site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 त्यसपछि महाकालीमा हाम फालें...
Sarbottam CementSarbottam Cement

मेरो नाम लोकेन्द्र बोहोरा हो । घर सुदूरपश्चिम प्रदेशको बैतडीमा पर्छ । डीलासैनी गाउँपालिका– २ नम्बर वडा (साविक कोटपेट्रा वडा नम्बर ९) हो मेरो घर ।

डीलासैनी पर्यावरणीय रूपमा सुन्दर छ । हाम्रो अवस्था ठीक उल्टो । वर्षभरि काम गर्दा पनि खान, लगाउन नपुगेपछि म दुई महिनाअघि दार्चुलाबाट भारत छिरेँ । टाढा त कहाँ पुग्न सकिन्थ्यो र !

धार्चुलाबाट तीन–चार घण्टा लाग्छ । पिथौरागढ जिल्लाको पञ्चाचुलीमा सडक निर्माणको काम फेला पारेँ । काम निकै कष्टपूर्ण छ । सीप नभएको, जम्माजम्मी आइए पढेको, जे भेट्टाइन्छ त्यही काम गर्नु बाध्यता नै भइहाल्यो । उमेरमा त्यती पाको पनि छैन । जम्मा २० वर्षको त भएँ । तथापि, जसोतसो काम गर्दै थिएँ । रोग आयो भनेर हल्ला चलिहाल्यो । पछि थाहा पाएँ, कोरोनाभाइरस रहेछ त्यो । चीनबाट फैलिएको रे !

Prabhu Bank
Agni Group
NIC Asia

हामीजस्तो मजदुरी गर्नेलाई असर नपुर्‍याउला नि त भन्ठानेको ! केको पुर्‍याउँदैनथ्यो ! 

कोरोनाको प्रकोप बढेपछि काम बन्द भयो । ज्यालादारी काम बन्द भएपछि कहाँ बस्न सकिन्छ र त्यहाँ ! साँझ–बिहान के खाने ? अर्काको देशमा कोसँग हात थाप्ने ?

Global Ime bank

भारतीयहरूको हेलाहाँसो उस्तै । हामीले नै रोग सार्दिन्छौं जस्तो गर्न थाले । हेप्न थाले । गालीगलौज गर्न थाले । अर्काको देशमा काम गर्न जाँदाको पीडा बल्ल बुझेँ मैले ।

सोमबार बिहानै पञ्चाचुलीबाट धार्चुला झरेँ । दुईबजेतिर आइपुगेको थिएँ । देश फर्कन चाहनेहरूको दर्दनाक अवस्था रहेछ !

७–८ सय होलान्, बाटामै बसिराखेका रहेछन् । धेरै भोकै थिए । कतिदिनदेखि सुतेका थिएनन् । कोही रोइरहेका देखिन्थे । कोही चिच्याइरहेका सुनिन्थे । सबैको एउटै आवाज थियो– हामीलाई देश पस्न देओ । मरे पनि आफ्नै देशमा मर्छौं !

कसले सुन्नु दीनदुःखीको आवाज ! हामी छिरे रोग पस्छ झैं गरे । दिनभर चिच्यायौं अहँ पस्न दिएनन् ।

देश छिर्न नपाएका नेपालीलाई भारततिरको स्थानीय प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा व्यवस्थापन गर्‍यो । जवाहरसिंह स्टेडियममा ३ सय २५ जना, बलुवाकोट महाविद्यालयमा ६० जना, जौलजीवीमा १ सय १० जना र काञ्जी हाउसमा १ सय ६५ जनालाई बन्दोबस्त गरिएको छ । म पनि त्यही भीडमा समेटिएँ ।

झण्डै सातसय मानिस ती चार ठाउँमा मात्रै अट्ने स्थिति छैन । नअटेका अहिले पनि सडक छेउछाउ, नदी किनार छन् । घर फर्कन पाइन्छ कि भन्ने आशमा छन् । तर, कहिले पाइन्छ ? कसैसँग जवाफ छैन ।

