काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर फैलियो । ४० हजारभन्दा बढीले यही महामारीकै कारण यो संसारमा अन्तिम सास फेरे । भलै नेपालमा पनि संक्रमण प्रवेश गरे पनि अहिलेसम्म भाग्यवस यसकै कारण कसैले ज्यान गुमाउनु परेको छैन । यसबाट बच्नकै लागि सरकारले लकडाउन गरेको छ ।
यो लकडाउनमा रङ्गकर्मी राजन खतिवडाले थुप्रै चलचित्र हेरे । र कविता पढे । उनले यो समय मानवीय संकटसँग नजिक रहेर बनेका चलचित्र हेरे । जस्तै ‘इनफेर्नो’, ‘प्याटफर्म’, ‘कास्ट अवे’ लगायत ।
यी चलचित्र हेरेपछि राजनले केही चिज नोटडाउन पनि गरेका छन् । केही नाटकका लागि त केही चलचित्रका लागि । यो लकडाउनपछि मलाई जिन्दगीसँग नजिक रहेका, मानवताको उचाई बढाउने र जिन्दगी सुरक्षित गर्ने चिन्तन बोकेका नाटक र चलचित्रमा काम गर्ने उनलाई रहर छ ।
“हामीले आजसम्म कृषकलाई मान्छे मानेनौं । यही समय केही लम्बियो भने के हुन्छ, त्यतिबेला कृषिको महत्त्व कति हुन्छ ?” राजन प्रश्न गर्छन्, “अहिलेको संकट त केही हप्ता र महिनामा अन्त्य होला तर यस्ता संकट त आइरन्छन् । यस्तो अवस्थामा मानवीय मूल्य र मान्यताले कति सहज बनाउँछ भन्ने विषयमा केही काम गर्ने हुटहुटी पलाएको छ ।”
राजनको घरमा खानेपानीको सप्लाई छैन । जारकै पानीको भर छ । त्यो पानी लिएर आउँदा पानीसँगै कोरोनाको संक्रमण पनि घरभित्रिने हो कि भन्ने त्रास छ ।
यही बेला उनले भूपी शेरचनको कविता संग्रह ‘घुम्ने मेच माथि अन्धो मान्छे’ दोहोर्याए ।
यो कविता संग्रहले दशकौं वर्ष गुजारे पनि अझै पनि नेपाली समाज, प्रवृत्ति र त्यसले निम्त्याउने समस्याको प्रतिबिम्ब यसमा छ । व्यक्तिगत स्वार्थ र पार्टीभन्दा माथि उठेर सोचिएको भए सायद अहिलेको त्रासको पारो यति माथि चढ्दैन थियो कि भन्ने राजन अनुमान लगाउँछन् ।
राजेश हमाललाई अहिले पनि तपाईंलाई मन पर्ने चलचित्र कुनु हो भनेर सोध्यो भने भन्छन्, ‘देउता’ । आफूले अभिनय गरेका तीनसय वटा चलचित्रमा राजेश किन यही चलचित्र रोज्छन् ? राजनको मनमा नमेटिएको प्रश्न थियो । यो लकडाउनमा जवाफका लागि आफैंले हेरे, ‘देउता’ ।
“हो र रहेछ देउता राजेश दाइले दाबी गरेजस्तै राम्रो रहेछ । अभिनेताका नाताले उहाँले गर्ने काम गर्नुभएको रहेछ, स्ट्रक्चरका हिसाबले पनि चलचित्र राम्रो रहेछ ।”
रङ्गकर्मी सुनील पोखरेल यो समय तीनवटा पुस्तक पढिरेका छन् । रामधारी सिंहको ‘संस्कृतिका चार अध्याय’, राम शिरिषको ‘रावण’ र ओ हेनरीको कथा संग्रह अहिले सुनीलले अध्ययन गरिरहेका पुस्तक हुन् ।
लकडाउनले घरमै थुनिएपछि उनी चलचित्र पनि हेरिरहेका छन् । कस्ता चलचित्र ? “हाउडे चलचित्र हेरिरहेको छु अहिले त, समय काटाउने माध्यमका लागि मात्रै,” जवाफमा उनले भने ।
बिहान एक छिन घर छेउछाउ मर्निङ वाकमा पनि निस्किन्छन् सुनील । त्यो समय उनको दिमागमा नाटकको आरोह अवरोह चल्छ । आफूले पढेका कथा, उपन्यास वा निबन्ध मध्ये कुनलाई नाटकमा ढाल्न सकिएला ? दिमागमा खेलिरन्छ । कथाका पात्रहरू मस्तिष्कमा घुमिरहन्छन् । ती पात्रहरूलाई रङ्गमञ्चको पर्दामा कसरी उतार्दा सुहाउँदिलो हुन्छ, रूपदेखि स्वरसम्म कल्पनाको लहरमा लहरिन्छन् । कति बेला त यो पात्रका लागि यो रङ्गकर्मी उचित हुन्छ भनेर व्यक्ति पनि आँखा वरिपरि घुम्छन् ।
यसरी दिमागमा स्वैर गरिरहेका तीनवटा विषय छन् रे सुनीलको दिमागमा ।
कुनकुन हुन् ती ?
“अहँ भन्दिन अहिले । अहिले मैले सोचेका कृति र विषयलाई पछि नाटकमा रूपान्तरण गरिएछ भने, त्यो बेला भनुँला लकडाउनमा पहिलोपटक सोचेको थिएँ भनेर, हुन्न ?” उनले प्रश्नात्मक शैलीमा जवाफ दिए ।
लकडाउनको फुर्सदिलो समय सुनीलले अध्ययनमा बिताइरहेका छन् । बेलाबेलामा मनोरञ्जनमा पनि ।