site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साथीलाई चिठी
Sarbottam CementSarbottam Cement

प्रिय साथी,
नमस्कार ।

आज २० वर्षपछि म कसैलाई चिठी लेख्दै छु भने त्यो तपाईंलाई हो । स्कुले जीवनमा लहडमै केही थान प्रेमपत्र लेखियो, परन्तु ती प्रेमपत्रहरूले सिरानीको न्यानो मायामुनि नै देह त्याग गरे । त्यतिबेला म्यासेन्जर हुन्थ्यो भने मेरो मनको आवाज शब्दका माध्यमबाट उनीसम्म पुग्थे, कि धुलाई भेटिन्थ्यो कि माया ! अचेल ती दिनहरू प्यारा लाग्छन् मलाई । प्रिय लाग्छन् विगतप्रतिका अनुरागहरू ! काठमाडौं आएपछि आमाबुबालाई चिठी लेखियो । राम्रा अक्षरमा चिठी लेखेन भनेर बा करकर गर्नु हुन्थ्यो । बस्, गाउँमा फोन आएपछि त एउटै कुरा मात्र भो, मतलब चिठी लेख्ने कला कक्षाकोठामा मात्र सीमित भो । नानीहरूलाई कसरी चिठी लेख्ने भनेर त सिकाइयो, तर त्यसपछि चिठीचाहिँ लेखिएन । त्यसपछिको पहिलो चिठी यही हो । 

तपार्इंलाई ‘नमस्कार’ भन्दा मात्र पनि एक प्रकारले शीर ठाडो हुन्छ मेरो । मतलब, यो हाम्रो नमस्कारको संस्कृचि विश्वव्यापी भएको छ । आफ्नो उत्पादन संसारभर ब्राँडेड हुँदाको खुसी शब्दमा वयान गर्न कठिन हुने रहेछ । म त्यति खुसी मेरो उपन्यास ‘डेडसुक्रबिर’को सफलतामा पनि भएको थिइन । ट्रम्पले समेत नमस्कार गरेर दुई हात जोड्दा, हाम्रो सभ्यताको जित भएको अनुभूति हुन्छ । आहा ! कस्तो आनन्द ।
आज तपाईंको याद आयो । तपाईंका परिवारको पनि याद आयो । आत्मीयताको भूगोल नहुने रहेछ । ‘जति टाढा त्यति माया गाढा’ हुने रहेछ ! त्यहाँ त सरकारले अझै पनि लकडाउन गरेको छैन भन्ने सुनेको सुन्छु । कहिलेकाहीँ मृत्यसँग पनि खेलबाड गर्ने शासकहरू देख्दा दया लाग्छ । यो कोरोनासँगको युद्ध भियतनाममा सेना पठाएजस्तो, इराकका तेलका कुवाहरूमा बम खसाले जस्तो र सिरियालाई हतियारको प्रयोगशाला बनाएजस्तो हैन । यो हिरोसिमा र नागासाकीमा गरेको नरसंहार भन्दा फरक हो किनकि त्यो युद्धमा आदेश दिनेहरू बाँचे । आदेश मान्नेहरू मरे । मारिए । तर यो कोरोनाको युद्धमा स्वयम् शासकहरू समेत भाइरसको निशाना बन्न सक्छन । हरे ! यो पाठ तिनीहरूलाई कसले पढाइदिने होला ? अनायासै फिस्स पर्छन् मेरा ओँठहरू । जे भए पनि जीवन भन्दा ठूलो अर्को सौभाग्य हुन सक्दैन । साथी, आफ्नो ख्याल गर्नु होला ।

Prabhu Bank
Agni Group
NIC Asia

म यो समय लोकन्थलीको कोठाको झ्यालबाट बाहिर नियालिरहेको छु । बाहिर निस्कन मनाही छ । सडक सुनसान लम्पसार परेर आराम गरिरहेको छ । हिजोअस्तिसम्म सडकको छातीमा हतारिँदै दौडने खुट्टाहरू अचेल कोठाभित्रै कैद छन् । हजारौं यातयातका साधनहरू ग्यारेजभित्रै मस्तनिद्रामा छन् । केही समय भए पनि सडकले शान्ति पाएको छ । बाहिर धुलो छैन, धुवाँ पनि छैन । अलिअलि चिसो र स्वच्छ हावाको अनुभूति पनि भएको छ । पसलहरू बन्द छन् । स्कुलहरू बन्द छन् । कलेजहरू बन्द छन् । कलकारखाना सबै सबै बन्द छन् । मतलब हामी ‘लकडाउन’ को अनौठो अनुभव गरिरहेका छौं ।  सानो छँदा गाउँमा आमाले भन्नु हुन्थ्यो ‘अँध्यारोमा गुजी आउँछ, भित्रै बस ।’ आज दिउँसै ‘गुजी’ आएको अनुभूति भइरहेको छ । म मेरा छोराछोरीलाई त्यही वाक्य दोहोराउन बाध्य छु ‘नानीहरू बाहिर, कोरोना छ, भित्रै बस । यस्तो लाग्दै छ, बाहिर कोरोना नामक राक्षस ठूलो मुख बनाउँदै कुदिरहेको छ । जसलाई भेट्छ उसलाई खाइदिन्छ । मित्र, त्रासभित्रको जिन्दगीका अनुभव अनौठा हुँदा रहेछन् । 
तपाईंलाई चिठी लेख्दालेख्दै मेरी ८० वर्षकी आमाको फोन आयो गाउँबाट । उहाँले भन्नु भयो ‘बाबु बाहिर ननिस्क है । लसुन, टिमुर, बेसार, अदुवा मिलाएर तातो पानी खाउ ।’ आमा जति मेरा लागि चिन्तित हुनुहुन्छ, म मेरा छोराछोरीप्रति त्यत्ति नै चिन्तित छु ।

संसारमा हजारौं मान्छेले ज्यान गुमाइसकेका छन् । मृत्युको समचार अपडेट भइराखेको छ । यस्तो लाग्छ, कोही मृत्युको कमेन्ट्री गरिरहेको छ र मृत्युको खेल हामी बाँचेकाहरु हेरिरहेका छौं । थाहा छैन को कतिबेला त्यो खेलमा सहभागी हुने हो । मलामी पनि भाग्यमा नहुने त्यो मृत्यु साँच्चै भयानक छ । आँसु पनि बगाउन नपाउने त्यो मृत्यु साँच्चै क्रूर छ । सामान जस्तै प्लास्टिकमा पोको परेको लास कसले पोल्छन्, कसले गाड्छन् थाहा छैन । मित्र, जन्मेपछि मर्ने कुरा शाश्वत छ । तर यस्तो भयानक मृत्यु ! कसैले भोग्न नपरोस् भनेर गुमनाम भगवान्को नाम जप्नुबाहेक अर्को विकल्प पनि छैन । म कहिलेकाहीँ सोच्छु– भगवान् भइदिएको भए आफ्ना सन्तानहरूको यस्तो वीभत्स मृत्यु देख्न सक्थे होलान् र ? आइसोलेसन वार्डमा रोइरहेकी आमा र सिसाबाहिर रोइरहेको दुधेबालकको दयनीय अवस्था देखेर भगवान् रुँदैनन् होला ? यस्तो अवस्थामा नरूने भगवान्, यस्तो अवस्थामा टुलुटुलु हेरेर मृत्युको ताण्डव नृत्य हेर्ने भगवान्, म छन् भनुँ कि छैनन् भनुँ दोधारमा छु । हुन त, प्रकृतिलाई भगवान् मान्ने हामी, प्रकृतिलाई नै विनास गर्दाको परिणामबाट बिमुख छैनौं । मान्छेहरू ‘जस्तो करणी, त्यस्तै भरणी’ भनेर पनि भन्छन् । यदाकदा लाग्छ, प्रकृतिमाथिको निर्मम व्यवहारबाट सृजना भएको पो हो कि यो भाइरसको ताण्डव नृत्य ! जेहोस्, मृत्यु हाम्रो अगाडिबाटै कुदिरहेको छ, हामी यो मृत्युको दौड नजिकबाट नियालिरहेका छौं ।

