मानव जाति (आधुनिक होमो सेपियन्स) को पचास हजार वर्षको यात्रामा करिब एक खर्ब आठ अर्ब (१०८ बिलियन) मानिसहरुको जीवित जन्म यस पृथ्वीमा भएको अनुमान अमेरिकी संस्था ‘पपुलेसन रेफरेन्स ब्युरो’ (पीआरबी) ले गरेको छ । आज विश्वको जनसंख्या करिब साढे सात अर्बभन्दा बढी छ ।
यो कोरोनाभाइरस (कोभिड–१९)को महामारी कसरी र के कारणले आयो र यति छिटो संसारभर फैलियो भन्ने अझै राम्ररी थाहा भइसकेको छैन । भोक, अरू सर्ने र नसर्ने रोग, युद्ध, आकस्मिक विपत्तिबाट मर्नेहरुको तुलनामा नगण्य छ । यमनमा भएको गृहयुद्धमा ९१ हजार ६०० जना मरेको तथ्यांक छ । यसमा अंगभंग भएका र आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षतिको हिसाब त निकाल्नै बाँकी छ । विश्व स्वास्थ संगठनको तथ्यांकअनुसार सन् २०१२ मा मात्रै १ लाख २६ हजार मानिस अस्वस्थ कार्यस्थल ÷ प्रकृति र बसाइका कारण मरेका थिए । प्राकृतिक विपत्तिबाट विश्वमा करिब एक लाख जना बर्सेनि मर्ने गर्छन् । अझ हरेक दस सेकेन्डमा एक जना बालक आज पनि अनिकालका कारण मरिरहेको हुन्छ । अर्थात्, मानव जातिको संहार त धेरैपटक भएको छ, पटकपटक भएको छ ।
यो लेख लेख्दासम्म आतंक भएको इटालीको कोरोना संक्रमण पनि मत्थर हुने लक्षण देखिन थालेको छ । यसैबीच संक्रमणको केन्द्र बन्नपुगेको अमेरिकाले सही नीति लिन सके अब संसारले यसलाई धेरै प्रताडित हुन नपर्ला । यस सन्दर्भमा निदरल्यान्ड सरकारले लिएको नियन्त्रण र प्रतिरोध गर्न सक्ने क्षमता बढाउने र जुन १, २०२० सम्म कुनै पनि भेला, उत्सव, समारोह नगर्नेजस्ता नीति पनि प्रेरक हुन सक्छन् । यस देशमा संसद्मा कसैको बहुमत नभएपछि सरकार बनाउनै ९ महिनाभन्दा बढी लागेको थियो । एक वर्ष नपुग्दै सरकारका घोर विरोधीलाई यस प्रकोपविरुद्ध नेतृत्व गर्ने स्वास्थमन्त्री नियुक्ति गरिएको छ । संकटका बेला एक हुन यसले प्रेरणा दिनसक्छ ।
हामी मानव इतिहाससकै सबैभन्दा समुन्नत (आर्थिक, वैचारिक, वैज्ञानिक, प्रविधि, शोधजस्ता क्षेत्रहरुमा) अवस्थामा भएको दाबी गरिरहेका छौँ । तैपनि, कोरोना भाइरस (कोभिड १९) नामक सरुवा रोगप्रति किन यति धेरै कोलाहल ? यसो हुनुका केही कारण छन् जसलाई केलाउने प्रयास हुनुपर्छ ।
पहिलो हामी समुन्नतिको उत्कर्षतिर पुग्न लागिरहेका बेला यो भाइरस अनपेक्षितरुपमा आयो जसका लागि हामी तयार थिएनौ । यस्तो विपत्ति आउला भनेर कसैले सोच्दै नसोचेको हुन सक्छ । हामी त पूरा विजेताको मानसिकतामा थियौँ । यो व्याधि आँधीसरह आयो र सबै उँडाएर लैजाने डर देखियो । यो सुरु भएको भनिएको चीनको उहान प्रान्तमा जब यो नया रोग देखियो सायद अन्योल वा नीयतवश जे भए पनि यसबारे सार्वजनिक जानकारी अलि ढिलो दिइयो । सुरुमा यसको आक्रामकताका बारेमा चीन आफैँ पनि जानकार थिएन कि ? यसको संक्रमणको विस्तार ज्यामितीय गतिमा हुनेरहेछ । यसको गतिबारे थाहा हुँदासम्म त संसारका धेरै मुलुकमा यसबाट संक्रमित व्यक्ति छरिइसकेका थिए । आक्रमकताका बारेमा ज्ञान नहुँदा संक्रमितहरु नै यसलाई फैलाउने वाहक बने ।
