राष्ट्रव्यापी बन्दाबन्दी (लकडाउन) आह्वान गर्ने सरकारका आधिकारिक निकायबाट रिक्सा चलाउने, मजदुरी गर्ने, ज्याला गरेर बिहानबेलुकी हातमुख जोर्नेहरुका लागि संकटका बेला खान लाउन गरिएको प्रबन्धको उद्घोषको पखाईमा लाखौँ कानहरु होलान् ।
सन् २०१५ मा नेपालमा आएको प्रलयकारी महाभैकम्प होस् वा उक्त वर्षकै आन्तरिक आन्दोलनको स्वरुप, बाढीको प्रकोपको समय होस् वा हाल विद्यमान कोभिड–१९को महासंक्रमणको घडी होस् किन हामी ठयाक्कै समस्या परेकै बेला चामल, दाल, तरकारी, गोलभेँडा, नुन, पेट्रोलियम पदार्थ, औषधि आदिका लागि भारत, चीन वा अन्य मुलुकलाई गुहार्नु पर्ने अवस्थामा हुन्छौँ ? किन हामी पहिलादेखि नै तयार रहन नसकेका हौँ ? नेपाली जनताका मनमा यिनै प्रश्न उठिरहेका छन् ।
–करिब २४ प्रतिशत बजेटमात्र पुँजीगत खर्चका लागि छुटयाइएको छ । बितेका दुई आर्थिक वर्षमा चालु खर्चका रकमले स्वास्थ्य क्षेत्र, आपूर्तिका विषयवस्तु मजबुत बनाउनुपर्ने थियो ।
–देशमा सामान्य, विशेष र शिक्षणसमेत गरी ५० देखि करिब २०० शैय्या सम्मका स्थानीय, जिल्ला, क्षेत्रीय र केन्द्रीय अस्पतालका संरचना छन् । तर, उपयुक्त व्यवस्थापनको अभावमा जीर्ण हुने अवस्थामा छन् । परिणामस्वरुप अलि विशेष प्रकारको परीक्षणको लागि पनि नमुना विदेश पठाउनुपर्छ ।
–भाइरसरुपि यस विश्व महामारीमा हाम्रा स्वास्थ्यकर्मीहरु विनाकुनै खास सुरक्षा सामग्रका मैदानमा उत्रिएका छन् ।
–देशमा खाना पकाउने ग्याँसको उपलब्धता सहज छैन भने तरकारी र खाद्यान्नको मूल्य अचानक आकासिएको छ । चिकित्सक क्लिनिक बन्द गरी घर बसेका छन् । निरन्तरको बन्दभन्दा पनि वस्तुको सम्भावित अनुपलब्धताको त्रासले बजारमा महँगी ह्वात्तै बढाएको छ । यस्तोमा सरकारको निर्णयहरुका पानामात्र पढेर कति दिन कुर्न सक्छन् होला र सर्वसाधारणले ? डर छ कतै भोका पेट र सिकिस्त शरीरहरुको भागदौड नहोस् ।
–दैनिक उपभोग्यका अधिकतम मालसामानका साथै एलपी ग्यास आपूर्ति गर्ने भारतलाई आफ्नै देशमा पुर्याउन धौधौ गरिरहेको बेला हाम्रो मागको आपुर्ति गर्न सक्ला र ? यस परिस्थितिबाट जुझ्नसक्ने हुन अझ कति दशक कुर्नु पर्ने हो ? यस्को जवाफ संघका अर्थ र आपूर्तिमन्त्रीहरुले दिन सक्नुपर्छ ।
–अब स्वास्थ्य र शिक्षा क्षेत्रलाई निःशुल्क र राजनीतिरहित बनाउनपर्छ । स्वदेशी उद्यमलाई बढावा दिई दैनिक उपभोग्य सामग्री र औषधिको स्वदेशमै अधिकतम् उत्पादन हुनसक्ने वातावरण निर्माण गर्नुपर्छ । प्राकृतिक प्रकोप, महामारी, आकस्मिक अवस्थाको लागि पूर्वतैयारी र मौज्दात व्यवस्थापन गरिनुपर्छ । देशको व्यापारलाई मनोबल, प्रोत्साहन र नागरिकलाई प्रभावकारी स्वास्थ्य र आर्थिक पृष्ठभूमिमा भविष्यको मजबुत आधार प्रदान गरिनुपर्छ ।
–यसरी कति समय लाचार भएर बिताउने ?
(अध्यापक, नेसनल एकेडेमी क्याम्पस, वीरगन्ज)