Global Ime bank

साथी, म अहिले पनि तपाईंलाई सम्झिरहेको छु । हामीले सँगै बिताएका पलहरू मेरा आँखामा वर्तमान भएर नाचिरहेका छन् । हामीले विद्यालय, विश्वविद्यालयमा पढाएका हजारौं भाइबैनीहरू स्वघोषित क्वारेन्टाइनमा छन् । उनीहरू पनि त्यही त्रासदीबाट गुज्रिरहेका छन् । हामी यही प्रार्थना गर्न सक्छौं ‘कसैलाई केही नहोस् ।’ खेल सुरू भएपछि त्यसको अन्त्य पनि निश्चित समयमै हुन्छ । आशा गरौं, यो खेलको अवधि छोटो होस् । पुनः ती सुन्दर फूलहरूलाई कक्षाकोठामा झुलाउन पाइयोस्, फुलाउन पाइयोस्, ‘क’ बाट कछुवा, ख खरायो हुन्छ’ भनेरै पढाउन पाइयोस् । कबाट कोरोना हुँदैन भनेर बताउन पाइयोस् । 

जेहोस्, खराब चिजमा पनि सुन्दर पक्ष लुकेको हुन्छ भन्ने कुरा कोरोनाको महामारीले पनि सिकाएको छ । हाम्रो आनीवानी सुधारिएको छ । बेलाबेलामा हात धुन जानिएको छ । परिवार के हो ? यसको महत्व कस्तो हुन्छ ? पारिवारमा एकले अर्कालाई कसरी सहयोग गर्ने भन्ने चेतनाको मात्र विकास भएको छैन वास्तवमा संसारभरिका मान्छेहरू समान हुन् र संसार एउटा घर हो भन्ने कुरा पनि मानवजातिले सिके कि जस्तो भान भएको छ । हाम्रो पूर्वीय दर्शन ‘वसुधैव कुटुम्बकम्’को आदर्श हाम्रा पितापुर्खाले त्यत्तिकै विकास गरेका रहेनछन् र हाम्रो पूर्वीय सभ्यता कति मानवतावादी रहेछ भन्ने कुरा पनि प्रमाणित भएको छ । पैसालाई मात्र महत्व दिने यो भौतिक संसारमा अलिकति भए पनि मानवता ठूलो हो भन्ने भावनाको विकास भएको छ । पैसाले मृत्यु किन्न सकिन्न भन्ने चेतको विकास भयो भने यो संसार सुन्दर बन्नेछ । आशा छ, यो भाइरसले विश्वलाई नै आतङ्कित बनाए पनि यो महामारीपछि हाम्रो विश्वव्यापी चिन्तन, राजनीति, सामाजिक तथा आर्थिक आयाममा केही सकरात्मक परिवर्तन हुनेछन् र यसले मान्छेलाई वास्तविक मानव बन्नको लागि सकरात्मक सन्देश दिनेछ । 

अहिले हामी घरभित्रै छौं । घरभित्रै बसेर कोरोनाको मानसिक तनावबाट छुट्करा पाउन विभिन्न किसिमका क्रियाकलापमा व्यस्त छन् साथीहरू पनि । हिजो राजेशजीले फोन गर्नु भयो । २०० वर्षदेखि एकआपसमा मिलेर वसेका नेपालीहरूलाई पहाडी र मधेसीको नाममा कसरी विभक्त गरियो ? कसरी विस्थापित गरियो ? हिजो सँगसँगै गुच्चा खेलेका हातहरूलाई कसरी छुट्टाइयो ? एउटै भैँसीमाथि चढेर सँगसँगै वनविहार गरेका साथीहरूलाई कसरी विभाजन गरियो ? एउटै थालमा साटासाट गरिएको मायालुमनहरुलाई कसरी फटाइयो ? यस्तैयस्तै प्रश्नको उत्तर खोज्ने र अन्य सृजनात्मक काममा हाम्रो सेल्फ क्वारेन्टाइन बितिरहेको छ । तनावलाई कम गर्ने एउटा उत्तम उपाय पनि रहेछ साथी यो साहित्य ।

