजारबाट १० लाख संक्रमित पुगेका छन् ।
अहिले विश्वकै सबभन्दा बढी कोरोना संक्रमित भएको अमेरिकामा ११८ कोरोना संक्रमितमात्र थिए । अहिले एक महिनापछि अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजारभन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
एक महिनाअघि मार्च १ मा अमेरिकाको केन्द्र वासिङ्टनमा एकजनाको मृत्यु भएको घोषणा गरिएको थियो । तर, करिब एक महिनापछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ । यस महामारी कति लामो समय चल्छ र कहिले सकिन्छ अझै भन्न सकिएको छैन ।
विश्वका केही मुलुकहरुमा भने कोरोना संक्रमितको संख्यामा कमी आएको छ । जसमा चीन, दक्षिण कोरिया । ती मुलुकहरुमा दोस्रो चरणको प्रकोपको सुरुआत हुने खतरा बढेको छ ।

यसअघि बिहीबार सीएनएन टाउन हलमा बोल्दै अमेरिकी संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउकीले केही समयअघि नै हामीले अमेरिकाभर लकडाउन गरेर मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिएको भए संक्रमित र मृत्यु हुनेको संख्या कम हुनसक्ने बताए ।
यसरी फैलियो महामारी
सन् २०२० को सुरुआतसँगै देखिएको नोभेल कोरोना भाइरसले अहिले सिंगो विश्वलाई घेराबन्दीमा पारेको छ । चीनको हुबेइ प्रान्तको वुहानस्थित हुनान सीफुड मार्केटबाट उपभोग्य सामानहरु किनेर फर्किएकाहरुलाई एकाएक निमोनिया, ज्वरो र खोकी लाग्न थालेपछि जनवरी १ मा उक्त मार्केट बन्द गरियो । मार्केट बन्द गरिए पनि बिरामीहरु बढ्दै गए र जनवरी ९ मा ६१ वर्षीय एक वृद्धको उपचार सम्भव भएन र अस्पतालमै अन्तिम श्वास लिए । त्यसको दुई दिनपछि अर्थात् जनवरी ११ मा ती वृद्धको मृत्युको कारण कोरोना रहेको पुष्टि गरियो । यतिबेलासम्म सिंगो विश्व आ-आफ्नो काममा व्यस्त थियो ।
यस भाइरसको संक्रमणबाट जनवरी २२ सम्म १७ जनाको मृत्यु र ५५० भन्दा बढी संक्रमित भएपछि युरोपेली मुलुकहरु झस्किए । उनीहरुले आ-आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा वुहानबाट आएका विमानहरुको जाँचमा कडाइ गरे । तर, त्यही भाइरसले यो रुप लिन्छ भन्ने अनुमानसमेत गरेको थिएन चीनबाहिरको विश्वले ।
जनवरी २४ सम्म २६ जनाको मृत्युभएपछि हुबेइका विभिन्न १३ सहरमा लकडाउन घोषणा गरियो र जनवरी २५ मा थप पाँच सहरमा आवतजावत बन्द गर्दै ५ करोड ६० लाख मानिसलाई घरभित्र थुनियो । जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल घोषणा गरुन्जेलसम्म भारत र फिलिपिन्समा पनि एक-एक संक्रमित भेटिएका थिए भने चीनमा १७० जनाको मृत्यु र ७ हजारभन्दा बढी संक्रमित भइसकेका थिए ।
हाल यो भाइरसको संक्रमण विश्वभरका २०४ भन्दा बढी मुलुकमा फैलिइसकेको छ भने ५० हजारभन्दा बढीको मानिसको मृत्युको कारण बनेको छ । विश्वभरका करिब १० लाख मानिसहरु यस संक्रमणको चपेटामा परेका छन् ।
सुरुमा यस भाइरसलाई लिएर निकै सामान्य र सस्ता टिप्पणी गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले नै सजग र हैरान भएका छन् । भारतमा पनि संक्रमण दर निकै तीव्र गतिमा बढ्दै गइरहेको छ । भारतमा एक महिनाको अवधिमा एक सयबाट बढेर कोरोना संक्रमितको संख्या २५ सय पुगेको छ । मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
चीनमा संक्रमण मत्थर भएको भनिए पनि बाहिरबाट आउने मानिसहरुमा यसको संक्रमण बढिरहेको छ भने उपचारपछि घर फर्किएकामध्ये ३-१० प्रतिशतमा पुन: कोरोना पोजेटिभ देखिन थालेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।