थाहा भएपछि चीनले यसबाट बच्न अत्यन्तै कडा कदम चाल्यो – संक्रमित क्षेत्रमा बन्दाबन्दी (लक डाउन) गर्ने र संक्रमितलाई अलग्गै राखेर उपचार गर्ने । यसलाइ युद्धकै रुपमा लिएकाले त्यहाँ सोचेभन्दा छिटो र प्रभावकारीरुपमा यो महामारी नियन्त्रणमा आएजस्तो देखियो । युरोप विशेषगरी इटाली, स्पेन र फ्रान्समा यसले निकै आक्रान्त पारिरहेको छ । मत्थर हुने नामै लिएको छैन । अब त बिस्तारै यो उत्तरी अमेरिकातर्फ बढिसक्यो । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीति प्राथमिकतामा कि जनस्वास्थ भन्ने निक्र्योल हुँदा नहुँदै अमेरिकामा यसको कहर निकै चर्को हुने संभावना देखिएको छ । यौटा मान्छेको हठको कारण संसारले चुकाउनु पर्ने मूल्य साह्रै महँगो हुने हो पो कि ?
सबैभन्दा धेरै जनसंख्या भएको उत्तरी छिमेकी मुलुकमा विपत्ति आइलाग्दा हामी सायद हिमाल र दूरीका कारण जोगियौँ होला तर दोस्रो ठूलो जनसंख्या भएको दक्षिणी छिमेकी भारतमा चीनकै प्रकृतिको संक्रमण फैलिएमा त्यसको धान्नै नसकिने प्रभाव हामीलाई पनि पर्नेछ । त्यो हाम्रो बुताभन्दा बाहिरको हुनेछ । जनस्वास्थका दृष्टिकोणले तेस्रो विश्वमा यो फैलियो भने संक्रमित र मृतकको संख्या एकदम ठूलो हुनेछ देखिन्छ । हामी सबैलाई थाहा छ यस्तो बेला हामीजस्ता गरिब र असमर्थले संसारबाट पाउने सान्त्वना एवं सहानुभूतिमात्र हो ।
दोस्रो, यातायातमा आएको क्रान्ति र सूचना प्रविधिको उन्नति तथा उत्पादनमा विशिष्टीकृत क्षमताका कारण आज विश्व एउटैजस्तो भएको छ । महासागर वा महापर्वत दुर्लङ्घ्य रहेन्न अब । हवाई यातायातले आज २४ घन्टामै विश्व परिक्रमा संभव भएको छ । राम्रा कुरा पनि नराम्रा कुरा पनि संसारको एउटा कुनाबाट अर्को कुनामा २४ घन्टामा पुग्न सक्छन् । जसको जेमा विशिष्टता छ त्यसले त्यहीमात्र उत्पादन गर्दा सामानको गुणवत्ता त बढेको छ तर त्यसले पर निर्भरता पनि बढाएको छ । साथसाथै उपभोक्ता संस्कृति पनि बढाएको छ । यो सबै वैश्विक वैश्यहरुको महाजाल हो । जसरी पनि आर्थिक लाभ हुनुपर्यो, त्यसका लागि उपभोग बढ्नु पर्यो । किन्नेले कसरी स्रोत जुटाएर किन्यो त्यसको पनि मतलब छैन, प्रकृति र वातावरणलाई कस्तो असर परेको छ, त्यसको पनि मतलब छैन । कसैप्रति जवाफदेही हुन पनि परेन । संसारको जुन कुनामा रहे पनि हामी सबै यी र यस्तै असन्तुलन एवं अव्यवस्थाको सिकार भइरहेका छौँ । अव्यवस्था र असन्तुलनले यस्तै विपद ल्याउने नै भए । तर, हामी पछाडि फर्कन पनि सक्तैनौ यी सबै प्रक्रियाबाट ।
