अचानक तेरो उपस्थिति ?
हामीले बुझ्न सकेनौँ
कठोर हृदय लिएर
तीखा दाह्रा, नङ्ग्रा फिजाउँदै
मानवतालाई कुल्चदै
आतङ्कको साम्राज्य फैलाएर
मान्छे मार्ने घृणित ब्यापार गर्न
ए क्रूर समय ! तँ किन आइस् ?
ए कुरूप कोरोना ! तँ किन आइस् ?
हाम्रा सुन्दर जिन्दगीका घाँटी समाउँदै
भोक खोसिस्, निद्रा चोरिस्
काम लुटिस्, सुख हरिस्
हाम्रो फूलजस्तो
उज्यालो वर्तमानलाई
कङ्काल नवना
कलाविहीन कुरूप नाटक नदेखा
भयको आततायी छाँयाले छोप्दै
ए क्रूर समय ! तँ किन आइस् ?
ए कुरूप कोरोना ! तँ किन आइस् ?
त्रासैत्रासले थकित छन् मनहरू
भययूक्त मृत्युका समाचारले
कामेका छन् मन, मुटुहरू
दन्किरहेछ आगो चारैतिर
बिल्लिवाठ बनाउँदै
समय मुस्कुराइ रहेछ
सखाप पार्न खोज्दैछ जगत
निल्न खोज्दैछ संसार
दन्त्यकथाको क्रूर राक्षसभन्दा भयानक
ए क्रूर समय ! तँ किन आइस् ?
ए कुरूप कोरोना ! तँ किन आइस् ?
मानिसदेखि मानिस नै त्रसित हुनुपरेको छ
सारा बस्तिहरू शुन्य छन्
घरहरू कारागारमा परिणत हुँदैछन्
आतंकको सुसेली गुन्जाइरहेछ अदृश्य कोरोना
मृत सहरजस्तै शुन्य, शुन्य
मुर्दाशान्ति चारैतिर
पल पल मरेर जिइरहेछौँ
विश्वब्यापी महामारीको भयले
कोलाहल छ वातावरण
ए क्रूर समय ! तँ किन आइस् ?
ए कुरूप कोरोना ! तँ किन आइस् ?
तर….,हामी सचेत भैसकेका छौँ
तेरा हतियारमा खिया पर्नेछन्
दाह्रा, नङ्ग्रा मक्किन थालिसके
घमण्डको संसार भत्काउने छौँ
तेरो खुसीको तान्डव नृत्यलाई
पैतालाले कुल्चिएरै सखाप पार्ने छौँ
धुलो पिठो पारेर अस्तित्व मेटाउने छौँ
पानीको फोकासरी नै त हो तेरो जीवन
हाम्रो यो स्वर्गजस्तो धर्तिबाट
तँ अवस्य गलहत्तिने छस्
तैँले सृजना गर्न खोजेको काला रातहरूमा
छिट्टै उदाउने छन् जुन, ताराहरू
अवस्य झुल्कनेछन् सहस्र घामहरू
मुस्कुराउने छन् हाँसो र खुसीहरू।
सीता अर्याल
म्याडिसन, अमेरिका।