कोरोनाको सङ्क्रमणबाट बचाउन सरकारले पनि हदैसम्मको प्रयास गरेको छ । देश गरिब भए पनि नेपालीहरूको मन विशाल छ मित्र । भर्खरै कोरियाबाट नेपाली साथीहरूले आफ्नो गास काटेर भए पनि केही थान किटको व्यवस्था गरेको समाचार बाहिर आएको छ । मित्रराष्ट्र चीनबाट पनि भर्खर आवश्यक सामानहरू आएको समाचार छ । प्रहरी, प्रशासन र डाक्टर–नर्सहरू आफ्नो समेत ख्याल नगरी दिनरात काममा लागिपरेका छन् । यस्तो अवस्थामा पनि केही नीतिगत भ्रष्टचारका कुरा मिडियामा आएका छन् । थाहा छैन, त्यसमा कत्तिको सत्यता छ । यस्तो विकराल स्थितिमा पनि कोही पैसा थुपार्ने काममा लाग्ला र ? यस्तो बेलामा पनि कोही मृत्युको व्यापार गर्ला र ? यस्तो बेलामा पनि कोही कात्रोमाथि भ्रष्टाचार गर्ला र साथी ? खै, मलाई विस्वाश लाग्दैन तर सुन्दा मन अमिलो भएर आउँछ, चित्त फाटेर आउँछ । मान्छे धनी–गरिब जे भए पनि आखिर मृत्यु त समानै रहेछ, हैन साथी।

चिठीमार्फत् मनको वह पोख्दा मात्र पनि हल्का हुनेरहेछ है !
 

मित्र, तपाइँ समुद्रपार हुनुहुन्छ । हामी ठीक विपरीत गोलार्धमा छौं । नक्सामा गोलार्ध फरक भए पनि मनको गोलार्ध फरक नहुने रहेछ । मन भन्दा विशाल, मन भन्दा नरम, मन भन्दा नजिक के हुने रहेछ र ? यही मनभित्रको मन्दिरमा तपाईं हुनुहुन्छ, तपाईं जस्तै हजाराैं मनहरू छन् । ती मनहरूको सुस्वास्थ्यको कामना गर्दछु । तपाईं बसेको त्यो गोलार्धमा झन् धेरै मान्छेहरू सङ्क्रमित भएका छन् । धेरै मान्छेहरू हामीबाट बिदा भएका छन् । कहिलेकाहीँ अचम्म लाग्छ– संसार थर्काउन सक्ने वादशाह होस् वा जैविक र रासायनिक हतियार बनाएर संसारलाई त्राहीमाम बनाउने शासकहरू, मृत्युको भय सबैलाई हुने रहेछ । पैसा र शक्तिको घमण्ड कोरोनाको अगाडि लुते कुकुरजस्तै लतारिएको देख्दा, मलाई अमेरिकी कवि अथर ग्वाइटरम्यानको कविता ‘अन द भ्यानिटी अफ् अथ्र्ली ग्रेट्नेस्’ को एकलाइन याद आउँछ– ‘ग्रेट सिजरको शालिक, स्वयम्  तखतामा छ, म के नखरा गरौं ।’

मित्र आजलाई यत्ति ! दीर्घ जीवनको शुभकामना ! जो जहाँ भए पनि यो युद्ध सँगसँगै लड्ने वाचासहित ।

तपाईंको मित्र
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC