site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
मेडिकल मास्क : एक राजनीतिक बिम्ब

व्यक्तिगतरूपमा मलाई मास्क लगाउन दुईवटा कारणले रूचिकर लाग्दैन । पहिलो, यसले मलाई प्रकृतिको स्वाभाविक स्पर्शबाट वञ्चित गरेको भान हुन्छ । दोस्रो, चस्मा निरन्तर लगाउनुपर्ने हुनाले नाकको दायाँबाँयातिरबाट हावा आँखातिर फर्केर चस्माको सिसामा बाफ जम्छ । त्यसमाथि सवारी चलाउँदा त अस्पष्ट दृष्टि हुने हुनाले झनै मुस्किल हुन्छ । काठमाडौं एउटा सपनाको सहर हो । त्यसमा कान्तिपुरीय स्वर्गको कल्पना छ । त्यस्तै यो धुलेमान्डु पनि हो । तर, जनुसकै परिस्थितिमा पनि मास्क नलगाई हिड्नु नै प्यारो लाग्छ । त्यसैले मास्कप्रति मेरो कुनै आग्रह छैन । यसले राजनीतिक चिन्तनमा कसरी शक्ति आर्जन गर्यो र हाम्रो चिन्तनको बृहत् चित्रमा त्यसको के अर्थ रहन्छ वा रहन सक्छ भनेर यस लेखमा केलाउने प्रयत्न गरेको छु । यस लेखमा केपी ओलीको राजनीतिक दर्शनको अन्तर्विरोधको मेडिकल मास्कमार्फत परीक्षण गरेको छु ।

मास्क भनेको स्वास्थ्यको कुरा त हो तर यो स्वास्थ्य विज्ञानको वस्त्र, यन्त्रमात्र चाहिँ होइन । कुनै पनि एउटा चिन्तन प्रणालीको बिम्बले कुनै समयमा सामान्य परिस्थितिमा आउने परिवर्तन पश्चात् राजनीतिक स्वरूप ग्रहण गर्न सक्छ । एक समयमा प्रधानमन्त्री केपी ओलीलाई मास्क लगाउने मानिसहरू भनेका यो देशमा सरकार विरोधी हुन् भन्ने लाग्थ्यो । उनलाई लागेपछि उनीमाथि विश्वास गर्ने र उनको राजनीतिक दीक्षामा हुर्केकाहरूलाई पनि त्यस्तो लाग्नुपर्ने नै भयो । काठमाडौंको धुलोको सन्दर्भमा सरकार प्रभावकारी छ भनेर आफ्नो कार्यकुशलता प्रमाणित गर्न प्रधानमन्त्रीले एउटा उद्घोष नै गरेका थिए – मास्क लागाउनेहरू सरकार विरोधी हुन् । 

संसद्मा पनि यस विषयले प्रवेश पायो । शक्तिशाली व्यक्तिले आफ्नो धारण व्यक्त गर्ने क्रममा कुनै बिम्बलाई प्रयोग गर्दा यस्तो चिह्न राष्ट्रिय चिन्तनको केन्द्रमा पुग्नु स्वाभाविकै हो । काठमाडौंको धुलोबाट जनस्वास्थ्यमा पर्ने असरको मूल मुद्दालाई बिर्सेर सरकारको समर्थन वा विरोधसँग मास्कलाई जोडिनु नै एउटा विकृत राजनीतिक अभ्यास थियो ।  त्यस समयमा तुलनात्मकरूपमा अधिक स्वस्थ प्रधानमन्त्रीले नै यस्तो कुरा गरिसकेपछि धुलो र जनस्वास्थ्यभन्दा पनि मास्क लगाउनु एउटा विद्रोहको रूपमा चित्रित भयो । हो, मलाई त मास्क आफैँमा एउटा समकालीन विद्रोहको चिह्नजस्तो लाग्न थालेको थियो ––रूसी क्रान्तिको सयमका हँसिया र हथौडाजस्तै ।

Agni Group

धुले बाटोमा दिनहुँ सवारी चलाउनुपर्ने बाध्यता हुँदा पनि मैले मास्क नलगाएको देखेर साथीहरू कहिले काहीँ मेरो अनुहारमा धेरै टक दिएर हेर्थे । आफ्नो अनुहारमा रहस्य हुनु पनि आनन्दको विषय हो । आफ्नो बानी र बाध्यताका कुरा सबैलाई किन भन्नू? मैले सबै साथीलाई चस्मा, मास्क र प्रकृति प्रेमको सम्बन्धको कुरा भन्दै हिँडिन त्यस बेला । 

विपक्षीहरूले सदनमा प्रधानमन्त्रीलाई अनेक थरीका प्रतितर्क गरे । एक जना महिला संसदले त विनामास्क आफ्नो स्कुटरमा प्रधानमन्त्रीलाई यात्रा गर्न चुनौती नै दिइन् । तर, त्यस्तो हलुका ठट्टाले मास्कप्रति राज्यको धारणा किन बदलिन्थ्यो? राज्य आफ्नो स्थानमा दृढसंकल्पित रह्यो जनताले आफूलाई आफ्नो स्थानमा व्यवस्थित गरे । धुलो उँडिरह्यो, मास्क लगाउनेले मास्क लगाए र मजस्ता मास्क नलाउनेहरूलाई मास्कको कुनै चिन्ता रहेन ।

Global Ime bank

हो, यहीँनेर एउटा गम्भीर सत्य लुकेको छ । कुनै वस्त्र, वस्तु वा प्रविधिलाई राज्यले आफ्नाविरूद्ध प्रयोग भएको छ वा गरिएको छ भनेर मिथ्या प्रचार गर्नु हुँदैन । यो त नैतिक प्रश्न हो । शासकले एउटा वस्तुलाई विद्रोहको बिम्बका रूपमा व्याख्या गर्दा त्यसप्रति मानिसको धारणा परिवर्तन हुन्छ । त्यसले गर्नुपर्ने निश्चित कार्य भौतिकरूपमा त गरिरहन्छ तर त्यसको राजनीतिक परिभाषामा भएको परिवर्तनले मानिसको व्यवहार त्यसप्रति उस्तै रहँदैन ।

सरकारले खुला बजारलाई आपूर्ति व्यवस्थाको जिम्मा दिएको परिप्रेक्षमा सत्ताको केन्द्रमा संवेदनशीलताको भूमिका महत्त्वपूर्ण हुन्छ । मास्कलाई विद्रोहको बिम्बको रूपमा व्याख्या गर्दा त्यसको आपूर्तिको श्रेणीमा कस्तो खालको प्रभाव रह्यो होला र बजारले त्यसको उत्पादन र वितरणलाई कसरी लियो होला भन्ने भोलिका दिनमा शोध होलान् । तर, हालको बजारको असन्तुलनलाई कसरी यस्ता लहडी तर्कले असर गर्यो होला भनी त्यस समयमा स्पष्ट विश्लेषण होला । त्यस्तै ती अध्ययनका निष्कर्षले भावी शासकको मनोवृत्तिमा परिवर्तन ल्याउने नै छन् भन्ने अपेक्षासम्म गर्न सकिन्छ । 

केही महिनाअगाडि मात्र मास्क लगाउँदा विद्रोह देख्ने सरकारलाई समयको छालले आज कोभिड–१९को महामारीको सन्दर्भमा पूर्णतः विपरीत अवस्थामा राखिदिएको छ । अहिले प्रधानमन्त्रीले किन मास्क लगाएनन् भनेर मानिसले प्रश्न गरेको सुन्दा निकै फरक अनुभूति गर्ने अवस्था देखियो । सुरूका केही दिन मास्क नलगाए पनि अहिले प्रेसमा उनले मास्क लगाएर मन्त्रिपरिषद्को बैठक संचालन गरेको देख्दा परिस्थितिले काठमाडौंको राजनीतिक संरचनाको सीमान्त बिन्दुमा पुर्याएर राखेको मास्कलाई एकाएक केन्द्रमा हुत्याइदिएको भान हुन्छ । शासकको मुखमा भाइरसको सुरक्षार्थ खटिन पाउनु मास्कको अहोभाग्य हो । प्रधानमन्त्रीको स्वास्थ्य मास्कको अहिले पहिलो सुरक्षा हो ।

हुन त एक समयमा देशमा विद्रोहको नेतृत्व गरिसकेका पुष्पकमल दाहाल नै एकीकृत दलका सहचालक हुन् । वाद–प्रतिवाद–संवादको सिद्धान्तबाट व्याख्या गर्ने हो भने यसलाई हिजो वाद–प्रतिवादको अवस्थामा रहेका ओली–दाहालका लागि अहिले दुई अध्यक्ष हुनुको अवस्था संवादको एउटा चरण हो भन्न सकिन्छ । आफूहरूबीच यस्तै दार्शनिक समझका कारण पार्टी एकता भएको पनि हुन सक्छ । हामीले लगाउने अनुमानसम्म न हो । त्यो पार्टी एकताको प्रश्नमा त दुवै कर्ताहरूको चैतन्यबीच एउटा छलफल, लेनदेन र समझदारी कायम भएको थियो ।

यहाँ सन्दर्भ भनेको सत्ता र मेडिकल मास्कको हो । सधैँ व्यक्तिमा निहित चेतनाहरूबीच मात्र समझदारी हुँदैन । धेरैपटक मानव इतिहासमा आवश्यकताको सिद्धान्तको आधारमा भौतिक परिस्थितिहरूको लेखाजोखा गरेर निर्णय लिइन्छ । भौतिक परिस्थिति भनेका निरपेक्ष सत्य हुन् । यी मानवीय मान्यताका कारण परिवर्तन नहुने भएको हुनाले मानिस यिनीहरूको वशमा रहन्छ । त्यसो त समयमा यस्तो परिस्थितिको स्वभावलाई विश्लेषण गरेर मानिसले आफ्नो अनुकूल परिस्थिति निर्माण गर्न सक्छ ।

 प्रधानमन्त्री भीमसेन थापाका पालामा बिफरको महामारी काठमाडौंमा फैलिएको थियो । भाइरसको यो महामारीले काठमाडौंलाई नराम्ररी हिर्काएको थियो । आफ्ना युवराज गिर्वाणयुद्धलाई जोगाउन सत्ताले अति नै प्रयत्न गरेको थियो । काठमाडौंका विफरपीडितलाई उपत्यका छोडेर दोलखाको तामाकोसी कटाउन आदेश दिएको थियो । धेरै विफरपीडित केटाकेटी तामाकोसी नपुग्दै मर्थे तर तिनलाई तामाकोसी यता जलाउन वा गाड्न पनि दिइँदैनथ्यो । तामाकोसीमा आफ्ना सन्तानको लास मिल्काएर फर्किन्थे । यो यात्रा र राज्य दमनको कथा अझै पनि नेवारी भजन ‘शितलामाजूू’को मूल विषय हो ।

भौतिक परिस्थितिहरूका अगाडि शक्ति र सत्ता निरर्थक हुन्छन् । गिवार्णयुद्धलाई राज्यको निर्णयले मात्र बचाउन सकेन । विफरको कारण सन् १८१६ मा १९ वर्षको उमेरमा बसन्तपुर दरबारमा उनको मृत्यु भयो । सूक्ष्म जीवको महामारीमा कुनै पनि प्रकारको राजनीतिक निर्णयले मात्र काम गर्दैन । राजा, महाराजा र उच्चपदस्थ शासक कसैको पनि प्राकृतिक विपत्तिका समयमा कुनै जोडबल लाग्दैन । यस्ता परिस्थितिसँग जुध्ने सामर्थ्य राष्ट्रियरूपमा निर्माण गर्नु नै सबैभन्दा ठूलो राष्ट्रिय पुँजी हो ।

एउटा विद्रोही वस्तु मेडिकल मास्क शासकको सबैभन्दा प्रिय र सबैभन्दा बढी हितकारी वस्तुमा परिणत हुनु भनेको मास्कको राजनीतिक ‘यु टर्न’ हो । हिजोसम्म मास्क नलगाउँदा सत्ताको मानिसमा दर्ज हुने व्यक्ति मैले पनि कोरोनाको महामारी घोषणा भएर सरकारले लकडाउनको निर्णय गरेपछि घरमा कतै जगेडा मास्क छ कि भनेर खोजेँ । तर, कतै मास्क फेला परेन । घरमा आवश्यक केही सामान किन्न बजार गएँ, लकडाउनको चौथो दिन । प्रहरीले मलाई बाटोमा भेट्टाए, रोके । तत्कालै सोधी हाले – मास्क किन नलगाउनु भएको? मैले भने– घरमा भेटिन । बजारमा पाइन्छ कि, खोज्छु । 

अब समय परिवर्तन भयो ।  मास्क नलगाउनेहरू विद्रोही हुने समय आयो । राज्यको धारणा परिवर्तन भयो । हिजो लहडमा बोलेको कुराले आजको भयावह स्थितिमा कति जिम्मेवार वा गैरजिम्मेवार भूमिका खेल्यो, त्यसको मूल्यांकन हुन्छ । हामीले लहडमा व्यक्त गरेका गैरजिम्मेवार अभिव्यक्ति नै पनि हाम्रो जीवनकालमा अन्तर्विरोधपूर्ण अवस्था आफैँलाई सामना गर्न बाध्य पार्छन् । पुष्पकमल दाहाल जति नै मेडिकल मास्क पनि प्रधानमन्त्री ओलीको समयका अन्तर्विरोधपूर्ण राजनीतिक चिह्न हो । आफूले कुनै कालखण्डमा यी चिह्नमाथि व्यक्त गरेका धारणाका कारण ओलीको दृष्टिकोणमाथि सधैँ संशय रहिरहन्छ । 

राजनेतामा हामीले एकीकृत दृष्टिकोणको अपेक्षा गरेका हुन्छौँ । तर, एउटा सामान्य मेडिकल मास्क नै संवृद्धि जस्ता लोककल्याणकारी र ठूला राजनीतिक दृष्टिप्रति अनास्था, अविश्वास र जनताको सत्ताप्रतिको विश्वासलाई धराशायी पार्न परिस्थितिवश यथेष्ट बल आर्जन गर्न पुग्छ । कोभिड–१९को सन्दर्भमा मास्क नै प्रधानमन्त्री केपी ओलीको राजनीतिक चिन्तनको अन्तर्विरोध हो । 
 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC