कोरोनाभाइरसको संक्रमण कहिले र कसरी टुंगिन्छ अझै यसै भन्न सक्ने अवस्था छैन । चीनको सुध्रिँदो अवस्थाले आशाको दियो बालेको छ भने अरू देशमा जुनरूपले फैलिरहेको छ त्यसले हुरीको संकेत पनि गरिरहेकै छ ।
संक्रमण फैलन नदिन हामी अहिले सम्पूर्ण जनजीवन रोकेर बसेको अवस्थामा सबैको मनमा प्रश्न उब्जेको छ - यो बन्दाबन्दीको अवतरण कहिले र कसरी होला? नेपालको सन्दर्भमा यसका संभावित दुई उत्तर र परिदृश्यह अनुमान गर्न सकिन्छ ।
१. सीमित संक्रमण र नियंत्रित आर्थिक गतिविधिको संचालन
अहिलेसम्मका प्रारम्भिक संकेत हेर्दा नेपालमा स्थानीय समुदायबाट संक्रमण भएको छैन या सीमित रूपमा भएको छ भन्न सकिन्छ । भलै हाम्रा परीक्षणका संख्या थोरै र दायरा निक्कै साँगुरो भएकाले यस्तो भएको हुनसक्छ। कोरोनाबाट मृत्यु भएको हुनसक्ने ठानिएका केही व्यक्तिहरुको रिपोर्ट 'नेगेटिभ' आएको छ। कोरोनाबाट आतंकित अस्पतालहरूले उपचार नगर्दा तिनको मृत्यु हुनु दु:खद अवश्य हो तर उनीहरूमा कोरोना नेगेटिभ देखिनुले संक्रमणको त्रास केही कम गराएको छ ।
संक्रमण समुदायमा फैलिएको छैन र हामीले अपनाएको लकडाउन प्रभावकारी भयो भने हाल जारी दुई हप्ते बन्दाबन्दी अर्को एक साता लम्मिएर या अहिलेको अवधि समाप्त भएपछि नियंत्रित रूपमा खुल्नेछ । आन्तरिक आर्थिक गतिविधि सावधानीका साथ सुरु हुनेछन् । अन्तर्राष्ट्रिय उडानहरू केही महिनासम्म स्थगित नै रहनेछन् । स्कुल कलेजहरु बिस्तारै संचालन हुनेछन् । सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रलाई पर्नेछ । बाह्य पर्यटक कम्तीमा एक वर्ष नआउन सक्छन् । पर्यटन उद्योग तङ्ग्रिन र पहिलेकै अवस्थामा आइपुग्न विश्व अर्थतन्त्र पनि पहिलेकै अवस्थामा आइपुग्नु पर्नेछ । अति आवश्यकबाहेक अरू वस्तुको निर्यातमा कमी हुनेछ ।
२. व्यापक संक्रमण, बलियाबाङ्गाको देश
संक्रमण फैलिसकेको छ र यसको असर देखिनमात्र बाँकी रहेको हो भने हाम्रो स्थिति भयावह हुनेछ । इटालीजस्तो बिश्वकै राम्रो स्वास्थ्य प्रणाली भएको देशको यो हालत छ भने हाम्रोजस्तो आधारभूत स्वास्थ्य सुविधासमेत नभएको देशले हजारौं ज्येष्ठ नागरिक, पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरू र सयौं युवा गुमाउनेछ । चार्ल्स डार्विनले भने झै बलियाबाङ्गाले मात्र अस्तित्वको अवसर पाउनेछन् । स्वास्थ्योपचारको कमीले गर्दा नेपालको मृत्युदर विकसित देशभन्दा उच्च रहनेछ । रोगसँगै भोकमरीले मान्छेलाई सताउनेछ । कम्तीमा पनि एक वर्ष अस्तव्यस्तताका बीच बित्नेछ ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अवसर
कोरोनाको संक्रमण जसरी टुङ्गिए पनि संसार चलिरहन्छ । हाम्रो अवस्थामा परिवर्तन हुने हो । देशहरुको आन्तरिक अवस्थामा परिवर्तन आउन सक्छ, विश्वको परिदृश्य बदलिन सक्छ । ढिलोचाँडो घरबाट बाहिर ननिस्की धरै छैन । अहिले नै पनि बढी जोखिम हुने वर्गबाहेक अरू काममा निस्कनुपर्ने आवाज उठ्न थालेको छ भने कतै यो लकडाउनको उपाय रोगभन्दा खराब उपचार पो हो कि भन्ने कोणबाट बहस हुन थालिसकेको छ ।
चुनौतीले अवसर पनि निर्माण गर्छ । कहिलेकाहीँ केही समयको अप्ठेरोले सकारात्मक भविष्यको बाटो पनि खोलिदिन सक्छ । कोरोना संक्रमणको वर्तमान समस्याले पनि नेपाली युवालाई देशभित्रै सक्रिय बनाई आत्मनिर्भर अर्थतन्त्रको निर्माणतर्फ अघि बढ्ने अवसर जुराइदिन सक्छ।
कोरोना सिर्जित संकटका कारण हजारौं युवा विदेशबाट गाउँ फर्केका छन् । सहरबाट गाउँ पसेका छन् । जति नै सकारात्मक घटनाक्रम विकसित भए पनि निकट भविष्यमा पूर्ववत् काममा फर्कन पाउने सम्भावना भने कमै देखिन्छ । विश्व अर्थतन्त्रमा आउने मन्दीले अहिल्यै तेलको भाउ धेरै घटेको छ । तेल निर्यातमा आधारित अर्थतन्त्र भएका खाडीका देशमा कार्यरत नेपाली श्रमिकको संख्यामा कटौती हुनेछ ।
पर्यटन सेवामा कार्यरत पनि कामविहीन हुनेछन् । यसले गर्दा काम गरिरहेका युवा देश फिर्ता भएको र उनीहरूलाई लोभ्याउने वैदेशिक रोजगार उपलब्ध नभएको अवस्था उत्पन्न हुनेछ । यो राज्यको लागि युवालाई नेपालभित्रै क्रियाकलापमा आबध्द गराउने र स्वदेशी पुँजी निर्माण गर्ने अवसर हुनेछ । यसको लागि राज्यले उनीहरूमाथि लगानी गर्नुपर्नेछ । कोरोनाले कमजोर भएको राज्य कोषमा युवा उद्यमशीलताले प्रश्रय पाउनुपर्छ । विदेशिएका र सहर पसेका युवाले पनि बुझ्नुपर्छ विदेशको ठूलो अंकको आवधिक जागिरमा लाग्नुभन्दा स्वदेशमै आजीविकाका लागि पसिना चुहाउने अधार निर्माण गर्नु उत्तम हुनेछ । अनेक विसंगति हुँदाहुँदै पिन राजनीतिक अवस्था स्थिर रहेकोले र पूर्वाधारको केही विकास भएकोले देशभित्रको वातावरण पहिलेभन्दा सहज छ । विदेशमा जस्तोसुकै दुःख सहनसक्ने हामी नागरिकले देशभित्रै संघर्ष गर्न सिक्नुपर्छ भने राज्यले यो अप्ठेरोलाई दीर्घकालीन सहजतातर्फ मोड्न सक्नुपर्छ ।