काठमाडौं । लकडाउनले बाहिरी जनजीवन ठप्प छ । अरूबेला साँझ अबेलासम्म गुलजार रहने सडकछेउका पसलहरू दिउँसै पनि खोल्ने अवस्था छैन । लकडाउन पूर्ण पालनाका लागि हरेक मानिस घरभित्रै छन्, फाट्टफुट्ट बाहिर देखिनुबाहेक ।
यतिबेला औषधि व्यवसायी देवराज चापागाईंको सिंगो दिन औषधि पसलको घेराभित्र बित्ने गरेको छ । बिहान साढे ५ तिर पसल खोल्ने देवराज राति ८ बजेतिर मात्रै बन्द गर्छन् ।
त्यसबीच उनी किन्न आउनेलाई औषधि दिन्छन् । ब्लडप्रेसर जाँच्न आउने, ज्वरो हेरिदिनु भन्ने, सानातिना घाउ ड्रेसिङ गराउन र टिटानसको इन्जेक्सन लिन आउनेलाई पनि सोहीअनुरूप सेवा दिइरहेका हुन्छन् । कहिले–काहीँ कसैकसैलाई नेबुलाइजर पनि दिनुपर्ने हुन्छ । यी सबै काम गर्दै लकडाउनका दिन पसलमै बित्दै आएको छ ।
कागेश्वरी नगरपालिकाअन्तर्गतको गोठाटार तेजविनायक चोकमै रहेको औषधि पसलमा बेलाबखत साधारण बिरामीहरूबीच घेरिएका हुन्छन्, देवराज । आफ्नो कामका विषयलाई लिएर उनी भन्छन्, “लकडाउनको यो समयमा धेरै गाह्रो भएको छ, हामीलाई काम गर्न । यतिबेला साधारण बिरामीलाई पनि डाक्टरले छुन डराउने बेला छ । यस्तो संवेदनशील अवस्थामा हामीले दिनदिनै बिहानदेखि बेलुकीसम्मै रिस्क लिएर बिरामीको सेवामा लाग्नुपरेको छ ।”
देवराजका अनुसार औषधि किन्न आउने ग्राहकलाई काउन्टरबाहिरै राखेर डिल गरे पनि नेबुलाइजर लिने, ब्लडप्रेसर जाँच्न आउनेलाई भित्रै ल्याएर जाच्नुपरेको छ । भ्याएसम्म उनी पसलमा आउने ग्राहकलाई दूरी कायम गरेर बस्न अनुरोध गर्छन् । यति हुँदाहुँदै पनि यो स्थितिलाई एकदमै जोखिमपूर्ण मान्दछन्, उनी ।
उनी भन्छन्, “हामी मेडिकल पसलमा सीधा बिरामीहरूको सम्पर्कमा बस्नुपर्ने विक्रेताले पनि सुरक्षाका लागि प्रयोग गरिने पीपीई, मास्क ग्लोब, लगाएर काम गर्न पाउनुपर्ने हो । तर त्यसतर्फ कसले विचार पु¥याइदिने ! वास्तवमा हामीलाई त मास्क र ग्लोब पनि पर्याप्त छैन ।”
उनका अनुसार यो असहज परिस्थितिमा स्थानीय बासिन्दाको हितका लागि पनि आफ्नो सुरक्षा आफैं गर्दै जोखिम मोलेरै काम गरिरहनुपरेको छ । अरूले हेर्दा सामान्य लाग्ला तर आफूहरूले ‘हाई रिस्क’ मा काम गरिरहेको उनको तर्क छ । यस्तो समयमा पसल बन्द गरेर पनि हुँदैन । जे भए पनि पसल खोल्नैपर्ने उनी बताउँछन् ।
यस असहज परिस्थितिमा अस्पतालका डाक्टरहरूलाई समेत सुविधा मिलिरहेको छैन । यस्तो अवस्थामा मेडिकल हल चलाउनेले मास्क र स्यानिटाइजरका भरमा मात्रै काम गरिरहनुपरेको छ । कसलाई कतिबेला कुन औषधिको खाँचो पर्छ, थाहै हुन्न । त्यसैले देवराज पसल र आफ्नो मोबाइल दुवै खुला राखेर बसेको बताउँछन् । बेलाबखत उनी स्थानीय बासिन्दालाई घरमै गएर पनि सेवा दिन्छन् ।
उनी भन्छन्, “यतिबेला हामी औषधि पसलेहरूका विषयमा औषधि व्यवस्था विभागले केही बोलिदिनुपर्ने हो । तर केही बोलेको छजस्तो लाग्दैन ।” औषधि खरिद गर्न आउने ग्राहकले खोजेको कतिपय औषधि सहजै पाइने अवस्था नरहेको देवराज बताउँछन् । उनी कहिले–काहीँ औषधिको थोक विक्रेताहरू रहेको क्षेत्र क्षेत्रपाटी पुग्छन् । तर आफूले मागेका कतिपय औषधि पाउँदैनन् । जबकि त्यस्ता औषधि कैयन् बिरामीका लागि जरुरी हुन्छ ।
“हामीले अहिलेसम्म ब्लडप्रेसर, सुगर, मुटु र अन्य रोगका औषधि उपलब्ध गराउँदै आएका छौँ । तर त्यो पनि पुर्याउन सकिरहेका छैनौं,” देवराज भन्छन् । उनका अनुसार अहिलेको अप्ठ्यारो भनेको औषधिको अपर्याप्तता मात्रै हो । उनी भन्छन्, “एउटा अर्को कुरो, आवश्यक औषधि लिन क्षेत्रपाटी वा अन्य होलसेल विक्रेताकोमा जाँदा धेरै कष्ट व्यहोर्नुपरिरहेको छ । आफ्नो स्कुटरमा औषधि पसलको नाम, प्यान नम्बर र फोन नम्बर लेखेर हिँड्दा पनि पटक–पटक रोकिनु परिरहेको उनको गुनासो छ । यतातिर राज्यले विचार पुर्याइदिएदेखि हामीलाई औषधि ल्याउन सजिलो हुने थियो ।”