तेस्रो, तत्कालका लागि यस साझा विपदबाट कसरी सामूहिकरुपमै बाहिर निस्कने भन्ने नै हो । माथि भनिएजस्तो धनी तथा विकसित मुलुकहरु कम मानवीय क्षतिमा र छिटै यस विपदबाट बाहिर आए पनि बाँकी गरिब तथा अविकसित राष्ट्रमा यसको बीउ रहेसम्म उनीहरु पनि सुरक्षित रहन भने सक्नेछैनन् । किनभने, हामी सबै कुनै न कुनैरुपमा प्रत्यक्ष अप्रतक्ष्य जसरी भए पनि एकआपसमा जोडिएका छौँ । तेस्रो विश्वको अर्को समस्या कोरोना कहरबाट बच्न शक्ति लगाउँदा दैनिक कमाइमा बाँच्ने झन्डै एक तिहाइ जनसंख्या भोकले मर्न सक्ने जोखिम कसरी सम्बोधन गर्ने भन्ने पनि हो । दीर्घकालीनरुपमा चाहिँ प्रकृति, वातावरण र पृथ्वीमात्रै नभएर अन्य ग्रहहरुसँगको सन्तुलन कसरी मिलाउने भन्ने पनि हो । यो सन्तुलन नमिलेसम्म यस्ता विपत्ति आइरहन्छन र यस्तै विध्वंश गरिरहन्छन । यस्ता विपदको जडमा हामी मान्छै नै छौँ, हाम्रो स्वार्थी र लोभीपना नै छ भन्नु अत्युक्ति नहोला ।
यस्तो विपत्तिको घडीमा हामीलाई एकल राष्ट्रवादको नारा भुत्ते हुनेछ । समस्या जहाँसुकैबाट आएपनि समाधान संयुक्तरुपमा भएन भने त्यसले अकल्पनीय हानि गर्नेछ । मानिसको दानवी रुप स्वार्थ र लोभ हैन संसारका नागरिक वा वैश्विक नागरिक हुने दिन आएको छ । प्रविधिले हामीलाई निरन्तर वैश्विक नागरिक बनाइरहेको छ । यसबाट सामूहिक फाइदा लिन सक्नुपर्छ ।
कोरोनाविरुद्धको लडाइँमा चीन, कोरियाको सिकाइ र दक्षता तुरुन्त हामीजस्ता मुलुकहरुले पनि पाउनु पर्छ, । यसले विश्वबन्धुत्व बढाउनुका साथै हामीलाई एकआपसमा बुझ्न थप मद्दत गर्नेछ । यौटा कुरामा हामी सचेत हुनै पर्छ – हामी प्रविधिको दास हैनौ । यसले हाम्रो काममा थप दक्षता तथा प्रभावकारिता दिनेमात्र हो । व्यक्तिगत विवरणको जानकारी कसैको स्वतन्त्रता हरण गर्न र नियन्त्रण गर्न होइन प्रभावित व्यक्ति, समाज र राज्यको सम्रग हितमा मात्र प्रयोग हुनुपर्छ । चीनमा भएको प्रविधिको प्रयोगले साँच्चै भन्ने हो भने चिनियाँ नागरिकमात्र हैन संसारका धेरै मानिसको ज्यान बचाउन सफल भयो तर तानाशाह र कुटिल प्रकृतिको सरकारले यसको प्रयोग जासुसी एवं व्यक्तिगत स्वतन्त्रता हरण गर्न प्रयोग गर्न सक्ने जोखिमलाई पनि बिर्सनु हुँदैन । उन्नत प्रविधिबाट आर्जित शक्ति कसैलाई जर्ज अरवेलले आफ्नो प्रसिद्ध उपन्यास ‘नाइन्टिन एट्टीफोर’मा भनेजस्तो ‘बिग ब्रदर’ ठुल्दाजु बन्न प्रयोग हुन दिनुहुन्न ।