कोशौं टाढादेखि हिँडेर आएकाहरू प्रायः थकित् छन् । उनीहरूलाई आराम, पर्याप्त खानाको आवश्यकता छ । रोगी, वृद्धहरू पनि छन् । उनीहरूलाई त्यसरी गुम्स्याएर राख्नुहुँदैन ।

धेरै मानिस एकै ठाउँमा बस्दा फोहर, मैला थुप्रिएको छ । दुर्गन्ध फैलिएको छ । कदाचित् कोही कोरोना सङ्क्रमित रहेछ भने सबै सिकार हुनेवाला छन् । कोही सद्दे रहँदैनन् ।

सामूहिकरूपमा बसेकासँग कसैसँग गतिलो मास्क छैन । सबैले रुमालले नाक छोपेका त छन् । हप्ता दिनदेखि त्यही रूमालले नाकमुख छोपेकाले त्यसैको सङ्क्रमणले रोगी हुने भय बढिसकेको छ ।

भारतीय प्रशासनले हो कि, नेपालले उपलब्ध गराएको हो, हिजो हामीले थोरै खानेकुरा पायौं । खिचडीजस्तो थियो । आज बिहान दुईवटा रोटी (पुरी) दिएको थियो । कतिले त्यो पनि पाएनौं भन्दै थिए ।

बीच भारतमा अलपत्र परेको भए त ल्याउनुपर्ने हो, सीमासम्म आइपुगेका नागरिकलाई किन रोकेको हो ? मैले बुझ्न सकेको छैन । देश छिरे, सरकारको निर्णयानुसार कहाँ बस्नुपर्ने हो, बस्छौं भनेकै छौं । १४–१५ दिन कति बस्नुपर्ने हो, बस्छौं ।

त्यसो भन्दा पनि कसैले सुनेन । भीडमा गुम्सिए, भोकभोकै बस्दा प्राण नै जाने देखेँ । कोरोना भन्दा उकुसमुकुले ज्यान जालाजस्तो भयो । 

मान्छेको कोलाहलमा बस्दा घरको अति नै माया लागेर आयो । परिवारको सम्झना भयो । कतिञ्जेल गुम्सिएर बस्नुपर्ने हो कसैसँग उत्तर छैन ! आफ्नो देश त आफ्नो भएन भने भारतले कतिञ्जेल दया गर्ला ! अर्काको देशको नागरिकको स्याहार गर्न उसलाई पनि के खाँचो र !

भीडभित्र निसास्सिएर मर्नुभन्दा काल आएको रहेछ भने खोलाले नै खाओस् भनेर आज (मङ्गलबार) दिउँसो महाकालीमा हाम फालेँ ।

महाकालीको पानी घटेको रहेछ । जसोतसो भँगालो काटेँ । देशको किनार भेट्टाएँ । वारि आइपुगेपछि प्रहरीले समात्नुभयो । किन महाकालीमा हाम फालेको भन्दै थिए । परिवार भेट्न भनेर जवाफ दिएपछि उहाँहरू चुप लाग्नुभयो ।
 
प्रहरीले ज्वरो जाँच्नुपर्छ भन्नु भएको छ । कतिबेला जाँच्ने हो, टुङ्गो छैन । एकजना प्रहरी भन्दै हुनुहुन्थ्यो, डाक्टर खाना खान जानुभएको छ रे ! दुईघण्टा भयो डाक्टर आउनुभएको छैन ।

देश आइपुगेको छु । जतिदिन बस्नु परे पनि बस्छु । प्रहरीले जहाँ भन्नुहुन्छ त्यहीँ बस्छु । 

म सरकारलाई अनुरोध गर्छु । आफ्नो देशको सीमासम्म आइपुगेका नागरिकलाई नरोक्नुहोस् । अर्काको देशमा अलपत्र नछाड्नुहोस् । ती मजदुर, श्रमिक होइनन्, तपाईंहरूका मतदाता हुन् ।

आफूलाई मत दिने जनताप्रतिको कर्तव्य पूरा गर्नुहोस् ।

(सीमा बन्द भएपछि महाकाली नदी तरेर नेपाल प्रवेश गरेका बोहोरासँग अक्षर काकाले गरेको कुराकानीको सम्पादित अंश ।)

तस्बिर सौजन्य : पदम बडाल 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC